वर्तमान समयमा हामी विभिन्न संस्कृति, भाषा र जातीय समूहहरूको अथाह विविधता भएको संसारमा बाँचिरहेका छौँ । पछिल्लो समयमा “आदिवासी जनजाति” (Indigenous Peoples) भन्ने शब्द मानव अधिकार, विकास, जलवायु परिवर्तन तथा अन्य महत्त्वपूर्ण विश्वव्यापी बहसहरूमा अधिक प्रयोग हुन थालेको देखिन्छ।
तपाईंहरूमध्ये धेरैलाई ’आदिवासी जनजाति’ वास्तवमा को हुन? कसलाई आदिवासी जनजाति भन्ने? भन्ने जिज्ञासा हुन सक्छ। त्यसैले यो सामग्रीमा हामी विशेषगरी ’आदिवासी जनजाति’ को पहिचान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उनीहरूलाई कसरी मान्यता दिइएको छ भन्ने विषयमा बुझाउने प्रयास गर्नेछौँ।
विभिन्न मुलुकमा आदिवासी जनजातिलाई फरक–फरक नामले चिनिन्छ, जस्तैः
- “फस्र्ट नेसन्स” (विशेषगरी क्यानडामा),
- “नेटिभ अमेरिकन्स” – (संयुक्त राज्य अमेरिकामा),
- “एबोरिजिनल्स” (अष्ट्रेलियामा), “माओरी” – (न्युजिल्याण्डमा)
- “सेडुल्ड ट्राइब” (भारतमा, संविधानमा उल्लेख ),
- “आदिवासी जनजाति’ वा अंग्रेजीमा ’Indigenous Nationalities’, नेपालमा
- “एथ्निक माइनोरिटिज’ (चीन वा अन्य धेरै देशमा) ।
’आदिवासी’ (Indigenous) शब्दको अर्थ
धेरै वर्षदेखि, ’आदिवासी’ शब्द कुनै क्षेत्रका मूल बासिन्दाको रूपमा चिनाउन प्रयोग गरिँदै आएको छ।
’आदिवासी’ (Indigenous) शब्दको अर्थका बारेमा अन्तर्राष्ट्रिय बहस भने १९औँ शताब्दीको उत्तरार्धमा सुरु भएको थियो। यो शब्द ल्याटिन शब्द 'Indigenae’ बाट आएको मानिन्छ, जसलाई रोमनहरूले कुनै विशेष ठाउँमा जन्मेका वा बसोबास गर्ने बासिन्दाहरू र आप्रवासीहरू (अन्य देश वा ठाउँबाट आएका) बीच फरक छुट्याउन प्रयोग गर्थे। त्यसैगरी, ग्रीकहरूले पनि कुनै विशेष ठाउँमा पहिलो पटक बसोबास गर्ने मानिसहरूको समूहलाई सङ्केत गर्न यो शब्द प्रयोग गर्थे।
तसर्थ, ’आदिवासी’ (Indigenous) शब्दको अर्थ केलाएर हेर्दा कुनै भूमि वा भूक्षेत्रमा पहिला आएर बसोबास गर्ने अर्थात् त्यो भूमिको पहिलो बासिन्दा नै आदिवासी जनजाति वा Indigenous हुन्। यसरी भन्न सकिन्छ, कि आदिवासी जनजातिहरू आधुनिक देश, राज्य वा भूगोलको नक्सा कोर्नुभन्दा धेरै पहिलेदेखि नै कुनै खास भूमि र भूक्षेत्रमा बसोबास गर्दै आएका जाति हुन्।
आदिवासी जनजातिको अन्तर्राष्ट्रिय पहिचान र परिभाषा
अन्तर्राष्ट्रिय जगतमा समेत आदिवासी को हुन् र उनीहरूको परिभाषा के हो भन्ने बारेमा कुनै एउटै स्थापित परिभाषा छैन। अर्थात् विश्वव्यापी रूपमा लागू गर्न सकिने, उनीहरूलाई पहिचान गर्ने एकमात्र मापदण्ड स्थापित छैन । तरपनि, विभिन्न देशको अनुभव र अध्ययनका आधारमा केही साझा चरित्रहरू किटान भने गरिएका छन्।
हालसम्म, संयुक्त राष्ट्र सङ्घले आदिवासी जनजातिको सन्दर्भमा स्वीकार गरेको परिभाषा भनेको इक्वेडरका होसे मार्टिनेज कोबोले दिएको परिभाषा हो। उहाँलाई सन् १९७१ मा आदिवासी जनजातिहरूले भोग्नु परेको भेदभावको बारेमा अध्ययन गर्न संयुक्त राष्ट्र सङ्घको विशेष प्रतिवेदक (Special Rapporteur) को रूपमा नियुक्त गरिएको थियो।
मार्टिनेज कोबोले सन् १९७२ देखि सुरु गरेको आफ्नो अध्ययनको अन्तिम प्रतिवेदन सन् १९८७ मा संयुक्त राष्ट्र उप–आयोग (UN Sub-Commission on Prevention of Discrimination and Protection of Minorities. ) लाई पेश गर्नुभएको थियो। उहाँले ’स्व–पहिचान’ (Self-Identification) लाई आदिवासी जनजातिको पहिचानको प्रमुख विशेषताको रूपमा लिन अन्तर्राष्ट्रिय जगतलाई बुझाउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो।
मार्टिनेज कोबोका अनुसार आदिवासी भन्नालेः सारमा, आदिवासी ती हुन्, जसको आफ्नो भूमि वा भूक्षेत्रमा ऐतिहासिक निरन्तरता छ। जो अतिक्रमणपूर्व वा उपनिवेश हुनुपूर्व त्यो क्षेत्र वा भूमिको विकास भएको थियो र आज जसले आफूलाई भिन्न समुदायको रूपमा पहिचान गराउँदछन्। उनीहरूको आफ्नै साँस्कृतिक, सामाजिक एवं कानूनी प्रक्रिया छन् र उनीहरू आफ्नो समाजलाई निरन्तरता दिँदै, भिन्न अस्तित्वको आधारको रूपमा आफ्नो पुख्र्यौली भूक्षेत्रहरू र जातीय पहिचानलाई संरक्षण, विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्न कटिबद्ध छन्।
संयुक्त राष्ट्र सङ्घमा आदिवासी जनजातिको परिभाषाबारे छलफल गर्दा उनीहरूलाई परिभाषित गर्ने प्रयास गर्नुको सट्टा उनीहरूको ’स्व–पहिचान’ वा ’आत्म निर्णय’ लाई महत्त्वपूर्ण मानिएको थियो।
यस्को तात्पर्य के हो भने, संयुक्त राष्ट्र सङ्घसहित कुनै पनि अन्तर्राष्ट्रिय निकायहरूले आजको मितिसम्म ’आदिवासी जनजाति’ को आधिकारिक परिभाषा स्वीकार गरेका छैनन्। यद्यपि आदिवासी जनजातिलाई बुझाउनको लागि विविध विशेषताहरू पहिचान गरिएका छन्।
आदिवासी जनजातिको पहिचानका विविध विशेषताहरूः आदिवासी जनजातिलाई पहिचान गर्न निम्न चरित्रहरू किटान गरिएका छन्ः
- स्व–पहिचानः जसले आफूलाई आदिवासी हो भनेर स्व–पहिचान गर्छन् र उनीहरूको समुदायले पनि आफ्नो सदस्यको रूपमा स्वीकार गरी मान्यता दिन्छन्।
- ऐतिहासिक निरन्तरताः जो आधुनिक वा वर्तमान राज्यको सिमाना बन्नुभन्दा पहिलेदेखि वा औपनिवेशिक शक्तिहरूको आगमनभन्दा अगाडिदेखि कुनै विशेष क्षेत्रमा ऐतिहासिक रूपले निरन्तर बसोबास गरिरहेका छन्।
- भिन्न संस्कृति र जीवनशैलीः उनीहरूसँग आफ्नै मौलिक भाषा, संस्कृति, रीतिरिवाज, परम्परा र जीवनशैली छ, जसले आफूलाई भिन्न समुदाय वा समूहको रूपमा स्थापित गरेका छन्।
- पुख्र्यौली भूमिसँग गहिरो सम्बन्धः आदिवासीहरू कुनै विशेष भूमि वा क्षेत्रका मूल बासिन्दाहरू हुन्, जसको पुख्र्यौली भूमि, जल, जङ्गल, जमिन, पहाड र मरुभूमिहरूसँग गहिरो र ऐतिहासिक सम्बन्ध रहेको छ। यो सम्बन्ध केवल भूमिको स्वामित्व मात्र नभई उनीहरूको संस्कृति, आध्यात्मिकता र जीवनशैलीमा निहित हुन्छ।
नेपालको सन्दर्भमा आदिवासी जनजाति
नेपालमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ आएपछि यसले नेपालमा पहिलो पटक आदिवासीको पहिचान र मान्यता प्रदान गरेको हो। यसअनुसार, नेपालमा हाल ५९ वटा जातीय समुदायहरू आदिवासी जनजातिका रूपमा परिभाषित गरिएका छन्। पछिल्लो चरणमा "रानाथारु" लाई पनि मान्यता र पहिचान दिएर, हाल ६० आदिवासी जनजातिको सूचिकरण गरिएको छ ।
यसरी आदिवासी जनजातिको पहिचान गर्दा प्रतिष्ठानले समुदायको निम्न चरित्रलाई आधार बनाएको थियोः
- आफ्नो अलगै सामूहिक साँस्कृतिक पहिचान भएको
- आफ्नो भाषा, धर्म, परम्परागत रीतिरिवाज र संस्कृति भएको
- आफ्नो लिखित वा अलिखित इतिहास भएको
- परम्परागत सामाजिक संरचना समानतामा आधारित भएको
- आधुनिक नेपालको राजनीति र शासन व्यवस्थामा निर्णायक भूमिका नभएको
- समुदायभित्र ’हामी’ भन्ने भावना रहेको
- आफ्नो परम्परागत भौगोलिक क्षेत्र भएको र जो चार वर्णको हिन्दू वर्णाश्रम व्यवस्थाभित्र नपर्ने तथा आफूलाई जनजाति भनी दाबी गर्ने।
विश्वभर आदिवासी जनजातिहरूको स्थिति
हाल तपाईं सोच्दै हुनुहुन्छ होला, विश्वभर कति आदिवासी जनजातिहरू छन्?
- जनसङ्ख्या र भूगोलः विश्वव्यापी रूपमा, ९० भन्दा बढी विभिन्न देशहरूमा लगभग ५० करोड आदिवासी जनजातिहरू बसोबास गर्छन्। यो विश्वको जनसङ्ख्याको करिब ६ प्रतिशत हो। तर, आदिवासी जनजातिहरूले विश्वको करिब २५ प्रतिशत भूक्षेत्र वा वनजङ्गल व्यवस्थापन गर्छन्।
- जैविक विविधता र ज्ञानः विश्वको लगभग ८० प्रतिशत जैविक विविधता उनीहरूको भूमि र भूक्षेत्रमा पाइन्छ, जसको संरक्षण उनीहरूले गर्दै आएका छन्। उनीहरूसँग वनजङ्गल वा नदीहरूको हेरचाह वा संरक्षण गर्ने आफ्नै मौलिक ज्ञान छ, जसलाई परम्परागत ज्ञान वा आदिवासी ज्ञान भनिन्छ।
- जलवायु परिवर्तनमा योगदानः जलवायु परिवर्तनको चुनौतीसँग जुधिरहेको अवस्थामा, यसको न्यूनीकरण र अनुकूलन सम्बन्धी उनीहरूको ज्ञानलाई महत्त्वपूर्ण मानिन्छ। यद्यपि जलवायु परिवर्तन वा जैविक विविधता संरक्षणका छलफल, नीति तथा कार्यक्रमहरूमा आदिवासी जनजातिलाई पर्याप्त सहभागिता गराइएको छैन। त्यसैले नीति निर्णय गर्ने सवालमा उनीहरूको अर्थपूर्ण सहभागिता आवश्यक छ।
- भाषाः विश्वभर बोलिने लगभग ७,००० भाषाहरू मध्ये, करिब ४,००० भाषाहरू आदिवासी जनजातिहरूले बोल्छन्। अर्थात्, विश्वका आधाभन्दा बढी भाषाहरू उनीहरूका भाषा हुन्। संयुक्त राष्ट्र सङ्घले सन् २०२२ देखि सन् २०३२ सम्मलाई ’विश्व आदिवासी भाषा दशक’ को रूपमा घोषणा गरी उनीहरूको भाषाको संरक्षण र पुनरुत्थानका लागि जनचेतना फैलाइरहेको छ।
आदिवासीले सामना गरेका चुनौतीहरू
आदिवासीको भाषा, जैविक विविधता संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणमा उनीहरूको ज्ञान र योगदान महत्त्वपूर्ण भए पनि उनीहरूले विभिन्न चुनौतीहरूको सामना गरेका छन्।
उनीहरूले औपनिवेशीकरण, विकास योजना वा अन्य नाममा आफ्नो भूमि र भूक्षेत्रबाट जबरजस्ती विस्थापन हुनुपरेको छ। उनीहरूको संस्कृति र भाषाहरूलाई मेटाउने उद्देश्यकासाथ विभिन्न नीति तथा कार्यक्रमहरू बनेका छन्। आज पनि धेरै आदिवासी समुदाय गरिबी, शिक्षा, स्वास्थ्य र नीति निर्माणको पहुँच भन्दा बाहिर छन्। भिडियो पनि हेर्नुहोस ।






