किरात पहिचानका खम्बाः सम्झनामा मञ्जुल याक्थुम्बा

गणेश राई
गणेश राई७ पुष २०८१, आइतवार
किरात पहिचानका खम्बाः सम्झनामा मञ्जुल याक्थुम्बा

श्री ५ सुरेन्द्रको शासनकाल विसं.१९०५ साल भाद्र १२ गते आइतबारका दिन गठन भएको नेपाली सेनाको भैरवनाथ गण (पल्टन)का डिठ्ठा दलकर्ण फोम्बो याक्थुम्बाका नाति, दुर्गाकर्ण याक्थुम्बाका छोरा, ललितपुर जिल्ला ग्वङ्गखेल मौजा युमाथेबा माङ्हिम्देखि चक्रपथ महालक्ष्मीचोक मूलबाटोको पूर्वपट्टिको देशवीर खायलमा जन्मी हुर्की मातृभूमिको सेवामा समर्पित् स्वनामधन्य मञ्जुलकुमार सिंह याक्थुम्बाको सम्झनामा यो लेखनी समर्पण गरिएको छ । मैले स्मृतिग्रन्थ परिचय वाक्य यसरी लेखेको छु । 

एक व्यक्तिको अनेक आयाम हुन्छन् । तिनै आयाम फैलावटमा दीर्घजीवन पाएका व्यक्तित्व हुन्– मञ्जुल याक्थुम्बा । एक अब्बल प्रशासक जो सिडिओ बने । एक सामाजिक अभियन्ता जो किरात याक्थुङ चुम्लुङको दुई कार्यकाल केन्द्रीय अध्यक्ष बने । एक इतिहास तथा संस्कृति अन्वेषक जसका ४ कृति प्रकाशित छन् । एक समाजसेवी जसले आमा र हजुरआमाका नाममा ‘रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार’ अक्षयकोष निर्माण गरेर नयाँ अध्यतालाई प्रेरित गरिहे ।

मञ्जुल याक्थुम्बाकै हक्कीपन तथा लिगेसीले किरात जाति एकतावद्ध भएर राज्यसँग लडे । राज्यलाई माफी माग्न बाध्य तुल्याए र पुनःनिर्माण गराए पशुपति मृगस्थलीका ३८ वटा चिहान । ललितपुरको सानो हात्तीवनलाई किरात धार्मिक वन तथा किरात माङहिम तीर्थस्थल कायम गराए । किरात राजा पटुकको दरबार क्षेत्रलाई व्यक्तिको नामबाट सरकारको स्वामित्वमा फिर्ता गराए । किरात जातिको छरपष्ट चाडलाई मंसिर पूर्णिमा उधौली र वैशाखेपूर्णिमा उभौलीमा एकठ्ठा गराएर मनाउने परम्पराको विकास गरे ।

सामान्य रूपमा सोच्दा ख्यालख्यालजस्तै लाग्ने तर समयको पदचापसँग तुलना गर्दा शासनसत्तालाई पगाल्नका निम्ति कोइलाको काम गर्ने उनै मञ्जुल याक्थुम्बा अहिले स्मृतिमा मात्र सीमित छन् ।

पूरा नाम मञ्जुलकुमार सिंह याक्थुम्बा भएपनि समाजमा मञ्जुल याक्थुम्बा नामले परिचित हुनुहुन्थ्यो । विक्रम संवत् १९९२ सालमा ललितपुरको ग्वङ्गखेल (तिखेदेवल)मा जन्मिएका याक्थुम्बाको २०८० कात्तिक १२ गते निधन भएको थियो । उनै याक्थुम्बाको पहिलो स्मृति दिवसपछि यही २०८१ मंसिर २९ गते (किरातचाड उधौलीको अघिल्लो दिन) ‘मञ्जुल याक्थुम्बा: प्रशासन, समाज, इतिहास’ स्मृतिग्रन्थ सार्वजनिक गरिएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालय, शोभाहिटी, तिखेदेवल, ललितपुरले प्रकाशन गरेको स्मृतिग्रन्थ याक्थुम्बा परिवारले आयोजना गरेको समारोहमा सार्वजनिक गरिएको थियो । 

राजनीतिशास्त्र र इतिहास विषयमा स्नातकोत्तर हासिल गर्नु भएका याक्थुम्बाले ३८ वर्ष सरकारी सेवा गर्नुभएको थियो । २०४९ सालमा अवकासपछि लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङमा रहेर काम गर्नुभएको थियो । चुम्लुङको काठमाडौं उपत्यका तदर्थ समितिको अध्यक्ष हुँदै केन्द्रीय कार्यसमितिको उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष भएर समाजको नेतृत्व गर्नुभएको थियो । 

स्मृतिग्रन्थमा परिवारका सदस्यहरूसहित ७७ जनाले मञ्जुल याक्थुम्बाको सम्झना लेख समेटिएका छन् । त्यसमध्ये तीनवटा लेख अंग्रेजीमा छन् । अन्तिम खण्डमा फोटो र प्रमाणपत्रहरू समेटिएका छन् । एउटा फोटो क्याप्सनले ‘अस्वस्थताको बाबजुद पनि नाकमा अक्सिजनसहित अध्ययन तथा लेखनमा तल्लिन मञ्जुल याक्थुम्बा’ समाजलाई लिखित रूपमा केही छोड्नै पर्छ भन्ने जनाउँछ ।

यसरी पनि बुझ्ने गरिन्छ– किरात जाति पहिचान गर्ने इमानसिंह चेम्जोङ हुन् भने किरात जातिलाई एकजुट तुल्याउने मञ्जुल याक्थुम्बा हुन् । पूर्वसहसचिव विदुर केसी ‘राष्ट्रवादी कर्मठ व्यक्तित्व’, पूर्वउपसचिव थिरबहादुर जिसी ‘एक इमानदार राष्ट्रसेवक’ र पूर्वप्रशासनिक अधिकृत अयोध्याप्रदास श्रीवास्तवले ‘देशको मान्छे’ भनेर सुम्झिनु भएको छ । टंकबहादुर लिम्बुले ‘याक्थुङ समुदायका उक प्रखर बौद्धिक व्यक्तित्व’ भनेर चर्चा गर्नुभएको छ ।

लोकप्रिय सुनुवारको शब्दमा ‘किरात एकताका प्रणेता’ हुन् भने डा. चन्द्रकुमार सेर्माले ‘किरात विभूति मञ्जुलकुमार याक्थुम्बा’ भनेका छन् । कृष्णकुमार हेम्ब्याले लेख्नुभएको छ– ‘इमानसिंह चेम्जोङ किरात इतिहासको उत्खनन् गर्ने पहिलो व्यक्ति हुन् भने मञ्जुललाई किरात समुदाय (राई, लिम्बु, सुनुवार, याक्खा)लाई एकै ठाउँमा ल्याउने प्रमुख सूत्राधार मानिन्छ ।.. जीवनको अन्तमा याक्थुङ संस्कृति–संस्कार, किरात इतिहास धर्मसंस्कृतिको अध्ययन लेखन कार्य र किरात एकतामा आफ्नो ज्ञान र शक्तिलाइ सक्दो प्रयोग गरे । याक्थुङहरूलाई काठमाडौंको किरात सभ्यतासँग जोडेर धेरै अनुत्तरित प्रश्न छोडेर गएका छन् ।’ 

इतिहास तथा संस्कृतिविद् याक्थुम्बाका ‘मौलिक किरात धर्म संस्कार’, ‘किरात तीर्थस्थल सानोहात्तीवन’, ‘मुन्धुम र मिथकहरू’ र ‘को हुन् किरात र किरातलिम्बू ? के हो युमाधर्म ?’ गरी चारवटा पुस्तककृति प्रकाशित छन् । ‘किरात इतिहासमा बढी रुचि राख्ने उनले लिम्बु जातिको इतिहास, धर्म र संस्कृतिमाथि अध्ययनमा चासो राख्थे र यस क्षेत्रमा उनको योगदान कदरयोग्य छ । इमानसिंह चेम्जोङपछि इतिहासमा कलम चलाउने सुब्बा प्रेमबहादुर माबोहाङको ‘नेपालको संक्षिप्त इतिहास’ (विसं.२०११) पुस्तकको पुनःप्रकाशनमा उनको भूमिका पर्याप्त छ । मञ्जुल याक्थुम्बा हरेक विषय तौलेर बोल्ने र छानबिन गरेर निष्कर्षमा पुगेरमात्रै बोल्ने वा लेखन गर्ने स्वभावका हुनाले उनका लेखाइमा प्रामाणिकता पाइन्छ ।’ बैरागी काइँलाले लेख्नु भएको छ । 

मञ्जुल याक्थुम्बाले चार किरात एकताको नेतृत्व गर्दैगर्दा सदस्य–सचिवको भूमिकामा किरात राई यायोक्खाका तत्कालीन महासचिव राजबहादुर राई हुनुहुन्थ्यो । किरात समन्वय समितिको अध्यक्ष र सदस्यसचिवको समन्वयमा भएको हरेक निर्णयहरू चार किरात संस्था एकजुट हुन्थे। अनुसारसपना काठमाडौं उपत्यकामा राई र लिम्बुहरूको किरातकालीन पुरातात्विक वस्तु तथा अभिलेख संग्रहालयसहितको ‘किरात भवन’ निर्माण गर्नु थियो । तर पूरा भएन ।

किरात माङहिम सानो हात्तीवनको प्रसंगमा याक्थुम्बाले इतिहास पहिल्याउने काम गर्नुभयो । विसं. १९०५ भाद्र १२ गते तत्कालीन नेपाली सेनाभित्र राई र लिम्बुमात्र रहेको भैरवनाथ पल्टन गठन भएको थियो । ती पल्टनका सिपाहीहरू उधौली र उभौलीमा माझकिरात, पल्लोकिरात फर्किन सम्भव थिएन । त्यसैले उनीहरू सानो हात्तीवनस्थित जंगलमा उधौली र उभौलीमा भेला भएर पूजाआजा गर्थे । इतिहास उजागर भएपछि २०५६ माघ २० गते किरात माङहिम व्यवस्थापन समिति संस्था गठनसहित जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको थियो । सरकारले २०५८ चैत १६ गते सानो हात्तीवनको २.३४ हेक्टर क्षेत्रफललाई ‘किरात धार्मिक वन’ भनेर घोषणा गरिदिएको छ ।  

पशुपति क्षेत्र विकास कोषले २०५५ वैशाखमा वनकाली क्षेत्रमा रहेको किरातहरूको समाधिस्मारक भत्कायो । मञ्जुल याक्थुम्बाको अगुवाइमा राई, लिम्बु, याक्खा, सुनुवारको संस्थाले २०५५ जेठ १५ गते बैठक बसेर समाधिस्मारक भत्काएप्रति सरकारको प्रधानमन्त्री र कोषलाई नाराजुलुससहित ध्यानाकर्षणपत्र गराए । त्यसपछि याक्थुम्बाकै संयोजकत्वमा किरात समाधिस्थल संरक्षण संघर्ष समिति गठन गरेर विभिन्न कार्यक्रमसहित निरन्तर संघर्ष गरेका थिए । अन्ततः २०५५ साउन ७ गते पशुपति क्षेत्र विकास कोषले समाधिस्थल भत्काएप्रति दुःख प्रकट गर्दै क्षमायाचनासहित ३८ वटा समाधिलाई पुनःनिर्माण गरेको थियो । साथै, उक्त क्षेत्रमा किरातीले वैकल्पिक व्यवस्था नभएसम्म समाधिका रूपमा प्रयोग गर्न पाउने लिखित सहमति भएको थियो ।

त्यसपछि उनै याक्थुम्बाको अध्यक्षतामा चार किरात संस्था सदस्य रहेको किरात समन्वय समिति गठन भएको थियो । समन्वय समिति अहिले पनि अस्तित्वमा छ । समन्वय समितिले किरात राई, लिम्बु, याक्खा र सुनुवार सबैले मंसिरेपूर्णिमाको दिनलाई ‘किरात राष्ट्रिय चाड’का रूपमा मनाउन सरकारसँग माग ग¥यो । सरकारले २०५८ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित गरी किरात चाड तथा सार्वजनिक विदाको घोषणा गरेको थियो । अहिले २०८१ सालसम्म आइपुग्दा किरात समन्वय समिति थामी, हायु, सुरेल, जिरेलको सामाजिक संस्था जोडिएर ८ किरात जातीय संस्थाको साझा संस्था बनेको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं.१८ (साबिक वडा नं.१४) किरात राजा पटकको दरबार रहेको क्षेत्र व्यक्तिले आफ्नो नाममा पारेको पाइयो । चार किरात संस्थाले २०५७ चैतमा ललितपुर नगरपालिका, पुरातत्व विभाग, संस्कृति मन्त्रालयलगायत निकायमा ऐतिहासिक महत्वको जग्गा गैह्रकानुनी दर्ता खारेजीका लागि निवेदन दिएर तथा ध्यानाकर्षणपत्र, मागपत्र बुझाएको थियो । सम्बन्धित निकायहरूले कानुनी प्रक्रिया पु¥याएर २०६० वैशाखमा उक्त दरबार क्षेत्र ०–१२–०–३ ज.घ. नेपाल सरकारको स्वामित्वमा कायम भएको छ । 

त्यसैगरी सन् २००९ मा बैरागी काइँलाको नेतृत्वमा सम्पन्न किरात यले संवत् अध्ययन समन्वय समिति र किरात समन्वय समितिको संयुक्त आयोजनामा ‘किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी’ (नोभेम्बर १४ र १५, २००९) सम्पन्न भयो । विचार गोष्ठीमा किरात समन्वय समितिका संस्थापक अध्यक्ष तथा सल्लाहकारका रूपमा मञ्जुल याक्थुम्बाले आफ्नो विचारहरू समन्वयात्मक ढंगले प्रस्तुत गर्नुभएको थियो ।

‘..साँच्चै भन्ने हो भने यो हाम्रो देशमा बोल्नको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेजस्तै राज्यबाट हामीप्रति व्यवहार भएको हुनाले यो लिम्बूले मात्रै बोल्दा पनि सरकारले नसुन्ने । राईले बोल्दाखेरि पनि नसुन्ने । सुनुवारले मात्र बोलदा पनि नसुन्न । याक्खाले मात्र बोल्दा पनि नसुन्ने । किरात आवाजको सुनुवाइ कहिले पनि भएन । त्यसकारण हामी चारै किरातजन्य संस्थाहरू एक भएर सरकारसँग सिंगौरी खेल्नै प¥यो भन्न अभिप्रायले विसं.२०५५ सालमा यो किरात समन्वय समितिको गठन भएको हो ।(किरात येले संवत् अभिलेख, २०१०ः७२।’

२०४८ सालको राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात धर्म नभएपनि ‘किरात धर्म’ मान्नेको जनसंख्या ३ लाख १८ हजार देखियो । हरेक दश वर्षमा राष्ट्रिय जनगणना हुनेगर्छ । त्यसलाई किरात समन्वय समितिले एकतावद्ध गर्दै राष्ट्रिय जनगणना २०५८ मा धर्मको महलमा ‘किरात धर्म’ उल्लेख गर्न संयुक्त अपील जारी गर्‍यो । २०७८ सालको राष्ट्रिय जनगणनामा किरात धर्म मान्नेको जनसंख्या ९ लाख २४ हजार रहेको छ । यसरी मञ्जुल याक्थुम्बालाई किरात जाति एकताका खम्बाका उभिरहेको पाउँछौं । उहाँको योगदानलाई वर्तमान पुस्ताले स्मरण गर्ने र भावी पुस्ताका निम्ति प्रेरणाको स्रोतका रूपमा मञ्जुल याक्थुम्बा स्मृतिग्रन्थ स्मारक स्तम्भ बनेको पाइन्छ ।  

प्रतिक्रिया