डा. चैतन्य सुब्बा समग्र आदिवासी जनजाति र लिम्बू समुदायका ‘चोत्लुङ’ थिए । उनले समाज, समुदायको सेवा गरेर आदिवासी जनताको ‘माङ्गेना’ उठाए । उनैले आदिवासी जनजातिको विकासको नक्सा कोरे । उनी मुन्धुमका ज्ञाता थिए, समाजका अगुवा थिए । अधिकारवादी चेतनाका सम्बाहक सुब्बा ले ७६ बर्षको उमेरमा संसारबाट विदा भए ।
डा. चैतन्य सुब्बा नामका लागि मात्र सुब्बा थिएनन्, किपटिया सुब्बा पनि थिए । ताप्लेजुङको थेचम्बु आसपासका किपटक्षेत्र भित्र सुभाङ्गी परम्पराका अन्तिम उत्तराधिकारी तिनै चैतन्य थिए । उनका पिता जगतमान मेयाङ्वो लिम्बु त्यस क्षेत्रमा अमाल नै चलाउँथे । अमालले पन्चखत बाहेकका सबै मुद्धा मामिला फैसला नै गर्न सक्थ्यो । अमाल प्रथा तत्कालीन राज्य संरचनाको अभिन्न अंग थियो । डा.सुब्बा त्यही प्रथा, परम्पराको अभ्यासकर्ता थिए ।
तिनै सुब्बाले २०७९ साल बैशाख २० गते ७६ बर्षको उमेरमा यो संसारलाई छोडे । पिता जगतमान मेयाङ्वो लिम्बु र आमा देउमाया इजम लिम्बुका जेठा छोराका रुपमा डा सुब्बाको जन्म २००३ साल भाद्र २९ गते भएको हो ।
सानै देखि मेधावी सुब्बाको प्रारम्भिक शिक्षा दिक्षा आफनै थातथलोमा भयो । उनले श्रीलंकाको खुला विश्वविद्यालयबाट नेपालमा लागुऔषध दुरुपयोग र यसको रोकथाम र यसको नीतिगत मुद्धाहरुमा सामाजिक अध्ययन विषयमा विद्यावारिधि गरेका हुन् । त्रिविबाट राजनीतिशास्त्र, गोरखपुर विश्व विश्वविद्यालयबाट समाजशास्त्रमा स्नात्तोकर गरेका थिए ।
दुइ छोरा सचिन र सन्दीप अनि छोरी सिर्जनाका पिता स्वर्गिय सुब्बाको विवाह सन्ध्याकिरणसंग २०२४ सालमा भएको हो । सुब्बापत्नी सन्ध्याकिरणले जानकारी गराए अनुसार उनीहरु बीच प्रेम बिबाह भएको हो । त्यतिबेला डा सुब्बा २१ बर्षका थिए भने सन्ध्याकिरण केवल १७ बर्षकी थिइन् । विवाह पछि पनि डा सुब्बा हाटबजारमा पालाम भन्दै धाननाच गर्ने, सामाजिक क्रियाकलापमा सक्रिय हुने गर्दथे । यसै कारण उनले किशोर अवस्थामा नै बिभिन्न सामाजिक संघ संस्थामा भाग लिएका थिए । थेचम्बुमा नै रहँदा उनी शिक्षण पेशामा पनि आवद्द थिए ।
डा. सुब्बाका छोरी सिर्जनाका अनुसार जिन्दगीभर उनले सामाजिक मुद्धामा वकालत गरिरहे । खासगरेर सामाजिक साँस्कृतिक विविधता, अन्तरसमुदाय सम्बन्ध र सामाजिक विकास, समाबेशीकरणको पक्षमा बोली रहे । अनेकौ अनुसन्धान गरे, योजना निर्माण र कार्यन्वयनमा समाज र देशलाई सघाई रहे ।
मुन्धुमविद् सुब्बा
आदिवासी लिम्बुहरु प्रकृतिपुजक र आफनै विश्वदर्शन भएका जाति हुन् । उनीहरुको जीवन, जगत र चालचलनलाई मार्गनिर्देशन गर्ने आफनै प्रकारको मुन्धुम हुन्छ । यस्तो मुन्धुम लेख्यपरम्परामा आधारित नभएर मौखिक परम्परामा रहेको छ । डा. सुब्बाले लोपोन्मूख मुन्धुमलाई लिपीबद्ध गरे । प्राज्ञिक रुपमा व्याख्या गरे । प्रचलित मुन्धुमलाई ‘द कल्चर एण्ड रिलिजन अफ लिम्बुज्’ नामक कृति बनाएर समाजलाई उपहार दिए ।
लिम्बु समाजका धार्मिक अगुवाहरु फेदाङ्मा, साम्वा, येवा र येमामा सिमित मौखिक परम्परामा रहेको मुन्धुमको लेख्य रुप दिनका लागि डा. चैतन्य सुब्बाले निकै मेहनत गरेका थिए । छोरी सिर्जना सुब्बाका अनुसार यो कृति तयार गर्न उनले बर्षौ अनुसन्धान गरेका थिए । फेदाङ्मा, येवा र साम्वालाई घरैमा ल्याएर निरन्तर सम्बाद गरेर लिपीबद्ध गरेका थिए ।
मुन्धुम आदिवासी लिम्बुहरुको धार्मिक दर्शन र विश्वासको मौखिक परम्परा हो । मुन्धुममा साँस्कृतिक प्रचलन र धार्मिक अनुष्ठानका विधिविधान हुन्छ । जीवन दर्शन, पुरै ब्रम्हाण्ड, नदी, बन जंगल र जीवजन्तुसंगको सम्बन्ध मुन्धुममा बर्णन गरिएको हुन्छ । यो आध्यात्मिक विश्वासको मियोका रुपमा स्थापित हुन्छ । तथापि यस्तो समाजलाई चलायमान गर्ने विधान मौखिक परम्परामा हुनु जोखिमपूर्ण थियो नै । त्यही जोखिमताको डिलबाट जोगाएर लिम्बु समाजमा मात्र होइन सबैलाई अवगत गराउने पबित्र काम गर्ने श्रेय डा सुब्बालाई जान्छ ।
मुन्धुम अभिलेखीकरणमा धेरैले साथ दिएका छन् । त्यस मध्ये रणध्वज श्रेङ चोङवाङको नाम उनले पटक पटक लिने गर्दथे । उनका परिवारका सदस्यहरुका अनुसार रणध्वज साम्वा हुन् । यस प्रकार थुप्रै नामहरु छन् । जसले आफुमा भएको ज्ञानलाई अभिलेखमा उतार्न सहयोग गरे ।
लिम्बु समाजको प्रथाजन्य संस्था, परम्परा र प्रथागत मूल्यमान्यता यही बिन्दूवाट बौद्धिक बहसको केन्द्रमा आएकोमा धेरै लिम्बु अगुवाहरुको मत रहेको छ । अधिवक्ता शंकर लिम्बु, संस्कृतिविद् गोविन्द आङबुहाङ, सहप्राध्यापक अमर तुम्याहाङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एकतेन, महासचिव निरन्ति तुम्बापो एकस्वरमा भन्छन्, डा. सुब्बा को कृति ‘द कल्चर एण्ड रिलिजन अफ लिम्बुज्’ले लिम्बु समाजलाई नयाँ उचाइमा पु¥याउन सहयोग ग¥यो ।
लिम्बु समाजमा इश्वरलाई निराकार र अमुर्त शक्तिको रुपमा मानिन्छ । ब्रम्हाण्ड सिर्जना गर्ने, नियन्त्रण गर्ने शक्ति इश्वरमा हुन्छ भन्ने विश्वास गरिन्छ । डा सुब्बा यही विश्वासमा थिए । उनी लिम्बु समाजको पुज्य देवता तागेरानिङ्वाफुलाई सर्वश्रेष्ठ देवी मान्दथे । उनको कृतिमा पनि यसको सविस्तार बर्णन गरिएको छ ।
डा. सुब्बाको पुस्तकमा बर्णन गरिए अनुसार युमा सम्माङ, थेवा साम्माङ र हिम साम्माङ घरपरिवारका रक्षक हुन भने अक्वामा र पुङ सामङको पुजा आराधाना गरिन्छ । यसको पुजा अनुष्ठानका विशेष विधि र प्रक्रियाकाबारे पनि उनी जानकार थिए ।
सबै महत्वपूण कुरा आदिवासी लिम्बुहरुको प्रथाजनित अभ्यासहरुबाट प्रकृति र प्राकृतिक बस्तुसंगको निकटता, भूमि भूभाग र भूक्षेत्र भित्रको स्वायत्तताको अभ्यास, जल, जमीन र जंगलको साइनोलाई डा सुब्बाको प्राज्ञिक वकालत, बौद्धिक बहसले उजागर गर्न थप मद्धत मिलेको हो ।
सार्वजनिक मन्चहरुमा र नीति निर्माणका क्रममा डा सुब्बा यो कोणबाट बोल्न, लेख्न र उत्प्रेरित गर्न पछि परेनन् । सधै हाम्रो परम्पराको दियालोमा अघि बढने प्रण गरेर जीवन भर लागि परे । यसैकारण मुन्धुमविदको नाम सुवास छरेर तागेरानिङ्वाफुको साथमा महाप्रस्थान गरे ।
योजनाविद् डा.सुब्बा
डा. सुब्बा सामुदायिक विकासका पहरेदार थिए । उनी सामाजिक समाबेशीकरण, समाबेशी विकासका पक्षपाति थिए । आफनो ४२ बर्षको व्यवसायीक जीवनमा आदिवासी जनजाति, सीमान्त नागरिक, लोपोन्मूख जाति र समुदाय र बहिस्करणमा परेका समुदाय भन्न कहिल्यै छाडेनन् । यसैकारण नेपालको इतिहासमा नै पहिलोपटक उनैको सहभागिता र पहलमा दशौ योजना (२०५९–२०६४) र यसको निरन्तरताका रुपमा त्रिबर्षिय अन्तरिम योजना (२०६४–२०६७)मा आदिवासी जनजातिका सवाल समाबेश गरेको थियो ।
दशौ योजनामा आदिवासीहरुको संस्थागत विकास, भाषिक एबम् साँस्कृतिक विकास, मानव संशाधन विकासमा जोड दिइएको थियो । गरिवीको रेखामुनी रहेका आदिवासी जनजाति तथा अन्य समुदाय बीच आर्थिक अन्तर कम गर्न गरिवी निवारण कार्यक्रम, परम्परगत ज्ञानमा आधारित पेशाको संरक्षण र बजार व्यबस्थापन, आदिवासी जनजातिको बाहुल्य रहेको स्थानमा भौतिक पूर्वाधारको विकास जस्ता कार्यक्रम राखिएका थिए । तथापि तत्कालीन राज्यको संरचना केन्द्रीकृत भएका कारण यो योजना खासै सफल हुन सकेन ।
आदिवासी जनजाति सम्बन्धि अवधारणाबाट प्रभावित भएर तत्कालीन सरकारले डा. सुब्बालाई राष्टिय योजना आयोगको सदस्यमा मनोनयन ग¥यो । उनले आयोगमा रहेर आदिवासी जनजाति लगायतका सामाजिक विकासमा महत्वपूर्ण योगदान दिए । परिणामस्वरुप पहिलो पटक आदिवासी जनजातिको सवाल योजना आयोगको ढड्डामा दर्ज भयो ।
उनले आदिवासी जनजातिको सवालमा पुराना योजनाको समीक्षा गर्दै नयाँ परिस्थिति अनुसार नयाँ ढंगले योजना छनौट गर्ने रणनीति अख्तियार गर्न पुगे । अन्तरिम योजनामा पहिलो पटक आदिवासी जनजातिको विकासका लागि केन्दीकृत एकात्मक शासन प्रणाली र मनुस्मृतिमा आधारित बर्ण व्यबस्थालाई अवरोधको रुपमा उनैको जोडबलमा पहिचान गरिएको छ । यस्तो प्रावधान सरकारी दस्तावेजमा पहिलो पटक उल्लेख भएको हो ।
अन्तरिम योजनामा नै बहुभाषिक शिक्षा, आदिवासी बालवालिकाको अधिकारको कुरा गरिएको छ । पहिलो पटक यस योजनामा आदिवासी जनजाति महिलाको समानुपातिक प्रतिनिधित्व, परम्परगात जातीय संस्थाको क्षमता बृद्धि, प्राकृतिक स्रोतहरुमा पहुँच, अन्तराष्टिय श्रम संगठन महासन्धि नम्बर १६९संग विरोधाभाष हुने कानून तथा नीतिको संशोधन, राजपत्र अनकित कर्मचारीले आफनो मातृभाषामा परीक्षा दिन सक्ने व्यबस्थाको कार्यक्रमहरु बनाइएको थियो ।
भूमिहिन, लोपोन्मूख अतिसिमान्तकृत तथा सिमान्तकृत आदिवासी जनजातिलाई पहिचान गरी परिचयको व्यबस्था गर्ने, उनीहरुलाई आवासको व्यबस्था गर्ने लगायतका कार्यक्रमहरु पनि अगाडि सारिएका थिए ।
डा. सुब्बा कै पहलमा योजना आयोगले आफनो अन्तरिम योजनामा अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै परिच्छेदको व्यबस्था गरेर यो सवाललाई सम्बोधन गर्ने प्रयास भएको थियो । अन्तरिम योजनामा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको आधारभूत हक अधिकारको संरक्षण र उनीहरुलाई देशको समर्थ नागरिक बनाउने सोचका साथ कानुनी, संस्थागत र आर्थिक पूर्वाधार बनाउने योजना बनाइएको थियो । सो योजना अनुसार राष्टिय अपांङ्ग शसक्तिकरण आयोगको परिकल्पना गरिएको थियो । तथापि ती योजना र कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यन्वयन नहुँदा डा सूव्वा चिन्तीत हुने गर्दथे ।
देशको योजना तर्जूमा गर्ने प्रमूख थलो राष्ट्रिय योजना आयोगमा उनी दूइ बर्ष मात्र (२००६ अगष्ट देखि २००८ अगष्ट) रहे । तर त्यहाँ जति दिन रहे पनि सीमान्त नागरिकको पक्षमा चट्टान जस्तै अडिग रहे । उनीसंग सहकार्य गरेका भाषा आयोगका सदस्य अमृत योन्जन तामाङका अनुसार डा. सुब्बाले आफनो कार्यक्षेत्र भित्र रहेर योजना निर्माण, बजेट विनियोजन, अनुगमन तथा मूल्याँकनमा सक्रिय रहे । ऐतिहासिक जनआन्दोलन पछिको वातावरणले पनि सामाजिक समावेशीकरण, समतामूलक समाजको निर्माण तथा शान्ति प्रक्रियामा सहभागि हुने अवसर दिएको थियो ।
यस अघि डा सुब्बा एकीकृत विकास अध्ययन संस्थान (आइआइडिएसं)मा आवद्ध थिए । जहाँ बसेर उनले लैगिकता, जाति तथा संस्कृतिका विषयमा गहन अध्ययन गरेका थिए । यही अध्ययनले राष्टिय योजना आयोगको योजना तर्जुमा गर्न सहयोग पुगेको अमृत योञ्जनको मत रहेको छ ।
आदिवासी अभियन्ता सुब्बा
आदिवासी जनजातिको कुरा गर्न तथ्य र तथ्याँकको आवश्यकता पर्ने हुन्छ । यसको पूर्वाधारका रुपमा संयुक्त राष्ट संघीय विकास कोष (युएनडिपि) बाट प्रकासित नपालको मानव विकास प्रतिवेदन (२००४) लाई लिइन्छ । यो प्रतिवेदन नेपालको समावेशी विकासलाई हेर्ने आधार दस्तावेज हो । यो प्रतिवेदनको भाग ४ मा प्रकासित नेपालको विपन्न समुह र महिलाको शसक्तिकरणको स्थिति पहिचान गर्ने जिम्मा डा सुब्बा को थियो । जो नेपालको विकास प्रक्रियाको आधारविन्दू मानिन्छ । यो प्रतिबेदनबाट नै आदिवासी जनजाति, सिमान्तकृत समुदायको उत्थानमा विकास साझेदारहरुको ध्यानआकृष्ट हुन गएको हो ।
यही विन्दूबाट सुरु भएको आदिवासी जनजाति शसक्तिकरण परियोजना (जेप) को कार्यन्वयन गर्ने जिम्मा पनि डा. सुब्बाले पाएका थिए । जेप परियोजनामा उनी परियोजना निर्देशक थिए । संयुक्त अधिराज्य बेलायतको अन्तराष्ट्रिय विकास सहयाता परियोजना अन्तर्गतको जनजाति शसक्तिकरण कार्यक्रमले देशभरका आदिवासी जनजातिहरुलाई निर्णय प्रक्रियामा सामेल गर्ने र अर्थ सामाजिक राजनीतिक प्रक्रियामा आदिवासीको क्षमता अभिबृद्धिमा महत्वपूर्ण योगदान दिएको थियो ।
यस अघि राष्टिय जनजाति विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवरीमा डा. सुब्बाले काम गरेका थिए । सरकारले विकास समिति गठन आदेश अनुसार यो समिति बनाएको थियो । यो समितिमा रहेर डा सुब्बा लगायतको टिमले आदिवासी जनजाति उत्थान प्रतिष्ठानको रुपरेखा तयार मात्र गरेनन् संस्थागत विकासको आधार तयार पारे । जातीय संस्थाहरुको क्षमता अभिबृद्धि देखि आदिवासीको पहिचानका लागि क्षमता बढाउने काम गरे । वास्तवमा अहिले आदिवासी जनजातिहरु पहिचानका लागि जुन संघर्ष गरिरहेका छन्, जनजाति विकास समिति र नेपाल आदिवासी जनजाति महासंघ मार्फत सञ्चालमा आएको जनजाति शसक्तिकरण परियोजनाको देन हो ।
आदिवासीकै सवालमा डा. सुब्बाले बिभिन्न अन्तराष्टिय संघ संस्था र विकास साझेदारसंग मिलेर काम गरे । उनले सरकारी र गैह्र सरकारी संस्थासंग मिलेर काम गरेका छन् । पछिल्लो समयमा नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समूह (लाहुर्निंप)का सल्लाहाकार थिए । लाहुर्निपले सम्पादन गर्ने कार्यहरुको मूल्याँकन गर्ने र विभिन्न विषयमा अनुसन्धान गर्ने गर्दथे । उनले राष्टिय योजना आयोगको पन्ध्रौ योजनाका लागि वैकल्पिक योजना पनि आदिवासीका तर्फबाट बनाएर पेश गरेका थिए ।
राजनीति, समाजसेवा र खेलकुद
डा. सुब्बा को सम्लग्नता राजनीति, समासेवा र खेलकुदमा समानान्तर थियो । खेलकुदमा सफ्टटेनिस खेलका संस्थापक नै थिए । उनी लामो समय सम्म सफ्टटेनिस संघका सभापति, जुडोसंघका उपसभापति, मेची अन्चल खेलकुद विकास समितिका सदस्य, रहे भने समाजसेवामा रेडक्रस, जिल्ला शिक्षा समिति, स्थानीय विद्यालय व्यस्थापन समितिमा रहेर काम गरे ।
उनले पञ्चायतकालमा नै राजनीति सुरु गरेका थिए । तत्कालीन थेचम्बु गाउँपञ्चायका उपप्रधानपञ्च हुँदै उनले जिल्ला पञ्चायत सदस्यमा तीन पटक लगातार निर्वाचित भए । पञ्चायतकालमा नेपाल युवक संगठनका महासचिव रहे । जसका अध्यक्ष कमल थापा थिए ।
२०४७को संविधान परिवर्तन पछि भने उनी राजनीति संगै राजनीीतक नियुक्ति पाउने भाग्यमानीमा एक थिए । माथि नै चर्चा भए अनुसार जनजाति विकास समितिको कार्यकारी निर्देशकबाट सुरु भएको राजनीतिक नियुक्तीको सिलशिला राष्टिय योजनाको सदस्यमा विश्राम लाग्यो ।
डा. सुब्बा लगायतको पहलमा वैकल्पिक जनजाति पार्टी खोल्ने प्रयास पनि भएको थियो । खुमलटारस्थित पूर्वमन्त्री विष्णु मादेनको निवासमा आदिवासी अभियन्ताहरुको बैठकले पार्टी गठन गर्ने गरी नेपाली काग्रेसका तत्कालीन महामन्त्री समेत .भएका परशुनारायण चौधरीको संयोजकत्वमा एक तदर्थ समितिसमेत गठन गरेको थियो । त्यो बैठकमा पद्यसुन्दर लावती, डा हर्क गुरुङ, गोरेबहादुर खपाङ्गी, तुलसी सुब्बालगायतको सहभागिता थियो । सो प्रस्तावित पार्टीको अवधारणा लगायत खाका कोर्नका लागि आङवावु लामा, शेर्पाको सयोकत्वमा डा. चैतन्य सुब्बा , अमृत योन्जन तामाङ, कुमार यात्रु, यमबहादुर झेडी, सगुन लावतीसमेतको एक कार्यदलसमेत गठन भएको थियो । सो कार्यदलको बैठक दुइ पटक सम्म बसेर मस्यौदा तयार गर्दै थियो । तर संयोजक बनेका परशुनारायण चौधरी, राजपरिषद स्थायी समितिको सभापतिमा मनोनयन भए पछि त्यो क्रम त्यतिकै टुङ्गिएको थियो ।
संविधान सभाको निर्वाचन पछि आदिवासी जनजातिहरुले अलग राजनीतिक दल गठनको प्रयास गरेका थिए । यही क्रममा पासाङ शेर्पा समेतसंग मिलेर सामाजिक लोकतान्त्रिक पार्टी गठन गरे । नेकपा एमालेबाट बिद्रोह गरेर अशोक राईंहरुले संघीय समाजवादी पार्टी गठन गरे ।
सो पाटीमा डा. सुब्बाको समूहले भने मार्क्सवादी सिद्धान्तको रुपमा स्वीकार गर्न नसकिने भन्दै दलमा सामेल भएनन् । उनीसंगै काग्रेसका असन्तुष्ठ साँसद कुमार राइ पनि थिए । पछि भने आदिवासीवादमा आधारित राजनीतिक दल गठन गर्ने डा. कृष्णबहादुर भट्टचनको समूहमा आवद्ध भए । तर यो समूह पनि विघटन भयो ।
समग्रमा डा. चैतन्य सुब्बा विकासका प्रखर व्याख्याता र अभियानकर्ता थिए । आदिवासीको पहिचान र अस्तित्वका लागि उनले जीवनभर लडेका छन् । उनको क्रियाकलाप यसैमा समर्पित थियो ।
राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ (निडवान)बाट प्रकासित ‘नेपालका प्रेरणीय आदिवासी व्यक्तित्व र संंघर्षका आयामहरु’ नामक पुस्तकबाट लिइएको हो ।








