नेपालको संविधान (२०७२)को धारा–६ मा ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् ।’ धारा–७ (१) मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ । (२) नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ । (३) भाषा सम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेबमोजिम हुनेछ ।’ उल्लेख छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार मुलुकमा १४२ जातजाति छन भने १२४ भाषा बोलिन्छन् ।
जाग्दै लोपोन्मुख दुरा भाषा
नेपालका भाषावैज्ञानिक तथा अनुसन्धाताले पत्तालगाए कि दुरा जाति छन् तर भाषा छैन । छिमेकमा रहेका मुक्तिनाथ घिमिरेमात्र दुरा भाषा जान्छन् । उनैले दुरा भाषा बोल्न, लेख्न, अध्ययन अनुसन्धान गर्दै आएका छन् । उनले जानेका बोलीचाली संकलन गरेर फेरि दुरा समुदायलाई सिकाउन सकिन्छ भनेर सुझाव दिए । तथ्यांकले दुरा भाषा बोल्नेको जनसंख्या १९९१ जना देखाएको छ । तर त्यो मातृभाषा बोल्न जान्नेको संख्या होइन ।
अभिलेखन हुँदै लोपोन्मुख कुसुन्डा भाषा
यसैगरी भाषावैज्ञानिकले कुसुन्डा जाति छन् तर दुरा भाषा बोल्न जान्ने दुई जना दिदीबहिनीमात्र छन् । ज्ञानीमैया कुसुन्डा र कमला खत्री छन् । तिनै दुईजनाले जाने जति कुसुन्डा भाषा अध्ययन अनुसन्धान गरेमात्र भाषा अझैं बचाउन सकिन्छ भन्ने अभिमत जाहेर गरे । सँगसँगै भाषाविज्ञान रुचि राखेर अध्ययन अनुसन्धानमा लागेका आफ्नो विद्यार्थीलाई लोपोन्मुख भाषाको अध्ययन अनुसन्धान तथा अभिलेखीकरण गर्न बाटो देखाए ।
त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागअन्तर्गत यी दुई लोपोन्मुख भाषाको प्राज्ञिक अध्ययन, अनुसन्धान र अभिलेखीकरण कार्य हुँदैआएको छ । यसैगरी नेपाल सरकारमातहतमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, भाषा आयोग, नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत निकायले लोपोन्मुख भाषाहरूको अभिलेखीकरणमा चासो देखाउँदै आएका छन् ।
धनबहादुर कुसुन्डा भन्नुहुन्छ– भाषा आयोगले निरन्तर पाँचौं वर्षसम्म कुसुन्डा भाषाको प्रशिक्षण कक्षा संचालन गरेपछि मातृभाषाप्रति आशा जागेको छ । केटाकेटीले आपसमा बोल्न र बुझ्न सक्ने भएका छन् । सबै एकै ठाउँ बस्न पाए, बोलीचाली निरन्तर हुन्थ्यो । थोरै जनसंख्या, टाढा टाढा बसाइले गर्दा अनेक समस्याहरूले चुनौतीपूर्ण छ । शब्दकोश, पाठ्यसामग्रीहरू छापिएका छन् ।
कुसुन्डा भाषाका अध्यता तथा प्रशिक्षक उदयराज आले ज्यादै उत्साहित भएको बताउनु हुन्छ । किनकि ज्ञानीमैया र कमला खत्रीबाट सिकेको कुसुन्डा भाषामा आफैंले प्रशिक्षण दिएका बालबालिकाले तयार पारेका सिर्जनात्मक पुस्तिकाहरू प्रकाशित भएका छन् । यही २५औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा काठमाडौंमा कुसुन्डा भाषाका ती १० वटा पुस्तक सामग्री सार्वजनिक हुँदैछन् । ती पुस्तकमा कुसुन्डा जातिको जीवनशैली, खानपान, चिठीपत्र, निबन्ध, कथा आदि विषय समेटिएका छन् । भाषा आयोगले समेत कुसुन्डा भाषाको पाठ्यसामग्री प्रकाशित गरेको छ । यसअघि कुसुन्डा भाषाको व्याकरण प्रकाशित छ । ‘सोजक’ नामक पुस्तकसँगै उदयराज र कमला खत्रीबीचको अडियो संवादसमेत निर्मा भएको छ । तथ्यांकले कुसुन्डा भाषा बोल्नेको जनसंख्या २३ जनामात्र देखाएका छ ।
यसैगरी भाषा आयोगले दुरा भाषाको उत्थानमा केही पहल गर्दै आएको छ । दुराको बसोबास क्षेत्र तनहुँ, चितवनलगायत ठाउँमा भाषा कार्यशालाको आयोजना भएको छ । दुरा भाषाविद् मुक्तिनाथ घिमिरे दुरा भाषा उत्थानका लागि आजीवन समर्पित हुँदै आउनु भएको छ । उहाँकै प्रशिक्षणमा अहिले पाठ्यक्रम तथा पाठ्यपुस्तकहरू निर्माण भएका छन् । म्यासेन्जर ग्रुपमा दुरा भाषाको समूहगत प्रशिक्षण सुचारु छ । शिक्षिका कमला दुराले प्रशिक्षण दिनु हुन्छ ।
‘पहिले भाषाविद्ले दुरा भाषा छैन भन्दै आए । अहिल दुरा भाषाको प्रगति भएको छ,’ दुरा सेवा समाजका पूर्वअध्यक्ष तथा मातृभाषा अभियन्ता देवबहादुर दुरा भन्नुहुन्छ, ‘पहिले अनुसन्धानमात्र थियो । अहिले समुदायमा मातृभाषामा बोलीचाली व्यवहार हुन थालेको छ । बालबच्चा बोल्छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा निरन्तर रूपमा दुरा भाषाको कविता वाचन गर्दै आएको छु । साहित्य सिर्जना अघि बढेको छ । दुरा भाषा बच्यो । हाम्रो पहिचान खुल्यो भनेर उत्साहित छौं । यो भाषा यहाँसम्म ल्याइपु¥याउन मुक्तिनाथ घिमिरेज्यूले योगदान दिनु भएको छ ।’ अन्तर्राष्ट्रिय मातृभाषा दिवसले दुरा भाषाको उत्थानमा थप जागरण पैदा गरेको देवबहादुरको कथनले पुष्टि गर्छ ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस
बङ्गाली भाषाको अस्तित्वलाई लिएर आन्दोलन चर्कियो । सन् १९५२ फेब्रुअरी २१ का दिन ढाका विश्वविद्यालयका विद्यार्थी तथा राजनीतिक कार्यकर्ताहरू विरोधमा उत्रिए । सरकार प्रशासनले प्रदर्शनकारीहरू माथि गोली चलाउँदा आधा दर्जन विद्यार्थी र प्रदर्शनकारीले सहादत पाए भने सयौं घाइते भए । अन्ततः भाषिक आन्दोलनसँगै सन् १९७१ पाकिस्तानबाट छुट्टिएर बङ्गलादेश स्वतन्त्र राष्ट्र बन्यो । बङ्गलादेशले २१ फेब्रुअरी मातृभाषा दिवस मनाउँदै आयो । युनेस्कोले मानक भाषा र साँस्कृतिक अधिकारको सम्मानमा सन् १९९९ मा २१ फेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा ग¥यो । त्यसयता फेब्रुअरी २१ अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदै आएको छ । सन् २०२५ पच्चीसौं अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । यो पटकको नारा ‘दिगो विकासका लागि भाषाहरूको गणना गर’ रहेको छ ।
संयुक्त राष्ट्रसंघले सन् २०२२ देखि २०३२ लाई आदिवासी भाषा दशक घोषणा गरेको छ । सदस्य राष्ट्र नेपाल सरकारले त्यसनिम्ति पक्कै पनि यो दशकलाई फलिभूत तुल्याउने छ भन्ने आशा राखिएको छ ।
हो, युनेस्कोले घोषणा गरेको अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालमा सन् २०१० फेब्रुअरी २१ (विसं. २०६६)देखि औपचारिक रूपमा मनाउन थालिएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय भाषा दिवस महोत्सवको शुभारम्भ गरेपछि निरन्तर रहेको छ । मातृभाषा साहित्य महोत्सव गर्दै आएको छ । पहिलो दिन मातृभाषा गोष्ठी हुने गरेको छ । दोस्रो दिन साँस्कृतिक झाँकी प्रदर्शन, बहुभाषिक कविता गोष्ठी र मातृभाषा साहित्य पुरस्कार प्रदान गर्ने गरिएको छ ।
यसैगरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, भाषा आयोगले समेत कविता गोष्ठी र पुरस्कार प्रदान गर्ने गरेको छ । भाषा आयोगले काठमाडौंस्थित बंगलादेश दूतावास, युनेस्कोलगायतलाई गुहारेर कार्यक्रम गर्ने गरेको पाइन्छ । आदिवासी जनजाति आयोग, मधेसी आयोगलगायत यो दिवसमा कार्यक्रम गर्ने गरेका छन् । संविधानमा उल्लेख भएबमोजिम अरु निकायहरूको समेत चासो बढ्न थालेको पाइन्छ ।
बागमती प्रदेशले तामाङ र नेपालभाषा सरकारी कामकाजको भाषा घोषणा गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । मधेस प्रदेश आवश्यक प्रक्रिया अघि बढाएर अघि बढेको तर केही सिलसिला नमिले पछाडि हटेको स्थिति छ । गण्डकी प्रदेशले गुरुङ र मगर भाषालाई चाँडै सरकारी कामकाजको भाषा बनाउन ऐन जारी गर्ने अपेक्षा गरिएको छ । बाँकी चारवटा प्रदेशले पनि यसतर्फ ध्यान पु¥याउने नै छन् भन्ने आशा छ । तर संघीय सरकारले अहिलेसम्म भाषा ऐन जारी नगर्दा उपयुक्त निकास पाउन सकेको स्थिति छैन ।
स्थानीय सरकारमध्ये काठमाडौं महानगरपालिकाले नेपालभाषालाई विद्यालय तहमा पाठ्यपुस्तक निर्माण गरी शिक्षक दरबन्दीसहित पठनपाठन सुचारु राखेको छ ।
उपत्यकाका अरु महानगर तथा नगरपालिकाले समेत बाहुल्यताका आधारमा मातृभाषामा पठनपाठनलगायत गतिविधिहरू सुचारु राखेका छन् । यसैगरी देशभरिका ७५३ वटै पालिकाले स्थानीय मातृभाषीहरूको बाहुल्यताका आधारमा विद्यालय तहमा पठनपाठनको व्यवस्था गर्दै जाने हो र यो क्रम सकारात्मक ढंगले अघि बढ्ने हो भने बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुकको पहिचान जीवन्त रहन्छ भन्ने सकिन्छ । मुलुकका विश्वविद्यालयहरूले त्यसैअनुसारका पहलकदमीहरू अघि बढाउँदै लगेको खण्डमा एक दिन मनाइने अन्तर्राष्ट्रिय मातृभाषा दिवसको प्रभाव दीर्घकालीनसम्म रहने निश्चित छ ।
यसैगरी सरकार मातहतका संचार माध्यमहरू गोरखापत्रमा ४५ भाषा, रेडियो नेपालमा २५ भाषा, नेपाल टेलिभिजनमा १४ भाषा र राष्ट्रिय समाचार समितिमा पाँचवटा भाषामा सेवा प्रदान गर्दै आएका छन् । यो सकारात्मक कदम हो । यसका अलावा निजी क्षेत्रबाट खुलेका आमसञ्चारका माध्यमहरूमा समेत मातृभाषाहरूका कार्यक्रम, साहित्य तथा समाचारलाई स्थान दिलाउने पहल हुन जरुरी छ । यति हुँदाहुँदै पनि विज्ञान र प्रविधिको विकास, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को जमाना छ । मातृभाषी समुदायका भाषालाई ती प्रविधिसित स्पर्धा गर्ने क्षमता दिलाउने उपायको समेत खोजी हुन र लागू हुन जरुरी छ ।