हर्क गुरुङः बाहुनडाँडाका ठूला कान्छा, हामी सबैका ठूला भए

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ१९ असोज २०८२, आइतवार
हर्क गुरुङः बाहुनडाँडाका ठूला कान्छा, हामी सबैका ठूला भए

बाहुनडाँडाको नाइँचेमा सम्बत १९९५ साल पौष २१ गते एउटा बालकले पहिलो पटक संसार देख्यो । बालकलाई संसार विचरण गराउने महिला पात्रा मैस्यो गुरुङ थिइन भने पुरुष पात्र पारसै गुरुङ थिए । ती बालकलाई घर परिवारले ‘ठूलो कान्छा’ भन्ने गरेका थिए । तीनै ठूला कान्छा देशकै ठूला भए । हामी सबैका ठूला भए । र, देशमा भूगोलविद् डा हर्क गुरुङका रुपमा परिचित भए । 

बाहुनडाँडा डा हर्क गुरुङको मामा घर हो । उनी त्यहाँ जन्मेको मात्र हुन् । उनको पुख्र्यौली घर भने लमजुङ कै ङादीखोला स्थित तराँचे हो । जुन तत्कालीन भुलभूले गाविसमा पर्दछ । अहिले यो मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ८ मा परेको छ । 

बाहुनडाँडा वास्तवमा गुरुङ गाउँ हो । तर नाम रहन गयो,बाहुनडाँडा ।  एक बाहुन परिवार कतैबाट बसाइ सराई गरी यहाँ बसोबास गर्न आएको हुँदा यसको नाम बाहुनडाँडा रहन गएको स्थानीयबासीको भनाइ छ । बाहुनडाँडा यस अघि गाविसको नाम नै थियो । अहिले यो गण्डकी प्रदेशको लमजुङ जिल्ला अन्तर्गत दोर्दी गाउँपालिका वडानम्बर ६मा  पर्दछ । 

डा. हर्क गुरुङ देशकै ‘ठूला’ मध्येका एक थिए । नेपालको योजना, विकास र सामाजिक समाबेशीकरणका मार्गदर्शक थिए । नेपाली समाजलाई अगाडि बढाउने उत्प्रेरक र भविष्यद्रष्टा थिए । समग्रतामा उनी बिद्धान थिए । उनी देशकै पहिलो पर्यटन मन्त्री बने । राष्टिय योजना आयोगका उपाध्यक्ष र सदस्य बने । उनी खेलाडी थिए, फोटोग्राफर थिए, चित्रकार थिए, पर्वतारोही थिए र थिए, आदिवासी जनजाति अधिकारका प्रबक्ता । बहुआयामिक व्यक्तित्वका धनी थिए ।  उनै महान व्यक्तित्वका धनी डा हर्क गुरुङ सम्बत २०६३ साल अशोज ७ गते घुन्सा हेलिकप्टर दुर्घटनामा परेर महापरिनिर्वाणको बाटोमा गए । 

परम्पराको अभ्यासकर्ता  

डा. हर्क आदिवासी गुरुङहरुको प्रथा, परम्परा र मान्यताको अभ्यासकर्ता थिए । उनका बाजे पच्यू भएकाले यो परम्परा बारे उनी पूर्ण जानकार थिए । गुरुङ (तमू) समाजमा पच्यू तथा घ्याबृँलाई सम्मानित र संस्कार तथा संस्कृतिका बाहकका रुपमा लिइन्छ । परम्परागत बोन धर्मको आधारमा पच्यूले गुरुङ समाजमा जन्म देखि मृत्युसम्मको संस्कार गर्ने अगुवाइ गर्दछन् भने मानिसहरु बिरामी भएमा जडिबुटी तथा आफनो पद्धतिबाट उपचार गर्ने गर्दछन् । पच्यूहरुमा दैवी शक्ति हुने विश्वास गरिन्छ । 

विभिन्न अनुसन्धानकर्ता तथा डा. हर्कबारे लेखिएका स्मरणहरुमा यही पच्यू परम्पराबाट पच्यूहरु, बोन, लम तथा धामी, झाक्री, पैडीहरुको संगत परेको बताएका छन् । उनले लमहरुले प्रयोग गर्ने सम्भोटा लिपी पनि यहीबेला सिकेका थिए । तत्कालीन अवस्थामा लमजुङ जिल्लाभरी नै औपचारिक शिक्षालय नभएका कारण उनले घरमा आउने जोगी सन्यासीहरुबाट देवानागिरी लिपी सिक्ने गर्दथे । 

उनको बाल्यकाल आफ्नै गाउँ तराँचेमा बित्यो । यस क्रममा नौ बर्षको उमेरसम्म त भेडी गोठ र गाइ गोठमा रमाइरहेका थिए । परम्परागत पशुपालन आदिवासी गुरुङहरुको प्रथाजन्य पेसा हो । यो परम्परालाई उनले सानैमा अनुभूत गरेका थिए । गोर्खा स्मारक कोष पोखराका संस्थापक क्याप्टेन एकनारायण गुरुङले भने झै ‘डा. हर्कको बाल्यकाल गाउँकै साथी दौतरीहरुसंग लेक बेशी, बारी र खोला चहार्दे बितेको थियो, बाल्यकाल यसरी बिताउनु तत्कालीन परिबेशको एउटा अभिन्न पाटो थियो ।’

नौ बर्ष पछि उनका पिता पारसै गुरुङ पछि लागेर भारतको देहरादुन पुगे । पिता पारसै गुरुङ भरतीय सैनिक सेवाका सुवेदार हुनुहुन्थ्यो । पिताले देहरादुनको गोर्खा चिल्ड्रेन स्कूलमा भर्ना गराए ।  घरमा नै  अनौपचारिक शिक्षा लिएका हर्कलाई स्कूलले कक्षा दुइमा भर्ना लियो । त्यति बेला उनका पिता सुबेदार परासै पेन्सनमा अवकास लिएर घर फर्कि सक्नु भएको थियो । त्यसैले उनी सुवेदार मेजर  अमरसिंह गुरुङकोमा बसेका थिए । प्रेमबल्लभ जोशी हेडमास्टर थिए । यहाँबाट उनको औपचारिक शैक्षिक यात्रा  सुरु हुन्छ । 

कक्षा पाँच देखि किङ जर्ज मिलिटरी स्कूल जालान्धरमा अध्ययन गरे । यही स्कूलबाट उनले माध्यामिक तहको अध्ययन पुरा गरे । त्यस स्कूलमा संगै पढेका सहपाठी मेजर दीपक गुरुङका अनुसार त्यहाँ डा हर्क गुरुङले ‘आर्मी स्पेशल’ पास गरेका हुन् । 

यो स्कूलले उनलाई धेरै कुरा सिकायो । नियमित शारीरिक व्यायाम, अनुशासन र समयको बाँडफाँड जस्ता जीवनमा आवश्यक पर्ने विषयहरु यही स्कूलमा उनले सिकेका हुन् । त्यहाँ  डा. हर्क गुरुङ ‘हनुमान’ नामबाट परिचित थिए । मेजर दीपकको भनाइमा हनुमानबाट नै उनको नाम हर्क भएको हो । 

यसरी लाहुरे परम्पराको गुरुङ परिवारको एक सदस्यले आफनो शैक्षिक यात्रा तय गरे । पिता सुवेदार परासै लाहुरे भएकै कारणबाट उनको शैक्षिक यात्रा सम्भव भएको हो । 

डा. हर्कको अध्ययन तथा अध्यापन

डा  हर्कको उच्च शिक्षा भने नेपालको त्रिचन्द्र कलेज र पटनामा भएको हो । त्रिचन्द्र कलेजबाट प्रविणता प्रमाणपत्र तह (आइए)  सकेर उनी पटना कलेजबाट बिए अनर्स गरेका हुन् । पटना विबश्वविद्यालयको अध्ययन नगरी बेलायतको एडेनवर्ग विश्वविद्यालयबाट भूगोल विषयमा पोष्ट ग्राजुयट गरेका हुन् । उनले पोखराको भौगोलिक अवस्थाको अध्ययन गरेर एडेनवर्ग विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि लिनु भएको  हो । 

विद्यावारिधिको उपाधि पछि सबैभन्दा पहिले उनले कर्णाली प्रदेशको अध्ययन गरेका थिए । यो अध्ययन पछि त्रिभूवन विश्वविद्यालयमा भूगोल बिषयको प्राध्यापन गर्न थाले । उनले भूगोल बिषयमा पढाएका छात्र मध्येका एक राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा पीताम्बर शर्माका अनुसार भूगोलको अध्ययन तथा अध्यापनमा दुईवटा गुण हुनु पर्ने कुरा गर्दथो । डा. हर्कको भनाई उदृत गर्दे स्मरणमा शर्माले लेखेकाछन् ‘राम्रो भूगोलविद् हुन दुइवटा गुण चाहिन्छ । भूस्वरुपप्रति सहानुभूति र दोस्रो त्यसमा जिविकोपार्जन गर्ने जनता प्रति सहानुभूति ।’

नेपालको भूगोललाई संस्कृति, इतिहास, जनसंख्या, राजनीति र आर्थिक विकासलाई जोडेर डा हर्क विश्लेषण गर्ने गर्दथे । डा. शर्माका अनुसार पर्वतारा्हण सम्बन्धि अध्ययन तथा लेख्ने उनी नै पहिलो नेपाली हुन् । डा हर्कका अन्नपूर्ण टु धौलागिरी: अडिकेट अफ माउन्टेनियरिङ इन नेपाल १९६८, पिक्स एन्ड पिनाकुल्स २००४ लगायतका कृतिहरु छन् । उनले नेपालको नीति निर्मातालाई ध्यान आकर्षण गर्ने गरी नेपाल एटलास अफ एथनिक÷ कासट ग्रुप्स र नेपाल एटलास अफ लिङ्गुइस्टिक ग्रुप्स, १९९९ तयार गरेका थिए । 

उनका अध्ययनहरुमा मुलतः नेपालको विविधताको तस्वीर प्रस्तुत हुन नयाँ र नौलो प्रयोग थियो । नेपालको संस्कृति, सभ्यता र जातीय विविधतालाई बौद्धिकताको लेपन लगाउँदै यात्रा बर्णनलाई साथ साथमा उतार्नू उनको अध्ययन, अनुसन्धानको मुख्य सन्देश हो । जस्ले नेपाल र नेपाली जनता बुझाउन मद्धत गरेको छ । डाइमेन्सन अफ डेभलपमेन्ट (१९८०,१९८९) नेचर एण्ड कल्चर जस्ता पुस्तकहरु यसैका साक्षी हुन् । 

औपचारिक शैक्षिक उपाधिको दृष्ट्रिकोणबाट डा. हर्क गुरुङ भूगोलविद् हुन् । तर डा हर्कलाई भूगोलविद्मा मात्र सिमित गर्नू उनी माथि घोर अन्याय हुन्छ । उनको क्षेत्र नेपाली समाज र सामाजिक विकास नै प्रमूख थियो । 

सफल योजनाकार 

डा. हर्क गुरुङ प्राज्ञिक रुपमा मात्र नभएर व्यबहारिक रुपमा पनि सफल योजनाकार हुन् । नेपालको विकास योजनाले राष्ट्रको सबै आयाम समेट्नु पर्छ भनेर नै उनले सन् १९६९ मा नै रिजनल डेभलेपमेन्ट ल्पानिङ फर नेपाल .(१९६९) नामक किताव ल्याए । यो कितावल ेयोजना निर्माणमा क्षेत्रीय अवधारणाको बत्ती बालेको थियो । डा पीताम्बर शर्माको विश्लेषणमा यो अवधारणाले प्राकृतिक स्रोतमा आधारित विविधताले भौगोलिक क्षेत्रलाई एकीकृत गर्ने योजनाको खाका दिन्छ । 

डा. हर्क गुरुङ देशको योजनाको रुपरेखा कोर्ने राष्ट्रिय योजना आयोगमा दुइ कार्यकाल रहे । योजना आयोगमा पहिलो पटक सदस्य र पछि उपाध्यक्ष भएका डा गुरुङको कार्यकालमा चौथो योजना बन्यो । यही समयमा नेपाल ७५ जिल्लामा सिमाङ्कन भएको हो । यस अघि राणाकालमा बिभाजन भएको ३८ जिल्लालाई प्रशासनिक भूगोल मानिन्थ्यो । योजना आयोगमा सचिव समेत रहेका पूर्ब परराष्ट मन्त्री डा भेष बहादुर थापाका अनुसार पाँच विकास क्षेत्रको रेखाङ्कन पनि डा हर्कको पहलमा भएको हो । थापाले लेखेका छन्– ‘विकासको अभियानलाई जनमुखि र देशव्यापी बनाउन उनले क्षेत्रीय तहमा प्रशासन, साधन,र विकास पु¥याउने नीति प्रतिपादन गरे । त्यही प्रक्रियाले पन्चायतकालमा नै भए पनि  नेपालको विकासमा नयाँ मोड दिएको हो ।’

देशमा राज्य पुनर्सरचनाको बहस घनीभूत चर्किएको बेला डा हर्क गुरुङले महापरिनिर्वाण प्राप्त गर्नु भयो । उहाँ भईदिएको भए देशको भौगोलिक, अर्थ सामाजिक जटिलता र  विशिष्टताको गुत्थी फुकाउन सजिलै सकिनै धेरै बिज्ञहरुको धारणा छ । किनभने कैयौ मञ्चहरुमा, अनेको कार्यपत्रहरुमा डा हर्कले देशमा संघियता, विकेन्द्रीकरण, शक्तिको निक्षेपीकरण र समाबेशी राज्यको आवश्यकतालाई दर्शाउँदै आएका हुन् । 

देशमा २०७२ को संविधान पछि संघियता आएको छ । तर संघियता शक्तिको निक्षेपीकरणको अभावमा पुर्णता प्राप्त गर्न सकेको छैन । यस अघि राज्यको खटनमा शक्तिको विकेन्द्रीकरण हुन्थ्यो । त्यसको निरन्तरता अहिले पनि कायम रहनु सुखद पक्ष होइन । 

देशमा संघियताको खाँचो मूलतः तीन उद्देश्य पुर्तीका लागि भएको हो । पहिलो जातीय, क्षेत्रीय, भाषिक विभेद विरुद्ध पहिचानको स्थापना, दोस्रो शक्तिको निक्षेपण र तेस्रो समाबेशी राज्यको कार्यन्वयन । तर अहिलेको संघियतामा यो तीनै  पक्ष समाहित भएको छैन । 

अहिलेको सात प्रदेशको संरचनामा जनताकोभौगोलिक अपनत्वको अभाव छ भने जातीय तथा भाषिक पहिचानलाई पनि उपेक्षा गरिएको छ ।  हाम्रो संविधानले विशेष जाति, लोपोन्मूख समुदाय, पछाडि पारिएका जातजातिको स्थानका लागि विशेष, संरक्षित तथा स्वायत्त क्षेत्रको परिकल्पना त गरेको छ, तर संविधान जारी भएको दश बर्षसम्म यसको कार्यन्वयन सुन्यको अवस्था छ । यदि डा हर्क गुरुङ भइ दिएको भए देशमा यो सून्यता अवश्य रहने थिएन । केही न केही जुक्ति अवश्य निकाल्ने थिए डा हर्क गुरुङले । 

देशको भौगोलिक विभाजन अनुसार वैज्ञानिक भूउपभोग नीति, नेपालको भूवनोट र भूगर्भको बिस्तृत अध्ययनका आधारमा योजना भन्ने ठान्दथे, डा हर्क गुरुङ । एकजना अध्येताले डा हर्क गुरुङको योजनालाई बिश्लेषण गर्दे भनेका छन् । ‘तराइमा अन्न, नगदेबाली, दलहन, कृषि अनुसन्धान केन्द्र खोल्ने, उत्पादित विभिन्न बालीको आधुनिकीकरण र बजारीकरण  चुस्त बनाउने डा हर्कको योजना थियो । जनसंख्या, पूर्बाधार र बजारसम्म पहुँचका आधारमा औद्योगिकरण गर्ने चाहना थियो । मध्य पहाडमा पशुपन्छी, वागवानी, जलविद्युत अनि पहाडको घाँटीमा आकर्षक शहरहरु बसाउने र पर्यापर्यटनलाई अगाडि बढाउने उहाँको सपना थियो । हिमाली भेगमा उच्च भेगीय बालीनाली, पशुपालन, साहसिक पर्यटन, संस्कृति आदिको संरक्षण गर्न चाहानु हुन्थ्यो ।’ तर यी सपना अहिले कार्यन्वयन भएका छन् त ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने निराशाजनक उत्तर पाइन्छ । 

समाबेशी विकासका सुत्रधार 

डा. हर्क गुरुङ आदिवासी जनजातिहरुका सर्वमान्य अगुवा थिए । खास गरेर २०४७ को राजनीतिक र संवैधानिक परिवर्तन पछि डा. हर्कको पाइला आदिवासी जनजातिको आन्दोलन तर्फ मोडिएको थियो । तैपनि उनी आफै भने आदिवासी आन्दोलनमा आफनो योगदान नगण्य भएको बिचार राख्ने गर्दथे । 

आदिवासी जनजाति महासंघका तत्कालीन महासचिव बालकृष्ण माबुहाङका अनुसार सन् २००१मा महासंघले डा. हर्क गुरुङलाई ‘राष्ट्रको गर्बर्‘ भनेर अभिनन्दन सहित सम्मान गरेको थियो । त्यस बखत उनले जवाफी भाषण दिदै जनजाति आन्दोलनका नाममा जुलुस, सभा वा संघर्ष आफुले नगरेको भन्दै समाजमा यस्ता संघर्ष गर्नेे, यातना पाउने अन्य आदिवासी धेरै भएको बताएका थिए । उनको सम्मानमा महासंघले लगाएको फेटा देखाउँदै ’यो फेटा कति हात लामो होला थाहा छैन, जति लामो भए पनि महासंघले फन्दामा पारेको पासो ठानेको छु ।‘ भनेका थिए ।

उनी आदिवासी जनजातिले शसक्त बैचारिक हतियार उठाएको बताउने गर्दथे । एक पटक माओवादी अध्यक्ष पुष्पकमल दहाललाई भेटेर भनेका थिए ’माओवादीले उठाएको हतियार व्यबस्थापन गर्न त्यति धेरै मेहनत पर्दैन, तर जनजातीय अन्तरविरोधको व्यबस्थापन गर्न सकिएन भने माओवादीको हतियार व्यबस्थापन भन्दा गाह्रो पर्ने छ ।‘ सोहीपरी आज माओवादीको हतियार त व्यबस्थापन भएको छ, तर आदिवासी जनजातिहरुले उठाएको बैचारिक हतियारको व्यबस्थापन गर्न राज्यलाई कठिन भएको हामी सबैको अगाडि ताज्य छ ।  

उनी जातीय स्वायत्तता र आत्मनिर्णयको अधिकारलाई आदिवासी आन्दोलनको आधारभूत सिद्धान्त मान्नु पर्नेमा जोड दिने गरेका थिए । यी मान्यतालाई उनको प्रकासनहरुमा पढन र हेर्न सकिन्छ । 

उनले जीवनको आखिरी समयमा समाबेशी विकासका विषयमा धेरै काम गरेका थिए । खासगरेर देशका आदिवासी जनजाति, अल्पसंख्यक समुदायका अधिकारका बारे उनको प्राज्ञिक योगदानकै बलमा आजको समग्र आदिवासी आज्दोलन यो स्थानमा आईपुगेको हो । 

नेपालमा कायम रहेको जातीय विभेदको मुद्दा वा समाबेशीकरणमा सबैलाइै आँखा खोलि दिएका थिए । डा हर्क गुरुङ नेपालको विकासमा संरचनागत समस्याका रुपमा व्याख्या गर्दथे । राज्यको बहिस्करणमुखि नीतिले दलित र आदिवासी जनजाति मात्र नभएर राज्यका बहुमत जनतालाई समस्या परेको बताउँने गरेका थिए । यो समस्याको निकाश खोजे मात्र राष्ट्रराज्य एकीकृत र समृद्ध हुने उनको दरिलो मत थियो । 

डा हर्क गुरुङ नेपाल अल्पसंख्यकहरुको देश भन्ने बिचारक थिए । यस अघि देशको जातीय जनसंख्याका बारे थोरैेलाई मात्र जानकारी थियो । उनैले तथ्य र तथ्याँक नेपाली जनतालाई जानकारी दिए । देशको राजनीति र सामाजिक आर्थिक क्षेत्रमा हाली मुहाली गर्ने बाहुन क्षेत्रीहरु पनि अल्पमतमा नै छन् भन्ने तथ्यलाई उनैले राखे । नेपाली राज्य विशेष गरी एक जात (बाहुन क्षत्री), विशेष एक भाषा (खस नेपाली) नै समस्याको जरो हो भन्ने .उनको ठहर थियो ।

नेपालमा सामाजिक विभेद र असामानतालाई सम्बोधन गर्न चार मुख्य सामाजिक समूह (बाहुन क्षत्री, दलित, आदिवासी जनजाति र मधेशीं)को  समस्या र आकाँक्षा र तिनको निदानका उपायहरुमा राज्यका नीतिहरु केन्द्रीत हुनु पर्नेमा उनी स्पष्ट थिए । त्यसैले उनले विकासमा सबै जातजातिको राजनीतिक, सामाजिक र आर्थिक सहभागिता सुनिश्चित हुने प्रणालीको पक्षमा उनले जिन्दगीभर वकालत गरे ।

यस सम्बन्धि सोसल डेमोग्राफी एण्ड एक्सप्रेन्सन्स (१९९८), ट्राइडेन्ट एण्ड थन्डरवोल्ड (२००३) फ्रम एक्सक्लुसन टु इन्क्लुजन: सोसियोपोलिटिकल एजेन्डा फर नेपाल(२००६) नामक कृतिहरुले डा हर्क गुरुङको समावेशी, जनसाख्यिक, सामाजिक मुद्धा सम्बन्धि राय थाहा पाउन सकिन्छ । समावेशी राज्यका अनिवार्यतामा उनी विशेष जोड दिन्थे । यस पङ्तीकारले (कुमार यात्रु, राजधानी दैनिकमा प्रकासित)  २०६३मा लिएको अन्तर्वातामा समाबेशी सम्बन्धि उनको धारणा बुझन मद्धत गर्दछ ।

उनले त्यस बखत समाबेशी संरचनामा व्यक्तिको प्राथामिकता पहिलो खुड्कला भन्ने गर्दथे । उनले भनेका छन्  –‘खुट्टा गुमाएर अपाङ्गता भएका व्यक्तिका लागि पहिलो आवश्यकता खुट्टा नै हो । यसको विकल्प कृतिम खुट्टा, लट्ठी वा ह्विल चियर केही हुन सक्छ । तर अपाङ्गता भएका व्यक्तिका नाममा  संसदमा एक सिटको कोटा दिएर अपाङ्गता भएका सबै सन्तुष्ठ हुँदेनन् ।” कोटा प्रणालीको समाबेशीकरणको सन्दर्भमा डा हर्क गुरुङ त्यति सन्तुष्ठ थिएनन् । उनी समग्र संरचनात्मक विभेद हटाउनु पर्ने पक्षमा थिए । 

बसाईसराई प्रतिवेदन 

डा.हर्क गुरुङको संयोजकत्वमा नेपालको बसाइसराई अध्ययन गर्ने एक समिति बनायो । उनको टिमले सन् १९८३मा सरकारलाई प्रतिबेदन दियो । त्यो प्रतिवेदन चर्चित मात्र भएन आलोचित पनि भयो । यो प्रतिवेदन माथि अहिले पनि बहस जारी रहेको छ । सन् २०२५ मा आइपुग्दा पनि यसमाथि बहस सकिएको छैन । डा हर्क गुरुङका् १६ औ स्मृति दिवशको अवसरमा ७ अशोजमा तमु बौद्ध समितिले काठमाडौमा एक अनतरक्रिया कायैम नै राखेको थियो । कार्यक्रममा प्राडा योगेन्द्र गुरुङ, भीम प्रसाद सुवेदी, योगेन्द्र प्रसाइले नेपालको राजनीतिमा डा हर्क गुरुङको बसाइसराई प्रतिबेदन र आजको सन्दर्भसंग व्याख्या र विश्लेषण गर्ने प्रयास गरेका थिए । 

डा. हर्क गुरुङले प्रस्तुत प्रतिबेदन भारतसितको खुला सिमानाको आवागमनलाई नियमित गरिनु पर्ने तर्क राखेका थिए । तर यहाँका केही उपबुज्रुकहरुले त्यसको उग्र बिरोध गर्दे डा. गुरुङलाई फासीको सजाय दिन पनि पछि परेका थिएनन् । 

केहीले नागरिकताका बारे बुझेर बिरोध गरेका थिए । नागरिकताका सम्बन्धमा त डा हर्कले नेपालको नागरिकता ऐनमा भएको नेपाली उत्पत्तिका व्यक्ति भन्नेश शव्द राख्न नहुने प्रस्ताव गरेका थिए । वास्तवमा मधेशीहरुको सवालमा यो व्यबस्था संकिर्ण थियो । उनले त मधेशीहरु जो नेपाली नागरिक हुन् उनलाई सहज रुपमा नागरिकता दिनु पर्ने पक्षमा वकालत गरेका थिए । ढकाल, पौडेल, कोइराला भए तुरुन्त नागरिकता पाउने र यादव, महत्तो भएमा नागरिकता दिन आलटाल गर्ने प्रणाली ठिक होइन नै भनेर तर्क राख्ने गरेका थिए । 

डा. हर्क गुरुङले प्रतिबेदन सम्बन्धी लामो स्पष्टिकरण सहित एक आलेख नै प्रकासित गरेका छन् ।, राष्टिय जनसंख्या आयोगद्वारा प्रकाशमा आएको नेपालमा आन्तरिक तथा अन्तराष्ट्रिय बसाइ सराइ प्रतिबेदन आफनो निजी नभएर सामुहिक भएको स्पष्टिकरण दिएका छन् । 

उनले नेपालमा आप्रवासनको समस्या जटिल बनेको काठमाडौमा कुल बसाइसरेर आउने परिवार मध्ये ३६.५ प्रतिशत आप्रवासी रहेको बताएका छन् । ती मध्ये ६७.७ प्रतिशत भारतबाट र १२.१ प्रतिशत चिनको तिव्वतबाट आउने गरेको खुलाएका छन् । उनले भारतबाट आएका आप्रवासी मध्ये ४२.३ प्रतिशतले नेपालको नागरिकता लिएको, तराइमा यस्तो आप्रबासन १७७.८ प्रतिशत रहेको बताएका छन् । उनले आप्mनो प्रतिबेदन ‘डिप फ्रिजमा’ राखिएको र कुनै पनि बेला ताजा हुने ूस्मरण गराउने गर्दथे । हुनपनि हो यो प्रतिबेदन फेरि पुनताजगी गर्न आवश्यक छ । 

बहुप्रतिभाशाली व्यक्तित्व 

डा. हर्क गुरुङ बहुप्रतिभाशाली व्यक्तित्वका धनी थिए । उनी योजनाविद्। भूगोलविद् त हुँदैहुन् एक राजनीतिज्ञ, पूर्बमन्त्री, परामर्सदाता र लेखक पनि हुन् । उनी हर्क लेकालीको उप नाम प्रयोग गरेर साहित्य पनि लेख्ने गर्दथे । 

डा. हर्क चित्रकार थिए । उनले यो चित्रकारिता बालकृष्ण समको सानिध्यमा र संरक्षणमा सिकेका थिए । उनले कोरेको डाँफे र मुनालका चित्रहरु त हुलाक टिकटमा पनि छापिएका छन् । राष्टिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङका अनुसार डा हर्क गुरुङले आफ्नो पोटे«ट आफै बनाएका थिए । 

उनी एक फुटवल खेलाडि थिए । ठमेल–११ को टिमका त उनी क्याप्टेन नै थिए । सन् १९६७मा त्रिभूवन च्यालेन्ज शिल्ड उनको कप्तानीमा फुटवल जितेको गियो । उनी टेनिस खेलाडी पनि थिए । कुमार खड्गबिक्रम सिंह उनका टेनिस खेल्ने जोडि थिए । हरेक साता टेनिस खेल्ने उनको रुटिन थियो । 

उनी हिमाल आरोही पनि थिए । सन् १९६६ मा ५२९६ मिटर अग्लो हिमाल आरोहण गर्ने प्रयास गरेका थिए । तर उनी सफल नभएको डा गणेशले बताएका छन् । पर्यटन उनको रुचि र जिज्ञाशाको बिषय थियो । आफनै गाउको मनास्लु र हिमालचुली हिमशिखर पछिल्तिर के छन् र मस्यांग्दी नदी किन गडढगडाउँछ भन्ने जिज्ञाशाबाट उनले नौलो संसार बिचरण गरेका थिए । उनले आफना छोरीको नाम पनि मनास्लु र हिमालचुली राखेका थिए । 

पर्यटन नेपालको विकासको आधार भन्ने मान्यतालाई स्थापित गर्ने डा. हर्क नै थिए । उनले नै खुम्बु क्षेत्रको पर्यटनको गुरुयोजना बनाएका हुन् । नेपाल पर्वतारोहण संघलाई व्यबसायिक संस्थाका रुपमा विकास गराउन पनि उनको ठूलो योगदान छ । पोखरामा बनेको अन्तराष्टिय पर्बतीय संग्रहालय उनकै पहलमा स्थापना भएको हो । 

डा. हर्क गुरुङ जहिले पनि आफनो तागत देखाउनु भन्ने गर्दथे । ‘आफनो पुर्परोमा कसैको नाम लेख्न नदिनु । जुनबेलासम्म तिमीमा तागत र ल्यागत छ, सबैलाई तिम्रो आवश्यकता पर्दछ ।’ उनी भन्थे ‘कमजोर मान्छेलाई साहरा चाहिन्छ । तर तिम्रो आत्मबल दह्रो छ भने तिमी कहिल्यै कमजोर बन्दैनौ ।”

हामी आदिवासीहरुले आत्मबल कतिको दह्रो बनाएका छौ, यसैमा डा हर्क गुरुङप्रतिको सम्मान र श्रद्धा झल्कने छ । 

(राष्टिय आदिवासी जनजाति अपाङ्ग महिला संघ (निडवान) बाट प्रकासित नेपालका प्रेरणीय आदिवासी व्यक्तित्व र संघर्षका कथा  नामक पुस्तकमा प्रकासित सामाग्री सम्पादन सहित यहाँ राखिएको छ ।)    


 

 

प्रतिक्रिया