‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक, प्राविधिक तथा पारिभाषिक शब्दावली निर्माण गर्न काइँलाको जोड

Admin
Admin२ मंसिर २०८३
‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक, प्राविधिक तथा पारिभाषिक शब्दावली निर्माण गर्न काइँलाको जोड

याक्थुङ (लिम्बू) जातिको मौलिक ज्ञानपरम्परा तथा धार्मिक अनुष्ठानमा प्रयोग हुने विशिष्ट शब्दहरूको अर्थ, पहिचान र सन्दर्भ समेटिएको ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक भएको छ। डीबी आङ्बुङ र विष्णुदत्त आङ्बुहाङको सङ्कलन तथा लेखनमा मुन्धुम एकाडेमीले प्रकाशन गरेको उक्त कृति शुक्रबार ललितपुरमा आयोजित समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँलाले सार्वजनिक गर्नुभएको हो।

पुस्तक सार्वजनिक समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्वकुलपति काइँलाले यस शब्दकोशले याक्थुङ समुदायको मौलिक ज्ञान संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। मुन्धुममा प्रयोग हुने विशिष्ट शब्दहरूको अर्थ र सन्दर्भ अभिलेखीकरण गर्ने प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले याक्थुङ भाषामा प्राविधिक तथा पारिभाषिक शब्दावली निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। यस क्षेत्रमा इच्छुक व्यक्ति तथा अनुसन्धानकर्ताहरूले काम अघि बढाउनुपर्ने र किरात याक्थुङ चुम्लुङजस्ता संस्थाले समन्वय तथा सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रमका सभापति तथा लेखक एवं इतिहासकार भगिराज इङ्नामले याक्थुङ ९लिम्बू० भाषाका शब्द सङ्कलन तथा अध्ययनको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्नुभयो। उहाँका अनुसार लिम्बू भाषाका शब्द सङ्कलन र अध्ययन सन् १८११ देखि नै विदेशी लेखक तथा अन्वेषकहरूले सुरु गरेका थिए। त्यसपछि वि.सं।.२०१० देखि स्वदेशी अध्येताहरूले पनि यस क्षेत्रमा विभिन्न काम गर्दै आएका छन्। यद्यपि, याक्थुङ भाषाको शब्दसम्पदा र मौलिक ज्ञानपरम्परालाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्न अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो। याक्थुङ भाषा प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा स्थापित भइसकेको सन्दर्भमा यसको शब्दभण्डार विकास, अध्ययन र प्रयोग विस्तारमा थप काम गर्नुपर्ने उहाँको भनाइ थियो।

मुन्धुम वाचन तथा कर्मकाण्डीय परम्परामा प्रयोग हुने दुईपदीय मुन्धुमी शब्दका दुवै पदको अर्थ र सन्दर्भसमेत व्याख्या गरिएको छ 

 

लिम्बू–नेपाली र अंग्रेजी भाषामा तयार गरिएको यस शब्दकोशमा सिरिजङ्गा, देवनागरी र रोमन लिपि प्रयोग गरिएको छ। याक्थुङ समुदायको मौखिक तथा लिखित ज्ञानपरम्परा ‘याक्थुङ साम्जिक मुन्धुम’मा प्रयोग हुने विशिष्ट शब्दावलीको अर्थ, पहिचान र परिभाषा यसमा समेटिएको छ। विशेषगरी मुन्धुम वाचन तथा कर्मकाण्डीय परम्परामा प्रयोग हुने दुईपदीय मुन्धुमी शब्दका दुवै पदको अर्थ र सन्दर्भसमेत व्याख्या गरिएको छ।

मुन्धुम याक्थुङ जातिको मौलिक ज्ञानको प्रमुख स्रोत हो। यसमा धार्मिक अनुष्ठान र कर्मकाण्डीय वाचनका साथै पुर्खाहरूका ऐतिहासिक अनुभव, सामाजिक स्मृति, प्रकृतिसम्बन्धी ज्ञान, जीवनदर्शन तथा सांस्कृतिक अभ्यासहरू समेटिएका हुन्छन्। मुन्धुममा प्रयोग हुने विशिष्ट शब्दहरूको अर्थ र सन्दर्भ पहिचान गरी अभिलेखीकरण गर्ने उद्देश्यले शब्दकोश तयार गरिएको लेखकद्वयले बताएका छन्।

याक्थुङ भाषामा गीत, सङ्गीत, पालाम, हाक्पारे, साम्लो, साहित्य तथा मुन्धुम लेखनका गतिविधि विस्तार भइरहेका बेला मुन्धुमी शब्दहरूको अर्थ र प्रयोगलाई व्यवस्थित गर्न आवश्यक ठानेर यो कृति प्रकाशन गरिएको हो। याक्थुङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिइएको सन्दर्भमा यसको शब्दसम्पदा र मौलिक ज्ञानको संरक्षण तथा विकासका लागि शब्दकोशले थप महत्त्व राख्ने देखिन्छ।

४२० पृष्ठको यस शब्दकोशमा एक हजार पाँच सयभन्दा बढी शब्द प्रविष्टि छन्।

लेखकद्वय डीबी आङ्बुङ र विष्णुदत्त आङ्बुहाङको यसअघि ‘लिम्बू नामकोश’ नामक संयुक्त अनुसन्धान कृति प्रकाशित छ।

याक्थुङ भाषामा यसअघि पनि विभिन्न शब्दकोश प्रकाशित भएका छन्। विदेशी अन्वेषकहरूले सन् १८११ देखि नै लिम्बू भाषाका शब्द सङ्कलन गरेको पाइन्छ भने स्वभाषी अध्येता काजीमान कन्दङ्वाले वि।सं। २०१० मा लिम्बू शब्दकोश सङ्कलन गर्नुभएको थियो। त्यसैगरी, इमानसिंह चेम्जोङको सङ्कलन तथा लेखनमा ‘लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश’ वि.सं. २०१८ मा प्रकाशित भएको थियो। नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित उक्त शब्दकोशलाई बैरागी काइँलाको अगुवाइमा संशोधन गरी ४० हजार शब्द समेटिएको संस्करणसमेत प्रकाशन गरिएको छ।

लेखकद्वय डीबी आङ्बुङ र विष्णुदत्त आङ्बुहाङको यसअघि ‘लिम्बू नामकोश’ नामक संयुक्त अनुसन्धान कृति प्रकाशित छ। याक्थुङ भाषा, साहित्य, इतिहास, संस्कृति तथा मौलिक ज्ञानप्रणालीको अध्ययन, अनुसन्धान र संरक्षणमार्फत भावी पुस्तामा ऐतिहासिक चेतना तथा सांस्कृतिक निरन्तरता कायम राख्ने उद्देश्यले शब्दकोश प्रकाशन गरिएको मुन्धुम एकाडेमीले जनाएको छ।

प्रतिक्रिया