वरिष्ठ गायिका मीरा राणाको एकल सांगीतिक साँझ काठमाडौंमा सम्पन्न भएको छ ।
मीरा राणा क्यान्सर समाजको सहयोगार्थ नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा राणाले आफ्ना चर्चित तथा कालजयी गीतहरू प्रस्तुत गर्नु भयो । कार्यक्रममा उहाँलाई वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, रामभक्त जोजिजु, कपिल लोहनी, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटियालगायतका कलाकारले साथ दिनु भएको थियो ।
स्वरसम्राट नारायणगोपालसँग गाएको ‘तिमी देउ या नदेऊ’, ‘मेरो जोवन लैजाऊ’, ‘आँखैमा कसैको तस्वीर बसेछ’ र ‘बैनीको दया छ भने’ लगायतका गीत प्रस्तुत गर्नु भयो ।
त्यसैगरी तारा थापा, संगीता थापा, निशा देशार, रुपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शितल थापा र युनिशा देशारलगायतका गायक–गायिकाले पनि मीरा राणाका गीत प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा राणाले स्वरसम्राट नारायणगोपालसँग गाएको ‘तिमी देउ या नदेऊ’, ‘मेरो जोवन लैजाऊ’, ‘आँखैमा कसैको तस्वीर बसेछ’ र ‘बैनीको दया छ भने’ लगायतका गीत प्रस्तुत गर्नु भयो ।
यस्तै शम्भुजीत बासकोटासँग गाएको ‘नाच्देऊ मैच्याङ’ र ‘सिन्धुपाल्चोक जिल्लामा’, कुमार बस्नेतसँगको ‘मादल घनघन घन्काउँ कि’ तथा ‘लेक फुल्यो लालीगुराँस’ लगायतका गीत पनि कार्यक्रममा गुञ्जिएका थिए ।
राणाका लोकप्रिय एकल गीत ‘मखमली चोलो चाहिँदैन’, ‘मात चढेको साँझ’, ‘नशालु रात’, ‘मेरो पाउमा आज’, ‘साम्द सदा शिव’, ‘बिर्सिएर मैले फेरि’, ‘आजसम्म जसरी बाँचेर आएँ’ र ‘मेरो फूललाई वसन्त भयो’ लगायतका गीतले कार्यक्रमलाई सांगीतिक माहोल प्रदान गरेको थियो ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
सोही अवसरमा वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले वरिष्ठ गायिका मीरा राणालाई ‘मानश्री पुरस्कार’ प्रदान गरेको थियो । प्रमुख अतिथि सञ्चारमन्त्री डा. तिमिल्सिनाले राणालाई पुरस्कार प्रदान गर्नू भएको थियो ।
७५ वर्षीया राणा स्वयं क्यान्सर विजेता हुनुहुन्छ । क्यान्सरसँगको संघर्षका क्रममा श्रीमान्समेत गुमाएकी उनले क्यान्सरपीडितको सहयोग र सचेतनाका लागि मीरा राणा क्यान्सर समाज स्थापना गर्नू भएको हो ।
एकल सांगीतिक साँझबाट संकलित रकम क्यान्सरपीडितको सहयोगमा खर्च गरिने आयोजकले जनाएको छ ।









