नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न गत माघ पहिलो साता सूचना आह्वान गरेको छ । सूचनामा अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१ को दफा १९ बमोजिम अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न चाहने व्यक्ति समुदायले २०८२ वैशाख मसान्तभित्र आवेदन पेश गर्न भनिएको छ ।
कार्यविधिको प्रस्तावनामा ‘नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भएकाले यहाँ रहेका हरेक जातजाति, भाषाभाषी, संस्कृति एवं धर्मसँग सम्बन्धित विभिन्न अभौतिक सांस्कृतिक सम्पदाहरूलाई संरक्षण, संचालन, निरन्तरता एवं व्यवस्थापनका लागि सम्पदा सूचीकरण गर्ने प्रक्रियालाई सहज एवं विधिसम्मत बनाउन जातीय समुदायलाई परम्परागत रूपमा निरन्तर अभ्यास गर्दै आएका तथा प्रचलनमा रहेका एक पुस्तापछि अर्को पुस्तान्तरण गर्दै हुँदै सम्बन्धित जातीय समुदाय एवं समग्र राष्ट्रको पहिचानका रूपमा रहेका अभौतिक सांस्कृतिक सम्पदाहरूलाई संरक्षण र व्यवस्थापन गर्न’ कार्यविधि निर्माण गरिएको उल्लेख छ । ‘अभौतिक सांस्कृतिक सम्पदा’ भन्नाले नेपालमा परम्परागत रूपमा बसोबास गर्दै आएका जातीय समुदायका एक पुस्ताबाट अर्को पुस्तामा हुँदै तथा अभ्यास भई आएका देहायबमोजिमका सांस्कृतिक विधाहरूसमेतलाई सम्झिनु पर्छ भनिएको छ ।
(१) अभौतिक सांस्कृतिक सम्पदाको संवाहकको रूपमा भाषासहितका मौखिक परम्परा तथा अभिव्यक्ति । (२) अभिनय तथा मञ्चन कला । (३) सामाजिक व्यवहार, अनुष्ठान तथा चाडपर्वका उत्सव । (४) प्रकृति र ब्रह्माणसँग सम्बन्धित ज्ञान तथा व्यवहार । (५) परम्परागत कला कौशलता, उत्पादन गर्ने सीप र प्रविधि । (६) परम्परागत खाद्य परिकार । (७) परम्परागत खेलकुद । (८) पहिरन लगायत आभूषण सम्बन्धी ज्ञान । (९) सम्पदा अभ्यास, कार्यान्वयन तथा अभ्यास गर्ने स्थल । (१०) स्मरणमा रहेका तर अभ्यासमा नरहेका अमूर्त सांस्कृतिक सम्पदा ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार देश नेपालमा १४२ जातजाति छन् । उनीहरूले बोल्दैआएका १२४ भाषा छन् । यसैगरी हिन्दु, बौद्ध, इस्लाम, किरात, क्रिस्चियन, प्रकृति, बोन, जैन, बहाई र सिख गरी १० वटा धर्म मान्ने समुदाय रहेका छन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार देश नेपालमा १४२ जातजाति छन् । उनीहरूले बोल्दैआएका १२४ भाषा छन् । यसैगरी हिन्दु, बौद्ध, इस्लाम, किरात, क्रिस्चियन, प्रकृति, बोन, जैन, बहाई र सिख गरी १० वटा धर्म मान्ने समुदाय रहेका छन् ।
संघीय संस्कृति मन्त्रालयले जारी गरेको सूचनाप्रति स्थानीय समुदायको ध्यानाकर्षित तुल्यायो भन्ने आधार पाइन्न । प्रादेशिक अभौतिक सांस्कृतिक सम्पदा, स्थानीय अभौतिक सांस्कृतिक सम्पदाहरूको सूचीकरण पहिलो आधार हुनुपर्छ । त्यो काम गर्न प्रदेश सरकार र स्थानीय सरकारबिच समन्वय भएको भए त्यो काम प्रभावकारी हुनसक्छ ।
अभौतिक सांस्कृतिक सम्पदाप्रति समुदायलाई सुसूचित गराउने काम स्थानीय वडापालिकाहरूको दायित्वमा पर्नुपर्ने हो । यदि त्यसो भएको छैन भने संघीय मन्त्रालयको त्यसतर्फ ध्यान पुग्न जरुरी छ । सम्पदा सूचिकरण गर्ने आधारहरूमा सम्बन्धित समुदायको पहिचानसँग सम्बन्धित भएको हुनुपर्नेछ । सम्पदाको सुरक्षा र संरक्षण सुनिश्चितता भएको हुनुपर्नेछ । अभौतिक सांस्कृति सम्पदासँग सम्बन्धित समूह, समुदाय वा व्यक्तिको सहमतिसहित सभागिता रहेको हुनुपर्नेछ । सम्बन्धित समूह वा समुदायको सामाजिक, धार्मिक वा सांस्कृतिक जीवनको एउटा महत्वपूर्ण अंगको रूपमा रहेको हुनुपर्नेछ । सम्बन्धित समुदायभित्र निरन्तर रूपमा अभ्यास हुँदै आएको र पुस्तान्तरणको प्रतिबद्धता व्यक्त गरेको हुनुपर्दछ । सम्पदामाथि गम्भिर खतरा आइपरेको र तत्कालै संरक्षण नगरी नहुने अवस्था रहेको वा सम्बन्धित व्यक्ति, समुदाय तथा पक्षहरूले प्रयास गर्दागर्दै पनि गम्भिर जोखिममा रहेको सम्पदालाई तत्कालै संरक्षण गर्नुपर्ने सम्पदाका रूपमा सूचिकरण गर्न सकिने उल्लेख पाइन्छ ।
सूचिकरणका निम्ति सम्पदाको पूर्ण विवरण, सूचिकरणका लागि सम्बन्धित व्यक्ति, समूह वा समुदायको सहमति चाहिन्छ । सम्पदाको फोटो, अडियो तथा भिडियो हुनुपर्ने छ । हालसम्मको पुस्तान्तरण सम्बन्धी विवरण, सम्बन्धित स्थानीय तहको सिफारिस हुनुपर्ने छ । स्थानीय तहमा सूचिकरण भइसकेको भएमा सोको प्रमाणपत्र पेश हुनुपर्ने भनिएको छ ।
नेपालको सन्दर्भमा राष्ट्रिय संस्कृति नीति २०६७ विद्यमान छ । विभिन्न जाति र समुदायका परम्परागत भौतिक र अभौतिक सांस्कृतिक सम्पदाहरूको अध्ययन र संरक्षण गरी एक–अर्कामा सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गराइ सामाजिक मर्यादा अभिवृद्धि गर्दै देशलाई सांस्कृतिक एकताको सूत्रमा गाँस्नु राष्ट्रिय नीतिको लक्ष्य रहेको छ । नेपाल संयुक्त राष्ट्रसंघको पक्षराष्ट्रको हैसियतले अमूर्त सांस्कृतिक सम्पदा सम्बन्धी महासन्धि २००३ लाई अंगिकार गरेको छ ।
युनेस्कोका सहजकर्ता संस्कृतिविज्ञ डा. सोमबहादुर धिमालको शब्दमा नेपालको भौगोलिक रूपमा हिमाल, पहाड र तराईको फरक–फरक विशेषता छन् । हिमाली क्षेत्रमा पाइने जातजातिहरू शेर्पा, शिङसाभोटे, डोल्पो, मुगाली आदि पर्दछन् । पहाडी क्षेत्रमा क्षेत्री, बाहुन, विश्वकर्मा, राई, लिम्बु, नेवार, तामाङ, मगर, गुरुङ, लेपचा, थामी, राउटे, राजी, थकाली, छन्त्याल, ह्योल्मो, दुरा, जिरेल, दमाई आदि पर्दछन् । यसैगरी तराईमा थारु, राजवंशी, धिमाल, मेचे, उराँव, ताजपुरिया, कुशवाह, बोटे, चेपाङ, दराई, सन्थाल, किसान, रानाथारु, गनगाइ, यादव, झा, तेली, सार्की आदि पर्दछन् । यी सबै जातजातिहरूको भाषा, धर्म, पेसा, खानपिन परिकार, भेषभूषा, चाडपर्वहरू, देवीदेवताहरू, लोकनृत्य, लोककला तथा साहित्य, जीविकोपार्जन गर्ने पुर्खाको ज्ञान, सिप, कला र स्थानयि प्रविधिहरू फरक–फरक पाइन्छन् । वनस्पति, बोटबिरुवाहरू, हावापानी फरक पाइन्छन् ।
दन्त्यकथा, उखानटुक्का, लोककथा, लाकेगाना, लोकमुन्धुम, लोकमन्त्रहरू, लोकलय तथा भाकाहरू, लोक इतिहास, उत्पत्ति कथाहरू, भजनकीर्तन, धार्मिक प्रवचनहरू रहेका हुन्छन् । मुन्धुम वाचन कला, नाक्सो, फेदाङवा, झाँक्री, ओझाले जोखाना हेर्दा, फलाक्दा र उपचार गर्दा तन्त्रमन्त्र कला ती सबै अमूर्त सम्पदा हुन् ।
दन्त्यकथा, उखानटुक्का, लोककथा, लाकेगाना, लोकमुन्धुम, लोकमन्त्रहरू, लोकलय तथा भाकाहरू, लोक इतिहास, उत्पत्ति कथाहरू, भजनकीर्तन, धार्मिक प्रवचनहरू रहेका हुन्छन् । मुन्धुम वाचन कला, नाक्सो, फेदाङवा, झाँक्री, ओझाले जोखाना हेर्दा, फलाक्दा र उपचार गर्दा तन्त्रमन्त्र कला ती सबै अमूर्त सम्पदा हुन् ।
सरकारले अमूर्त सम्पदाहरू सूचीकरण गर्ने अभियानको थालनी गर्नु उचित छ । तर सम्बन्धित समुदायसम्म ज्ञान, चेतना र जागरण पैदान भइनसकेको स्थिति छ । हिन्दु वर्णाश्रमको थिचोमिचो र अतिक्रमणले आफ्नोपन गुमाएका जातजाति, भाषाभाषीहरू छन् । उदाहरणका लागि पल्लोकिरात, माझकिरात र ओल्लाकिरात क्षेत्रका ऐतिहासिक गढीहरूलाई देवीथान अनि साकेला थानहरूलाई चण्डीथान बनाइएकै छन् ।
उनीहरूको भौतिक र अभौतिक अर्थात् अमूर्त सम्पदाहरूमाथि जित्ने समुदायहरूको हालीमुहाली रहेको बेला फेरि पनि म्याद जारी गरेर अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न भन्नु थिचोमिचोकै निरन्तरतामा दरिने निश्चित छ । यसबारे संविधानसम्मत विशेष गरी अल्पसंख्यक समुदायमा चेतना विस्तार तथा जागरण पैदा गर्नु राज्यको दायित्व हो ।
त्यसतर्फ सचेत हुनुपर्ने पर्छ नकि चिनो चौतारी भन्दै सबैको पाइतालामुनि पार्ने कुचेष्टा नबनोस् । मध्यपहाडी लोकमार्ग भन्दै विस्तार गरिएको पुष्लाल मार्ग या मदनभण्डारी मार्ग या बीपी मार्ग जेजे नाममा मार्ग विस्तार गरिदैछ । त्यसले आदिवासी क्षेत्रका मूर्त र अमूर्त सम्पदाहरू मास्ने काम गरेको पनि जगजाहेर छ । सूचना जारी गरेर सर्वसाधारणको आँखामा छारो हाल्ने र उनीहरूको सम्पदालाई मास्ने काम राज्यको प्राथमिकतामा पारेको भनेर बुझ्ने स्थिति कदाचित मान्य हुन्न । यसतर्फ गम्भीरतापूर्वक सोचियोस् ।