खुम्बु ल्होसार कप माघ २४ गतेदेखि सुरु हुने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१४ माघ २०८२, मङ्गलवार
खुम्बु ल्होसार कप माघ २४ गतेदेखि सुरु हुने

१५ औँ खुम्बु ल्होसार कप–२०२६ सुरु हुने भएको छ । शेर्पा समुदायको राष्ट्रिय चाड ग्याल्पो ल्होसार मे फो त लो २१५३ (नयाँ वर्ष) को अवसर पारेर खुम्बु ल्होसार कप प्रतियोगिता सुरु  हुन गईरहेको हो । 

विगत १८ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको खुम्बु ल्होसार कपको यस संस्करणको आयोजना महेंद्र ज्योति एक्स–स्टुडेन्ट फोरम ले गर्न लागेको पत्रकार सम्मेलनमा जनाएको छ । प्रतियोगिता माघ २४ गतेदेखि फागुन ३ गतेसम्म काठमाडौंको सातदोबाटोस्थित एन्फा फुटबल मैदानमा सञ्चालन हुनेछ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार प्रेस विज्ञप्ती बाचन गर्दै महेन्द्र ज्योति एक्स स्टुडेन्ट फोरमका महासचिव पेम्बा छिरि शेर्पाले राष्ट्रिय चाड ग्याल्पो ल्होसारको अवसरमा खेलकुदमा सहभागिता गराउने उदेश्यले आयोजना गर्न गईरहेको जानकारी दिनुभयो । 

आयोजक संस्थाका अध्यक्ष फुर गेल्जे शेर्पाले प्रतियोगिताको उद्देश्य शेर्पा युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनु, प्रतिभा उजागर गर्नु र समुदायबीच एकता मजबुत बनाउनु रहेको बताउनुभयो । उहाँले खुम्बु क्षेत्रमा बसोबास शेर्पाहरुको सांस्कृतिक प्रस्तुतीसहित फुटबल प्रतियोगिता सुरु हुने समेत जानकारी दिनुभयो । विशेषगरी फुटबलको लोकप्रियता बढ्दो रहेको सन्दर्भमा खेलकुद र पर्यटनलाई सँगसँगै अघि बढाउने लक्ष्यका साथ खुम्बु ल्होसार कपलाई अभियानकै रूपमा अघि बढाइएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोबास गरिरहेका युवाहरूले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारको अवसर पारेर यो फुटबल प्रतियोगिता सुरु गरेका पे्रस विज्ञप्तीमा उल्लेख छ । 

विभिन्न कारणले केही वर्ष स्थगित हुँदै आएको खुम्बु ल्होसार कप यसपटक पुनः निरन्तरता पाएको हो । यसअघि सानीगाउँथेन मैदानमा आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष एन्फा मैदानमा आयोजना गरिने आयोजकले जनाएको छ । सहभागी टिमहरूले प्रशिक्षणसमेत सुरु गरिसकेको जनाइएको छ ।

यस वर्षको प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । सहभागी टिमहरूमा महेंद्र ज्योति एक्स–स्टुडेन्ट फोरम (फराक), नाम्चे युथ ग्रुप (नाम्चे), खुम्जुङ युथ ग्रुप (खुम्जुङ), खुन्दे कम्युनिटी क्लब (खुन्दे), थामिछोवा फुटबल क्लब (थामे), आमादब्लाम युथ ग्रुप (पाङ्बोचे), खुम्बु यम्बु शेर्पा समाज र गाउँपालिकाभरिका वरिष्ठ खेलाडी समेटिएको खम्बु युनाईटेठ रहेका छन् ।

आयोजकका अनुसार खुम्बु ल्होसार कपले खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका समुदायलाई फुटबलमार्फत एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ल्होसार पर्व र फुटबल उत्सवलाई एकसाथ मनाइने यो प्रतियोगिता युवा पुस्तामात्र नभई सम्पूर्ण समुदायका लागि साझा सांस्कृतिक तथा खेलकुद उत्सवको रूपमा स्थापित हुँदै गएको छ ।

खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतियोगितालाई दीर्घकालीन र प्रभावकारी बनाउने योजना रहेको संस्थाका प्रथम उपाध्यक्ष जनाएको छ । 

खुम्बु ल्होसार कप–२०२६ को शीर्ष प्रायोजकका रूपमा १४ पिक्स एक्सपेडिसन प्रालि रहेको छ भने सह–प्रायोजकमा हेली एभरेस्ट प्रालि र खुम्बु पासाङल्हामु गाउँपालिका रहेका छन् । साथै अन्य विभिन्न संघ–संस्था तथा प्रायोजकहरूको पनि सहयोग रहेको आयोजकले जनाएको छ ।


 

प्रतिक्रिया