रास्वपामा मधेशको आकर्षण भएर पनि खस आर्यको बर्चस्व, आदिवासीहरुको कमजोर सहभागिता

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ२६ फागुन २०८२, मङ्गलवार
रास्वपामा मधेशको आकर्षण भएर पनि खस आर्यको बर्चस्व, आदिवासीहरुको कमजोर सहभागिता

प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षबाट मात्र १२५ सिट जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीमा मधेशी समुदायको विशेष अकर्षण देखिएको छ । निर्वाचन आयोगबाट प्रकासित मत परिणाम अनुसार मधेशी समुदायबाट मात्र २५ जनाले प्रत्यक्षबाट चुनाव जितेका छन् ।  

रास्वपाबाट प्रत्यक्षमा निर्वाचित सदस्य २० प्रतिशत  मधेशी समुदायबाट देखिन्छ । यो संख्यामा वरिष्ठ नेता बालेन्द्र साह र सुनसरी र मोरङबाट निर्वाचित प्रतिनिधि समेतको हो । मधेश प्रदेशको धनुषा निर्वाचन क्षेत्र नम्बर १ र रौतहटको क्षेत्र नम्बर २ बाहेक सबै क्षेत्र रास्वपाले जितेको छ । रास्वपाले मधेश प्रदेशबाट सर्लाही १ बाट निलिमा कार्की, रौतहट ४ बाट गणेश पौडेल र पर्सा १ बाट हरि पन्त बाहेक सबै निर्वाचन क्षेत्रमा मधेशी समुदायको उम्मेद्वार बनाएको थियो । 

रास्वपाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यमा मुस्लीमको संख्या २ रहेको छ । मुस्लिम समुदायलाई पनि मधेशी अन्तर्गत नै राख्ने हो भने यसको प्रतिशत अरु बढ्ने छ । यस बाहेक ५ जना थारु उम्मेद्वारले पनि रास्वपाबाट जितेका छन् । एक जना धिमाल, एकजना राजबंशी पनि रहेको छ । थारु, धिमाल, राजबंशी  र मुस्लिम समेत मधेश भूमि थातथलो भएका जाति हुन् ।  

१२५ जना पहिलो हुने निर्वाचित हुने प्रणालीबाट बिजय हासिल गरेकोमा रास्वपामा १२ जना महिला रहेका छन् । यो कुल विजयी उम्मेद्वारको ९.६ प्रतिशत हो । संविधान अनुसार ३३ प्रतिशत महिला बनाउन रास्वपाले थप महिला समानुपातिक सूचिबाट ल्याउनु पर्ने हुन्छ । यसको संख्या कुल सिट संख्याको आधारमा हुन्छ । यसका आधारमा पनि रास्वपाले थप ४९ जना महिलालाई समानुपातिक प्रणालीबाट मनोनयन गर्नू पर्ने हुन्छ । अहिलेको जस्तै समानुपातिक प्रणालीबाट मत ल्याएमा रास्वपाले ५८ जना समानुपातिक प्रणालीको बन्द सूचिवाट प्राथामिकताका आधारमा छान्न सक्छ । 

रास्वपामा अहिले निर्वाचित महिलाहरु सबैभन्दा धेरै खसआर्य समुदायबाट छन् । खसआर्य समुदायका ७ महिलाले प्रत्यक्ष चुनाव जितेका छन् । यसै गरी मधेशीबाट एकजनाले प्रत्यक्षबाट चुनाव जितेका छन् । थारु एकजना, गुरुङ्स्या एकजना, तामाङ्स्या एकजना, मगर एकजना, थारु एकजनाले  प्रत्यक्षबाट चुनाव जितेका छन् । 

त्यो त सम्पूर्ण रास्वपाका निर्वाचित प्रतिनिधि सभा सदस्यहरुमा ९३ जना त खस आर्यका मात्र निर्वाचित भएका छन् । खसआर्य पुरुषमा केवल ७ जना महिला चुनिएका छन् । 

रास्वपाको सम्पूर्ण सदस्यमा सबै भन्दा कमजोर उपस्थिति दलित समुदायको रहेको छ । दलितबाट प्रत्यक्षमा चुनाव जित्नेमा एकजना खगेन्द्र सुनार मात्र हुन् । उनले बाँकेबाट चुनाव जितेका हुन् । दलित समुदायबाट  टिकट पाउनेमा उनीमात्र थिए । 

निर्वाचन जित्नेमा अर्को कमजोर समुदाय आदिवासी जनजाति समुदाय हो । रास्वपाबाट चुनाव जित्ने मौका पाएका आदिवासी जनजातिहरुमा १८ जना मात्र रहेका छन् । यस मध्ये थारु पाँच, नेवार  चार, गुरुङ र तामाङ दुइ दुइ जना, मगर, धिमाल, राजबंशी एक एकजना रहेका छन् । यो भनेको २२.०५ प्रतिशत मात्र हो । 

नेपालमा आदिवासी जनजातिको जनसंख्या करीव ३८ प्रतिशत रहेको छ । ३८ प्रतिशत जनसंख्या भएको समुदायको प्रतिनिधित्व केवल १८ जना देखिनु रास्वपाको आदिवासी प्राथामिता नपरेको देखिन्छ । 

यो प्रतिनिधित्वमा ६० सूचिकृत मध्ये ७ समुदाय मात्रै परेको छ । सबैभन्दा ठूलो समुदाय रहेको मगर समुदायको प्रतिनिध्व झापाबाट एक्ली इन्दिरा रानाले गर्नू पर्ने अवस्था छ । अर्को ठूलो जनसंख्या भएको तामाङको प्रतिनिधित्व आशिका तामाङले र सूर्य बहादुर तामाङले गर्नु पर्ने हुन्छ । उहाँहरु आदिवासी मुद्धा र समुदायको सरोकारसंग सम्बन्ध नभएको विगतले देखाउँछ । 

ठूलो समुदायको कुरा गर्ने हो भने राई, लिम्बु र शेर्पा समुदायको सून्य प्रतिनिधित्व छ । यसको क्षतिपुर्ती समानुपातिक प्रणालीबाट गर्नु पर्ने रास्वपालाई बाध्यता छ । अझ अन्य सिमान्तकृत लोपोन्मूख समुदायको प्रतिनिधित्व त समानुपातिक बन्द सूचिमा पनि राखिएको छैन । यो निर्वाचनमा ती समुदायको प्रतिनिधित्व असम्भव जस्तै देखिन्छ । 

कुनै पनि राट्रिय पार्टीमा भरसक सबै समुदायको प्रतिनिधित्वको अपेक्षा गरिन्छ । रास्वपाजस्तो उदीयमान राष्ट्रवादी दलमा यो अपेक्षा झनै बलियो भएर मुखरित हुन्छ । तर यस पार्टीले निर्वाचनका लागि निर्वाह गरेको भूमिका र नेपालको विविधता प्रतिको दृष्ट्रिकोण त्यति उदार भएको पाइन्न  । निर्वाचन क्षेत्र धेरै भएका र जिल्ला र शहरी क्षेत्रमा दल केन्द्रीत भएका कारण पनि यस्तो हुन सक्छ । तथापि निर्वाचन परिणामको तस्वीर पूर्ण रुपमा नआएको हुँदा अहिले नै आलोचनात्मक टिप्पणी गर्नु अपरिपक्व हुन्छ । 

 

प्रतिक्रिया