संस्कृति मर्मज्ञ सन्तबीर लामाको १२९औँ जन्मजयन्ती मनाइयो, थप अध्ययन गर्न प्रज्ञा–प्रतिष्ठान तयार

संस्कृति मर्मज्ञ सन्तबीर लामाको १२९औँ जन्मजयन्ती मनाइयो, थप अध्ययन गर्न प्रज्ञा–प्रतिष्ठान तयार

तामाङ संस्कृतिका मर्मज्ञ कर्णेल सन्तबीर लामा (पाख्रीन)को १२९औँ जन्मजयन्ती मनाइएको छ। जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा लामाको योगदानको चर्चा गर्दै उहाँका कृतिको थप अध्ययन र पुनःप्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रतिष्ठानको देवकोटा सभाकक्षमा सोमबार आयोजित कार्यक्रममा लेखक रविन्द्र तामाङले ‘सम्झनाको ऐनामा सन्तबीर’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमाथि अनुसन्धानकर्ता कुमारी लामा र पत्रकार इन्द्र तामाङले टिप्पणी गर्नुभएको थियो।

इलाम र झापामा तत्कालीन बडाहाकिमको जिम्मेवारी सम्हाल्नुभएका लामा कुशल प्रशासकका रूपमा पनि परिचित हुनुहुन्थ्यो।

कार्यक्रममा दुपवाङ्गेल मोक्तान र रमिता लामाले सन्तबीर लामाका कविता वाचन गर्नुभएको थियो।
विसं १९५४ मंसिर ८ गते दार्जिलिङको सुखियापोखरीमा जन्मनुभएका लामाले ‘ताम्बा काइतेन, ह्वाइ रिमठिम’ पहिलोपटक विसं २०१४ मा प्रकाशन गर्नुभएको थियो। तामाङ संस्कृति र साहित्यमा यस कृतिलाई कालजयी कृतिका रूपमा लिइन्छ। तामाङ समाजका लागि व्यवस्थित रूपमा प्रकाशित भएको यो पहिलो कृति मानिन्छ।
लामाका ‘सेबुसेमु ह्वाइ रिमठिम’ (विसं २०१६), ‘इलाम दर्पण’ (विसं २०१६) र ‘नाङ्वा साङ्गे’ (विसं २०१६) लगायतका कृति प्रकाशित छन्। इलाम र झापामा तत्कालीन बडाहाकिमको जिम्मेवारी सम्हाल्नुभएका लामा कुशल प्रशासकका रूपमा पनि परिचित हुनुहुन्थ्यो। विसं २०१७ मा राजा महेन्द्रबाट मानार्थ लेफ्टिनेन्ट कर्णेलको उपाधि प्राप्त गर्नुभएका उहाँ राजपरिषद्को सदस्यसमेत हुनुहुन्थ्यो।
कार्यपत्र प्रस्तुत गर्दै लेखक रविन्द्र तामाङले सन्तबीर लामा क्रान्तिकारी चेतनाका संवाहक रहेको बताउनुभयो। समाज सुधार, सांस्कृतिक मौलिकताको रक्षा र भाषिक जागरणमा उहाँले महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको तामाङले चर्चा गर्नुभयो।
भाषा आयोगका पूर्वसदस्य अमृत योञ्जन तामाङले सन्तबीर लामाले पहिलोपटक तामाङ प्रथाजन्य संस्था र ताम्बा दर्शनलाई प्रस्तुत गरेर वर्तमान पुस्तालाई ठूलो गुन लगाउनुभएको बताउनुभयो। नेपाल प्रज्ञा–प्रतिष्ठानले पहिलोपटक तामाङ समाजका मूर्धन्य संस्कृतिविद् लामाको जन्मजयन्ती मनाउने निर्णय गरेर बहुजातीय मुलुकको प्रतिबिम्ब प्रस्तुत गरेको उहाँको भनाइ थियो।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सीता तुम्खेवाको अध्यक्षतामा भएको कार्यक्रममा तुम्खेवाले सन्तबीर लामाका कृतिको अध्ययन गरी पुनःप्रकाशन गर्ने बताउनुभयो।

प्रतिक्रिया