अस्ट्रेलियामा तामाङ समुदायले भव्य रूपमा मनायो सोनाम ल्होछार–२८६२

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१४ माघ २०८२, मङ्गलवार
अस्ट्रेलियामा तामाङ समुदायले भव्य रूपमा मनायो सोनाम ल्होछार–२८६२

तामाङ समुदायको ऐतिहासिक तथा सांस्कृतिक पर्व सोनाम ल्होछार–२८६२ (घोडा वर्ष) अष्ट्रेलियाको सिड्नीस्थित पारामाटा शहरमा भव्य सांस्कृतिक कार्यक्रमसहित मनाइएको छ । तामाङ सोसाइटी अफ न्यू साउथ वेल्स (NSW) को आयोजनामा शनिबार रिभरसाइड थिएटरमा मनाएको हो । 

नेपाली तथा तामाङ समुदायका अगुवा, बुद्धिजीवी, कलाकार, युवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि जिहाद दिपले कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रवासमा तामाङ समुदायले आफ्नो मौलिक पहिचान संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । बहुसांस्कृतिक अष्ट्रेलियामा यस्ता कार्यक्रमहरूले नेपाली समुदायको पहिचानलाई मजबुत बनाउने उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोडिराख्न यस्ता उत्सव अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

सोही अवसरमा संजिव शर्माले तामाङ समुदायले अष्ट्रेलियामा गरिरहेको सांस्कृतिक संरक्षणको प्रयास प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउने धारणा व्यक्त गर्नुभयो । उहाँले कन्सुलेट कार्यालय नेपाली समुदायसँग सहकार्य गर्न सधैं तत्पर रहने प्रतिबद्धता पनि जनाउनुभयो ।

कार्यक्रममा उपस्थित स्थानीय काउन्सिलर भद्र वाइवाले तामाङ सोसाइटी अफ एनएसडब्लुले समुदायको पहिचान संरक्षणमा खेलेको भूमिकालाई महत्वपूर्ण बताउँदै बहुसांस्कृतिक अष्ट्रेलियामा नेपाली समुदायको सक्रिय सहभागिता गर्वको विषय भएको उल्लेख गर्नु । उहाँले सफल आयोजनाका लागि आयोजक टोलीलाई बधाई दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो ।

तामाङ सोसाइटी अफ अष्ट्रेलियाका संस्थापक तथा सल्लाहकार गणेश तामाङले संस्थाको स्थापना यात्रालाई स्मरण गर्दै भाषा, संस्कृति र धर्मको संरक्षण नै संस्थाको मूल उद्देश्य रहेको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानप्रति सचेत गराउन यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेकोमा जोड दिनुभयो ।

तामाङ सोसाइटी अफ एनएसडब्लुका अध्यक्ष अबिरल तामाङले अध्यक्षताका आसानबाट मन्तव्य राख्नुहुँदै  कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, स्वयंसेवक, प्रायोजक, कलाकार तथा दर्शकप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा अझ व्यवस्थित र गुणस्तरीय कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित सेलो गायक आश्मान लोप्चन आले र लोकप्रिय गायक–संगीतकार दिल तामाङको प्रत्यक्ष प्रस्तुति रहेको थियो। साथै सांस्कृतिक नृत्य, गीत, सेलो बाजा तथा डीजे सेसनमार्फत तामाङ सांस्कृतिक विविधता प्रस्तुत गरिएको थियो। यस अवसरमा तामाङ सोसाइटी अफ एनएसडब्लुका पूर्व अध्यक्ष तथा समुदायका अग्रज व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रममा नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रेलिया (ल्क्ष्ःँब्) का अध्यक्ष लक्ष्मण गुरुङ, तमु समाज अष्ट्रेलियाका अध्यक्ष हेउपति गुरुङ, अष्ट्रेलियन नेपाली पत्रकार संघ (ब्ल्व्ब्) का अध्यक्ष कृष्ण तिवारी, सञ्चारकर्मी हेमन्त कफ्ले, डा. राजु मानन्धर, तक्दिर अधिकारी, कृष्ण पोखरेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तामाङ सोसाइटी अफ एनएसडब्लु, सिड्नीले सफल कार्यक्रमका लागि सहयोग गर्ने सम्पूर्ण सदस्य तथा स्वयंसेवकलाई धन्यवाद दिँदै, आगामी दिनमा पनि तामाङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
 

प्रतिक्रिया