मातृभाषा केवल संवादको माध्यम मात्र होइन, पहिचान र संस्कृतिको गहिरो आधार पनि हो । यही भावनासँग तामाङ समुदाय विश्वका विभिन्न देशमा रहेर पनि आफ्नो मातृभाषा सिक्न र जोगाउन सक्रिय हुँदै आएका छन् । बागमती प्रदेश सरकारले तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गरेपछि तामाङ समुदाय मात्र होइन, सरकारी निकायका कर्मचारी, सेवा प्रदायक तथा अन्य सरोकारवालाहरुबीच पनि यो भाषा सिक्ने रुचि तीव्र रूपमा बढेको छ।
यसै सन्दर्भमा तामाङ भाषाप्रेमीहरूका लागि एउटा महत्वपूर्ण डिजिटल प्रयासका रूपमा ‘तामाङ भाषा’ नामक युट्युब च्यानल सुरु गरेको छ। विश्वका जुनसुकै कुनाबाट पनि पहुँच योग्य यस च्यानलमार्फत तामाङ भाषा सिक्न इच्छुकहरूले अब अनलाइन माध्यममै सजिलै तामाङ भाषाका विविध पक्षबारे अध्ययन गर्न सक्नेछन्।
यो च्यानलले तामाङ भाषाको संरक्षण, संवद्र्धन र विकासमा दीर्घकालीन योगदान पु¥याउँदै आएका प्रख्यात भाषाविद् अमृत योन्जन तामाङका योगदान, विचार र सिकाइ पद्धतिलाई विशेष रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको छ। अमृत योन्जन तामाङ विगत चार दशकदेखि तामाङ भाषाको अध्ययन र अनुसन्धानमा निरन्तर सक्रिय व्यक्तित्व हुन्। उनले तामाङ र नेपाली भाषामा भाषाविज्ञान, व्याकरण, शब्दकोश र अनुसन्धानमूलक विषय गरि करिब ७० वटा पुस्तकहरू प्रकाशित गरिसकेका छन्।
त्यसैगरी, उनी पछिल्ला वर्षहरूमा प्रत्यक्ष र अनलाइन माध्यमद्वारा नेपाली तथा अंग्रेजी भाषाको सहायताले तामाङ र गैर–तामाङलाई तामाङ भाषा सिकाउँदै आएका छन्। उनले विशेष रूपमा Grammatical Lexeme — अर्थात् ‘मूल शब्द’ आधारित सिकाइ प्रणाली मार्फत तामाङ भाषा सिकाउँछन् । हाल उनी अन्य विज्ञहरूसँग मिलेर बृहत् तामाङ शब्दकोश निर्माणको महत्वपूर्ण कार्यमा पनि संलग्न छन्।
‘तामाङ भाषा’ युट्युब च्यानलमा हरेक आइतबार बेलुका ७ बजे (नेपाल समय) नयाँ भिडियो सार्वजनिक गरिनेछ। यी भिडियोहरूमा तामाङ भाषाका व्याकरण, उच्चारण, शब्दार्थ, संवाद, गीत–संगीत र सांस्कृतिक सन्दर्भजस्ता विषयहरू समावेश गरिनेछन्। दर्शकहरूले कुनै विषयबारे थप जानकारी वा नयाँ सामग्रीको सुझाव दिन चाहेमा च्यानलमा कमेन्टमार्फत प्रतिक्रिया दिन सक्नेछन्, जसका आधारमा आगामी भिडियोहरू तयार गरिने योजना रहेको छ।
यो च्यानलले विश्वभरका प्रवासी तामाङ समुदायलाई आफ्नो मातृभाषासँग पुनः सम्बन्ध गाँस्न सहयोग पु¥याउने विश्वास च्यानल संचालक समुहले व्यक्त गरेका छन्। आधुनिक प्रविधिको उपयोगमार्फत तामाङ भाषा सिकाइलाई सहज, सुलभ र अन्तरक्रियात्मक बनाउने लक्ष्यसहित सुरु गरिएको यो डिजिटल अभियानले मातृभाषा, पहिचान र संस्कृतिको जरो अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
‘तामाङ भाषा’ युट्युब च्यानलः https://www.youtube.com/@TamangLang