हिमाली परम्परागत थाङ्का कृतिहरू प्रदर्शनीमा, थाङ्का कलालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न सुझाव

डोल्मा शेर्पा
डोल्मा शेर्पा६ मंसिर २०८२, शुक्रवार
हिमाली परम्परागत थाङ्का कृतिहरू प्रदर्शनीमा, थाङ्का कलालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न सुझाव

हिमाली क्षेत्रको कला, संस्कृति र मौलिक पहिचानलाई उजागर गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा थाङ्का कला प्रदर्शनी सुरु भएको छ । शुक्रबार प्रतिष्ठानको प्राङ्गणमा औपचारिक कार्यक्रममार्फत प्रदर्शनीको उद्घााटन गरिएको हो ।

हिमाली जिल्लाका चार थाङ्का कलाकारहरूद्वारा कोरिएका परम्परागत थाङ्का, क्यानभासमा उतारिएका हिमाली भू–दृश्य तथा जनजीवन झल्काउने चित्रहरू प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा सिन्धुपाल्चोकका पेम्बा शेर्पा, मुस्ताङका छिरिङ फुन्जो गुरुङ, डोल्पाका तेन्जेन आङ्डक गुरुङ र मुगुका दोर्जे कार्मरोङ्गका कृतिहरू प्रस्तुत गरिएको छ । पाँच दिनसम्म चल्ने प्रदर्शनी मंगलबारसम्म खुला रहनेछ ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिष्ठानका कुलपति नारदमणी हर्दामछालीले रिबन काटेर प्रदर्शनी उद्घाटन गर्नुभयो । उहाँले हिमाली समुदायको कला र ज्ञानलाई राज्यले अझै आत्मसात गर्न नसकेको उल्लेख गर्दै यस्तो मौलिक कला राष्ट्रको पहिचान भएकाले संरक्षण र प्रवद्र्धनमा राज्यले गम्भीर हुनुपर्ने बताउनुभयो । “हिमाली संस्कृतिमा रहेको विविधता र समृद्ध ज्ञानलाई राज्यका पूर्वाग्रहले ओझेलमा पारेको छ,” उहाँले भन्नु भयो । 

ललितकला प्रज्ञा–प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पालसाङ्मो तामाङले हिमाली कलालाई विद्यालय, प्रदेश र संघीय सरकारसम्म झक्झक्याउने आवश्यकतामा जोड दिनुभयो । थाङ्का कलालाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्न सके शिक्षा सँगै सीप सिक्ने वातावरण बन्ने उहाँको भनाइ छ ।

थाङ्का कलालाई पाठ्यक्रममा राखे रोजगारी बढ्छ 

सिन्धुपाल्चोकका पेम्बा शेर्पा १७ वर्षको उमेरबाट परम्परागत थाङ्का सिकेर यस क्षेत्रमा लागिरहनुभएको छ । गुरु–शिष्य परम्परामार्फत यो सीप सिक्दा सरकारी मान्यता, प्रमाणपत्र वा शैक्षिक पाठ्यक्रमको अभावका कारण कलाकारले ‘कामदार’को रूपमा मात्र मूल्याङ्कन पाउने गुनासो उहाँले गर्नुभयो । “थाङ्का कलालाई शिक्षा प्रणालीमा जोड्न सके युवा पुस्तालाई सीप पनि सिकिन्छ र रोजगारी पनि बढ्छ,” उहाँले बताउनु भयो । 

तीन दशकदेखि कला क्षेत्रमा सक्रिय मुगुका दोज्रे कार्मरोङ्ग परम्परागत थाङ्का र आधुनिक दुवै शैलीका चित्रकार हुनुहुन्छ । उहाँले मुगुका गाउँबस्ती, जीवनशैली, नदी, पहाडहरूलाई क्यानभासमा उतार्दै आउनु भएको छ ।  पहिलेका पुस्ताले सिक्न धेरै कठिनाइ व्यहोर्नुपरेको भए पनि अहिले प्राविधिक सहजता र अनुभवी गुरुहरूका कारण नयाँ पुस्तालाई अवसर बढेको उहाँको भनाइ छ ।

मुस्ताङका छिरिङ फुन्जो गुरुङ २७ वर्षदेखि थाङ्का र क्यानभास चित्रकलामा सक्रिय हुनुहुन्छ । मुस्ताङको जीवनशैली, गुम्बा, परम्परा र प्रकृतिलाई उहाँले चित्रमार्फत जिवन्त राख्दै आउनु भएको छ । अमेरिका, कोरिया, भारत तथा नेपालका विभिन्न स्थानमा उहाँको एकल प्रदर्शनी भइसकेका छन् ।

डोल्पाका तेन्जेन आङ्डक गुरुङ १५ वर्षदेखि बौद्ध परम्परागत थाङ्का कलामा समर्पित हुनुहुन्छ । यही सीपमार्फत घरव्यवहार चलाउँदै आएका उहाँले निरन्तरता, धैर्यता र लगनशीलताका कारण थाङ्का कलालाई पुस्तान्तरण साथै व्यवसाय गर्न सफल भएको बताउनुभयो ।

औपचारिक कार्यक्रमका क्रममा चार हिमाली जिल्लाका मौलिक नृत्यहरु प्रस्तुत गरिएको थियो । शेर्पा, मुगुम, डोल्पा, र मुस्ताङका परम्परागत नृत्यहरु प्रस्तुत गरिएकको थियो । 

 

प्रतिक्रिया