विश्वव्यापी जलवायु संकट बढ्दै जाँदा नेपालका आदिवासी ताजपुरियाहरुले भने आफ्नै आदिवासीय ज्ञान मार्फत संकट न्युनिकरणमा योगदान दिइरहेका छन् ।
पूर्वी नेपालको झापा र मोरङलार्य मूल थातथलो बनाएका ताजपुरियाहरुको संस्कार, संस्कृति र परम्परा अनुसार निजी तथा सार्वजनिक पोखरी संरक्षण गर्ने ज्ञान प्रणाली रहँदै आएको छ ।
यसै अनुसार मोरङ जिल्लाका सुनवर्षी नगरपालिकाका ताजपुरियाहरुले पनि पोखरी संरक्षणलाई निरन्तराता दिएका छन् ।
‘हरेक ताजपुरियाको घर आँगनमा पोखरी हुन आवश्यक छ ।’ सुनवर्षी नगरपालिकाका तेजनारायण ताजुरिया भन्नु हुन्छ, ‘यो हाम्रो संस्कार र संस्कृति दुवै हो ।’
बदलिदो समयसंगै निजी पोखरी मासिदै गएको हुँदा सुनबर्ष नगरपालिकामा साझा र सामुदायिक पोखरी संरक्षण गर्ने कार्य भइरहेको पनि उहाँले जानकारी दिनु भयो ।
ताजपरिया परम्परामा हरेक संस्कृतिमा मुँग्री जातको माछा अनिवार्य हो । यस्तो माछा निजी पोखरीमा पालिएका हुन्छन् । ‘यस्तो माछा रुग्ने रुँगालोको आँखा छलेर बल्छीमा पार्ने परम्परा छ ।’ तेजनारायणले यसैमा थप्नु भयो–‘ निजी पोखरी विनास भए पनि परम्परा धान्नका लागि कसैकसैले पोखरी बनाएकाछन्, आर्थिक हैसियत नहुनेले यही सुनवर्षी पोखरीलाई इष्ट देवता मान्छन् ।’
पोखरी तथा तालहरु केवल जलासय मात्र नभएर कार्वन सोस्ने, बाढी र सुख्खा नियन्त्रण, तापमान व्यबस्थापनका लागि सहयोगी संरचना हुन् ।
यसले वातावरणमा रहेको कार्वनडाइअक्साइड घटाउन मद्धत गर्ने विज्ञहरुले बताउँदै आउनु भएको छ ।
जानेर वा नजानेर ताजपुरिया जातिका पुर्खाहरुले पोखरी संस्कृतिको विकास गरेका छन् । जस्को निरन्तरताका रुपमा अहिलेका पुस्तासम्म पनि पोखरी संस्कृतिको निरन्तरता छ ।
खोलानाला, पोखरीहरु ताजपुरियाको चांड पर्बसंग जोडिएको सम्पदा हो । ताजपुरियाको बसोबास क्षेत्र नै खोला र पोखरी ताल छेउमा रहेको छ । ताजपुरिया महिला संघकी अध्यष सुमित्रा ताजपुरियाको भनाइमा ताजपुरियाहरुको बसोबास खोलाको छेउछाउमा रहेको छ । झापाको कनकाई, बकरानदी आसपासमा ताजपुरियाबस्ती हुनु यही संस्कृतिको प्रतिविम्ब हो ।
नदी, खोला वा पोखरी आदिवासी ताजपुरियाको जिविकोपार्जनसंग पनि जोडिएको उहाँको दावी छ । भन्नु हुन्छ, –‘माछा मारेर जिविका चलाउने ताजपुरिया परम्परा हो ।
कृषिकर्म पानीको अभावमा परिकल्प्ना पनि गर्न पनि सकिदैन । ताजपुरियाहरुको मुख्य पेशा कृषि हो । अर्को ताजपुरिया परम्परामा सनपाट (जुट) खेतीसंग पनि पोखरी जोडिएको छ ।’
ताजपुरियाको प्रमूख चाँड सिरुवा, जितुवा पावुन, होलीमा पोखरीको बिशेष महत्व छ । यस्तो पर्वमा माछा मार्ने मछुवारी खेल खेल्ने गरिन्छ । सुमित्राले अगाडि थप्नु भयो ‘सबैजना घरघरबाट जाल लिएर माछा मार्ने, ढोक्सा थाप्ने चलन छ । यस्तो खेल पोखरी वा खोलामा खेल्नु पर्छ । माछा मारेर गयो अनि पकाएर खाएरमात्र हामीले हाम्रो चाडपर्व मान्ने परम्परा रहेको छ ।’
तर पछिल्लो समयमा नदीबाट अनियन्त्रित बालुवाको उत्खनन्बाट खोला पथान्तरण हुँदा पानीको मूल सुकेको छ भने सार्वजनिक पोखरीहरु सरकारीकरण हुँदा समुदायको पहुँच घट्दै गएको छ । एकातिर निजी पोखरी मासिने र सार्वजनिक पोखरी तथा खोलाहरु सुक्दै गएका कारण ताजपुरियाको संस्कृतिमा पनि असर पर्दे गएको हुँदा समुदायका तर्फबाट संरक्षणको अभियान अनिवार्य भएको छ ।
मुर्ती नपुज्ने ताजपुरिया
ताजपुरियाहरु प्रकृतिपुजक आदिवासी जनजाति हुन् । नेपाल सरकारले ६० आदिवासी मा सूचिकृत गरेको ताजपुरियाको जनसंख्या २० हजार ९ सयउनान्नबे रहेको २०७८ सालको जनगणनाले देखाएको छ । ताजपुरियाको आफनै ताजपुरिया भाषा रहेको छ । जनगणना परिणाम अनुसार २० हजार ३ सय उनन्चास जना यो भाषाका वक्ता छन् ।
ताजपुरियाको जीवन दर्शन अनुसार देवता वा देवत्व कुनै मन्दीरको मुर्तीमा वन्द छैनन् । माटोको गन्धमा, पानीको प्रवाहमा, हावाको सुस्केरामा बाँचिरहेका हुन्छन् । यसैले ताजपुरियाहरुले कुनै मुर्ती पुजा गर्दैनन् । ताजपुरिया विश्वास अनुसार जहाँ इष्ट देवता मुर्तीमा होइन, माटोमा, खुला आकाशमा र पोखरीको निश्चल जलमा भेटिने विश्वास गर्छन् । यही आध्यात्मिक दर्शनबाट अनुप्राणित समुदाय हुन्, आदिवासी ताजुरियाहरु ।
मोरङ सुनवर्षी नगरपालिकाका बासिन्दा ऐतवारलाल ताजपुरियाका अनुसार धार्मिक दृष्टिले ताजपरियाहरु प्रकृतिपुजक हुन् । उनीहरुले कुलदेवता, ठाकुर र ब्राम्हणीलाई पुजा गर्छन् । तर उनीहरुले मुर्ती पुजा चाही गर्दैनन् ।
‘ताजपुरिया जातिको घर आँगनमा माटोको ढिस्को राखी गमथान बनाइन्छ ।’ ऐतवारलालले थप्नु भयो –‘कसैकसैकोमा हनुमान हुँदैन कसैकोमा ठाकुर हुँदैन । प्रायकोमा हाम्रो सबै हुन्छ । र बर्षमा चारपटक पुजा हुन्छ । त्यहाँ परेवा चढाउने परम्परा छ ।’
‘मुर्ती विना प्रकृति, माटोलाई नै ढिस्को बनाएर त्यसलाई लिपपोत गरेर आफ्नो आरधाना, आफ्ना दुखेसोहरु पोख्दा अहिले पनि हाम्रा मनोकामनाहरु पुरा गरिराख्नुभएको छ ।’ अर्का अभियन्ता तेजनारायणले बताउनु भयो ।
निश्कर्षमा ताजपरिया आदिवासीहरुको आध्यात्मिक जीवन दर्शन आफैमा जलवायु न्युनिकरणको मौन तर प्रभावकारी अभ्यास हो । जहाँ देवता प्रकृतिमा छन् र प्रकृति नष्ट गर्न हुँदैन भन्ने मान्यता प्रष्ट देखिन्छ ।







