कन्दमूल खेतीबाट फेरिएको आदिवासीको जीवन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३ फागुन २०८२, आइतवार
कन्दमूल खेतीबाट फेरिएको आदिवासीको जीवन

विपिन्दास पी, बिन्धु जोसेफ

अम्मिनी र अन्नम्मादिदीबहिनीले पहिलो पटक सेतो तरुल, ओल (हात्तीखुट्टे तरुल) र सिमी÷कसावा (टापिओका) खेती गर्न सुरु गर्दा, उनीहरू केवल कन्दमूलबालीका लागि मात्र होइन, आफ्नै जीवनका लागि पनि जरा गाड्ने प्रयास गरिरहेका थिए । 

दक्षिण भारतको केरल राज्यअन्तर्गत वायनाड जिल्लामा बसोबास गर्ने पनियन समुदाय—एक सीमान्तकृत आदिवासीसमूहकी उनीहरूले सानै उमेरमा आमाबुबा गुमाएका थिए । अहिले पचासको उत्तरार्धमा पुगेका यी दिदीबहिनीले भूमिहीनता, गरिबी र सामाजिक बहिष्करणजस्ता बहुआयामिक अपमानहरू झेल्दै जीवन अगाडि बढाउनुपरेको थियो । 

बदलिँदो जलवायुबाट प्रभावित हुनु पर्यो अन्नम्माले भनिन्, “पहिले वर्षा समयमै हुन्थ्यो, तर अहिले कहिले पर्छ भन्ने अनुमान गर्न सकिँदैन ।  जेसुकै भए पनि कन्दबाली भने बाँचिरहन्छ।”

आज, अन्य पाँच पनियन परिवारले पनि यी दिदीबहिनीहरूसँग मिलेर सामुदायिक संरक्षण प्लट स्थापना गरेका छन्, जहाँ स्थानीय बजारका लागि कन्दबाली उत्पादन गर्नुका साथै जैविक विविधताको संरक्षण पनि गरिन्छ ।  यी प्लटहरूले उत्पादनबाट आम्दानी दिनुका साथै, एक अनुसन्धान प्रतिष्ठानको सहयोगमा, रोजगार कम हुनेमहिनाहरूमा १०० दिनभन्दा बढी ज्यालादारी कामको अवसर पनि सिर्जना गरेका छन् । 

यो नमुना अहिले वायनाडका अन्य आदिवासी बस्तीहरूमा पनि विस्तार भएको छ, जहाँ किसानहरूले अम्मिनी र अन्नम्माबाट—प्रतिष्ठानमार्फत उपलब्ध गराइएका बीउ प्रयोग गरी—कन्दबाली खेती सुरु गरेका छन् । 

जिल्लाका आदिवासी समुदायहरू सधैं आत्मनिर्भर थिएनन् ।  धेरैजसो अझै पनि भूमिहीन छन् वा अत्यन्त सानो जमिनमा आधारित आदिवासी बस्तीहरूमा बसोबास गर्छन्, जहाँ खेतीका लागि पर्याप्त जमिन छैन । दिदीबहिनीहरू पनि स्थायी रूपमा बसोबास गर्नु अघि विभिन्न अस्थायी आश्रयहरूमा बस्दै आएका थिए ।  अन्ततः उनीहरू वायनाडको मदमकुन्नु गाउँमा बसोबास गर्न थाले, जहाँ बिस्तारै आफ्नै उद्यम निर्माण गरे । 

उनीहरूका बीचमा पाल्नुपर्ने आठ जना छोराछोरी थिए । खाद्यान्न अभावका महिनाहरू, बढ्दो ऋण र मोबाइल रिचार्जजस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न पनि संघर्ष गर्नुपरेको थियो। उच्च लागतको खेती गर्न वा बाली विविधीकरण गर्न नसक्ने अवस्थाले गर्दा, सुपारी खानेजस्तो सानो खर्चसमेत त्याग्नुपरेको थियो। तर, उनीहरूले खानाका लागि भने कन्दबाली उमार्न सके । 

अम्मिनी र अन्नम्माले सेतो तरुल, ओल, पिँडालु, कसावा तथा अन्य तरकारी मुख्यतः घरायसी उपभोगका लागि उत्पादन गर्थे, र थोरैमात्र अतिरिक्त उत्पादन हुन्थ्यो । 
“कन्दबालीलाई आपत्कालीन बालीका रूपमा लिइन्छ, किनकि जलवायु परिवर्तनका कारण अन्य बाली असफल हुँदा पनि यी बाँच्न सक्छन्,” केरल राज्य जैविक विविधता बोर्डका अध्यक्ष एन. अनिल कुमारले भने । 

“खडेरी, किराको प्रकोप र रोग फैलिनु बदलिँदो जलवायुका स्वाभाविक असरहरू हुन्, र कन्दबाली यी प्रभावप्रति धेरै हदसम्म सहनशील हुन्छन् । अर्को पक्ष भनेको यी बालीहरूले ठूलो परिमाणमा खाद्यान्न उपलब्ध गराउँछन् ।  यी विशेषताहरूले गर्दा कन्दबाली संवेदनशील समुदायहरूका लागि खाद्य सुरक्षाको अपरिहार्य स्रोत बनेका छन्,” उनले थपे । 

सन् २०२२ मा प्रकाशित केरलको जलवायु कार्ययोजनाअनुसार, जैविक विविधताको ‘हटस्पट’ मानिने वायनाड जिल्ला जलवायु परिवर्तनप्रति अत्यन्त संवेदनशील छ ।  सन् १९८४ देखि २००९ बीच तापक्रम १.४६ डिग्री सेल्सियसले वृद्धि भएको उल्लेख गरिएको छ । चरम मौसमी घटनाहरूले बाली उत्पादनमा कमी, किरारोगको वृद्धि, पानीको अभाव, संकटापन्न बाली प्रजातिहरूको तीव्र लोप र सन् २०२४ मा विनाशकारी पहिरोजस्ता असरहरू निम्त्याइसकेका छन् । 

कन्दबाली उत्पादन गर्ने आदिवासी समुदायहरूका लागि यी बाली केवल खाद्य सामग्री मात्र रहेनन् । खाद्य सुरक्षामा योगदान पु¥याउनुका साथै, स्थानीय जातको संरक्षणले उनीहरूलाई सहनशीलता र गर्वको अनुभूति दिएको छ, र अनिश्चित मौसमसँग जुध्न सहज बनाएको छ ।  जलवायु परिवर्तनले कन्दबाली संरक्षणलाई जीविकोपार्जन रणनीति मात्र होइन, भविष्यको सुरक्षाको उपायसमेत बनाएको छ । 
अम्मिनी र अन्नम्माजस्ता परिवारहरूका लागि—जो सानो जमिन, मौसमी ज्यालादारी र जलवायु–संवेदनशील बालीमा निर्भर छन्—यी परिवर्तनहरूको प्रभाव उनीहरूको भान्सा र आम्दानीमा तुरुन्तै महसुस हुन्छ । त्यसैले, जलवायुजन्य कृषि संकटको समाधानका रूपमा कन्दबालीको महत्व बढ्दै गएको छ । 

बीउ छर्ने
कन्दबाली खेती विस्तार गर्ने प्रारम्भिक प्रयास सफल भएपछि, दिदीबहिनीहरूले बिस्तारै जीविकोपार्जनका लागि मात्र गरिने खेतीबाट बीउ उत्पादन र संरक्षण प्लट स्थापना गर्ने दिशामा विस्तार गरे, र यस मोडेललाई महत्वपूर्ण सहायक आम्दानीको स्रोत बनाए । 

त्यो नै पहिलो क्षण थियो, जब उनीहरूको सानो र अनिश्चित खेती प्रयास फराकिलो ज्ञान र प्रोत्साहनको सञ्जालसँग जोडिन थाल्यो। कन्दबाली सजिलै उमार्न सकिने र सांस्कृतिक महत्व बोकेको बाली भएकाले पनि सहयोग पुग्यो—यी प्रायः तरकारी र सहायक परिकारका रूपमा प्रयोग गरिन्छन्। साथै, यी छिट्टै पाक्ने, लामो समयसम्म भण्डारण गर्न सकिने, र केही प्रजातिहरू—जस्तै कोलोकासिया (पिँडालु) र ओल—का पात तथा कन्द दुवै खान योग्य हुने विशेषता पनि छन् । 
 (साभार: डाइलग अर्थ) 
 

प्रतिक्रिया

अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस