आदिवासीको भूमि, भूभाग र स्रोतहरुको दोहन तथा उनीहरु माथि भइरहेको बहिस्करण विरुद्ध प्रतिरोधात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ तयार गरिएको मासिन्या नाटक राजधानीको मण्डला थियटरमा मञ्चन भइरहेको छ ।
राजु स्याङ्तन, लक्ष्मी रुम्वा र राबत (राम बहादुर तामाङ) सहीतका तीन जना लेखकले लेख्नु भएको नाटकको निर्देशन बुद्धि तामाङ र सहनिर्देशन सोनाम लामाले गर्नूभएको हो । नाटकमा रुपेश तामाङ, रोहनी लामा, सुनिल तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, रविन दोङ, विकास लामा, इंगीहोपो कोइँच सुनुवार, शीतल थोकर, विजय नेपाल, निर्मल साउद लगायतका कलाकारहरुले जीवन्त अभिनय गर्नू भएको छ ।
नाटकको कथा शसक्त रहेको छ । खास गरेर काठमाडौ वरीपरि आफनो थाकथलो भएका आदिवासी तामाङहरु माथि भएको उत्पीडन, पीडा र उनीहरुको पुख्र्योली भूमिबाट विस्थापन गर्न राज्यसंरचनाले निर्वाह गरेको कपटपूर्ण षड्यन्त्रलाई उजागर गरिएको छ ।
आदिवासी तामाङहरुको छ्योर्तेन र म्हाँनेहरु र आध्यात्मीक आस्थाका थलोहरु बन जंगल र खोला नदीहरु हुन्छन् । यी सम्पदाहरु आधुनिक विकासले ध्वस्त बनाइरहेको र उनीहरुको सहमति तथा मञ्जुरी विना नै अतिक्रमण भइरहेको पक्ष नाटकमा देखाइएको छ । सबै भन्दा सवल पक्ष आफनो सम्पदा, धर्म तथा परम्परालाई रक्षा गरीरहेका तामाङहरु माथि गौहत्याको आरोप लगाएर जेल पठाइएको तथा यसका विरुद्ध प्रतिरोध गर्न खोज्दा सेना तथा प्रहरीले दमन गरिएको दृश्य यथार्थपरक रुपमा प्रस्तुत गरिएको छ ।
नाटकमा तामाङ संस्कार र संस्कृतिलाई पनि छुटाइएको छैन । परम्परागत वोन धर्मको मान्यता अनुसार बोन्वो प्रणाली, समाजमा ताम्वाको भूमिका र गान्वा र चोहोलाई पनि समेटिएको छ ।
बीच बीचमा प्रणयात्मक सम्वाद र अभिनयले नाटकलाई रमाइलो बनाउँछ भने हास्य र कारुणीक रसलाई पनि मिसाइएको छ । करीब डेढ घण्टाको नाटक यस शताव्दी कै पहिचानजनित साहित्यको पहिलो सिर्जना हो । यस सिर्जनाले नश्लीय चिन्तनको बौद्धिक तन्द्रालाई झस्काउन सक्यो भने त्यो नै सबैभन्दा महत्वपूर्ण उपलव्धी हुनेछ ।
नाटकलाई निर्माण गर्न ताम्सालिङ संयुक्त संघर्ष समितिले सघाएको छ । समितिले निकट भविष्यमा नै ताम्सालिङ साँस्कृतिक अभियान सञ्चालन गर्ने सिलसिलामा यो नाटक आधार रुपमा मानेको छ । समितिको अध्यक्षमा डा.गणेश योञ्जन हुनुहुन्छ भने सदस्य सचिवमा मोहन गोले तामाङ हुनुहुन्छ ।
नाटकमा गीत र संगीतको सम्मीश्रण रहेको छ । नाट्य विधानलाई परिस्कृत गर्न मञ्चको सजावट र प्रकासको संयोजन महत्वपूर्ण हुन्छ । यस पक्षमा निर्देशकले मनग्ये ध्यान दिनु भएको छ ।
भेषभूषा पनि मिलेकै मान्नुपर्छ । नाटकमा रक्सी पारिरहेको, सेल रोटी पोलेको देखि अतिथि सत्कारमा प्रयोग हुने जाँड तथा रक्सी, तरुललाई पनि देखाउन खोजिएको छ ।
यसै साता नाटकको प्रिमियर प्रदर्शन भएको थियो भने बिहिबारबाट व्यवसायिक प्रदर्शन सुरु भएको छ । पहिलो दिनको प्रिमियर सोमा केही अभियन्ताहरु र राजनीतिक नेताहरुले सहयोग रकमको घोषणा गर्नु भएको थियो यस क्रममा केहीले नाटकलाई गाउँ–गाउँ लैजानु पर्ने बताउनु भएको थियो । मन्च, साजसज्जा तथा हलको व्यबस्थापनका कारण यो नाटक गाउँमा प्रदर्शन गर्न सकिने देखिदैन ।