मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका वडानम्बर ३ स्थित निसेलुङ (उल्टोघर)मा राउटे जाति विशेष मेला सम्पन्न भएको छ । मिक्लाजुङ गाउँपालिका अन्तर्गतको निसेलुङ याक्थुङ भिलेज नामक संंस्था र सामाजिक सेवा कल्याण (सोसेक) नामक गैह्र सरकारी संस्था मिलेर सो मेलाको आयोजना गरिएको हो ।
सो मेलामा घुमन्ते जीवन बिताउँदै आएका लोपोन्मूख राउटे समुदायका १९ जना किशोर किशोरीलाई समेत त्यहाँ पु¥याइएको थियो । तर उनीहरुलाई प्रदर्शनीमा राखेर रकम असुल गरेको आरोप आयोजक माथि लागेको छ । कार्यक्रममा राउटेलाई हेर्नका लागि दुइ सय रुपैया टिकट काट्नु पर्ने व्यबस्था गरिएको हुँदा बिरोध गर्नु परेको आदिवासी अधिकारकर्मी, अभियन्ता तथा मानवअधिकारवादीहरको दावी छ ।
गुराँस गाउँपालिकाको उजुरी
दैलेख स्थित गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले मिक्लाजुङमा पु¥याइएका राउटे युवा युवतीहरूमाथि अत्यन्तै आपत्तिजनक र विकृतिजन्य गतिविधि भइरहेको सूचनाहरू बाहिर आएका कारण आफुले मोरङका प्रमूख जिल्ला अधिकारी, कोशी प्रदेश, सामाजिक विकास मन्त्रालय, समाजकल्याण परिषद र सरकारको ध्यानआकर्षण गरेको बताउनु भयो ।
राउटे समुदाय आफनो गाउँपालिकाका नागरिक भएको हुदा मेला आयोजक र सोसेक नामक संस्थाले पालिकाको अनुमतिबिनै मिक्लाजुङ पु¥याइएको उहाँको आरोप रहेको छ ।
अध्यक्ष विसीले राउटे समुदायको सम्पूर्ण सुरक्षा, पालनपोषण, भत्ता, स्वास्थ्य र शिक्षाको जिम्मेवारी स्थानीय सरकारको मातहत रहेको बताउनु हुँदै उनीहरुमाथि दुव्र्यबहारजन्य क्रियाकलाप भइरहेकोले कानुनी कारबाहीका लागि पत्राचार गरेको पनि दावी गर्नू भयो ।
बिहिीबार बसेको संघीय संसदको राष्टिय सभाको विशेष समयमा बोल्दै राष्टिय सभा सदस्य जयन्ती राईले लोपोन्मूख आदिवासी राउटेलाई प्रदर्शनीमा राखेर प्रवेश शुल्क मात्रै दुई सय रुपैया असुल गरेको भन्दै आपत्ती जनाउनु भयो ।
मौलिक कला र संस्कृतिको सम्मान गर्नुको साटो आपत्तिजनक हर्कतहरू प्रदर्शन गराएर आयोजकले कमाइ खाने भाँडो बनाइएको उहाँको आरोप छ ।
अन्तरपालिका सांस्कृतिक आदानप्रदानका नाममा सभ्य ढंगले काम गर्ने स्थापित मान्यता र कानुन हुँदाहुँदै स्थानीय सरकारलाई बाइपास गरेर गैरसरकारी संस्थाले निहित स्वार्थका लागि राउटे समुदायहरूको संवेदनशीलतामाथि खेलबाड गरेको उहाँको भनाइ थियो ।
मोरङको मिक्लाजुङ गाउँपालिकामा सांस्कृतिक प्रवद्र्धन र हस्तकला बिक्रीको नाममा १९ जना राउटे समुदायका किशोर किशोरीलाई त्यहाँ लगिएको थियो । हालसम्म सामाजिक सन्जालहरुमा सार्वजनिक भएका भिडियोहरुमा उनीहरुमाथि दुव्र्यबहारजन्य क्रियाकलाप भएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा ह्योल्मो ठम्याइ छ ।
लामाले आदिवासी राउटे विरुद्ध भएको ज्यादतीका बारे छानवीन गरी कारवाही बढाउनु पर्ने माँग पनि राख्नु भयो ।
यस प्रकरणमा संसदमा समेत आवज उठेको छ । बिहिीबार बसेको संघीय संसदको राष्टिय सभाको विशेष समयमा बोल्दै राष्टिय सभा सदस्य जयन्ती राईले लोपोन्मूख आदिवासी राउटेलाई प्रदर्शनीमा राखेर प्रवेश शुल्क मात्रै दुई सय रुपैया असुल गरेको भन्दै आपत्ती जनाउनु भयो । उहाँले राउटे समुदायको आफ्नो परम्परागत शैली र संस्कृतिलाई दुरुपयोग गरेकोमा भत्र्सना समेत गर्नू भएको छ ।
राउटे लोपोन्मूख , सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेदी खड्काले मानिसलाई देखाएर व्यापार गर्ने काम गर्नु आपत्तीजनक भएको बताउनु भयो । उहाँले आयोजकले मानवअधिकार उल्लघन गरेको भनाइ राख्दै राउटेको संरक्षणका नाममा नाफा कमाउने उद्देश्य राख्नु अपराधका रुपमा व्याख्या गर्नू भयो ।
अतिरञ्जित भएको आयोजकको दावी
मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईले भने कन्टेन्ट क्रियटरका नाममा युट्युबरहरुले वातावरणलाई धमिल्याएको आरोप लगाउनु भयो । जथाभावी तस्वीर तथा भिडियो खिच्न थाले पछि आयोजकहरुले हस्तक्षेप गर्दा बिषय अतिरन्जित बनाइएको उहाँको भनाइ थियो ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष राईले गुराँस गाउँपालिका र सोसेक नेपालको विवादका कारण पनि कार्यक्रम प्रभावित भएको धारणा राख्नु भयो ।
टेलिफोनमा कुराकानी गर्दै उहाँले सो कार्यक्रम आयोजना गर्न पालिकाले बेग्लै सन्चालक समिति गठन गरी त्यहाँ फनपार्क लगायत पर्यटकीय पूर्वाधार निर्माण गरिएका जानकारी दिदै लोपोन्मूख राउटे समुदायलाई फाइदा पुग्ने गरी कार्यक्रम सन्चालन गरिएको बताउनु भयो । राउटे समुदायबाट उत्पादित काठका भाँडाकुँडा मदुश तथा आरी राम्रो मूल्यमा बिक्रि भएको उहाँको जवाफ थियो ।
उहाँले राउटे समुदायको सहयोगका लागि दानपेटिका राखिएको र त्यहाँबाट संकलित रकम राउटेका लागि लाभदायी हुने जानकारी दिनु भयो ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष राईले त्यहाँ कुनै पनि अतिरिक्त शुल्क नलिएको दावी गर्दै निसेलुङ पार्क प्रबेशमा भने दुइसय रुपैया पहिला देखि नै लिने गरेको टिकटलाई राउटे हेर्न टिकट भनेर प्रचार गरिएकोमा दुख व्यक्त गर्नू भयो ।
उता सामाजिक सेवा कल्याण (सोसेक)का संस्थापक कार्यकारी निर्देशक हिरासिंह थापाले सो कार्यक्रम सोसेकले आयोजना नगरेको तर राउटे किशोर किशोरीलाई त्यहाँ पठाउन समन्यव मात्र गरेको बताउनु भयो ।
उहाँले स्थानीय तह र प्रशासनको समन्वयमा नै सोसेकका कर्मचारीको अगुवाइमा १९ जना राउटेलाई त्यहाँ लगिएको जानकारी दिदै आदिवासी राउटेको मान मर्यादामा कमी आउने काम नभएको दावी गर्नु भयो ।
नेपालका अतिसिमान्तकृत राउटेहरू आदिवासी जनजातिमा सूचिकृत समुदाय हुन् । दैलेख, सुर्खेत, कालीकोट, अछाम, सल्यान र जाजरकोट क्षेत्रलाई आफ्नो मुख्य वासस्थान मान्दै आएको यो समुदायको आफनै परम्परा रहेको छ ।
कार्यक्रम आयोजक संस्थाका अनुसार केही व्यक्तिहरूले राउटेहरूको व्यक्तिगत जीवन, उनीहरूको पारिवारिक झगडा र स्वभावमाथि ठेस पुग्ने गरी भिडियोहरू बनाएर सार्वजनिक गरेर तोकिएको आचारसंहिता उल्लघन गरेका कारण विवादमा आएको हो । कार्यक्रम आयोजकहरुले आचारसंहिताको ल्फेक्स बनाएका भए पनि त्यसको उल्लघन भएको देखिन्छ ।







