तामाङ ज्ञान महोत्सवमा रिन्जिन दोर्जेको विशेष चर्चा, राजा होइनन् भन्नेले माफी माग्नु पर्छ : डा गणेश योञ्जन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ भदौ २०८२, बिहिवार
तामाङ ज्ञान महोत्सवमा रिन्जिन दोर्जेको विशेष चर्चा, राजा होइनन् भन्नेले माफी माग्नु पर्छ : डा गणेश योञ्जन

बिहीबारबाट राजधानीमा सुरु भएको दशौ तामाङ ज्ञान महोत्सवमा विविध विषयमा छलफल हुने कार्यक्रम तय भए पनि तेमालका राजा रिन्जिन दोर्जेको बिषयले प्रमूखता पाएको छ । गत साता तामाङ पत्रकार संघको कार्यक्रममा एक जना सञ्चारकर्मीले तेमालका राजा रिन्जिन दोर्जे नभएको टिप्पणी गरे पछि तामाङ समाजमा यस बिषयमा बहस हुँदै आएको छ । 

ज्ञान महोत्सवको उदेघाटन सत्रमा अधिकाँश वक्ताहरुले यस्तो भनाई राख्ने सञ्चारकर्मीको तिव्र आलोचना गरे । आफनो बोल्ने क्रममा जापानका लागि पूर्व राजदुत डा. गणेश योञ्जनले समेतले आलोचना गर्नु भयो । 

उहाँले तामाङ समाजको विश्वास बिरुद्ध बोल्ने व्यक्तिले माफी मागेर आफनो भनाई सच्याउनु हुने विश्वास व्यक्त गर्नु भयो । 

कार्यक्रमका अर्का वक्ता मानवशास्त्री डा. मुक्त सिंह लामाले रिन्जिन दोर्जे तेमालका राजा होइनन् भन्ने कुरा अप्रमाणित भएको बताउनु भयो । 

उहाँले पुरातत्व बिभागबाट २०४२ माघमा प्रकासित भएको प्राचीन नेपाल नामक जर्नलमा तेमाल निवासी भूपू न्यायधीश धर्मप्रसाद पाण्डेको हवाला दिएर चन्द्रप्रसाद त्रिपाठीको एउटा लेखका कारण यस्तो धारणा आएको हुन सक्ने बताउँदै त्यसको प्रमाण हालसम्म कसैले दिन नसकेको बताउनु भयो । 

च्यातिएको र दुइ टुक्रा भएको मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेनको ताम्रपत्रमा रिन्जिन दोर्जे राजा नभएर मिजार भएको दावी गरिए पनि सो ताम्रपत्र कसैले नदेखेको र स्वयम लेखकले च्यातिएर जोडेको कुरा गरेको हुँदा यो अप्रमाणित भएको दावी गर्नु भयो । 

अन्य लेखक तथा अनुसन्धानकर्ताहरुले तेमाल राज्यका तत्कालीन राजा रिन्जिन दोर्जे भएको उल्लेख गर्दै आएका छन् । 

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले पनि तत्कालीन तेमालका राजा रिन्जिन दोर्जे भएकोमा द्विविधामा नपर्न अपील गर्नु भयो । उहाँले दशौ ज्ञान महोत्सवमा सम्बोधन गर्नु हुँदै जित्नेहरुको मात्र इतिहास लेख्ने गरिएका कारण तेमालका राजाका सन्दर्भमा अहिले आएर विवादमा ल्याउन खोजेको बताउनु हुँदै यदी गोर्खालीसंगको युद्धमा तेमालले जितेको भए रिन्जिन दोर्जेको गाथा गाइने थियो भन्नु भयो । 

निष्णु थिङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको प्रमूख अतिथि खुला विश्व विद्यालयकी उपकुलपति प्राडा शिलु बजचार्य हुनु हुन्थ्यो । 

उद्घाटन सत्र पश्चात विद्वत प्रवचन दिदै भाषविद् अमृत योन्जन तामाङले मातृ भाषामा ज्ञान लुकेको भनाई राख्नु भयो ।

कार्यक्रममा महिला र समताको अधिकार विषयक कार्यपत्र सत्रमा सुमित्रा देवी घिसिङ, मायालु ङेसुर, सेतेमान तामाङ, सफलता थिङ, कृपास्वर घिसिङ र सञ्जिला मोक्तानले आफनो आफनो बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 
  

 

प्रतिक्रिया