महिलाको नेतृत्वमा स्थापित आदिवासी स्वशासनः मेक्सिकोको ‘चेरान् केरी’

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ२ कार्तिक २०८३, आइतवार
महिलाको नेतृत्वमा स्थापित आदिवासी स्वशासनः मेक्सिकोको ‘चेरान् केरी’

मेक्सिकोको मिचोआकान राज्यमा अवस्थित चेरान् केरी पुरेपेचा आदिवासी समुदायको प्रथाजनित स्वशासनको उल्लेखनीय उदाहरण हो। वन विनाश, प्राकृतिक स्रोतको दोहन र आपराधिक गतिविधिविरुद्ध सन् २०११ अप्रिल १५ मा आदिवासी महिलाहरूको नेतृत्वमा सुरु भएको आन्दोलनले यहाँको प्रथाजनित स्वशासनलाई पुनर्जिवित गरेको हो ।

महिलाहरूको नेतृत्वमा सुरु भएको उक्त आन्दोलनले समुदायको सुरक्षा, भू-क्षेत्र र प्राकृतिक स्रोतको संरक्षणमा मात्र सीमित नरही स्थानीय शासन प्रणालीलाई समेत पुनर्गठन गर्‍यो। आन्दोलनपछि चेरान्का बासिन्दाले दलीय निर्वाचन प्रणालीबाट अलग हुँदै आफ्नो परम्परा, प्रथाजनित अभ्यास र सामुदायिक निर्णय प्रक्रियामा आधारित शासन प्रणाली विकास गरे। यसरी राज्यको प्रचलित राजनीतिक संरचनाको विकल्पका रूपमा समुदायले आफ्नै स्वशासनको अभ्यास सुरु गर्‍यो।

आन्दोलनको पृष्ठभूमि
सन् २०११ अघिसम्म चेरान्का बासिन्दा सामुदायिक वनको व्यापक दोहन, सुरक्षा संकट र आपराधिक समूहको प्रभावबाट प्रभावित थिए। काठ तस्करी र आपराधिक गतिविधिका कारण समुदायको सुरक्षा, प्राकृतिक स्रोत र सामुदायिक जीवनमा गम्भीर असर परेको थियो।

त्यतिबेला स्थानीय राजनीतिक संरचना र राजनीतिक दलहरूले समुदायको सुरक्षा तथा वन संरक्षण गर्न नसकेको निष्कर्षमा स्थानीय बासिन्दा पुगेका थिए। यही असन्तुष्टिले समुदायलाई आफ्नो भू-क्षेत्र, वन र जीवनपद्धतिको संरक्षणका लागि संगठित हुन प्रेरित गर्‍यो।

महिलाहरूको नेतृत्वमा सुरु भएको उक्त आन्दोलनले समुदायको सुरक्षा, भू-क्षेत्र र प्राकृतिक स्रोतको संरक्षणमा मात्र सीमित नरही स्थानीय शासन प्रणालीलाई समेत पुनर्गठन गर्‍यो।

 

सन् २०११ अप्रिल १५ को बिहान महिलाहरूले काठ तस्कर र आपराधिक समूहको गतिविधिविरुद्ध प्रतिरोध सुरु गरे। त्यसपछि पुरुषसहित समुदायका अन्य सदस्य पनि आन्दोलनमा सहभागी भए। समुदायले सडक अवरोध, पहरा र गाउँ प्रवेश गर्ने मार्गको नियन्त्रणमार्फत आफ्नो सुरक्षा व्यवस्था निर्माण गर्‍यो। यसरी महिलाको नेतृत्वमा सुरु भएको प्रतिरोध क्रमशः सामुदायिक आन्दोलनमा रूपान्तरण भयो।

फोगाताः सामुदायिक संगठन र निर्णयको केन्द्र
चेरान्को आन्दोलनमा ‘फोगाता’को महत्त्वपूर्ण भूमिका थियो। फोगाता भन्नाले आगो बालेर बनाइएको धुनी वा आगोको केन्द्रलाई बुझिन्छ। आन्दोलनका क्रममा समुदायका विभिन्न टोलमा आगो बालेर पहरा दिने व्यवस्था गरिएको थियो। स्थानीय भाषामा यस्ता धुनीलाई ‘फोगाता’ भनिन्थ्यो।

सुरुमा सुरक्षा र पहराका लागि स्थापित फोगाता क्रमशः सामुदायिक संवाद, छलफल र निर्णय निर्माणका केन्द्रका रूपमा विकसित भए। यी धुनीहरू केवल सुरक्षाका केन्द्रमा सीमित रहेनन्स समुदायका सदस्यहरू भेला हुने, साझा समस्या पहिचान गर्ने र सामूहिक समाधान खोज्ने अनौपचारिक संस्थाका रूपमा स्थापित भए।

फोगातामा समुदायका सदस्यहरूले सुरक्षा, खाद्य व्यवस्था, पानी, शिक्षा, संस्कृति र अन्य सामुदायिक विषयमा छलफल गर्थे। यसले आन्दोलनका क्रममा समुदायलाई संगठित गर्न र सामूहिक निर्णय प्रक्रियालाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्‍यो।

यसरी आगोको धुनीबाट सुरु भएको फोगाताको अभ्यासले सामुदायिक सम्बन्ध, सहभागिता र सामूहिक उत्तरदायित्वलाई बलियो बनाउने आधार तयार गर्‍यो। चेरान्को अनुभवमा फोगाता प्रतिरोधको प्रतीक मात्र नभई सामुदायिक संगठन र राजनीतिक सहभागिताको महत्त्वपूर्ण थलो पनि बन्यो।

सामुदायिक सभामा आधारित शासन संरचना
चेरान्को स्वशासन प्रणालीमा सामुदायिक सभालाई महत्त्वपूर्ण निर्णयकारी निकायका रूपमा स्थापित गरिएको छ। यहाँका चारवटा ‘बारियो’ अर्थात् सामुदायिक क्षेत्रबाट प्रतिनिधिहरू छनोट गरिन्छन्। प्रत्येक बारियोबाट तीन जनाका दरले १२ सदस्यीय परिषद् गठन हुन्छ।

चेरान्को अनुभवले आदिवासी महिलाको नेतृत्व, सामुदायिक प्रतिरोध र प्रथाजनित शासन संस्थाबीचको सम्बन्धलाई उजागर गर्छ।

यसरी गठन हुने सामुदायिक सरकारको प्रमुख परिषद्लाई ‘केरी जानास्काकुआ’ भनिन्छ। यसको संरचना र कार्यप्रणाली समुदायको सहभागिता तथा सामूहिक निर्णय प्रक्रियामा आधारित छ।

चेरान्को निर्णय प्रक्रियामा बहुमतको निर्णयभन्दा सहमति निर्माण, सामुदायिक विमर्श र सामूहिक सहभागितालाई प्राथमिकता दिने अभ्यास रहेको अध्ययनहरूले उल्लेख गरेका छन्। परिषद्का सदस्यहरू समुदायमाथि शासन गर्ने शासकका रूपमा भन्दा समुदायले गरेका निर्णय कार्यान्वयन गर्ने प्रतिनिधिका रूपमा प्रस्तुत हुन्छन्।

यसले नेतृत्व र समुदायबीचको सम्बन्धलाई पुनःपरिभाषित गरेको छ। यहाँ शासनको वैधता केवल निर्वाचनबाट प्राप्त मतमा आधारित नभई समुदायको सहभागिता, परम्परा र सामूहिक निर्णय प्रक्रियासँग पनि जोडिएको छ।

महिलाको नेतृत्वमा विद्रोह
चेरान्को आन्दोलनको सुरुआत र विकासमा महिलाहरूको भूमिका निर्णायक रह्यो। वन विनाश र काठ तस्करीविरुद्ध प्रतिरोध सुरु गरेका महिलाहरूले समुदायको सुरक्षा र प्राकृतिक स्रोतको संरक्षणलाई सामूहिक मुद्दाका रूपमा स्थापित गरे। पुरुषसहित समुदायका अन्य सदस्यको सहभागिताले आन्दोलनलाई व्यापक बनायो।

आन्दोलनका क्रममा महिलाहरू फोगाता सञ्चालन, सामुदायिक सभा र अन्य संगठनात्मक गतिविधिमा सक्रिय रहे। उनीहरूको सहभागिताले परम्परागत सामुदायिक संस्थाहरूलाई नयाँ राजनीतिक अर्थ र भूमिका प्रदान गर्‍यो।

यो आन्दोलनले महिलाको नेतृत्वलाई प्रतिरोधमा मात्र सीमित राखेन। सामुदायिक सुरक्षा, प्राकृतिक स्रोतको व्यवस्थापन र शासन प्रणालीको पुनर्गठनमा समेत महिलाको सहभागितालाई महत्त्वपूर्ण बनायो। यस अर्थमा चेरान्को अनुभव आदिवासी महिलाहरूले सामुदायिक परिवर्तन र स्वशासन निर्माणमा निभाउन सक्ने नेतृत्वदायी भूमिकाको उदाहरण बनेको छ।

सांस्कृतिक पुनर्जागरण र सामुदायिक पहिचान
चेरान्को आन्दोलन राजनीतिक वा प्रशासनिक परिवर्तनमा मात्र सीमित थिएन। यो पुरेपेचा आदिवासी समुदायको भूमि, वन, संस्कृति, पहिचान र सामुदायिक जीवनपद्धतिको पुनर्स्थापनासँग जोडिएको आन्दोलन थियो।

दलीय राजनीतिक संरचनाले समुदायमा विभाजन बढाएको अनुभवपछि चेरान्काका बासिन्दाले आफ्नो सामुदायिक परम्परा र स्वशासनका अभ्यासलाई पुनर्जीवित गर्ने प्रयास गरे। भाषा, संस्कृति, सामुदायिक सम्बन्ध र भू-क्षेत्रसँगको सम्बन्धलाई शासन प्रणालीको अभिन्न पक्षका रूपमा हेरियो।

यस दृष्टिकोणमा भूमि र वन केवल आर्थिक स्रोत होइनन्, ती समुदायको इतिहास, संस्कृति, पहिचान र जीवनपद्धतिका आधार पनि हुन्। त्यसैले प्राकृतिक स्रोतको संरक्षण र स्वशासनको अभ्यासलाई एकअर्कासँग जोडेर हेरियो।

चेरान्को अनुभवले विकास र शासनका प्राथमिकता बाहिरबाट मात्र निर्धारण हुनुपर्ने मान्यतामाथि प्रश्न उठाउँछ। समुदायको इतिहास, संस्कृति, परम्परागत ज्ञान र सामाजिक अभ्यासलाई पनि शासन प्रणालीको आधार बनाउन सकिन्छ भन्ने सन्देश यसले दिएको छ।

कानुनी मान्यताबाट स्वशासनसम्म
चेरान्को स्वशासनको स्थापना सडक आन्दोलनमा मात्र सीमित रहेन। समुदायले आफ्नो परम्परागत शासन प्रणालीलाई कानुनी मान्यता दिलाउन निर्वाचन र न्यायिक प्रक्रियामार्फत समेत संघर्ष गर्‍यो।

सन् २०११ नोभेम्बर २ मा मेक्सिकोको संघीय निर्वाचन अदालतले चेरान्का बासिन्दालाई आफ्नै परम्परा र अभ्यासअनुसार स्थानीय अधिकारी चयन गर्ने अधिकारलाई मान्यता दियो। त्यसपछि डिसेम्बरमा सामुदायिक परामर्श भयो र सन् २०१२ जनवरीमा चारवटै बारियोका सभाबाट प्रतिनिधिहरू चयन गरिए।

सन् २०१२ फेब्रुअरी ५ मा १२ सदस्यीय सामुदायिक सरकारको प्रमुख परिषद् ‘केरी जानास्काकुआ’ले औपचारिक रूपमा कार्यभार सम्हाल्यो। यससँगै आन्दोलनबाट सुरु भएको सामुदायिक प्रतिरोधले संस्थागत स्वशासनको स्वरूप ग्रहण गर्‍यो।

यस प्रक्रियाले आदिवासी समुदायको परम्परा र प्रथाजनित संस्थालाई कानुनी मान्यता दिलाउने संघर्षको महत्त्व पनि उजागर गरेको छ। चेरान्काका बासिन्दाले प्रचलित दलीय निर्वाचन प्रणालीको विकल्पमा आफ्नै परम्परा, सामुदायिक सभा र निर्णय प्रक्रियामा आधारित शासन संरचना विकास गरे।

विश्वका आदिवासी समुदायका लागि महत्त्वपूर्ण अनुभव
चेरान् केरीको अनुभवले आदिवासी समुदायले आफ्नो भू-क्षेत्र, प्राकृतिक स्रोत, संस्कृति र सामुदायिक निर्णय प्रक्रियामाथिको अधिकार कसरी पुनर्स्थापित गर्न सक्छ भन्ने प्रश्नमा महत्त्वपूर्ण बहस जन्माएको छ।

विशेषतः महिलाको नेतृत्वमा सुरु भएको आन्दोलन कसरी सामुदायिक संगठनमा रूपान्तरण भयो, फोगाता कसरी सुरक्षाको केन्द्रबाट संवाद र राजनीतिक सहभागिताको थलो बन्यो तथा सामुदायिक सभाले कसरी स्थानीय शासनको आधार निर्माण गर्‍यो भन्ने पक्ष चेरान्को अनुभवका प्रमुख विशेषता हुन्।

यसले आदिवासी स्वशासनको आधार राज्यका औपचारिक राजनीतिक संरचनामा मात्र सीमित नहुने देखाउँछ। समुदायको प्रथा, परम्परा, सामूहिक निर्णय प्रक्रिया, सांस्कृतिक पहिचान र भू(क्षेत्रसँगको सम्बन्धले पनि शासन प्रणालीको स्वरूप निर्धारण गर्न सक्छन्।

चेरान्को अनुभवले आदिवासी महिलाको नेतृत्व, सामुदायिक प्रतिरोध र प्रथाजनित शासन संस्थाबीचको सम्बन्धलाई उजागर गर्छ। आफ्नो भूमि, वन, संस्कृति र जीवनपद्धतिको संरक्षणका लागि संगठित भएको समुदायले आन्दोलनलाई स्वशासनमा रूपान्तरण गर्न सक्छ भन्ने सन्देश यसले विश्वका आदिवासी समुदायसमक्ष प्रस्तुत गरेको छ।

प्रतिक्रिया