गायक कुमा सागर र भाषिक मानवअधिकार

गणेश राई
गणेश राई१६ फागुन २०८१, शुक्रवार
गायक कुमा सागर र भाषिक मानवअधिकार

‘भाषा विचार विनिमयको साधन मात्रै नभई, संस्कृतिको वाहक, ज्ञान तथा सभ्यताको खानी पनि हो’ भन्नेतर्फ सबैको ध्यानाकर्षण भएकै हुनुपर्छ । तर, हाम्रो नेपाली समाजमा त्यो चेतनालाई भद्दा मजाकका रूपमा लिने गरिएको छ । भरखरै ‘फेब्रुअरी २१ : अन्तर्राष्ट्रिय मातृभाषा दिवस’ मनाइरहँदा देश नेपालमा बोलिने मातृभाषा र सामाजिक मूल्यमान्यताका शब्दमाथि भए, गरिएका ती भद्दा मजाकमाथि भाषावैज्ञानिक डा. तारामणि राईले समाजको ध्यानाकर्षण गराएका छन् । पछिल्लो घटना क्रम यस्तो छः

घटना–१ नेवारी टोनमाथि मजाक

‘गायक कुमा सागरलाई गिज्याएको आरोपमा ३ कमेडियनविरुद्ध प्रहरीमा निवेदन’

नेपाल भाषाको लवजमा गीत गाएर गायक कुमा सागरलाई गिज्याएको आरोपमा ३ जना कमेडियन विरुद्ध प्रहरीमा निवेदन दर्ता गरिएको छ । नेवार समुदायका व्यक्तिहरूले कमेडियन सजन श्रेष्ठ, सुशान्त प्रधान र उत्सव सापकोटा विरुद्ध निवेदन दिएका हुन् । कुमा सागरलाई गिज्याएर सम्पूर्ण नेवार समुदायको आत्मसम्मानमा चोट पुगेको निवेदनमा दाबी गरिएको छ (रातोपाटी डटकम २०८१ फागुन ५)। 
‘गायक कुमा सागरलाई गिज्याउनेमाथि कारबाही नगरेको भन्दै प्रदर्शन’

नेपाल भाषाको लवजमा गीत गाएर गायक कुमा सागरलाई गिज्याएको आरोपमा ३ जना कमेडियन विरुद्ध प्रहरीमा निवेदन दर्ता गरिएको छ ।

गायक कुमा सागरलाई गिज्याउनेमाथि कारबाही नगरेको भन्दै सम्पदा संरक्षण महाअभियानले बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि प्रदर्शन गरेको छ । नेपाल भाषाको लवजमा गीत गाएर गायक कुमा सागरलाई गिज्याएको आरोपमा ४ जनाविरुद्ध प्रहरीमा निवेदन दर्ता गरिएको छ । उनीहरूले कमेडियन सजन श्रेष्ठ, सुजन जिम्बा र उत्सव सापकोटासहित पोडकास्ट चलाउने सुशान्त प्रधानविरुद्ध निवेदन दिएका हुन् ।  कुमा सागरलाई गिज्याएर सम्पूर्ण नेवार समुदायको आत्मसम्मानमा चोट पुगेको निवेदनमा दाबी गरिएको छ (स्रोतः रातोपाटी डटकम)।

भक्तपुर निवासी कुमा सागर एक प्रतिभाशाली नेपाली गायक हुन् । उनको पूरा नाम सिद्धि सागर प्रजापति हो । आफ्नै सांगीतिक ब्याण्ड ‘कुमा सागर एण्ड द ख्वपः’ रहेको छ । उनले नेवारी परम्परागत र आधुनिक संगीतको अनौठो मिश्रण प्रस्तुत गरेर नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएका छन् । ‘ओ चम्पा गन वाना’, ‘फुरफुरी’, ‘चमेली फूल’ लगायत उत्कृष्ट गीतहरू गाएका छन्, जुन युट्युबमा चहारेर सुन्न, देख्न, रसास्वादन लिन सकिन्छ । मेटलदेखि भजनसम्म गाउँनेउनले धिम्या, सिछ्या, भुछ्या, खिं जस्ता परम्परागत बाजा अनि भक्तपुरे नेवारी परम्परालाई झ्याप्पै अँगोलेका छन् । उनकै शब्दमा आफ्नो बाजेले भजन गाउनु हुन्थ्यो । आमाले भजग गाऊ भन्नुहुन्थ्यो । गितार सिक्दै गर्दा आफूले आफैंलाई हिरो लाग्थ्यो । उनी गायक र संगीतकार दुवै हुन् । परम्परागत लोकबाजा र भजन संगीतको शक्ति लिएर उनी नेपाली संगीतको आकाशमा एक झुल्को उज्यालो दिइरहेका छन् । 

घटना–२ ‘ढोग दियाँ’

गत मङ्सिरमा चर्चित टिकटकर आयुष सिंह ठकुरी र उनकी आमा नानुबिचको जुहारी टिकटकमा भाइरल थियो । त्यो सिलसिला लामै समय चलेको थियो । त्यस क्रममा नानु पनि भाइरल बनिन् । विवादकै क्रममा सामाजिक सञ्जालले ‘ट्रोल’ गरेपछि आयुष र उनकी पत्नी एलिजे जमाली टिकटकबाट केही समय बाहिरिए । उनै आयुषकी आमा नानु टिकटक तथा सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्ति दिँदा पहिले ‘नमस्ते, ढोग दियाँ’ भन्न थालिन् । उनको सिको गर्दै सामाजिक सञ्जालको भिडले यो शब्द प्रयोग गर्न थालेको हो (पुष्प भट्टः२०८१ पुस २४, नागरिकन्यूज)।

सुदूरपश्चिम र कर्णालीको सेरोफेरोमा नजिकको मान्यजनलाई शिष्टाचार एवं आदरार्थी शब्दको रूपमा ‘ढोग दियाँ’ शब्द प्रयोग हुने गर्दछ । सामाजिक मूल्यमान्यताले भरिएको शब्दलाई उरन्ठेउला मजाकले सुदूरपश्चिम क्षेत्रका सांस्कृतिक अभियन्ता तथा समुदायको ध्यानाकर्षण गरायो । देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ‘ढोग दियाँ’ शब्दको दुरुपयोग भएको र सुदूरपश्चिमको मौलिकता, संस्कार र भाषा संस्कृतिलाई होच्याउने गीत–सङ्गीतप्रति खेद प्रकट ग¥यो । ‘हाम्रो परम्परा मौलिकता सभ्यता र संस्कारसँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गर्ने गरी दुरुपयोग तथा दिन प्रतिदिन काली कर्णालीको संस्कारको बेइज्जत हुनेगरी विभिन्न सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरिँदै आएका अपाच्य गीत, सङ्गीत वा सामाजिक सञ्जालमा रहेका विषयवस्तुप्रति गम्भीर आपत्ति जनाउँदछौँ ।’ प्रतिष्ठानले विज्ञप्तिमा भनेको छ । 

सुदूरपश्चिम प्रदेश सरकारको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले ‘ढोग दियाँ’ शब्दको खिल्ली उडाउनु खेदपूर्ण रहेको भन्दै विज्ञप्ति निकाल्यो ।

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले ‘ढोग दियाँ’ शब्दको खिल्ली उडाउनु खेदपूर्ण रहेको भन्दै विज्ञप्ति निकाल्यो । ‘सुदूरपश्चिम र कर्णालीको सेरोफेरोमा नजिकको मान्यजनलाई शिष्टाचार एवं आदरार्थी शब्दको रूपमा ‘ढोग दियाँ’ शब्द प्रयोग हुने गर्दछ । यो अत्यन्त शिष्टाचारको शब्द हो । सबैलाई ढोग दिइँदैन । पछिल्लो समयमा कुनै जाति समुदाय र भूगोललाई अपमानित हुने गरी ‘ढोग दियाँ’ शब्द विभिन्न सामाजिक सञ्चालन, स्टेज कार्यक्रम, टिकटक र गीत सङ्गीतमा देखिनु गलत कार्य हो । यस्ता किसिमका अस्वाभाविक एवं अपमानित हुने क्रियाकलाप नगर्न नगराउन प्रतिष्ठान सम्बन्धित सबैमा अपिल गर्दछ ।’

घटना–३ मधेसीको अपमान

कुरो २०७७ सालको हो । प्रदेश–२ सरकारले विभिन्न टेलिभिजन च्यानलमा प्रसारण हुने तीनवटा कार्यक्रम ‘कोरोना बिर्साउने गफगाफ’, ‘ह्वाट्स द फ्लप’ र ‘जोगिन्दर बोले प्रणामजी’ निर्माण र प्रसारण बन्द गर्नुपर्ने संघीय संचार मन्त्रालयलाई पत्राचार गरेको थियो । ‘यी तीन टेलिभिजन कार्यक्रमसहित केही नेपाली चलचित्रमा सीमित व्यक्तिको रमाइलो तथा मनोरञ्जनका लागि कुनै खास वर्ग, समुदाय (मधेसी)लाई शब्द, अभिनय र संकेतमार्फत् होच्याउने, अपमान गर्ने, तल देखाउने र बेइज्जत गर्ने काम भइरहेको छ । यस्तो कार्यले राष्ट्रिय एकता तथा सामाजिक सद्भावमा खलल पु¥याउन सक्छ ।’ पत्रमा भनिएको छ । त्यसरी आलोचनाकै बिचमा केही कलाकारले ‘नमस्ते ढोग दियाँ’ बोलमा गीत निकालेका छन्, गीतको शब्दले सांस्कृतिक महत्व बोक्दैन । 

संसारको भाषा

इथ्नोलोक (२०२४)ले संसारमा ७ हजार १६४ भाषा बोलिन्छन् । ४० प्रतिशत भाषाको वक्ता संख्या १ हजारभन्दा कम रहेका छन् । ७० प्रतिशत भाषाहरू आदिवासीले बोल्ने भाषा हुन् । संयुक्त राष्ट्रसंघले सन् २०२२ देखि २०३२ लाई अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक घोषणा गरेको छ । नेपालमा बोलिने १२४ वटा भाषाहरूमध्ये ९३ वटा (७५%) भाषा आदिवासीले बोल्ने भाषा हुन् । भाषा विचार विनिमयको साधन मात्रै नभई, संस्कृतिको वाहक, ज्ञान तथा सभ्यताको खानी पनि हो । संरक्षण, संवर्धन गर्नुपर्ने सरकारको दायित्व भएकाले आवश्यक नीति नियम बनाइ कार्यान्वयन गर्ने भन्ने प्रतिवेदनमा उल्लेख पाइन्छ । 

भाषिक मानवअधिकार

इतिहासकार बाबुराम आचार्यकले ‘वर्तमान राष्ट्रभाषा नेपाली अहिलेभन्दा केही दशकअघिसम्म ‘पर्वते–बोली’ र त्यसभन्दा अगाडि ‘खश–कुरा’ को नामले प्रसिद्ध रहेको थियो । सल्यान तथा प्यूठानको बीचमा पर्ने ‘सखिको–लेक’ भन्दा पारितर्फबाट आएका खश–वर्गका आर्यहरू आबाद भई पन्ध्रौं शताब्दीको अन्त्यतिर कालीगण्डकी नदीको किनारमा ‘पर्वत’ नामक एउटा नयाँ राज्य खडा भएपछि त्यहीँ नै स्थानीय मगर, गुरुङ, थकाली आदि अन्य आग्नेयदेशी–वर्गका भाषा–परिवारका बोली बोल्ने नागरिकहरूसँगको सम्पर्क तथा सहवासले गर्दा त्यतिबेलाको ‘खश–कुरा’ मा पर्याप्त परिष्कार आएर यस भाषाले ‘पर्वते–भाषा’को रूप ग्रहण गरेको देखिनाले त्यतिबेला यस भाषा वा बोलीको नाम ‘पर्वते–भाषा’ हुनु सहज तथा सार्थक पनि रहेको थियो । तर अहिले यस भाषाले आफूमा रहेको प्रचार तथा प्रसार पनि हुने विशिष्ट गुण तथा मिठासले गर्दा नेपाल–अधिराज्यको राष्ट्रभाषाको रूप ग्रहण गरिसकेकोले अब यस भाषा वा बोलीलाई ‘खश–भाषा’ वा ‘पर्वते–बोली’ भन्दै रहनु उपयुक्त देखिंदैन । राजा पृथ्वीनारायण शाहले ‘चार–वर्ण छत्तीस–जातको साझा फूलबारी’ निर्माणसँग देश नेपालको राष्ट्रभाषाको आकार लिन पुगेको हो (हाम्रो राष्ट्रभाषा नेपाली, २०७०ः१२)। यो उहिलेको कुरा भयो । 

संविधानतः भाषाका आधारमा कसैलाई विभेद नगरिने व्यवस्था समेत गरिएको छ । धारा (३२) मा ’प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुने’ उल्लेख छ ।

वर्तमान नेपालको संविधान (२०७२) को प्रस्तावनामा नै ’नेपाल एक बहुभाषिक मुलुक हो’ भनेर वहुभाषिकतालाई आत्मसाथ गरेको छ । संविधानमा गरिएको व्यवस्थाले ‘नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन्’ भन्ने व्यवस्था गरेको छ । त्यसै गरी (क) देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ । भाषा सम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ । संविधानतः भाषाका आधारमा कसैलाई विभेद नगरिने व्यवस्था समेत गरिएको छ । धारा (३२) मा ’प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुने’ उल्लेख छ ।

हाम्रो निम्ति कुमा सागरजस्ता मातृभाषी गायक, गायिका, संगीतकारहरू आवश्यक छ । जसले हाम्रा लोक भजनहरू गाऊन् । लोकबाजाहरू प्रवद्र्धन गरुन् । लोकसंस्कृति, लोकसंगीतलाई पुस्तान्तरण गर्दै आएका बुढापाकाहरूको प्रेरणा लिएर युवा पुस्तामाझ लोकप्रिय बनिरहेका पुस्ता कुनै तुक्केदार कमेडियनहरू खिसिटिउरीको पात्र नबनुन् । कसैको मजाक पात्र नबनुन् । कुनै पनि गायक, संगीतकारले आफ्नो लोकपरम्परा, लोकसंस्कृति, लोकबाजा, लोकजीवनको संवाहक बनुन् । पहाडले मधेसको सम्मान, पूर्वले पश्चिमका समृद्धि, पश्चिमले पूर्वको मान खोज्नु पर्छ । कुनै पनि व्यक्ति जुन समुदायमा जन्मिएको हो, ऊ त्यही समुदायको प्रतिनिधित्व गर्छ । त्यसैले उसको भाषिक लवजलाई अबुझ, अज्ञानताको संज्ञा दिइनु हुन्न । र कसैलाई अपमान गरियो भने भाषिक मानवअधिकारको संरक्षण गर्न न्यायालय धाउनु पर्ने परिस्थिति आउनु हुन्न । यसतर्फ १४२ जातजातिका हरेक नागरिक समुदायमा प्रतिनिधिहरू सद्भाव बचाउनेतर्फ सजग हुनुपर्छ । जसले गर्दा ‘हाम्रो मातृभाषाको अपमान अब हामी सहँदैनौं’ उल्लेख गरिएको ब्यानर बोकेर सडकदेखि प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रन नपरोस् । 

फोटो क्याप्सनः गायक कुमा सागरको बोलीलाई अपमान गर्नेविरुद्ध ‘हाम्रो मातृभाषाको अपमान अब हामी सहँदैनौं’ उल्लेख गरिएको ब्यानर बोकेर प्रहरी कार्यालयतर्फ गइरहेका समुदायका प्रतिनिधि । फोटो साभारः रातोपाटी डटकम

प्रतिक्रिया