टोखामा तोङ्बा जफतपछि पीडित भोटे परिवारलाई हिमालय भोटे समाजका अध्यक्ष मिथुन चाङ्बा भोटेको पहलमा खाद्यान्न सहयोग

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२६ माघ २०८२, आइतवार
टोखामा तोङ्बा जफतपछि पीडित भोटे परिवारलाई हिमालय भोटे समाजका अध्यक्ष मिथुन चाङ्बा भोटेको पहलमा खाद्यान्न सहयोग

हिमालय भोटे समाजका अध्यक्ष मिथुन चाङ्बा भोटेको पहलमा टोखा नगरपालिका–३ मा प्रहरीले जफत गरेको तोङ्बा घटनाबाट प्रभावित भोटे समुदायका परिवारलाई खाद्यान्न तथा सामग्री सहयोग प्रदान गरिएको छ।

आइतबार अध्यक्ष मिथुन चाङ्बा भोटेको नेतृत्वमा गएको टोलीले टोखा नगरपालिका–३ मा डेरागरी बसोबास गरिरहेका संखुवासभा जिल्ला भोटखोला गाउँपालिका–३ का साङ्मु भोटे, पिम्मा भोटे र कान्छी भोटेलाई खाद्यान्न सहयोग हस्तान्तरण गरेको हो।

भोटेको पहलमा नगद रु ९३ हजार ३९५ बराबरको खाद्यान्न सामग्री पीडित परिवारलाई उपलब्ध गराएको अध्यक्ष भोटेले जानकारी दिनुभयो।

साथै सिचुङ भोटे, फुर्बुटिक भोटे, पासाङ भोटे र आङ्मुभोटेलाई पनि खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ । 

सो अवसरमा अध्यक्ष मिथुन चाङ्बा भोटेले परम्परागत पेशामाथि भएको प्रहरी कारबाहीप्रति आपत्ति जनाउँदै राज्यले आदिवासी समुदायको ज्ञान, सीप र जीविकोपार्जनलाई सम्मान गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “भोटे समुदायले पुस्तौँदेखि सिक्दै आएको तोङ्बा, झाँड–रक्सी बनाउने सीप अवैधानिक होइन, यो हाम्रो संस्कृति र जीविकाको आधार हो। राज्यले व्यवस्थापन र सहजीकरण गर्नुपर्नेमा दमन गर्नु दुःखद छ। पीडित परिवार एक्लो महसुस नगरोस् भनेर मेरो पहलमा  सहयोग गरेको हो।”

अध्यक्ष भोटेले प्रहरी कारबाहीका कारण पीडित परिवारको दैनिकी र बालबालिकाको शिक्षामा प्रत्यक्ष असर परेको उल्लेख गर्दै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्नका लागि सरोकारवाला निकायसँग संवाद गरिने पनि बताउनुभयो।

टोखा–३ मा बसोबास गरिरहेका ती भोटे परिवारको मुख्य आयस्रोत परम्परागत रूपमा तोङ्बा, झाँड तथा रक्सी उत्पादन रहँदै आएको छ। प्रहरीले अवैधानिक उत्पादनको आरोपमा छापामार शैलीमा घरघरमा पुगेर तयार पारिएका तोङ्बा र उत्पादन सामग्री जफत गरेपछि परिवारहरू आर्थिक तथा मानसिक संकटमा परेका थिए।

यसअघि नेपाल आदिवासी जनजाति महासंघलगायत विभिन्न आदिवासी संघ–संस्थाले पनि घटनाको विरोध गर्दै पीडितलाई राहत सहयोग गरेका थिए। आदिवासी समुदायले यो घटनालाई परम्परागत ज्ञान, सीप र सांस्कृतिक अभ्यासमाथिको दमनको रूपमा लिँदै आएको छ।

अध्यक्ष भोटेले अन्य पिडित परिवार कोही भए सम्पर्कमा आउन समेत आग्रह गर्नुभयो  ।

 

प्रतिक्रिया