आदिवासी महिला महासंघले “आदिवासी महिलाका अधिकारहरू जलवायु संकटको समाधान हुन्” तथा “जलवायु उत्थानशीलतामा आदिवासी महिलाको भूमिका” भन्ने मूल नारासहित काठमाडौको जगडोल समुदायीक वनमा सुनुवार कोईचको पिदार पुजा गरी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
जेन्जि अभियन्ता पेमा लामाले सहजिकरण गरेको कार्यक्रमको मुख्य सन्देश “कुरालाई व्यवहारमा उतारौं” रहेको थियो । कार्यक्रममा जंगडोल जंगल संरक्षणमा आदिवासीको भूमिकाको विषयमा राई, मगर, सुनुवार समुदायका ब्यक्तिहरुसँग छलफल गरिएको थियो । वक्ताहरूले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता केवल घोषणामा सीमित नराखी व्यवहारिक रूपमा कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष सोभा सुनुवारले आदिवासी महिलाहरू केवल जलवायु परिवर्तनका प्रभावित समूह मात्र नभई समाधानका वाहक पनि रहेको बताउनु भयो । उहाँले आदिवासी महिलाहरूले प्रकृतिसँगको सहअस्तित्व, परम्परागत ज्ञान, सांस्कृतिक अभ्यास तथा प्राकृतिक स्रोतहरूको संरक्षणमा निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गर्नु भयो ।
अध्यक्ष सुनुवारले जलवायु परिवर्तनका कारण आदिवासी समुदायको जीवनशैली, कृषि प्रणाली, जैविक विविधता तथा साँंस्कृतिक सम्पदामा प्रत्यक्ष असर परिरहेको उल्लेख गर्दै त्यसको सामना गर्न आदिवासी महिलाको ज्ञान र नेतृत्व महत्वपूर्ण रहेको जिकिर गर्दै उहाँले जलवायु अनुकूलन, प्राकृतिक स्रोत व्यवस्थापन तथा वातावरण संरक्षणका नीति तथा कार्यक्रमहरूमा आदिवासी महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा डा.कृष्ण भट्टचन जलवायु परिवर्तनको असर आदिवासी तथा स्थानीय समुदायका महिलामाथी बढी पर्ने भएकाले उनीहरूको ज्ञान, सीप र परम्परागत अभ्यासलाई जलवायु नीति तथा कार्यक्रमहरूमा समेट्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले आदिवासी महिलाहरूले वन संरक्षण, जैविक विविधता जोगाउने तथा प्राकृतिक स्रोतहरूको दिगो संरक्षक रहेको स्पस्त पार्नु भयो ।
आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामाले जलवायु न्याय सुनिश्चित गर्न आदिवासी महिलाको नेतृत्व र सहभागिता बढाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म आदिवासी महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकार तथा सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । साथै ंआदिवासी जनजाति प्रतिष्ठान अहिले नै अडान दिएर बलियो बनाउनु पर्ने र प्रतिष्ठानको ऐन बमोजिमनै पदपूर्ति गर्नु पर्नेमा सरकारको ध्याननाकर्षण गराउनु भयो ।
वक्तव्यको क्रममा जंगडोल सामुदायीक वनको अध्यक्ष सुदर्शन सिक्देलले प्रकृतिलाई मायाँ गर्ने भनेको आदिवासीनै भएकोले प्रकृतिपूजकलाई केन्द्रविन्दुमा बनाएर गए मात्र प्रकृतिको संरक्षण हुने वताउनु भयो ।
आजको आधुनिक विश्व जलवायु परिवर्तन बढ्दो विश्वव्यापी तापक्रम, वातावरणीय सन्तुलन खस्कँदो चपेटामा परेको वेला कार्वन उत्सर्जन कम गर्ने र प्रकृति जोगाउने विभिन्न आधुनिक उपायहरु खोजी भइरहँदा, विश्वका आदिवासी समुदायसंग युगौंदेखि पर्यावरण संरक्षण गर्ने आफ्नै मौलिक ज्ञान र संस्कृति छ ।
किरात सुनुवार (कोइँच ) समुदायमा प्रचलित वाशि पिदार यसैको उत्कृष्ट र जीवन्त उदाहरण हो । वाशि पिदार केवल धार्मीक अनुष्ठान मात्र नभै यो आगो पानी , हावा , आकाश र भूमिलाई साक्षी राखेर गरिने वातावरण पूजा हो । प्रकृति र पुर्खालाई सेवा दिँदै, जीवन भोगाइलाई सहज र सुरक्षित बनाउन गरिने यो आरधनाले मानिस र प्रकृति बीचको सह अस्तित्वलाई उजागर गर्दछ ।
कोइँच संस्कृतिमा जुनसुकै शुभकार्य, शिशुको नामाकरण, शाँदार, रुख काट्दा वा बालीनाली लगाउँदा वाशि पिदार अनिवार्य गर्ने चलन रहेको छ ।
यसै सन्दर्भमा सुनुवार समितिका महासचिव उत्तम सुनुवारले वास पिदार तीन चार प्रकारले गरिने वताउनु भयो यहाँले वास पिदार वातावरण सँग सम्बन्धित रहेको उल्लेख गर्दै आकाश, धर्ती,पानी, जमिन, हावा रआगो नै सृष्टि हो हाम्रो जीवन हो यही समग्र ब्रमाण्ड र प्रकृतिको पूजा नै वास पिदार भएको वताउनु भयो ।
कार्यक्रममा विभिन्न आदिवासी महिला नेतृ, सामाजिक अभियन्ता, वातावरणविद् तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले जलवायु संकटसँग जुध्न आदिवासी महिलाको ज्ञान, अनुभव र नेतृत्वलाई सम्मान गर्दै समावेशी तथा न्यायपूर्ण नीति निर्माणको आवश्यकता औल्याएका थिए ।




.jpg)




