नेपाल संवतलाई नेपाली मुद्रामा समेत अंकित गर्ने व्यवस्था मिलाउन नेवाः देय् दबूका पदाधिकारीहरूले सरकारसँग माग गरेका छन्। उनीहरूले नेपाल संवतलाई नेपालको आधिकारिक संवतका रूपमा कार्यान्वयन गर्न र यससम्बन्धी आवश्यक कानुन निर्माण गर्न पनि आग्रह गरेका छन्।
आदिवासी नेवाः समुदायको जातीय संगठन नेवाः देय् दबू ललितपुर जिल्ला समिति र नेवाः मिसा दबू ललितपुरको संयुक्त आयोजनामा आइतबार नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा उक्त माग अघि सारिएको हो।
नेपाल संवतलाई नेपालको आधिकारिक संवतका रूपमा कार्यान्वयन गर्न र यससम्बन्धी आवश्यक कानुन निर्माण गर्न पनि आग्रह गरेका छन्।
नेपालभाषा मंकाः खलः ललितपुरको त्यागलमा आयोजित कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय महासचिव श्रीकृष्ण महर्जनले विशेष अतिथिका रूपमा सम्बोधन गर्दै नेपाल संवतलाई राष्ट्रिय रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।
उहाँले नेवाः समुदायले नेपाल संवतको नयाँ वर्ष ११४७ मनाइरहँदा पनि सरकारले नेपाली मुद्रामा नेपाल संवत उल्लेख गर्ने व्यवस्था नगरेको बताउनुभयो। यस विषयमा अब सशक्त अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो। नेपालमा अहिलेसम्म संवत्सम्बन्धी छुट्टै कानुन नरहेको उल्लेख गर्दै उहाँले कानुन निर्माणका लागि नेवाः देय् दबूको नेतृत्वमा सबै नेवाः संघसंस्था एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
महासचिव महर्जनले नयाँ वर्षको अवसरमा नेवाः देय् दबूका स्वनिगः विशेष प्रदेश, जिल्ला समिति र सम्बन्धित पालिका समितिमार्फत नेपाल संवतको कार्यान्वयन अवस्थाबारे अनुगमन गरिने जानकारी दिनुभयो। स्थानीय सरकार तथा राज्यका विभिन्न निकायमा नेपाल संवत् कति र कसरी प्रयोग भइरहेको छ भन्ने विषयमा अध्ययन गरी केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउन उहाँले निर्देशन दिनुभयो। उक्त प्रतिवेदनका आधारमा नेपाल संवत् कार्यान्वयनका लागि नेवाः देय् दबूले थप कार्यक्रम अघि बढाउने उहाँले बताउनुभयो।
कार्यक्रमको अध्यक्षता नेवाः देय् दबू ललितपुर जिल्ला अध्यक्ष कृष्णभक्त डंगोलले गर्नुभएको थियो। कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय सल्लाहकार डा। पुष्पराज राजकर्णिकारले नेपाल संवतलाई व्यवहारमा व्यापक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नेपालभाषालाई पनि दैनिक व्यवहार र सार्वजनिक कामकाजमा प्रयोग गर्दै लैजानुपर्ने बताउनुभयो।
त्यसैगरी, नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष नवीन थेच्वमीले नेपाल संवतको महत्त्वबारे चर्चा गर्दै यसको कार्यान्वयनसँगै नेपालभाषाको प्रयोगलाई पनि विस्तार गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष कुलबहादुर महर्जनले आफ्नो वडामा नेपाल संवत् कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो। नेपाल संवत्, नेपालभाषा र नेवाः संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आफू सधैँ नेवाः समुदायसँगै रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा नेवाः देय् दबू काठमाडौं जिल्ला अध्यक्ष धनबहादुर महर्जन तिमिला, नेवाः देय् दबू ललितपुर जिल्लाका पूर्वअध्यक्ष तथा नेपालभाषा मंकाः खलः ललितपुरका पूर्वअध्यक्ष हेराकाजी महर्जनलगायतले नेपाल संवत् ११४७ को नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो।
नेवाः देय् दबू ललितपुर जिल्ला समितिका उपाध्यक्ष बुद्धिलक्ष्मी महर्जनले सञ्चालन गर्नुभएको कार्यक्रममा ललितपुरका विभिन्न नेवाः समाजका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा नेवाः मिसा दबू ललितपुर जिल्ला अध्यक्ष सरला कर्माचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेवाः देय् दबू ललितपुर जिल्ला समितिका कोषाध्यक्ष अमिर राज महर्जनले धन्यवाद ज्ञापन गर्नुभएको थियो।









