आदिवासी याक्थुङ लिम्बु अगुवाहरुले आफनो परम्परागत भूमि , थातथलो र माङ्गेन यकको पुनर्दावी गर्दै लिम्बु पार्लियामेन्ट बनाउने घोषणा गरेको छन् ।
१ नम्बर प्रदेश अन्तर्गत पाँचथरको कुम्मायकमा यसै साता आठ जिल्लाका तीनसय बढी याक्थुङथरगत संस्थाहरुका प्रमूख तथा प्रतिनिधिहरु भेला भएर सो दावी गरेका हुन् ।
भेलाामा दश लिम्बु सत्र थुमका थरगत समुदाय, कानुन, भूगोल, संस्कृति र इतिहास बिद् र स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता थियो ।
दुइ दिवशिय छलफल पछि पन्द्र बुँदे निश्कर्ष निकाल्दै परम्परागत भूमि संरक्षणका लागि लिम्बु संसद बनाउने घोषणा गरिएको छ । यस्तो संसद परम्परागत संस्थाहरुको प्रतिनिधिहरु रहने र उनीहरुले आत्मनिर्णयको अधिकारको प्रयोग गर्दै परम्परा, प्रथा तथा संस्कृति सम्बन्धी स्वनिर्णय गरिने बताइएको छ ।
भेलाको निश्कर्षमा तीनै तहको सरकार जुट्नु पर्ने, सिलौटीमा फाल्गुनन्दको शालिक विवादलाई सरोकारवालहरुबाटै समाधान गर्नु पर्ने, पुर्ख्यौली भूमि, माङ्गेना यक, समाधिस्थलको संरक्षण गर्ने कार्ययोजना बनेको आयोजकहरुले जानकारी दिनु भएको छ ।
याक्थुङहरुको जन्मथलो , ऐतिहासिक र साँस्कृतिक भूमिहरुको संरक्षण एबम् प्रबद्र्धन गरी याक्थुङको पहिचान अघि बढाउने प्रतिबद्धताका साथ १५ बुँदे प्रतिबद्धता पनि सो भेलाले निर्णय गरेको आदिवासी अभियन्ता राम मादेनले जानकारी दिनु भयो ।
याक्थुङ समुदायको थातथलोमा सरकारले विकासका नाममा अतिक्रमण गर्न थाले पछि ऐतिहासिक मुन्धुमीस्थलहरु लोप हुन लागेको भन्दै संरक्षणको पहल स्वरुप यो अभियान थालिएको थरगत सयङ सहजिकरण समूहका संयोजक नन्द कन्दङ्वाले बताउनु भयो ।
कतिपय स्थलहरु संरक्षणको अभावमा नष्ट भएको र समुदायले भूमि अर्थात थातथलोको महत्व नबुझेर ऐतिहासिक स्थलहरु गुमाएको र प्रमाणहरु समेत नष्ट भएको हुँदा भेला आयोजना गरी संरक्षण थालिएको भेलाका सहभागीहरुले बताउनु भयो ।
भेलामा अनुसन्धानकर्ता, अभियन्ताहरुले आफनो धारणा राख्नु भएको थियो । छलफलमा थरगत सयङ संयोजक नन्द कन्दङवा, अनुसन्धानकर्ता डा. कमल तिगेला, अधिवक्ता शंकर लिम्बु, अनुसन्धानकर्ता तथा अभियन्ता नरप्रसाद लुङफुवा लगायतले टिप्प्णी गर्नू भएको थियो ।
कार्यक्रममा फल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले स्थानीय तहले रैथाने थातथलो संरक्षणमा बजेट नै विनियोजन गरेर जुटेको बताउनु भयो ।
कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले तिनै तहको सरकारबाट बजेट सुनिश्चित गरेर ऐतिहासिक स्थल कायम रहने गरी काम थालिएको बताउनु भयो । यस अघि याक्थुङहरुको परम्परागत बाजा सहितको झाँकीले यासोक बजार परिक्रमा गरेको थियो ।





.png)
.png)


