कार्की आयोगको प्रतिवेदन बहुजातीय विशेषता प्रतिकुल, कतिपय टिप्पणी आपत्तीजनक 

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ१३ चैत २०८२, शुक्रवार
कार्की आयोगको प्रतिवेदन बहुजातीय विशेषता प्रतिकुल, कतिपय टिप्पणी आपत्तीजनक 

जेनजेड आन्दोलनका क्रममा भएको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा परेका कतिपय वाक्याँशहरु बहुजातीय मुलुकको मूल्य मान्यता विपरित रहेको पाइएको छ । प्रतिवेदनका केही टिप्पणीहरु नेपाली समाजको बहुलता प्रतिकुल पनि देखिएको छ । 

भदौ २३ र २४को जेनजेड युवापुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतीको यथार्थ छानवीन गरी प्रतिवेदन पेश गर्न नेपाल सरकारले २०८२ अशोज ५ गते पूर्वन्यायधिश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले पेश गरेको प्रतिवेदन यसैसाता सरकारले सार्वजनिक गरेको छ । 

आयोगले पेश गरेको करीव ९ सय पृष्ठको प्रतिवेदनमा अन्य कुराका अतिरिक्त आदिवासी जनजाति, दलित, मुस्लिम, मधेशी जनताप्रति लक्षित गरी संविधानमा ग्यारेन्टी गरिएको र संविधानकै प्रस्तावनामा उल्लेख भएको समानुपातिक र समावेशिता माथि  प्रश्न उठाएको छ । 

कार्की आयोगको प्रतिवेदनमा नेपालका बौद्ध धर्मावलम्बीको गुम्वा संस्कृति, मुस्लिमहरुको मदरसाप्रति गम्भीर आरोप लगाउँदै त्यसमा सरकारले निगरानी राख्नु पर्ने सिफारिस गरेको छ । 
नेपालको बहुसास्कृतिक समाजको विशेषत विपरित बहुभाषिक, बहुजातीय र बहुधार्मिक बिषयमा पनि प्रवेश गरेको छ ।  

आयोगको प्रतिवेदनका कतिपय वाक्याँशहरुले बहुजातीय मुलुकको मूल्य मान्यता माथि प्रहार भएको छ भने आदिवासी जनजाति लक्षित केही टिप्पणीहरु आपत्तीजनक रहेको छ । 

तथापि यो प्रतिवेदन माथि सम्बन्धीत सरोकारवालाहरुले प्रतिक्रिया जनाएका छैनन् । यो प्रतिवेदन हुवहु कार्यन्वयन हुने हो भने बहुजातीय समाजको बिद्यमान सौन्दर्य नष्ट भई राज्य एकलजातीय र नश्लिय हुने छ । 

समानुपातिक खारेज गर्ने 
कार्की आयोगले संविधानमा भएको समावेशी र समानुपातिक व्यबस्ता खारेज गरिनु पर्ने सिफारिस गरेको छ । आयोगले समानुपातिक व्यबस्थाका कारण प्रतिनिधि सभामा कसैको बहुमत नआउने अवस्था रहेको विश्लेषण गरेको छ । यसैले आयोगको प्रतिवेदन भन्छ, –‘प्रतिनिधिसभामा बहुमतको सरकार आउने गरी सोचिनु पर्छ र संवैधानिक व्यबस्था गरिनु पर्छ ।’ आयोगले बिद्यमान संविधान संशोधन गर्न पनि सुझाएको छ । 

यो सिफारिस अहिलेको  अवस्थाले आफै खण्डन गर्दछ । कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुँदै गर्दा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत मात्र होइन, झन्डै दुइतिहाई मत प्राप्त गरेको छ । कार्की आयोगले गरेको विश्लेषण यसकारण पनि सतही रहेको यसैबाट पनि पुष्टि हुन्छ । 

गुम्वा माथि निगरानी राख्न सुझाव 
कार्की आयोगले राष्ट्रिय सुरक्षा माथि यहाँका गुम्वा, मदरसाबाट खतरा बढेको देखेको छ । गुम्वा बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो भने मदरसा मुस्लिम समुदायको धार्मिक शिक्षालय हो । सरकारले लागु गरेको पाठ्यक्रम अनुसार शिक्षा दिने पद्धति अपनाएका बौद्धगुम्वाहरु प्रथाजन्य संस्थाहरु पनि हुन् । तर कार्की आयोगले यी शिक्षालयहरुलाई तिव्व्तीयन, भूटानी र रोहिङ्गालगायतका शरणार्थीहरुको चलखेलसंग जोड्दै सुक्ष्म निगरानी बढाउन सुझाव दिएको छ । उस्ले यस्ता विषयमा समयमा नै ध्यान नदिए राष्ट्रिय सुरक्षामा गम्भीर असर पार्ने आफनो राय दिएको छ । 

कार्की आयोगले यससम्बन्धी कुनै अध्ययन तथा कसैसंग सम्बाद भने गरेको छैन । आफनो मनखुशी ढंगले समुदायको आस्था र विश्वाससंग जोडेर राष्ट्रिय सुरक्षामा नै खतरा आउने आरोप लगाउनु आफैमा एकलजातीय मनोविज्ञान हो । 

कार्की आयोगले तिव्वती शरणार्थीहरु माथि पनि गम्भीर आरोप लगाउन पुगेको छ ।  उस्ले नेपालमा टिओवि (तिव्वतीयन ओरिजिनल व्लड) नाम गरेको समूह सक्रिय रहेको भन्दै यस्ता समूहलाई कारवाही गर्न पनि भनेको छ । जेनजेड आन्दोलन उक्साएको आरोपमा एकजना पक्राउ परेकामा उनीमाथि कारवाहीको सिफारिस पनि गरिएको छ । 

कार्की आयोग एकजाति, एकभाषा र एकल संस्कृतिको पृष्ठपोषक हो भन्ने कुरा प्रतिवेदनमा उल्ल्ेखित अन्य बुँदाहरुले पनि प्रष्ट पार्दछ । प्रतिवेदनको एउटा परिच्छेदमा नेपाली पत्रकारहरुको पनि योग्यता तोकिनु पर्ने सुझाव दिइएको छ । अन्य बुँदाहरु स्वभाविक भए पनि आयोगले नेपाली भाषा सुद्ध लेख्न सक्ने, सुपष्ट सन्देश दिन सक्ने र त्रुटीरहित लेख्नसक्ने भनेर बहुभाषिक मुलुकको खिल्ली उडाएको छ । वास्तवमा नेपालका सञ्चारकर्मीहरुमा बहुभाषिक ज्ञान हुनु पर्ने सुझाव दिनु पर्नेमा उल्टै एकलभाषी संरचनाको पक्षपोषण गर्नू बहुभाषिक मुलुकप्रतिको आस्था कमजोर हुनु हो । 

भाषिक सुद्धताकै कुरा गर्ने हो भने प्रतिवेदन आफैमा भाषिक त्रुटीमुक्त देखिन्न । यस्तो अवस्थामा नेपाली भाषामात्र जान्ने पत्रकार हुन सक्छन् भन्ने परिकल्पना गर्नु आफैमा साम्प्रदायिक सोच हो ।

पत्रकारितामा बहुविधा हुन्छ । केही पत्रकारहरु अंग्रेजीमा राम्रो लेख्न सक्छन् । तर नेपाली भाषामा दक्ष नहुन सक्छन् । यसै गरी बिभिन्न भाषिक समूदायको भाषामा पत्रकारिताको अभ्यास पनि जारी छ । बहुभाषिक नेपालमा बहुभाषिक पत्रकार हुन सक्छन् । यस्तो समाजमा एकलजातीय भाषाको ज्ञाता हुनु पर्ने सोच आफैमा बहुभाषा प्रतिको पूर्वाग्रह हो । 

कार्की आयोग गैहसरकारी संस्था माथि बढी आक्रमक देखिएको छ । आयोगको सोचाइमा दातृसंस्थाहरुले सोझै गैह्रसरकारी संस्थालाई अनुदान दिइरहेका छन् र उनीहरुले शान्ति सुरक्षामा खलल पारेका छन् । बास्तविकता त्यस्तो भने होइन । 

गैह्रसरकारी संस्थाहरुले समाजकल्याण परिषदमा दर्ता भएर परियोजना स्वीकृत गराए पछि मात्र अनुदान ल्याउन सक्छन् । यसमा नेपाल राष्ट बैकको मापदण्ड लागु हुन्छ । तर आयोगले खासगरेर समुदायको चासोलाई लक्षित गरी गैससप्रति विभिन्न लान्छना लगाएको छ । 

आयोगले जातीय एसिस्मेन्टप्रति असहमति राख्दै भूराजनीतिमा असर पार्ने विश्लेषण गर्न पुगेको छ । नेपालमा जातीय जनसंख्याको तथ्याँक सरकार आफैले लिने प्रावधान छ । जातीय जनसंख्याकै आधारमा प्रतिनिधिसभा, प्रदेशसभामा समानुपातिकको सिट आरक्षित छ  । यसै गरी सरकारी निजामति कर्मचारीमा पनि जनसंख्याका आधारमा  आरक्षणको व्यबस्था छ । 

आयोगको प्रतिवेदन अनुसार जातीय मूल्याँकन (इथ्निक एसिसमेन्ट) गर्ने पद्धतिलाई खारेज गर्ने हो भने मुलुकमा समावेशीता को कार्यन्वयन गर्न सकिन्न ।  बिभिन्न दातृसंस्थाहरुले परियोजना तथा नीति निर्माण तहमा समावेशीको अवस्थालाई मूल्याँकन गर्न इथ्निक एसिसमेन्ट गर्ने गर्दछन् । यो पद्धतिबाट मातृभाषाको  प्रयोग, शिक्षा, स्वास्थ्य, आयस्तर, रोजगारी, जमीन, स्रोत आदिमा पहुँचको अवस्था हेरिन्छ । यही पद्धति अपनाएर आदिवासी जनजातिको बर्गिकरण भएको हो । यस्तो पद्धति पनि नअपनाउने हो भने सहभागिता सून्यको अवस्थामा जाने अवस्थालाई आयोगले जानजानी लुकाएको छ । 

आयोगले गरेको सिफारिसहरु मध्ये उदेकलाग्दो सिफारिस जलविद्युत कोरिडारसंग सम्बन्धीत छ । नेपालका आदिवासीहरु जलविद्युत जस्ता विकासे परियोजनाहरु आदिवासीमैत्री नभएको कारण आन्दोलनरत छन् । तर प्रतिबेदनले यस्ता क्षेत्रलाई निषेधित बनाउनु पर्ने जस्तो हावादारी सिफारिस गरेको छ । 

जेनजेड आन्दोलन र जलविद्युत कोरिडोर कसरी सम्बन्धीत छ र आदिवासीहरुले उठाएको सन्दर्भ कसरी राष्ट्रिय सुरक्षासंग जोडिन्छ भन्ने कुनै सन्द्यर्भलाई आयोगले विश्लेषण गरेको छैन । 


 

प्रतिक्रिया