मुस्ताङ जिल्लाको कागबेनीमा क्वोँने (घोण्डे/घोताने) गुरुङ (तमु) समाज युकेले गुम्बा निर्माण सम्पन्न गरेको छ । युकेमा बसोबास गर्दै आएका गुरुङ समाजका अगुवाहरूले कागबेनीमा गुम्बा निर्माण सम्पन्न भएको जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत दिएका हुन् ।
तमू बौद्ध सेवा समिति, अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्वोँने (घोण्डे/घोताने) गुरुङ (तमु) समाज युकेका अध्यक्ष कुमार गुरुङले आगामी फेब्रुअरी ११ गते गुम्बाको राब्नेसहित औपचारिक उद्घाटन हुने जानकारी दिनुभयो। उहाँका अनुसार कागबेनी क्षेत्रको धार्मिक महत्त्वलाई थप सुदृढ गर्नुका साथै धार्मिक पर्यटन प्रवद्र्धन र भक्तजनहरूका लागि सहज वातावरण सिर्जना गर्ने उद्देश्यले गुम्बा निर्माण गरिएको हो ।
सोही अवसरमा चेलीबेटी प्रमुख लिना क्वोनस्यो गुरुङले कागबेनीमा गुम्बा निर्माण गर्न पाउनु आफ्नो लागि गर्व र सौभाग्यको विषय भएको बताउनुभयो । उहाँले गुम्बा गुरुङ समुदायका लागि मात्र नभई समग्र समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक हितका लागि स्थापना गरिएको स्पष्ट पार्नुभयो ।
आयोजकका अनुसार गुम्बा निर्माणमा करिब ६४ लाख रुपैयाँ खर्च भएको छ ।










