आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आयोजना गरेको तीन दिवशीय आदिवासी ज्ञान सम्मेलन सम्पन्न भएको छ । मंगलबार राजधानीको सभागृहमा सो सम्मेलनको समापन समारोह आयोजना गरेर समापन गरिएको हो ।
समापन समारोहमा संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयका समेत कार्यभार सम्हाल्नु भएका अर्थमन्त्री रामेश्वर खनाल प्रमूख अतिथिका रुपमा सहभागी हुनु हुन्थ्यो । प्रधानमन्त्री शुसिला कार्कीलाई आमन्त्रण गरेपनि उहाँ अनुपस्थित हुनु भए पछि खनाललाई प्रमूख अतिथि बनाइएको हो ।
समारोहमा मन्त्री खनालसंगै अतिसिमान्तकृत लोपोन्मूख आदिवासी राउटे समुदायका प्रतिनिधि दीपक राउटे शाहीलाई अन्य अतिथि सरह समानान्तर रुपमा अतिथि बनाइएको थियो ।
शाहीले पहिलो पटक पोडियमबाट आदिवासी समुदायलाई सम्बोधन गर्दै सरकारले राउटे समुदायलाई सहयोग नगरेको गुनासो गर्नू भयो । उहाँले राउटे समुदायलाई उपलव्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता मासिक रुपमा उपलव्ध गराउन पनि आग्रह गर्नु भयो ।

‘सरकारले तीन महिनामा एक पटक मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ । यो भत्ता दिने भए मासिक रुपमा पठाइ देउ ।’ उहाँले आफनै राउटे लवजमा सरकारलाई आफनो समस्या सुनाउदै अगाडि भन्नु भयो –‘हाम्रा जनता समस्यामा छन्, समस्या सुन्न सरकार आएको छैन ।’
उहाँले राउटे समुदायमा स्वास्थ्य समस्या परेको विवरण पनि दिनु भयो । राउटेहरु शिकारमा जाँदा घाइते हुने गरेको भए पनि उपचारका लागि नजिकमा डाक्टर र औषधिमूलो नभएको गुनासो गर्नू भयो ।
राउटेबस्तीमा सोसेक नेपालले सहयोग गरिरहेको भएता पनि सरकारबाट कुनै सहयोग नपाएको उहाँको टिप्पणी थियो ।
सम्मेलनमा प्रतिनिधिका रुपमा राउटे प्रतिनिधि चारजनाको उपस्थिति थियो । राउटेहरुले राउटे सीपमा आधारित काठको कोषी मदुस बिक्रिीमा राख्नु भएको थियो । काठको सामाग्री निर्माण गर्नू र बाँदरको शिकार गर्नु राउटेको प्रमूख विशेषता हो ।
राउटे प्रतिनिधि दीपक पछि बोल्नु भएका अर्थमन्त्री खनालले राउटेका बिषयमा कुनै टिप्पणी गर्नू भएन ।
मन्त्री खनालले वर्तमान सरकारको प्रमूख जिम्मेवारी निर्वाचन सम्पन्न गराउनु रहेको हुँदा निर्वाचन सम्पन्न गराई लोकतन्त्रलाई दीगो बनाए आदिवासीको अधिकार पनि प्राप्त हुने विचार राख्नु भयो ।
उहाँले सरकारको सीमित समय सिमा रहेको हुँदा समय सिमा भित्र सम्मेलनको निश्कर्ष प्राप्त भएमा ती निश्कर्षहरु सम्बोधन गर्ने जानकारी दिनु भयो ।
आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको अध्यक्षतामा भएको समापन समारोहमा समापन मन्तव्य राख्दै सम्मेलन उपलव्धीमूलक भएको धारणा राख्नु भयो ।
उहाँले नेपाल आदिवासी ज्ञान सम्मेलन २०८२ केवल औपचारिक प्राज्ञिक कार्यक्रम मात्र नभइ आदिवासी ज्ञान, विज्ञान, दर्शन, अनुभव र अभ्यासको जीवित संगम बनेको दावी गर्नू भयो ।
उहाँले सम्मेलनको निश्कर्ष सरकारलाई चाँडै बुझाइने जानकारी दिदै यहाँ उठेका बिषयलाई सरकारबाट सम्बोधन हुने अपेक्षा गर्नू भयो ।
राष्टपति रामचन्द्र पौडेलले आइतबार उद्घाटन गर्नू भएको सम्मेलन तीन दिन सम्म चलेको थियो । सम्मेलनमा बिभिन्न बिषयमा ८१ वटा कार्यपत्र प्रस्तुत भएको थियो ।








