विश्व आदिवासी दिवशको मूल नारामा नै लफडा, नेपाल पनि प्रभावित

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ८ साउन २०८२, बुधवार
विश्व आदिवासी दिवशको मूल नारामा नै लफडा, नेपाल पनि प्रभावित

हरेक बर्ष अगष्ट ९मा मनाइने विश्व आदिवासी दिवशको मूल नाराको बहसले  यस बर्षको (२०२५) दिवश मनाउने कार्यक्रमहरु प्रभावित बनेको छ । यसको प्रभाव नेपालमा पनि परेको छ । 

संयुक्त राष्ट्र संघले विश्व आदिवासी दिवशका लागि ‘आदिवासी जनताको अधिकार र भविष्य निर्माणमा एआई (कृतिम बौद्धिकता)को भूमिका’ मूल नारा राखिएको छ भने संयुक्त राष्ट्र संघ अन्तर्गतकै निकाय अन्तराष्ट्रिय कृषि विकास कोष (आइफाद)ले ‘आदिवासी जनजातिको आत्मनिर्णयको अधिकारः खाद्य सुरक्षातर्फको मार्ग र स्वाधिनताको आधार’ भन्ने मूल नारा अघि सारेको छ ।  यी दुवै नाराका कारण आदिवासी जनजाति सम्बद्ध संघ संस्थाहरुमा अन्योल देखिएको छ । संयुक्त राष्ट्र संघको स्थायी मञ्चले अहिलेसम्म आधिकारिक कार्यक्रम ल्याउन सकेको छैन  । 

आदिवासीको क्षेत्रमा काम गरिरहेका विज्ञ तथा विशेषज्ञहरु यी दुवै नाराहरुमा खासै फरक नभएको तर्क पनि नसुनिएका होइनन् तथापि आइफादको नारा लोकप्रिय बनेको छ ।  खासगरेर आइफादको नारामा आत्मनिर्णयको अधिकारको विषयलाई प्रमूखता दिइएको छ । यस अन्तर्गत खाद्य सुरक्षा, भूमिको स्वामित्व र आदिवासीको सम्प्रभुतासंग जोडिएकाले पनि यो नारा लोकप्रिय बनेको हो ।

अर्कोतिर संयुक्त राष्ट्र संघको महासभाद्वारा पारित अर्को नारा कृतिम बौद्धिकता (एआई) सम्बन्धी अघि सारिएको नारा पनि आदिवासी जनजातिका लागि अरु सान्दर्भिक भएको दावी गर्नेहरुको पनि कमी छैन । पछिल्लो समयमा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा पनि एआईको प्रयोग हुन थालेको हुँदा एआईसम्बन्धी आदिवासीको अधिकारको दावी गर्न पछि पर्नु हुँदेन भन्ने मान्यता अघि सारिएको छ ।  मूलतः एआइको सकारात्मक संभावनालाई  साकार पार्न र त्यसबाट हुन सक्ने संभावित हानीबाट आदिवासी समुदायलाई बचाउन पनि यस नाराको प्रचार तथा बहस हुन जरुरी भएको तर्क गर्नेहरु पनि छन् । 

तथापि आइफादले अघि सारेको खाद्य सुरक्षा र सार्वभौमिताको अधिकारको पक्षमा तर्क गर्नेहरुले अहिलेको विश्वव्यापी सन्दर्भमा झनै सान्दर्भिक रहेको आफनो राय विश्व मन्चमा प्रस्तुत गरिरहेका छन् ।

आइफादका अध्यक्ष अल्भारियो लारियोले यो बिषयमा व्याख्या गर्दै परम्परागत मानसिकतामा चुनौति दिएर सोँच र मान्यताहरुमा रुपान्तर गर्न यो अवधारणा ल्याउनु परेको बताएका छन् । उनले भनेका छन् –‘आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार, खाद्य सुरक्षा र सार्वभौमिता जस्तो बिषयको बहसले बिश्वको परम्परागत माइन्डसेटलाई परिवर्तन गराउँछ ।’

तान्जीयनिया स्थित तुमैनी विश्वविद्यालयकी प्राध्यापक डा. इलिफुरिया लाल्तैकाको विचारमा आदिवासीको खाद्य प्रणाली र आत्मनिर्णयको अधिकार बीच गहिरो सम्बन्ध रहेको छ ।

अन्तराष्ट्रिय आदिवासी मामिलाका लागि कार्यसमूह (इग्या) को प्रकासनहरुमा पनि  आदिवासीको परम्परागत जीवनशैली, भूमि अधिकार, भाषा र साँस्कृतिक पहिचानका बिषय प्रत्यक्ष जोडिने उल्लेख छ । 

उता संयुक्त राष्ट्रसंघले विश्व आदिवासी दिवशका अवसरमा अघि साएिको ‘आदिवासी जनताको अधिकार र भविष्य निर्माणमा एआई (कृतिम बौद्धिकता)को भूमिका’ विषय बर्तमानको जल्दोबल्दो बिषय भएकाले यो नारालाई बहसमा लैजानु पर्ने तर्क अघि सारेका छन् । खास गरेर विश्वमा बढ्दै गएको कृतिम बौद्धिकताको प्रयोगलाई नियन्त्रण नगरिएमा उपनिवेशीकरणको प्रक्रिया अरु बडेर आदिवासी जनजाति आजको स्थिति भन्दा बढी जोखिममा पर्ने सम्भावना औल्याइएको छ । 

कृतिम बौद्धिकताको विषयलाई नियन्त्रण नगरिएमा आदिवासी जनजातिकोआत्मनिर्णयको अधिकार, भूमि, क्षेत्र र स्रोतहरुको अधिकार गुम्ने तथा भाषा, संस्कृति र परम्पर।ाहरु मासिने चिन्ता गरिएको छ । अन्तराष्ट्रिय कानुनमा उल्लेख भएको स्वतन्त्र, अग्रीम जानकारी सहितको मन्जुरी (एफपीक)को अधिकार पनि गुम्ने खतरा रहेको तर्क गरिएको छ । 

विश्वव्यापी रुपमा आदिवासी जनजातिहरु जेनोसाइड, वहिस्करण, सिमान्तीकरण र साँस्कृतिक उपनिवेशको कव्जामा परिरहेको बेला कृतिम बौद्धिकता (एआई)ले समाजमा आक्रमक रुपमा विस्तार भइरहेकाले कृतिम बौद्धिकताजस्ता अत्याधुनिक प्रविधिको आविस्कार गर्ने कम्पनीहरुले आदिवासीको अधिकारको सम्मान गर्न र गराउन पनि विश्वका आदिवासीहरु एकै स्वरमा प्रतिरोधमा उत्रनु पर्नेमा यो नाराले सम्झाएको छ । 

खास गरेर आदिवासी जनजातिहरुको तथ्याँक सम्प्रभुता (डेटा सोभरिन्टी) को पक्षमा वकालत गर्दे आएको विषयको निरन्तरताका रुपमा हेरिएको छ । यसका लागि एआई प्रयोग गरिदा एफपीक लागु हुनु पर्ने मूख्य बिषय रहेको छ । एआई प्रयोगकर्ताहरुले आदिवासी ज्ञान, साँस्कृतिक सम्पदा तथा आदिवासीसंग सम्बन्धीत तथ्य र तथ्याँकको प्रयोग भइरहेको विभिन्न अनुसन्धानहरुबाट देखिन्छ । यसको नेतृत्व माइक्रोसफट, गुगल तथा एमाजोन जस्ता ठूला कम्पनीहरुले गरिरहेका छन् । यसको नीति निर्माणमा नैतिक ढाँचा तथा मापदण्डहरु बनेको छेन । यसका लागि पहुपक्षीय बिश्व मञ्चहरुमा छलफल गराएर सार्थक समाबेशी शासन प्रणालीको अभ्यास हुन जरुरी छ । त्यसैले संयुक्त राष्ट्र संघको आदिवासी जनजाति सम्बन्धी स्थायी मन्चमा एआइको विकास, कार्यन्वयन र शासन प्रणालीमा आदिवासी जनजातिको सार्थक सहभागितामा जोड दिएको हो । 

एआइको प्रयोगले आदिवासी जनजातिलगायतको अधिकारको संरषण नगर्ने तथा साँस्कृतिक सम्पदा कव्जा गर्ने उद्देश्यबाट विकास गरिएको औजार भएको आरोप पनि बेला बेलामा उठ्ने गर्दछ । त्यसैले त एआइको विकास निश्पक्ष र न्यायसंगत नभएको तर्क गरिन्छ । 

नेपाली परिप्रेक्षमा दुवै नाराको आप्mनो आप्mनो महत्व रहेको छ । एकातिर एआई डिजिटल उपनिबेशको औजार भएकाले यस बिषयमा जनचेतना जगाउन र बिश्व रंगमञ्चमा शसक्त आवाज उठाएर डिजिटल तटस्थता बनाउन अभियान चाल्नु पर्ने अवस्था छ भने आइफादले भने जस्तो आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार, भूमि, भूक्षेत्र र स्रोतको सहि प्रयोग गराउन खाद्य सुरक्षाको सवाल पनि उठाउन जरुरी छ । 

संयुक्त राष्ट्रसंघका आदिवासी मामलाका समाधिक्षक अल्वर्ट के बारुमेको भनाइमा पनि आत्मनिर्णको अधिकार नै अन्य अधिकारको मूल सेत भएकाले यसलाई छाड्न सकिदैन ।  

नेपालमा पनि आदिवासी अधिकारको पक्षमा संक्रमणकाली कार्य भइरहेको अवस्थामा आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट संघीइ घोषणापत्र र आएएलओ महासन्धी नम्बर १६९को पक्ष राष्ट भएको हुँदा यसको सफल कार्यन्वयन र संविधान तथा कानुनमा व्यवस्थित विषयलाई व्यबहारमा लागु गर्नु चुनौतिको बिषय छ । विश्व आदिवासी दिवश मनाइरहंदा देशको आफनै मौलिक बिषय र सन्दर्भलाई बहसमा लैजान आवश्यक छ । 

प्रतिक्रिया