रसुवा भोटेकोशी त्रिसुली बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूका आफन्त तथा परिवारजनले मंगलबार काठमाडौंको स्वयम्भूस्थित (यल्लो)गोसुक गुम्बामा सामूहिक रूपमा घेवा गरेका छन् ।
भदौ १० गतेको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूका परिवारजनले बौद्ध धर्म तथा तामाङ परम्पराअनुसार ४९औँ दिनको घेवा कर्म सामूहिक रूपमा सम्पन्न गरेका हुन् । बाढीपछि आश्रय लिएर बसेका परिवारहरूले सोही गुम्बामा लामाहरूद्वारा पूजापाठ तथा धार्मिक विधि पूरा गरी घेवा गरेका थिए ।
बाढीले गाउँ, घरबस्ती सबै बगाएपछि बस्ने र खानेसमेत व्यवस्था भएन । त्यसैले गुम्बामा आश्रय लिएर सामूहिक रूपमा घेवा गर्नुपरेको हो,”
आमाछोदिङ्मो गाउँपालिका–१ का कारसाङ तामाङले तामाङ परम्पराअनुसार मृत्यु भएको ४९ दिनभित्र घेवा गर्नुपर्ने भएकाले सामूहिक रूपमा धार्मिक कर्म गरिएको बताउनुभयो ।
“बाढीले गाउँ, घरबस्ती सबै बगाएपछि बस्ने र खानेसमेत व्यवस्था भएन । त्यसैले गुम्बामा आश्रय लिएर सामूहिक रूपमा घेवा गर्नुपरेको हो,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार आमाछोदिङ्मो गाउँपालिका–१ मा ६२ जना बेपत्ता र ६३ जनाको मृत्यु भएको छ । मृत्यु हुने तथा बेपत्ता हुनेमध्ये अधिकांश आफ्नै आफन्त रहेको उहाँले बताउनुभयो ।
रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–२ का दाउर्जी तामाङले भदौ १० गतेको बाढीले केरुङ नाकादेखि टिमुरे, स्याफ्रुबेँसी, हाकुबेँसी, मैलुङबेँसी, खाल्टे हुँदै बेत्रावतीसम्मका धेरै तामाङ बस्ती प्रभावित भएको बताउनुभयो । “बाढीले धेरै तामाङ समुदायका मानिसलाई बेपत्ता बनायो र धेरैको ज्यान गयो । तामाङ परम्पराअनुसार ४९ दिनभित्र काजकिरिया र घेवा गर्नुपर्ने हुन्छ । तर रसुवामै बस्ने ठाउँ नभएपछि काठमाडौं आएर घेवा गर्नुपरेको हो,” उहाँले भन्नुभयो ।
उहाँले बाढीपछि तामाङ समुदायमा अझै रुवाबासीको अवस्था रहेको र स्थायी पुनर्वासको कुनै टुङ्गो नलागेको गुनासो गर्नुभयो । तामाङ परम्परा, जीवनशैली र सामाजिक संरचनालाई ध्यानमा राखेर सरकारले पुनर्वास तथा घर निर्माणको व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा तामाङ समुदायको बाक्लो बसोबास रहेको र जनधनको क्षति पनि ठूलो मात्रामा तामाङ समुदायले व्यहोर्नुपरेको उहाँले बताउनुभयो । गोसाइँकुण्ड गाउँपालिका र टिमुरेलगायतका क्षेत्रमा तामाङ समुदायको बाक्लो बसोबास रहेको उहाँको भनाइ छ ।
बाढीका कारण विद्यालय तथा शैक्षिक पूर्वाधारमा समेत क्षति पुगेपछि स्थानीय बालबालिका शिक्षाबाट वञ्चित भएको उहाँले बताउनुभयो । रोजगारीका लागि गोसाइँकुण्ड, रसुवागढी र घट्टेखोलालगायतका क्षेत्रमा जाने क्रममा समेत केही मानिस बाढीमा परेको उहाँले जानकारी दिनुभयो ।
स्याफ्रुबेँसी बजारमा ठूलो क्षति भएपछि बाँचेका तामाङ, लामा र शेर्पा समुदायका मानिस विस्थापित भएर धुन्चे तथा काठमाडौंका होल्डिङ सेन्टरमा बस्न बाध्य भएको दाउर्जी तामाङले बताउनुभयो । अस्थायी शिविरमा बस्दा विभिन्न समस्या र सास्ती खेप्नुपरेको उहाँको गुनासो छ । “हाइड्रोपावर र सडक निर्माणलगायतका पूर्वाधार विकासका कारण पनि बाढीको जोखिम बढेको विषयमा गम्भीर समीक्षा आवश्यक छ । विपद्पछि तामाङ समुदायको भूमि, जीवन र अधिकारको संरक्षणमा राज्यले ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।
“हाइड्रोपावर र सडक निर्माणलगायतका पूर्वाधार विकासका कारण पनि बाढीको जोखिम बढेको विषयमा गम्भीर समीक्षा आवश्यक छ । विपद्पछि तामाङ समुदायको भूमि, जीवन र अधिकारको संरक्षणमा राज्यले ध्यान दिनुपर्छ,
त्यसैगरी चेपुरानी तामाङले आमाछोदिङ्मो गाउँपालिका–३ मा बाढीले घरबस्ती बगाएपछि आफू काठमाडौं आएको बताउनुभयो । बाढीमा बालबालिकासहित धेरै आफन्त प्रभावित तथा केहीको मृत्यु भएकाले दिवंगत आफन्तको सम्झनामा सामूहिक घेवा गरिएको उहाँले बताउनुभयो ।
घेवाका क्रममा लामाहरूले पूजापाठ तथा धार्मिक अनुष्ठान गरेका थिए । सहभागीहरूले दिवंगत आत्माको शान्तिको कामना गर्दै प्रार्थना गरेका थिए । आफन्तको सम्झनामा गरिएको धार्मिक कार्यक्रममा सहभागी परिवारजन भावुक बनेका थिए । भोटेकोशी बाढीपछि मृतक तथा बेपत्ताका परिवारले विभिन्न स्थानमा बौद्ध तथा तामाङ धार्मिक परम्पराअनुसार काजकिरिया, पूजापाठ, घेवा तथा अन्य सामूहिक धार्मिक अनुष्ठान गर्दै आएका छन् ।









