इन्डिजिनियस टेलिभिजन र आईटीभी नेपालबाट संयुक्त रूपमा प्रसारण हुँदै आएको लोकप्रिय सांगीतिक कार्यक्रम ‘डम्फु सेलो’को विश्लेषणात्मक अध्ययनमा आधारित पुस्तक ‘डम्फु सेलो शतक यात्रा’ सार्वजनिक गरिएको छ ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा तामाङ समुदायका राजनीतिक व्यक्तित्व, सांस्कृतिक अभियन्ता, ताम्बा, बोन्बो, अनुसन्धानकर्ता तथा संस्कृतिकर्मीहरूको सामूहिक सहभागितामा पुस्तक लोकार्पण गरिएको हो। कार्यक्रममा तामाङ संस्कृति र डम्फु सेलोको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक पक्षबारे बृहत् छलफलसमेत भएको थियो ।
तामाङ समुदायका राजनीतिक व्यक्तित्व, सांस्कृतिक अभियन्ता, ताम्बा, बोन्बो, अनुसन्धानकर्ता तथा संस्कृतिकर्मीहरूको सामूहिक सहभागितामा पुस्तक लोकार्पण गरिएको हो
छलफलमा सहभागी संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री परशुराम वाइबाले डम्फु सेलो मनोरञ्जनको माध्यम मात्र नभई तामाङ मानवशास्त्रको महत्त्वपूर्ण अंग भएको बताउनुभयो ।
उहाँले डम्फु सेलोका गीतमा प्रेम र मायाप्रीतिका विषयसँगै महिला सशक्तीकरण, घर छोड्दाको पीडा तथा वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेका समस्यासमेत उजागर हुँदै आएको उल्लेख गर्नुभयो। पुस्तक आकारमा सानो भए पनि यसले बोकेको अर्थ र प्रभाव महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
मानवशास्त्री बुद्धिबहादुर ङ्यासुरले संस्कृति निरन्तर रूपान्तरण भइरहने विषय भएको उल्लेख गर्दै डम्फु सेलो नयाँ युगमा प्रवेश गरेको टिप्पणी गर्नुभयो। परम्परागत सेलोमा सृष्टिका कथा, इतिहास र परम्परागत ज्ञान तथा सूचना अभिव्यक्त हुने गरेकोमा अहिले डम्फु सेलोका गीत डिजिटल युगमा प्रवेश गरेको उहाँले बताउनुभयो ।
डम्फु सेलोमा प्रस्तुत गीतहरूले जैविक विविधता, जलवायु परिवर्तन तथा आदिवासी तामाङ समुदायका प्रथा, परम्परा र इतिहासका विविध पक्ष अभिलेखीकरण गरिरहेको उहाँको भनाइ थियो ।
परम्परागत सेलोमा सृष्टिका कथा, इतिहास र परम्परागत ज्ञान तथा सूचना अभिव्यक्त हुने गरेकोमा अहिले डम्फु सेलोका गीत डिजिटल युगमा प्रवेश गरेको उहाँले बताउनुभयो ।
कवि तथा साहित्यकार बिना थिङले सेलो केवल सांगीतिक शैली मात्र नभई साहित्यिक अभिव्यक्ति र समाजको प्रतिबिम्बसमेत भएको बताउनुभयो। उहाँले डम्फु सेलोका केही गीतमा महिलाप्रति द्वेषपूर्ण शब्द चयन भएको विषय उठाउँदै यस्ता त्रुटिप्रति कार्यक्रम उत्पादन गर्ने संस्था जिग्मे मिडिया सचेत हुनुपर्ने सुझाव दिनुभयो ।
वरिष्ठ सेलो गायक रोज मोक्तानले तामाङ समाजका विविध भाका र सांगीतिक शैलीलाई डम्फु सेलोले समेटेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले म्हेन्दोमाया, खान्दोके भाका र फापरे सेलोका भाकाहरूको समेत प्रवद्र्धन गर्न सुझाव दिनुभयो ।
डम्फु सेलो कार्यक्रमका एक सय अंकको विश्लेषण गर्दै अनुसन्धानकर्ता सुशीला तामाङले ‘डम्फु सेलो शतक यात्रा’ नामक अनुसन्धानात्मक पुस्तक तयार पार्नुभएको हो । पुस्तकमा सेलो र तामाङ समुदाय, डम्फु सेलो कार्यक्रमको विश्लेषण तथा कार्यक्रमले उठाएका सामाजिक र सांस्कृतिक बहसलाई समेटिएको छ । यसका साथै कार्यक्रम उत्पादनमा संलग्न कलाकार, वाद्यवादक र व्यवस्थापन टोलीको परिचय तथा प्रस्तुत गीतका शब्दहरूको विश्लेषणसमेत गरिएको छ ।
अनुसन्धानकर्ता तामाङले तामाङ समुदायको लिखित इतिहास कमजोर रहेको अवस्थामा पुस्तकले समुदायको सांस्कृतिक तथा सामाजिक इतिहास अभिलेखीकरणमा योगदान पु¥याउने अपेक्षा व्यक्त गर्नुभयो ।
पुस्तकका सम्पादक कैलाश राईले डम्फु सेलो ठट्टा र मनोरञ्जनको विषय मात्र नभई गम्भीर सामाजिक तथा सांस्कृतिक मुद्दा उठाउने सशक्त माध्यम भएको बताउनुभयो ।
कार्यक्रममा डम्फु सेलोका कार्यक्रम निर्देशक सूर्य लामाले पुस्तकका अनुसन्धानकर्ता सुशीला तामाङ, सम्पादक कैलाश राई र आवरण डिजाइनर किशोरा प्रधानलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको सुरुवातमा इन्डिजिनियस टेलिभिजनका अध्यक्ष देवकुमार सुनुवारले पुस्तक प्रकाशन गर्नुको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। उहाँले टेलिभिजनले उत्पादन गरिरहेका दर्जनौँ कार्यक्रममध्ये डम्फु सेलो लोकप्रिय कार्यक्रमका रूपमा स्थापित भएको बताउनुभयो ।
जगतमान लामा दोङले सञ्चालन गर्दै आउनुभएको डम्फु सेलो कार्यक्रम इन्डिजिनियस टेलिभिजन र आईटीभी नेपालबाट हरेक शुक्रबार प्रसारण हुँदै आएको छ । गीत, संगीत, परम्परा र समुदायसँग नजिक रहेर सञ्चालन हुने यस कार्यक्रममा सेलो गायकहरूले प्रत्येक साता स्टुडियोमा सांगीतिक प्रस्तुति दिने गरेका छन् । साथै, आमन्त्रित अतिथिहरूले समसामयिक विषयमा आफ्ना विचार राख्ने मञ्चका रूपमा पनि कार्यक्रम विकसित भएको छ ।
हालसम्म डम्फु सेलोका १३५ अंक प्रसारण भइसकेका छन्।









