तामाङ समुदायको परम्परागत पर्व म्हेनिङ मनाउने परम्परा पुनः जागृत हुन थालेको छ । हिन्दू परम्परामा दशैँको लामो बिदा र सरकारी उत्सव मनाइरहँदा तामाङ समुदायले भने ‘खेप्पास्हुङ’ अनुष्ठानमार्फत पितृहरूको पूजा र स्मरण गर्ने मौलिक परम्परालाई पुनर्जागृत गरेका हुन् । यो तामाङ समुदायको मौलिक पितृपूजाका साथै प्रकृतिप्रतिको कृतज्ञता अभिव्यक्त गर्ने महत्त्वपूर्ण सांस्कृतिक अनुष्ठान हो ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–टाकुरे, बम्जन गाउँका चोहो एवं संस्कृति अध्येता हर्कबहादुर बम्जनका अनुसार ‘खेप्पास्हुङ’ शब्द ‘खेप्पा’ र ‘स्हुङ’ मिलेर बनेको हो । जसको सामान्य अर्थ ‘बुढो देवता’ हुन्छ। तर तामाङ परम्परामा खेप्पास्हुङको अर्थ पितृपूजामा मात्र सीमित छैन; यस अनुष्ठानमा भूमि, सिमेभूमे, नाग–नागिना, खोला–नाला, गाउँका देवीदेवता र समग्र प्रकृतिको समेत आराधना गरिन्छ ।
खेप्पासुङमा पितृहरूको प्रतीकका रूपमा तोर्मा स्थापना गरिन्छ । मूल पुजारी अर्थात् ल्हाबोनले आफ्नो ज्ञान र परम्परागत विधिअनुसार पितृहरूको नाम स्मरण गर्दै आशीर्वाद माग्छन् । यससँगै झ्योहो र झ्योमोको पूजा पनि गरिन्छ, जसमा गाउँ–समाज, प्रकृति र प्राकृतिक स्रोतको संरक्षणका लागि स्थानीय देवीदेवतालाई आह्वान गरिन्छ ।
अनुष्ठानका क्रममा कुखुराको भाले बलि दिने परम्परा छ। । पूजापछि भालेको मासु र तोर्मा प्रसादका रूपमा वितरण गरिन्छ । गाउँभरिका सबैलाई मासु र तोर्मा नपुग्ने अवस्थामा फलफूल र मिठाईसमेत थपेर बाँड्ने चलन छ ।
अनुष्ठानमा भूमि, सिमेभूमे, नाग–नागिना, खोला–नाला, गाउँका देवीदेवता र समग्र प्रकृतिको समेत आराधना गरिन्छ ।
पछिल्लो समय खेप्पासुङ सामूहिक रूपमा मनाउने अभ्यास पनि बढ्दै गएको छ । बलेफीका हिरा वाइवाका अनुसार एउटै नाङ्खोर (वंश÷खलक) भित्रका दाजुभाइहरू एकै ठाउँमा भेला भएर सामूहिक पूजा गर्ने प्रचलन बढेको छ। । ल्हाबोन (परम्परागत पुजारी) को अभावले पनि यस्तो सामूहिक अभ्यासलाई प्रोत्साहन मिलेको उहाँको भनाइ छ। । सामूहिक पूजामा सहभागी परिवारहरूले आफ्नो गच्छेअनुसार प्रसाद र फलफूल लिएर आउने गर्छन् ।
बोन परम्परासँग जोडिएको म्हेनिङ
हर्कबहादुर बम्जन र हिरा वाइवाका अनुसार म्हेनिङ तामाङ समुदायको प्राचीन मौलिक परम्परा हो । उहाँहरूका अनुसार तामाङ समुदायमा बोन परम्पराअन्तर्गत खेप्पासुङ मनाउने चलन पुरानै हो । तर, गाउँ–गाउँमा बौद्ध गुम्बाहरूको स्थापना र बौद्ध परम्पराको विस्तारसँगै म्हेनिङ मनाउने परम्परा केही कमजोर हुँदै गएको वाइवा बताउनुहुन्छ ।
बोन परम्पराअनुसार खेप्पासुङमा गुरुचनलाई केन्द्रमा राखिन्छ। । तामाङ बोन विश्वासमा गुरुचनलाई आदि मानव मानिन्छ, जो अर्को लोकमा बसोबास गर्छन् भन्ने मान्यता छ। म्हेनिङको समयमा गुरुचन आफ्नो भाग (अंश) खोज्न पृथ्वीमा आउँछन् भन्ने लोकविश्वास रहिआएको छ ।
तामाङ समुदायले अन्नबाली लगाउने क्रममा नम्दुङ लका बेला ‘सेरकेम’ गर्ने परम्परा छ, जसलाई सौर्यपात्रोअनुसार चैतेदशैँसँग जोडेर हेरिन्छ। अन्नबाली लगाउने र जमिन खनजोत गर्दा हुन सक्ने त्रुटिका लागि क्षमा माग्ने, भूमि शुद्ध पार्ने र ह्युल्जे (भूमिपूजा) का लागि प्रतिबद्धता व्यक्त गर्ने विश्वास यससँग जोडिएको छ ।
त्यसपछि दुगु ङ्ह्यमा ह्युल्जे गरेर अन्नबाली सप्रियोस् भन्ने कामनासहित स्थानीय झ्योहो, झ्योमो, नेदा र सिप्दालाई आह्वान गरिन्छ। अन्नबाली उत्पादन सफल हुनुमा यी देवीदेवता तथा आध्यात्मिक शक्तिहरूको विशेष भूमिका रहने तामाङ समुदायको विश्वास छ ।
पछिल्लो समय खेप्पासुङ सामूहिक रूपमा मनाउने अभ्यास पनि बढ्दै गएको छ ।
त्यसैले म्हेनिङका अवसरमा झ्योहो, झ्योमो, नेदा र सिप्दालगायतप्रति कृतज्ञता व्यक्त गरिन्छ । यस क्रममा म्हेमेदङको वाचन गर्ने र ब्रङ्गी निर्माण गरी गुरुचनलाई अंशभाग बुझाउने प्रचलन छ । गुरुचनलगायत सम्पूर्ण खेप्पा (पितृहरू) को पूजा गरिने भएकाले नै यस अनुष्ठानलाई खेप्पासुङ भनिएको हो ।
यस अर्थमा, खेप्पास्हुङ गुरुचनलाई अंशभाग अर्पण गर्ने पूजा मात्र नभई अन्नबाली, घरपरिवार र पशुपन्छीको सुरक्षा तथा संरक्षणका लागि पितृ र प्राकृतिक शक्तिहरूप्रति धन्यवाद व्यक्त गर्ने गहन सांस्कृतिक परम्परा हो ।
कसरी गरिन्छ खेप्पास्हुङको पूजा?
खेप्पास्हुङमा बोन विधिअनुसार मण्डप तयार पारिन्छ । सामान्यतः यो पूजा साँझपख गरिन्छ। तर, एउटै बोम्बो (झाँक्री÷पुजारी) ले धेरै घरमा पूजा गर्नुपर्ने अवस्थामा भने दिउँसो तीन–चार बजेदेखि नै अनुष्ठान सुरु गरिन्छ। यस पूजामा जुठो बार्नैपर्ने वा कडा चोखोनिधो बस्नैपर्ने अनिवार्यता नरहेको परम्परागत विवरणहरूमा उल्लेख छ ।
सामग्री र मण्डप तयारीः
सर्वप्रथम घर लिपपोत गरिन्छ। त्यसपछि चोखो चामलमा थोरै पानी राखेर पकाइन्छ । पाकेको भातलाई भाँडामै ढिकी वा बाँसको मुसलले किचेर डल्लो बनाइन्छ । ती डल्लालाई सफा नाङ्लोमा निकालेर तेल वा घिउ लगाउँदै मुछिन्छ र विशेष आकारका बुझू तयार पारिन्छन् ।
बुझूको बनावट र सजावटः
सबैभन्दा पहिले कुप्रे बुझू बनाइन्छ, जसलाई गुरुचनको प्रतीक मानिन्छ। त्यसपछि ब्लीसोर र सोमसोरका एक–एक वटा तथा अन्य दुई वटा साधारण बुझू बनाइन्छन् । नाङ्लोको एक छेउमा कुप्रे बुझू राखिन्छ भने त्यसको दायाँतिर ब्लीसोर र बायाँतिर सोमसोर सजाइन्छ। ती तीनवटाको अगाडि अन्य दुई बुझू राखेर ता’फोलेले सजाइन्छ ।
नाङ्लोको सजावटः
नाङ्लोको बीचमा दुनो (तिमिला) वा केराको पातमा कुदुङ (चामलको पीठो), फूल र सानो सगुन पोङमा राखेर सजाइन्छ । अन्नको प्रतीकका रूपमा नयाँ मकैका केही दाना राखिन्छन्। नाङ्लोको चारैतिर टोटलाको फूलबाट बनाइएका चारवटा ठिसिङ गाडिन्छन् ।
मण्डप, पितृस्मरण र बलि
मण्डपको अघिल्तिर केराको पात बिछ्याएर त्यसमाथि सोकसोली राखिन्छ । यो फापरसिङ (भीमसेनपाती) को पातबाट बनाइएको सोलीजस्तो संरचना हो, जसभित्र फापरसिङका पात र ता’फोले राखिन्छन्। पाँचवटा सोकसोलीमध्ये बीचको सोकसोलीमा मानिसको आकारको सानो बुझू राखिन्छ, जसलाई ह्युम बुझू भनिन्छ। (बोन परम्पराअनुसार यस्ता संरचना २१ वटासम्म राख्ने चलन पनि छ।)
पूजाका क्रममा कुलपितृहरूको नामावली वाचन गरिन्छ, जसलाई म्हेमेदङ, तङ, फरप र लरप आदि नामले चिनिन्छ। घरभित्र गुरुचनको मण्डप तयार पारेपछि बोम्बोले स्युक्पा (धूपी) बाट सङ (धूप÷शुद्धीकरण) गर्दै मन्त्र फलाक्छन्। यस क्रममा नगा च्योल्बा पनि गरिन्छ ।
त्यसपछि नाङ्लोसहित मण्डपका सामग्री आँगनमा निकालिन्छन् । कुप्रे बुझूलाई नाङ्लोबाट निकालेर छुट्टै पातमा राखिन्छ । भुइँमा चौकोस मिलाएर केराको पात बिछ्याइन्छ र त्यसमा पाँच भाग अक्षता तथा अबिर राखिन्छ। कुदुङले पाँचवटा धर्का तानिन्छन् र बीचको धर्कामा एक मुठीजति कुदुङ राखेर फूल चढाइन्छ ।
नाङ्लोमा गाडिएका ठिसिङ निकालेर उक्त पातका चारै कुनामा गाडिन्छन् । सोकसोली राखिएको पातमा पनि अबिर र कुदुङले त्रिशूलको आकृति बनाइन्छ। त्यसपछि बोम्बोले विधिपूर्वक मन्त्र फलाक्छन् और अन्त्यमा भाले बलि चढाइन्छ ।
यसरी खेप्पास्हुङमा पितृहरूको स्मरण र आशीर्वादको कामनासँगै भूमि, अन्नबाली, पशुपन्छी, प्राकृतिक स्रोत र सामुदायिक जीवनको सुरक्षाका लागि आराधना गरिन्छ। म्हेनिङको यो परम्पराले तामाङ समुदायको प्रकृतिसँगको जीवन्त सम्बन्ध, पुर्खाप्रतिको अगाध सम्मान र सामूहिक सांस्कृतिक पहिचानलाई एउटै सूत्रमा गाँसेको छ ।









