थारु कल्याणकारिणी सभा, केन्द्रीय कार्यालयको आयोजनामा “एकता, सहयोग र समृद्धिका लागि हातेमालो” भन्ने मूल नारासहित थारु उद्यमी तथा व्यवसायीहरूको प्रथम विशेष भेटघाट कार्यक्रम शनिबार काठमाडौंको बौद्ध, टुसाल स्थित बरघर रेष्टुरेन्टमा भव्य रूपमा सम्पन्न भएको छ ।
थारु कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीको अक्ष्यतामा सम्पन्न कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट सहभागी भएका थारु उद्यमी, व्यवसायी तथा समाजसेवीहरूले आपसी सहकार्य, आर्थिक सशक्तिकरण र व्यवसाय प्रवद्र्धनका विषयमा व्यापक छलफल गरेका थिए ।
कार्यक्रममा युवा उद्यमी शिव बहादुर चौधरीले अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो भने अध्यक्ष प्रेमीलाल चौधरीले संगठनको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो । कार्यक्रमका सहभागीहरुले थारु समुदायको आर्थिक उन्नति र आत्मनिर्भरताका लागि उद्यमशीलताको विकास आवश्यक रहेको उल्लेख गर्दै यस्ता भेटघाटले समुदायबीच सहकार्य र अनुभव आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनीहरुले थारु समुदायका युवाहरूलाई व्यवसाय र उद्यमतर्फ आकर्षित गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे ।
सहभागी व्यवसायीहरूले आफ्नो अनुभव साझा गर्दै थारु समुदायका उद्यमीहरूलाई एक आपसमा जोड्ने सञ्जाल निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । उनीहरूले स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिका लागि सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएका थिए । थारु समुदायका उद्यमी तथा व्यवसायीहरूलाई एकताबद्ध गर्दै आर्थिक, सामाजिक तथा व्यवसायिक सशक्तिकरण गर्ने उद्देश्यले “थारु उद्यमी व्यवसायी संघ” गठन गरिएको छ ।
विशेष भेलाले शिव बहादुर चौधरीको संयोजकत्वमा बिभिन्न जिल्ला बाट प्रतिनिधित्व हुने गरी १७ सदस्यीय तदर्थ समिति सर्बसहमतिले गठन गरेको हो ।
विशेष भेलाले शिव बहादुर चौधरीको संयोजकत्वमा बिभिन्न जिल्ला बाट प्रतिनिधित्व हुने गरी १७ सदस्यीय तदर्थ समिति सर्बसहमतिले गठन गरेको हो । समितिको संयोजकमा श्री शिब बहदुर चौधरी (दाङ) चयन हुनुभएको छ भने सचिवमा श्री हृदयनारायण चौधरी (उदयपुर) चयन हुनुभएको छ ।
त्यसैगरी समितिका सदस्यहरूमा श्री सिताराम चौधरी (बर्दिया) नन्दुराज चौधरी (दाङ), किरण चौधरी (कैलाली), गुन्जा चौधरी (बारा), प्रवेश चौधरी (कैलाली), सञ्जय चौधरी (सप्तरी), अर्नव चौधरी (दाङ ) विनोद चौधरी (काठमाडौं), सरला चौधरी (दाङ ), जनार्दन चौधरी (सर्लाही), श्रवण कुमार चौधरी (सप्तरी), कृष्ण चौधरी (दाङ), टिकराम चौधरी (कैलाली), तिलक बहादुर चौधरी (बर्दिया),तथा शुसिला चौधरी (कैलाली) रहनुभएको छ । यो तदर्थ समिति भएको हुनाले बिस्तारै सबै जिल्लालाई समेटने गरी सदस्य विस्तार गरिने छ ।
भेलाले थारु समुदायभित्र रहेका उद्यमी, व्यवसायी, पेशाकर्मी तथा उद्यमशील युवाहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै आपसी सहयोग, समन्वय, लगानी विस्तार तथा आर्थिक सशक्तिकरणका लागि संघ स्थापना गर्ने निर्णय गरेको जनाएको छ ।
संघले निकट भविष्यमा औपचारिक दर्ता प्रक्रिया अघि बढाउँदै राष्ट्रिय भेला आयोजना गरी तदर्थ समितिलाई पूर्णता दिने तथा विधान निर्माणमार्फत संस्थालाई देशव्यापी रूपमा विस्तार गर्ने जनाएको छ ।
आगामी दिनमा संघको विधान निर्माण, सदस्य विस्तार, प्रदेश तथा जिल्ला तहसम्म संगठन विस्तार, उद्यमशीलता विकास तालिम, व्यवसायिक सहकार्य तथा लगानी प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने छ ।
नवगठित समितिले थारु उद्यमी तथा व्यवसायीहरूको हकहित, समन्वय र व्यवसायिक विकासका लागि आवश्यक पहल गर्ने जनाइएको छ । समितिमा विभिन्न क्षेत्रका उद्यमी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो ।








