रसुवा भोटेकोशी–त्रिशूली बाढीप्रभावितहरूलाई आदिवासीमैत्री पुनस्र्थापनाका लागि साझा अपिल

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२३ असोज २०८३, शुक्रवार
रसुवा भोटेकोशी–त्रिशूली बाढीप्रभावितहरूलाई आदिवासीमैत्री पुनस्र्थापनाका लागि साझा अपिल

 रसुवा भोटेकोशी–त्रिशूली बाढी प्रभावितहरूलाई आदिवासीमैत्री पुनस्र्थापना गरिनुपर्नेमा बाढी प्रभावित क्षेत्रका आदिवासी जनजातिजन्य सरोकारवाला संघसंस्थाहरू तथा प्रभावितका प्रतिनिधिहरूले सामूहिक अपिल तयार गरेका छन् ।

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च लगायतका संघसंस्थाले शुक्रबार नुवाकोटको विदुरमा आयोजना गरेको ‘भोटेकोशी बाढी प्रभावित समुदाय तथा सरोकारवालाहरूसँगको छलफल’ कार्यक्रममा यस्तो साझा अपिल जारी गर्न सहमति व्यक्त गरेका हुन् । 
‘आदिवासीमैत्री पुनस्र्थापना भनेको केवल बसोबास मात्र नभई शिक्षा, खानपान तथा स्वास्थ्य प्रणालीको पुनस्र्थापना पनि हो,’ आदिवासी अधिकारकर्मी कमल साम्पाङले भन्नुभयो, ‘यसमा भाषा, संस्कृति, जैविक विविधता, वातावरण, जीविकोपार्जन र सम्पदाको सुरक्षाको कुरा पनि जोडिन्छ ।’ उहाँले आदिवासीहरूलाई उनीहरूको मूल थाकथलोबाट अन्यत्र स्थानान्तरण नहुने गरी पुनस्र्थापना गर्न जोड दिनुभयो ।

गत भदौ १० गते भोटेकोशी तथा त्रिशूलीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै नारायणी तटीय क्षेत्रमा धनजनका साथै आदिवासीहरूको जमिन, कृषि बाली, सिमेभूमे र उनीहरूको थाकथलो तहसनहस पारी विस्थापित बनाएको प्रस्तावित अपिलको मस्यौदामा उल्लेख छ । 
छलफल कार्यक्रमका सहभागीहरूका अनुसार प्रभावितमध्ये करिब ९५ प्रतिशत तामाङ आदिवासी छन् ।  बाढीका कारण महिला, किशोर–किशोरी, बालबालिका, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था झनै नाजुक बनेको सरोकारवालाहरूले बताएका छन् । 
पुनस्र्थापना प्रक्रियामा आदिवासीको थाकथलो, उनीहरूको आस्थाको केन्द्रविन्दु, भाषिक तथा सांस्कृतिक मौलिकता, रीतिथिति, जैविक विविधता र प्राकृतिक जल–थल तथा स्रोतहरूमाथिको स्वामित्व सुनिश्चित गरिनुपर्ने माग गरिएको छ ।  साथै स्वतन्त्र, पूर्व–सूचित मञ्जुरीको सिद्धान्त अनिवार्य रूपमा लागू हुनुपर्नेमा जोड दिइएको छ । 

पुनस्र्थापना प्रक्रियामा आदिवासीको थाकथलो, उनीहरूको आस्थाको केन्द्रविन्दु, भाषिक तथा सांस्कृतिक मौलिकता, रीतिथिति, जैविक विविधता र प्राकृतिक जल–थल तथा स्रोतहरूमाथिको त्व सुनिश्चित गरिनुपर्ने माग गरिएको छ ।

त्यस्तै, आदिवासीहरूको भौतिक तथा अभौतिक सम्पदामा उनीहरूको अर्थपूर्ण सहभागिता गराई पहिचान, नक्साङ्कन, रेखाङ्कन र अभिलेखीकरण गरी प्रथाजनित संस्थामार्फत सुरक्षित गर्नुपर्ने विषय अपिलमा उठाइएको छ। पुनर्निर्माणको कार्ययोजना बनाउँदा आदिवासी तथा आदिवासी जनजाति महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । 
भूमिहीन बनेका आदिवासीलगायत अन्य प्रभावितहरूलाई उपयुक्त स्थानमा बसोबास, गाँस, बास, कपडा र जीविकोपार्जनको व्यवस्था राज्यले सम्मानजनक रूपमा गर्नुपर्ने र प्रभावितहरूको खण्डीकृत तथ्याङ्क संकलन गर्नुपर्ने तर्फ अपिलले विशेष ध्यानाकर्षण गराएको छ । 

जोखिममा परेका आदिवासी महिला तथा किशोरीहरूमाथि हुन सक्ने हिंसा, चेलीबेटी बेचबिखन, यौन दुव्र्यवहार र अत्याचारबाट सुरक्षाको चिन्ता व्यक्त गर्दै जलवायु न्यायका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्च, छलफल र गोष्ठीहरूमा यो विपद्बारे आवाज उठाउने प्रतिबद्धता समेत संघ संस्थाका प्रतिनिधिहरुले व्यक्त गरिएको छ । 
कार्यक्रममा विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले संघसंस्थाहरूको साझा अपिलप्रति ऐक्यबद्धता एवं सहमति व्यक्त गर्नुभयो । 
नेपाल आदिवासी जनजाति जिल्ला समन्वय समिति नुवाकोट र रसुवा, नेपाल तामाङ घेदुङका दुवै जिल्लाका जिल्ला पदाधिकारीहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा मानवअधिकारकर्मीहरूको सहभागितामा भएको उक्त छलफलमा बाढी प्रभावित क्षेत्रका विविध समस्या र चुनौतीहरूबारे अनुभव आदानप्रदान गरिएको थियो । 
 

प्रतिक्रिया