बागमतीको २,३६६ आयोजनामा सवा ४ अर्ब, मन्दिर र गुम्बा पूर्वाधारमा ठूलो हिस्सा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१४ मंसिर २०८३
बागमतीको २,३६६ आयोजनामा सवा ४ अर्ब, मन्दिर र गुम्बा पूर्वाधारमा ठूलो हिस्सा

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३र८४ मा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गतका २ हजार ३६६ आयोजना तथा कार्यक्रमका लागि ४ अर्ब २४ करोड ९० लाख १२ हजार रुपैयाँ विनियोजन गरेको छ। तीमध्ये मन्दिर तथा देवस्थलसम्बन्धी ८९२ आयोजनाका लागि १ अर्ब ४१ करोड ३ लाख र गुम्बा तथा बौद्ध सम्पदासम्बन्धी ४६८ आयोजनाका लागि ७३ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रकाशित गरेको मन्त्रालयगत तथा निकायगत कार्यक्रम विवरणअनुसार मन्दिर र गुम्बासम्बन्धी आयोजनामा मात्रै कुल बजेटको करिब ५०.५ प्रतिशत रकम विनियोजन भएको छ। धार्मिक तथा सांस्कृतिक पूर्वाधार निर्माणमा ठूलो रकम छुट्याइए पनि आदिवासी जनजाति समुदायका नाममा वर्गीकृत ६३ आयोजनाले १३ करोड ७० लाख रुपैयाँ मात्रै पाएका छन्। मातृभाषा संरक्षण तथा प्रवर्द्धनका लागि भने प्रदेशस्तरीय एउटा कार्यक्रमका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।

आदिवासी जनजातिका ६३ आयोजनालाई १३ करोड ७० लाख, मातृभाषा संरक्षणका लागि ४० लाखको एउटा मात्र कार्यक्रम

प्रदेश सरकारले उक्त मन्त्रालयका लागि चालु आर्थिक वर्षमा कुल ५ अर्ब ३७ करोड ५५ लाख ७४ हजार रुपैयाँ बजेट छुट्याएको थियो। तर, उपलब्ध आयोजना सूचीमा ४ अर्ब २४ करोड ९० लाख १२ हजार रुपैयाँका कार्यक्रम मात्र समेटिएका छन्। यो मन्त्रालयको कुल बजेटको करिब ७९ प्रतिशत हो।

मन्दिर र गुम्बामा आधाभन्दा बढी बजेट

आयोजनाको नामका आधारमा गरिएको वर्गीकरणमा मन्दिर तथा देवस्थलका लागि ८९२ आयोजनामा १ अर्ब ४१ करोड ३ लाख रुपैयाँ विनियोजन गरिएको छ। गुम्बा निर्माण तथा पूर्वाधारका लागि ३५९ आयोजनामा ५४ करोड ९ लाख रुपैयाँ छुट्याइएको छ।

त्यस्तै, बुद्ध पार्क, मूर्ति तथा भवन निर्माणका ४९ आयोजनाका लागि ८ करोड ७० लाख, विहार तथा महाविहारका २३ आयोजनाका लागि ५ करोड ४३ लाख र स्तुपा, छोर्तेन तथा माने निर्माणका ३७ आयोजनाका लागि ५ करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ। चर्चसम्बन्धी नौ आयोजनाका लागि १ करोड १५ लाख र मदरसासम्बन्धी एउटा आयोजनाका लागि १० लाख रुपैयाँ छुट्याइएको छ।

यसरी धार्मिक तथा सांस्कृतिक संरचनाको निर्माण र पूर्वाधारमा ठूलो बजेट केन्द्रित भएको देखिन्छ। तर, धार्मिक सम्पदाको संरक्षणसँगै सम्बन्धित समुदायको भाषा, ज्ञान, संस्कृति र पहिचान संरक्षणका कार्यक्रमको बजेट तुलनात्मक रूपमा सीमित छ।

आदिवासी जनजातिका ६३ आयोजनालाई १३ करोड ७० लाख

आदिवासी जनजाति समुदायको नाम खुलेका ६३ आयोजनाका लागि १३ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये बोटे, माझी, हायु, मुसहर र वनकरिया समुदायको संयुक्त स्वरोजगार परियोजनाका चार विनियोजनमा ५ करोड रुपैयाँ छुट्याइएको छ। यो आदिवासी जनजातिका नाममा वर्गीकृत कुल बजेटको ३६।५ प्रतिशत हो।

बाँकी ५९ आयोजनाका लागि ८ करोड ७० लाख रुपैयाँ विनियोजन भएको छ। ती आयोजनामा सामुदायिक भवन, सांस्कृतिक सङ्ग्रहालय, गुठी, मरणघाट तथा समुदायको पहिचानसँग सम्बन्धित पूर्वाधार निर्माण समेटिएका छन्।

मुसहर समुदाय सरकारी वर्गीकरणमा दलित समुदायमा पर्ने भए पनि बोटे, माझी, हायु र वनकरियासँगको संयुक्त स्वरोजगार परियोजनामा समावेश भएकाले उपलब्ध विश्लेषणमा यसलाई आदिवासी जनजातिसम्बन्धी आयोजनामा गणना गरिएको छ।

जिल्लागत रूपमा आदिवासी जनजातिसम्बन्धी आयोजनाको संख्यामा चितवन १९ आयोजनासहित अगाडि छ। बजेटका आधारमा मकवानपुरमा ३ करोड ४५ लाख र चितवनमा ३ करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ।

मकवानपुरमा तामाङ सङ्ग्रहालयका लागि ४५ लाख, मगर संघ भवनका लागि ४५ लाख, चेपाङ समुदायको संस्कृति प्रवर्द्धनका लागि १५ लाख तथा विभिन्न तामाङ सामुदायिक पूर्वाधारका लागि बजेट छुट्याइएको छ। चितवनमा मगर, गुरुङ, चेपाङ, दराई तथा नेवा समुदायका भवन, सङ्ग्रहालय र सांस्कृतिक पूर्वाधार निर्माणका योजना समेटिएका छन्।

मातृभाषा संरक्षणका लागि ४० लाख

भाषा, लिपि र लोपोन्मुख संस्कृतिसँग सम्बन्धित ११ आयोजनाका लागि १ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ। तीमध्ये प्रदेशस्तरीय मातृभाषा संरक्षण तथा प्रवर्द्धन प्रशिक्षण कार्यक्रमका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ।

नेपालभाषा मंकाः खलःको संग्रहालय सामग्री तथा पूर्वाधारका लागि ३० लाख, रामेछापको मन्थलीमा नेपाल भाषा, लिपि तथा नेवारी कला संस्कृति संरक्षणका लागि १५ लाख र भाषा, संस्कृति तथा पर्यटन क्षेत्रका कानुन तर्जुमाका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, लोपोन्मुख भाषा, लिपि, कला तथा सम्पदाको डिजिटल अभिलेखीकरणका लागि १० लाख र वागमती साहित्य महोत्सवमार्फत भाषा तथा साहित्य संरक्षणका लागि १० लाख रुपैयाँ छुट्याइएको छ। विभिन्न स्थानमा लोपोन्मुख जात्रा, नाच तथा बाजा संरक्षणका पाँच आयोजनाका लागि थप ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

भाषा र संस्कृतिसँग सम्बन्धित यी कार्यक्रमको तुलनामा भौतिक पूर्वाधारमा भएको बजेट विनियोजन उल्लेख्य रूपमा ठूलो छ। यसले आदिवासी भाषा, ज्ञान प्रणाली र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणलाई बजेटमा पर्याप्त प्राथमिकता दिइएको छ कि छैन भन्ने प्रश्न उठाएको छ।

झन्डै आधा आयोजना १० लाखका

खर्च शीर्षकको विश्लेषण गर्दा अन्य सार्वजनिक निर्माण शीर्षकमा सबैभन्दा धेरै २ हजार ९६ आयोजना छन्। ती आयोजनाका लागि ३ अर्ब ६९ करोड १८ लाख रुपैयाँ अर्थात् कुल बजेटको ८६।९ प्रतिशत विनियोजन गरिएको छ।

त्यस्तै, कार्यक्रम खर्च शीर्षकमा ११८ आयोजनाका लागि २४ करोड ७९ लाख, विविध कार्यक्रम खर्चमा २८ आयोजनाका लागि ८ करोड ८४ लाख र सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीमा ३४ आयोजनाका लागि ४ करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ।

उपलब्ध विवरणअनुसार १ हजार १४६ आयोजना अर्थात् कुल आयोजनाको ४८।४ प्रतिशतमा ठ्याक्कै १० लाख रुपैयाँ विनियोजन गरिएको छ। एक करोड वा सोभन्दा बढी बजेट भएका २६ आयोजनाले भने कुल ६० करोड ९७ लाख रुपैयाँ पाएका छन्।

सबैभन्दा ठूलो आयोजना मुख्यमन्त्री सडकसँग उद्यमशीलता कार्यक्रम हो। यसका लागि १४ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसपछि रसुवाको गोसाइँकुण्डमा हाई हिमालय वाल क्लाइम्बिङ ट्रेनिङ सेन्टरका लागि ६ करोड ४ लाख ८० हजार र प्रदेश महिला उद्यमी कर्जा कार्यक्रमका लागि ५ करोड २० लाख रुपैयाँ छुट्याइएको छ।

ललितपुरमा सबैभन्दा धेरै आयोजना

कार्यालयगत विवरणअनुसार उद्योग, वाणिज्य तथा पर्यटन कार्यालयहरूमार्फत २ हजार २७३ आयोजना कार्यान्वयन हुनेछन्। ती आयोजनाका लागि ३ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ विनियोजन भएको छ। मन्त्रालयबाट सिधै कार्यान्वयन हुने ४० आयोजनाका लागि ३० करोड ६० लाख रुपैयाँ छुट्याइएको छ।

जिल्लागत रूपमा आयोजनाको संख्यामा ललितपुर ७७१ आयोजनासहित पहिलो स्थानमा छ। ती आयोजनाका लागि १ अर्ब ५६ करोड १९ लाख रुपैयाँ विनियोजन भएको छ। काभ्रेपलाञ्चोकमा ७०३ आयोजनाका लागि १ अर्ब ८ करोड १६ लाख र मकवानपुरमा ६६१ आयोजनाका लागि ९७ करोड ४४ लाख रुपैयाँ छुट्याइएको छ।

जिल्लागत रकमका आधारमा भने काठमाडौं ५८ करोड ६० लाख रुपैयाँसहित पहिलो स्थानमा छ। भक्तपुरमा ४५ करोड ६४ लाख र मकवानपुरमा ३८ करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ। रसुवामा सबैभन्दा कम १४ करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ।

उपलब्ध बजेट विवरणले धार्मिक तथा सांस्कृतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको ठूलो लगानी देखाउँछ। तर, आदिवासी जनजातिको पहिचान, मातृभाषा, परम्परागत ज्ञान र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा विनियोजित रकमको तुलनात्मक न्यून हिस्साले बजेटको प्राथमिकता र समुदायको दीर्घकालीन आवश्यकताबीचको सम्बन्धबारे बहस आवश्यक बनाएको छ।

प्रतिक्रिया