मोबाइल बैंकिङ प्रयोग गर्नु हुन्छ ? होसियार ! कतै म जस्तै ठगिनु त भएको छैन ?

देव कुमार सुनुवार
देव कुमार सुनुवार१२ असार २०७९, आइतवार
मोबाइल बैंकिङ प्रयोग गर्नु हुन्छ ? होसियार ! कतै म जस्तै ठगिनु त भएको छैन ?

गत महिना मे १२, २०२२, अर्थात वैशाख २९, २०७९ ।  समय : करिव ८ः३० वजे बेलुका  । 

मेरो मित्र, विजयराज आचार्यको फेसबुक म्यासेन्जरबाट म्यासेज आयो । 

उहाँलाई म ‘सर’ भनी सम्बोधन गर्छु । उहाँसँग रामेछाप जिल्लाको उत्तरी गाउँपालिका उमाकुण्डमा पछिल्लो बाल साहित्य सम्मेलन र सम्मेलनका लागि तयारी कार्यशाला गोष्ठीहरुमा स्रोतव्यक्तिको हैसियतले विगत ३ वर्षदेखि चिनजान भएको हो  । 

उहाँकैे  सन्देश आएको थियो । 

‘सर नमस्ते । सन्चै हुनुहुन्छ ?’ मैले उत्तर दिए ‘नमस्ते, सन्चै छुँ, ।’

प्रत्येक दिन जसो कुरा भैरहने, उहाँ उपत्यका बाहिर करिव एक महिना जति विभिन्न विद्यालयमा शिक्षक र विद्यार्थीहरुलाई तालिम दिन जाने कुरा भैरहेको थियो । मलाई लाग्यो उतै हुनु होला !

एकैछिनमा म्यासेन्जरबाट कल आयो । तर मेरो कम्प्युटरबाटै जुममा मिटिङ चलिरहेको थियो र मैले बोल्नुपर्ने पालो आउन लागेको थियो, । त्यसैले त्यो कल काटि दिए । 

अनि दोस्रो म्यासेज आयो, ‘फाइन छु । सर !हजुरसँग मोबाईल बैंकिङ छ ?’ 

मैले भने, ‘हजुर छ सर ।’ 

फेरि म्यासेज आयो, ‘यो खल्ती आईडि मा रु २४,५०० पठाउन पुग्छ हजुर ? म भोलि हजुरको एकाउन्टमा हाल्दिन्छु ।’ 

मैले जवाफ दिए । ‘ओके, खल्तीको आईडि ?’ अनि जवाफ आयो, ‘९८२९५८९४७९ खल्ती आईडि । 

सेन्ड भएको फोटो हाल्दीनोस ल ?’ मैले जवाफ दिए, ‘ओके सर, नम्बर ठिक छ ?’ जवाफ आयो, ‘ठिक छ ।’ 

मोबाइल बैंकिङ प्रयोग गर्नु हुन्छ ? होसियार ! कतै म जस्तै ठगिनु त भएको छैन ?

पैसाको लेनदेन भैरहने र फेसबुकबाटै लेनदेनको कुराकानी पहिनल देखि भैरहने । विस्वाश गर्ने व्यक्तिबाट आएको अनुरोध, मलाई कतै शंका गर्ने ठाउँ थिएन । उपत्यका बाहिर जाने कुरा चलेकोले मलाई लाग्यो उपत्यका बाहिर जानुभएछ, राति अप्ठयारै परेछ क्यार । भनेजति रकम खल्ती आईडिमा मेरो मेगा वैंकको मोबाइल बैंकिङबाट तुरुन्त पठाए, म्यासेजमा भने जस्तै स्क्रीनसट खिँचे र पठाईदिए । अनि फेरी म्यासेज आयो, तपाईको कुन वैक हो ? मैले जवाफ दिए मेगावैक र मेरो वैंकको एकाउन्ट नम्बर स्कान स्क्रीनसट गरि पठाए । 

करिव एक घण्टा पछि, फेरी म्यासेज आयो । ‘सर रु २४,५०० फेरी त्यै खल्तीको आईडिमा पठाउन पुग्छ ? ’अनि फरि फेसबुक म्यासेन्जरबाट कल पनि आयो । तर मेरो मिटिङ चलिनै रहेको थियो । फेरि मैले कल काटे । मेरो एकाउन्टमा पैसो थिएन । मैले श्रीमतीलाई भने एकजना सरले पैसा मागि राख्नुभाछ, आपत परेछ क्यार । भोलि दिनुहुन्छ भन्नु भाछ । मलाई मेरो एकाउन्टमा ३० हजार ट्रान्सफर गरिदिनु त । पैसा मेरोमा तुरुन्तै ट्रान्सफर भयो र मैले पनि हत्तनपत्त  त्यहि खल्तीको आईडिमा ट्रान्सफर गरिदिए र स्क्रीनसट पठाईदिए । फेरि म्यासेज आयो !हजुरलाई एसएमएसमा भिडियो, आईडि फेसबुक कोड भनेर आयो हजुरलाई ?‘ मैले भने !हो आयो ।’ पुनः म्यासेज आयो !कति आइडिकोड आयो ?‘ मैले, म्यासेज मोबाईलबाट कपि गरे र तुरुन्तै म्यासेजमा पठाईदिए । 

भोलिपल्ट पैसा पठाउने कुरा थियो तर पैसा आएन मलाई लाग्यो । म्यानेज भएन होला । दिन वित्दै गयो । विजयराज आचार्य सरको फेसबुक वालबाट कैलाली कञ्चनपुर तिरका विभिन्न विद्यालयमा तालिम दिदै गरेका फोटाहरु आए । मैले सदा झै लाईक गरे । कहिले बधाई छ भन्दै कमेन्ट गरे । उहाँले पहिले भन्नु भए झै करिव एक महिना पछि काठमाडौं फर्केपछि जुन २, २०२२ मा विजयराज आचार्यसरको फेसबुकबाट म्यासेज आयो, ’नमस्कार सर । आरामै हुनुहुन्छ ?‘ 
राति म्यासेज आएको देखिन । रिप्लाइ गरिन भोलिपल्ट ८ वजे पछि कम्प्युटर खोले । म्यासेज देखेपछि, मैले जवाफ दिए । नमस्ते, आरामै छु सर । काठमाडौ आईपुग्नुभयो ? जवाफ आयो हजुर सर । करिव एक महिना भैसकेको थियो । पहिले नै पठाउने भनेको पैसा नआएपछि मैले मुख फोरे । लौन सर मिल्छ भने अस्ती मैले पठाएको पैसा म्यानेज गरिदिनोस न ? जवाफ आयो, कहिलेको कुन पैसा । अनि मैले त्यही मे १२ अर्थात बैशाख, २९ मा त्यहि खल्ती आईडिमा मैले ट्रान्सफर गरेको दुइवटा स्क्रिनसट पठाईदिए । उत्तर आयो । मैले बुझिन सर । अनि मैले फोन गरे । फोनमा कुरा भएपछि थाहा पाए । उहाँको फेसबुक मे १२, २०२२, अर्थात वैशाख २९ गते राति ह्याक भएको रहेछ । र भोलिपल्ट विहान सबेरै फेसबुक वालमा आफ्नो फेसबुकमा ह्याक भएको बारे पोस्ट पनि गर्नु भएछ ।  

जब, विजयराज आचार्य सरलाई भनि पठाएको मेरो रु ४९,००० (उनन्चास हजार) खल्ती प्रयोगकर्ताले झ्वाम पारेको थाहा पाएपछि मत छाँगाबाट खसेजस्तो महसुस भयो । सबै काम छोडेर, मैले टेकुस्थित प्रहरी परिसर काठमाडौंको साइवर क्राईम हेर्ने शाखामा, मैले फेसबुकमा भएको कुराकानी, मैले पठाएको रकमको स्क्रिनसटसहित जाहेरी लेखेर, अर्काको फेसबुक ह्याक गरी मलाई ठगी गर्ने खल्ती एप प्रयोगकर्तालाई पक्राउगरी कर्वाही गरि मेरो ठगिएको रकम फिर्ता गरिदिन अनुरोध गर्दैै मैले जाहेरी दिए । र बखुन्डोल ललितपुरस्थित खल्ती एपको कार्यलयमा गएर खल्ती एप प्रयोगकर्ताले ठगी गरेकोले सो ठगि गरेको रकम फिर्ता गरिदिन अनुरोध गर्दै, प्रहरीमा दिएको उजुरीको फोटोकपी समेत राखेर लिखित गुनासो दिए । तर खल्तीले गुनासो लिन मानेन । यो अपराधीक क्रियाकलाप प्रहरीले मात्रै छानविन गर्ने र कार्यालयमा उजुरीलिने अधिकारी नभएको भएको भन्दै पहिले गुनासो लिन इन्कार ग¥यो । कार्यालय समय सकिएको र गुनासो सुन्ने अधिकारी घर गइसक्नुभएको थाहा पाएपछि म घर फर्किए र भोलिपल्ट कार्यालय समयमा कानूनी र द्वन्द्व समधान गर्ने शाखाको अधिकारीहरुलाई भेट्टाईदिन अनुरोध गर्दै फेरि सोही उजुरी लिएर खल्ती एपको कार्यलय पुगे । 

करिव १ घन्टाको कसरत पछि, कानूनी शाखा हेर्ने विजय पौडेलसँग भेट भयो र वार्तालाप भयो । मैले सवै वेलिविस्तार लगाए । उहाँको जवाफ आयो । यो सबै मोबाइल बैंकिङ, खल्ती र इसेवा जस्ता इन्टरनेट एप प्रयोगकर्ताको अज्ञानताको कारण अर्थात म र मजस्ता मोबाइल बैंकिङ प्रयोगकर्ताकै गल्तीको कारण ठगीन पुगेकोले खल्ती जवाफदेही नहुने भन्दै पन्छिए । र अन्तत म, सन्चारकर्मी भएको परिचय दिएपछि, राष्ट्र बैकको फाइनस्सीयल इन्र्फरमेसन युनिटमा यो विषय उठान गरिदिने र सम्भव भएसम्म प्रहरी र नेपाल राष्ट्र बैकको अग्रसरतामा सवै जानकारी उहाँहरुलाई दिएर खल्ती एप प्रयोगकर्ताबाट रकम फिर्ता गर्न सघाउने आश्वासन दिनुभयो । मैले मेगा बैंकमा पनि खल्ती एपमा गएको रकम ट्रेस गरि बैंकमा खल्ती एप प्रयोगकर्ता खाता रहे नरहेको पत्ता लगाईदिन आग्रहसहित निवेदन लेखेर दर्ता गर्न लगाए । 

आज करिव एक महिना भयो । दाङ जिल्ला घर भएका निम बहादुर रेउले नाम गरेको व्यक्तिको नागरिकता र एनसेलको सिम प्रयोग गरी खल्ती एप खोलेर ठगी गरेको र मैले पठाएको र रकम विभिन्न वैकको खातामा पठाएको, किनमेल गरेको, अन्य व्यक्तिको खातामा पठाएको पत्ता लाग्यो । तर नियमित रुपमा सवैतिर सो ठगी बारे छानविन भएनभएको बारे फलोअप निरन्तर गरे पनि परिणाम भने शुन्य जस्तै छ । 

अनलाईन मोबाईल वैंकिङ गर्ने सवैलाई कम्तीमा एकपटक फोनमा कन्र्फम गरि मात्र कारोबार गर्न अनुरोध गर्न चहान्छु र अन्तीममा भन्न चहान्छु, प्रविधिको प्रयोगगरी गर्ने ठगहरुबाट होसियार !

प्रहरीका अनुसार अहिले समाजिक सञ्जालमा आफ्नै साथी बनेर ठगी गर्ने क्रम बढ्दो छ । ठगीका लागि अफनो साथीको सामाजिक सञ्जाल, फेसबुक, ह्याटसएप, भाईबर, इन्स्ट्रग्राम ह्याक गरेर आफुलाई निकै अप्ठयारोमा परेको देखाएर ठगी गर्ने गिरोहहरु सक्रिए भएका छन् । प्रहरीमा यसरी ठगीमा परेकाहरुको उजुरी चाङ नै लागेको छ ।  प्रहरी परिसर काठमाडौंमा मात्रै करिव ५०० हाराहारीमा त्यस्ता ठगीका उजुरीहरु परेका छन् । ठगीमा संलग्न व्यक्तिहरुले नेपाल र भारतको सिमाक्षेत्रमा रकम झिक्ने गरेका छन् । नेपालको बैंकिङ सिस्टम विशेषगरी खल्ती र इसेवा जस्ता इन्टरनेट वैंकिङ एप, जस्ले व्यक्तिहरुको पहिचान विना खाता खोल्न इन्टरनेटको पहँुच भएको ठाउँबाट सहजैरुमा जो सुकैले अदृष्यरुपमा आफै खाता खोल्ने र आफै भेरिफाइ गर्ने र रकम लेनदेन गर्न सजिलो परेको र यि उच्चतम प्रविधि प्रयोगकर्ताको गतिविधि निगारानी गर्ने निकाय र नियमन गर्ने कानून नभएको कारण ठगी वढेकोले यस्ता प्रविधि प्रयोगगरी ठगी गर्ने गिरोहलाई प्रक्राउगरी कार्वाही गर्न कठिन भएको प्रहरीहरुको भनाई छ । अनलाईन कारोबार गर्ने सिस्टम र यसबाट हुने ठगी वा अपराधको प्रकृति बारेमा प्रत्येक व्यक्तिलाई जानकारी नभएसम्म ठगिनेक्रम नरोकिने पनि प्रहरीको भनाई छ । 

सामाजिक सञ्जाल ह्याकगरी गरेको कसुर वा ठगीलाई प्रहरीले मुलुकी अपराध (संहिता) ऐन, २०७४, वैकिङ कसूर तथा सजाय ऐन, २०६४, वित्तिय कारोवर, २०६३ अन्र्तगत दफा ४५ र ४६ को कम्युटर सामाग्रीमा अनाधिकृत पहुँच र कम्प्युटर र सूचना प्रणालीमा क्षति पुराएको कसूर मानी फौजदारीमुद्धाका रुपमा छानविन वा अनुसन्धान गरि ठगीकर्तालाई कसूरको गम्भीरता हेरी दुइलाख रुपैयासम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय दिने प्रावधान अन्र्तगत कार्वाही गर्न सक्ने कानूनी प्रवधान छ र सोही अनुसार प्रक्राउ गर्न सकेको खण्डमा कार्वाही समेत गरेको प्रहरीको भनाई छ ।  यसरी झुक्काएर ठग्नेक्रम वढेपनि कम रकम ठगिनेहरुले भने प्रहरीमा उजुरी दिएका छैनन । तर धेरै रकम ठगीएकाहरु प्रहरीको सम्पर्कमा आएपनि ठगी गर्नेलाई प्रक्राउगरी कार्वाही गरेको उदाहरणहरु भने थोरैमात्र छ । मलाई लाग्छ, प्रविधिमा अभ्यस्तहरुबाट ठगिएको म मात्रै एक्लो पिडित हैन । तर मलाई पश्चताप केमा लागेको छ भने, फेसबुकबाट मैले एकदमै विश्वास गर्ने व्यक्तिबाट आएको अनुरोधलाई जति नै अप्ठयारो परेको भएपनि कम्तीमा त्यो रात पर्खेर भोलिपल्ट फोनमा बातचित गरि कन्फर्म गरेको भए, वा त्यही वेलुका कम्तीमा फोनमा कन्र्फम गरेको भए, म यसरी ठगिमा नपर्ने थिए । तर खैर, वितेको कुरा अहिले पश्चताप गरेर केही उपलब्धी नहोला । तर  व्यक्तिहरुको पहिचान विना खाता खोल्न र विद्युतीय कारोबार गर्न सहज तुलाउने खल्ती र इसेवा जस्ता अनलाइन वैंकिङ संचालकलाई नियमन गर्न कडा कानून बनाउन र नियमक निकाय गठन गर्न सहयोग पुग्दछ भने मेरो ठगीको अनुसन्धान अन्तिमसम्म पनि सरोकार निकायसँग मेरो उजुरीबारेमा निरन्तर फलोअप गर्न भने छोड्ने छैन । र अनलाईन मोबाईल वैंकिङ गर्ने सवैलाई कम्तीमा एकपटक फोनमा कन्र्फम गरि मात्र कारोबार गर्न अनुरोध गर्न चहान्छु र अन्तीममा भन्न चहान्छु, प्रविधिको प्रयोगगरी गर्ने ठगहरुबाट होसियार !

प्रतिक्रिया

अन्य सामाग्रीहरु देव कुमार सुनुवार