न्युजिल्यान्डमा ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने, लोकगायक पशुपति शर्माको विशेष प्रस्तुती

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ चैत २०८२, आइतवार
न्युजिल्यान्डमा ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने, लोकगायक पशुपति शर्माको विशेष प्रस्तुती

गैर आवासीय नेपाली संघ  न्युजिल्यान्डले ‘नेपाल फेस्टिभल २०२६’ आयोजना गर्ने भएको छ। आगामी अप्रिल १८ मा क्राइस्टचर्चमा हुने उक्त बृहत् सांस्कृतिक महोत्सव न्युजिल्यान्डमा नेपाली कला, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो।

एनआरएनए न्युजिल्यान्डका अध्यक्ष डा. अच्युत अर्यालका अनुसार संस्थाको अगुवाइमा विभिन्न स्थानीय नेपाली संघ–संस्था तथा क्लबहरूको सहकार्यमा महोत्सव भव्य रूपमा सम्पन्न गरिने जनाएको छ। बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यक्रममा न्युजिल्यान्डभरिका नेपालीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

महोत्सवमा नेपाली भेषभूषा, मौलिक परिकार, हस्तकला, सांस्कृतिक प्रदर्शनी, परम्परागत तथा आधुनिक नृत्य, लाईभ संगीत लगायत विविध कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। कार्यक्रम न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक जमघट बन्ने विश्वास गरिएको छ। 

उक्त अवसरमा नेपालबाट चर्चित लोकगायक पशुपति शर्मा अतिथि कलाकारका रूपमा सहभागी हुनेछन्। उहाँको प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ। 

एनआरएनए न्युजिल्यान्डले न्युजिल्यान्डमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रम सफल बनाउन सहयोग गर्न तथा उत्सवमा सहभागी भई नेपालीपनको पहिचान विश्वमाझ प्रस्तुत गर्न आह्वान गरेको छ। आयोजकका अनुसार यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपालीबीच आपसी सद्भाव, एकता र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। 

 

प्रतिक्रिया