इतिहास तथा संस्कृतिविद् मञ्जुल याक्थुम्बा किरात जातिको एकता र आदिवासी पहिचानका निम्ति एक अथक योद्धा रहेको विज्ञले बताउनु भएको छ ।
किरात याक्थुङ चुम्लुङले प्रकाशन गरेको ‘मञ्जुल याक्थुम्बाः प्रशासन–समाज–इतिहास’ स्मृतिग्रन्थ विमोचन समारोहमा उहाँको योगदानको चर्चा गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, मञ्जुलकी धर्मपत्नी बिमला निङ्लेखु याक्थुम्बा, पूर्वमन्त्री तथा राजदूत दीपकुमार उपाध्याय, दुर्गामणि देवान, चुम्लुङका अध्यक्ष प्रेम यक्तेन र डा. कमल तिगेलाले मंसिर २९ गते शुक्रबार उक्त स्मृतिग्रन्थ सार्वजनिक गर्नुभएको हो ।
याक्थुम्बाको जन्म विक्रम संवत् १९९२ सालमा ललितपुरको तिखेदेवलमा भएको थियो । भने उहाँको निधन २०८० कार्तिक १२ गते भएको हो । उहाँको पूरा नाम मञ्जुलकुमार सिंह याक्थुम्बा भएपनि समाजमा मञ्जुल याक्थुम्बा नामले परिचित हुनुहन्थ्यो । राजनीतिशास्त्र र इतिहास विषयमा स्नातकोत्तर उहाँले ३८ वर्ष सरकारी सेवा गर्नुभएको थियो । २०४९ सालमा अवकासपछि लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङमा रहेर काम गर्नुभएको थियो । चुम्लुङको काठमाडौं उपत्यका तदर्थ समितिको अध्यक्ष हुँदै केन्द्रीय कार्यसमितिको उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष भएर समाजको नेतृत्व गर्नुभएको थियो । त्यसैगरी याक्थुम्बाको अध्यक्षतामा लिम्बू, राई, याक्खा, सुनुवार जातिलाई एकतावद्ध गरी किरात समन्वय समिति गठन गरी अस्तित्वमा रहेको छ ।
‘मञ्जुल याक्थुम्बा एक कुशल प्रशासक हुनुहुन्थ्यो,’ याक्थुम्बासँग सहकार्य गर्नुभएका किरात राई यायोक्खाका तत्कालीन महासचिव राजबहादुर राईले भन्नुभयो, ‘उहाँको नेतृत्व क्षमताले गर्दा किरात जातीय एकतावद्ध भएर हुनसक्यौं । तत्कालीन पशुपति वनकालीमा किरातीको चिहान भत्काएप्रति सरकारले माफी माग्दै ३८ वटा चिहान पुनःनिर्माण गराउने काम भएको थियो ।’ उभौली र उधौलीलाई किरात चाड घोषणा गराइएको थियो ।
इतिहास तथा संस्कृतिविद् याक्थुम्बाको ‘मौलिक किरात धर्म संस्कार’, ‘किरात तीर्थस्थल सानोहात्तीवन’, ‘मुन्धुम र मिथकहरू’ र ‘को हुन् किरात र किरातलिम्बू ? के हो युमाधर्म ?’ गरी चारवटा पुस्तककृति प्रकाशित छन् ।
बैरागी काइँला स्वर्गीय याक्थुम्बा एक हक्की, व्यवहारिक, इतिहास अध्ययनमा यकिन तथ्यप्रति दृढ विद्वानसमेत रहनु भएको बताउनु भयो । याक्थुम्बाको योगदानबारे पूर्वमन्त्री तथा राजदूत दीपकुमार उपाध्याय, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, चुम्लुङ अध्यक्ष यक्तेन, याक्थुम्बाका छोरा मुकहाङ याक्थुम्बालगायतले चर्चा गर्नुभएको थियो ।