गर्नुपर्छ । गरे हुन्छ । गर्न सक्नुपर्छ । गर्न पाइन्छ । गर्न जानिन्छ । गर्न सकिन्छ । गर्दै जानुपर्छ । गर्दै गर्दै जानुपर्छ । नियमित गर्नुपर्छ । निरन्तर गर्नुपर्छ । निरन्तर निरन्तर निरन्तर गर्नुपर्छ । भनिन्छ नि निरन्तर हिर्काए जस्तोसुकै शिलापहरा पनि भत्किन्छ । त्यसनिम्ति दृढता चाहिन्छ । राम्रो काम गर्न साइत कुर्नुपर्दैन भनेझैं छ, वाम्बुले राई मातृभाषाको कविता यात्रा । २०५५ कात्तिक १ गते वाम्बुले राई भाषाको पहिलो प्रतियोगिता भएको थियो ।
अहिले भरखरै २०८१ मंसिर २० गते वाम्बुले राई भाषाको २५औं कविता प्रतियोगिता तथा गोष्ठी खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.२ दाम्ली गाउँमा सम्पन्न भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २७औं स्थापना दिवसको अवसरमा आयोजित २५औं वाम्बुले राई भाषा कविता प्रतियोगिता तथा गोष्ठी, वाम्रास ज्येष्ठ नागरिक सम्मान तथा लिब्जु–भुम्जु पुरस्कार वितरण समारोह आयोजना गर्न नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौं र हलेसी तुवाचुङ नगरपालिका, खोटाङले सघाएका थिए ।
वाम्बुले भाषाको कविता प्रतियोगिता सम्पन्न स्थान र प्रथम पुरस्कार प्राप्त कविहरूः
१. पहिलो कविता प्रतियोगिता २०५५, थाक्ले–७ हिलेपानी, ओखलढुंगा
प्रथम– प्रमोद दीनदुःखी राई (हिलेपानी, ओखलढुंगा)
२. दोस्रो कविता प्रतियोगिता २०५६, थाक्ले–७ हिलेपानी, ओखलढुंगा
प्रथम– भुवन गुर्भा राई ‘आँसु’ (सोक्मटार, ओखलढुंगा)
३. तेस्रो कविता प्रतियोगिता २०५७, थाक्ले–७ हिलेपानी, ओखलढुंगा
प्रथम – बिरही कुइटले रार्ई (खाम्डुङ, खोटाङ)
४. चौथो कविता प्रतियोगिता २०५८, उँबु–९ फोकुल, ओखलढुंगा
प्रथम – हिम किरात (हिलेपानी, ओखलढुंगा)
५. पाँचौं कविता प्रतियोगिता २०५९, मानेभन्ज्याङ–५, ओखलढुंगा
प्रथम – लीलाबहादुर गोरठोके राई (उदयपुर, ओखलढुंगा)
६. छैटौं कविता प्रतियोगिता २०६१, थाक्ले–७ हिलेपानी, ओखलढुंगा
प्रथम – दुर्गा बैरागी राई (उँबु, ओखलढुंगा)
७. सातौं कविता प्रतियोगिता २०६२, उँबु–४ काकड्याम, ओखलढुंगा
प्रथम– बिर्जमान राई (उदयपुर, ओखलढुंगा)
८. आठौं कविता प्रतियोगिता २०६३, मानेभन्ज्याङ–७ उदयपुर, ओखलढुंगा
प्रथम– कल्याण पाहुना राई (फोकुल, ओखलढुंगा)
९. नवौं कविता प्रतियोगिता २०६४, उँबु–१ रिनुवाल, ओखलढुंगा
प्रथम– क्षमराज राई ‘प्रहार’ (सोक्मटार, ओखलढुंगा)
१०. दशौं कविता प्रतियोगिता २०६५, थाक्ले–८ सोक्मटार, ओखलढुंगा
प्रथम– बिबि राई ‘निर्माण’ (उँबु, ओखलढुंगा)
११. एघारौं कविता प्रतियोगिता २०६६, बाहुनीडाँडा–७ झाप्पाद्याल, खोटाङ
प्रथम– कमल राई (रिचुवा, ओखलढुंगा)
१२. बाह्रौं कविता प्रतियोगिता २०६७, उँबु–४ काकड्याम, ओखलढुंगा
प्रथम– रिखाधन राई (झाप्पा, खोटाङ)
१३. तेह्रौं कविता प्रतियोगिता २०६८, उँबु–४ रिनुवाल, ओखलढुंगा
प्रथम– मिलनकुमार राई (रिनुवाल, ओखलढुंगा)
१४. चौधौं कविता प्रतियोगिता २०६९, मानेभन्ज्याङ–५ उदयपुर, ओखलढुंगा
प्रथम– मीनामाया राई (उदयपुर, ओखलढुंगा)
१५. पन्ध्रौं कविता प्रतियोगिता २०७०, बाहुनीडाँडा–७ झाप्पाद्याल, खोटाङ
प्रथम– विनोद वाम्बुले राई (झाप्पा, खोटाङ)
१६. सोह्रौं कविता प्रतियोगिता २०७१, सोक्मटार, ओखलढुंगा
प्रथम – संगीता अत्यासी राई (झाप्पा, खोटाङ)
१७. सत्रौं कविता प्रतियोगिता २०७२, तार्कोम, ओखलढुंगा
प्रथम– अनायसी बिनेस वाम्बुले (लिङलाम, खोटाङ)
१८. अठाह्रौं कविता प्रतियोगिता २०७३, मानेभन्ज्याङ–५ उदयपुर, ओखलढुंगा
प्रथम– गगनबहादुर राई (हिलेपानी, ओखलढुंगा)
१९. उन्नाइसौं कविता प्रतियोगिता २०७४, कटारी–४ उदयपुर
प्रथम– कान्छिमा पुतली राई (फोकुल, ओखलढुंगा)
२०. बीसौं कविता प्रतियोगिता २०७५, मानेभन्ज्याङ–५ ओखलढुंगा
प्रथम– प्रशान्त राई ‘प्रकृति’ (माथिल्लो रिचुवा, ओखलढुंगा)
२१. एक्काइसौं कविता प्रतियोगिता २०७६, मानेभन्ज्याङ–१ मोली, ओखलढुंगा
प्रथम– शितल राई ब्राङख्याल्चो (मोली, ओखलढुंगा)
२२. बाइसौं कविता प्रतियोगिता २०७७, अनलाइन (भर्चुअल) माध्यम
प्रथम– अम्बिर राई (झाप्पा, खोटाङ)
२३. तेइसौं कविता प्रतियोगिता २०७८, अनलाइन (भर्चुअल) माध्यम
प्रथम– भलामान राई (वाक्सा, ओखलढुंगा)
२४. चौबिसौं कविता प्रतियोगिता २०८०, धरान, सुनसरी
प्रथम– रेनुका वाम्बुल राई (उँबु, ओखलढुंगा)
२५. पच्चिसौं कविता प्रतियोगिता २०८१, दाम्ली, खोटाङ
प्रथम– मंगलदर्शन राई (हिलेपानी, ओखलढुंगा)
देश नेपालमा चलेको सशस्त्र द्वन्द्वको कारण २०६० सालमा वाम्बुले राई भाषाको कविता गोष्ठी हुनसकेन । त्यो वर्ष कविता गोष्ठी आयोजना गरिएको भए सायद क्रान्तिकारीले सहभागी युवाहरूलाई बटुलेर क्रान्तिको बाटोमा उभ्याउने निश्चित थियो । यसैगरी कोरोना महामारी फैलिएपछि २०७८ सालमा अनलाइन (भर्चुअल) माध्यमबाट वाम्बुले भाषाको २२औं र २३औं कविता प्रतियोगिता सम्पन्न गरिएको थियो । २०७९ सालमा डेङ्गु महामारी र आर्थिक मन्दीको कारण कविता प्रतियोगिता हुन सकेन ।
ओखलढुंगा र खोटाङको वाम्बुले राईहरूको मौलिक थातथलो घनाबस्तीमा हुँदैआएको छ । निश्चित गाउँहरूमा दोहोरिएर कविता गोष्ठी भएका छन् । उदयपुरको कटारीमा १९औं कविता प्रतियोगिता भएको थियो भने सुनसरीमा वाम्बुले भाषाको २४औं कविता प्रतियोगिता २०८० मंसिर २० गते सम्पन्न भएको छ ।
वाम्बुले राई भाषाको पहिलो कविता प्रतियोगिता नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीका अवसरमा आयोजना गरिएको थियो । दस वर्षसम्म देवकोटा जयन्तीकै अवसरमा आयोजना गरियो । त्यसो गर्नुको दुई कारण थिए– १) महाकवि देवकोटा नै कविताका बहार हुन् भन्ने समुदायमा जो परेको छ । त्यो सत्य पनि हो । त्यसो गर्दा आम वाम्बुले मातृभाषी युवाहरूको आकर्षण बढ्छ र बढ्यो पनि । र २) महाकवि देवकोटा जयन्तीका अवसरमा आयोजना गरिएको भनेपछि आमसञ्चारका माध्यमहरू पनि समाचार छापिदिन्छन्, प्रसारण गरिदिन्छ । र वाम्बुले राई मातृभाषा साहित्यको प्रवद्र्धन हुनेछ । नभन्दै पहिलो कविता प्रतियोगिताको समाचार गोरखापत्र दैनिकमै छापिएको थियो पनि ।
निरन्तर दस वर्षसम्म देवकोटा जयन्तीका अवसरमा सम्पन्न हुँदैगर्दा युवाहरू एकखाले तर्क आयो– कि महाकवि देवकोटाले वाम्बुले राई भाषाका निम्ति के गरेका छन् र हामीले सम्झिरहनु पर्ने ? त्यसलाई पुष्टि गर्ने आधार त पक्कै पनि थिएन । यद्यपि दसौं वर्षमा वाम्बुले राई चित्रकारले महाकवि देवकोटाको पोट्रट आकारको सुन्दर मुहारचित्र कोरेका थिए र कविता प्रतियोगिता समारोहको अग्रभागमा सजाएर माल्यार्पण गरिएको थियो ।
तर्क जन्मिदै गर्दा लाग्यो कि अबचाहिं मातृभाषा साहित्यको महत्वप्रति वाम्बुले राई समुदायका युवाहरू चेतना पलाउन थालेछ । अनि भनियो– त्यसो भएर २०६६ सालमा हुने ११औं वाम्बुले राई भाषाको कविता गोष्ठी पहिलो किरात हाङ यलम्बरको स्मृतिमा आयोजना गरौं । हुन्छ भन्ने स्विकृतिका शब्द आयो र एघारौं वाम्बुले राई भाषाको यलम्बर स्मृति कवितागोष्ठी आयोजना गरियो ।
वाम्बुले राई समाज, नेपाल (वाम्रास) र वाम्बुले राई साहित्य प्रकाशन लिब्जु–भुम्जु पत्रिका परिवारले कविता प्रतियोगिताको आयोजना गर्दै आएको हो । त्यतिखेर दसैं र तिहार बिचको समयमा कविता प्रतियोगिता हुन्थ्यो । यो समय किनपनि रोज्नुको दुई कारण थिए– १) सहर पसेका युवाहरू दसैं र तिहार मनाउन गाउँघर फर्किन्छन् । र २) यो शरद ऋतु हो त्यतिखेर गाउँघर डाँडापाखा हरियाली हुन्छ । फूलैफूलको मौसम, सुरम्य, मनमोहक वातावरण, प्रेमिल अनुभूति हुन्छ । कविता लेखौं लेखौंको वातावरण हुन्छ ।
अन्ततः १४औं वाम्बुले राई भाषाको यलम्बर स्मृति कवितागोष्ठी ओखलढुंगाको मानेभन्ज्याङ–५ उदयपुर गाउँमा सम्पन्न भइरहेको थियो । प्रस्ताव आयो कि अबदेखि वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको स्थापना दिवस मंसिर २० गते पारेर कविता प्रतियोगिता आयोजना गरौं । आयोजक वाम्रास संस्थामात्र राखौं । त्यतिन्जेल हरेक वर्ष आयोजना गरी संकलन गरिएका प्रतियोगी र अप्रतियोगी वाम्बुले भाषाका कविताहरू ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकामा छापिदै आएका थिए । त्यसयता कविता प्रतियोगिताबारे फोटोसहित लेखहरू छापिदै आएका छन् । २०७० सालदेखि वाम्रास संस्थाको स्थापना दिवस मंसिर २० गतेको अवसर पारेर कविता प्रतियोगिता तथा गोष्ठीको आयोजना गरिदै आएको छ ।
संस्थाले आफ्नो उद्देश्य प्राप्तिलाई लिएर १९औं कविता प्रतियोगितामा ‘सुरिम’, २०औं कविता प्रतियोगितामा ‘खाक्चिलुपा रिनाखा’, २४औं कविता प्रतियोगितामा ‘इक किरात प्रदेस’ र २५औं कविता प्रतियोगितामा ‘पिलुम्बा’ शीर्षक तोकेर कविता प्रतिस्पर्धा गराएको छ । तोकिएका ‘सुरिम’, ‘खाक्चिलुपा रिनाखा’, र ‘पिलुम्बा’ शीर्षकले मुन्दुम संस्कृतिलाई पृष्ठपोषण गर्दछन् भने ‘इक किरात प्रदेस’ (हाम्रो किरात प्रदेस)ले इतिहास तथा राजनीतिक पृष्ठभूमिको प्रतिनिधित्व गर्दछ । ती कवितालाई संग्रहका रूपमा प्रकाशन गरिएकाले अध्ययन, अनुसन्धानकर्मीका निम्ति सन्दर्भ स्रोतका रूपमा लिन सकिन्छ ।
२०५० सालमा लिब्जु–भुम्जु पत्रिका प्रकाशनमा आएयता ‘वाम्बुले राई शब्दकोश’ २०५७ सालमा प्रकाशित छ । त्यसपछि वाम्बुले भाषा, साहित्य, संस्कृति, मुन्दुमलाई लिएर करिब तीन दर्जन पुस्तक कृति प्रकाशित छन् । नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा ती कृतिहरू छापिएका हुन् । दुईवटा वृत्तचित्र, दुई चलचित्र, तीनवटा गीति एल्बम प्रकाशित छन् ।
वाम्बुले मातृभाषा अभियन्ता वाम्बुले कवि व्याकुल माइला देशको राष्ट्रगानका रचनाका बन्नु समुदायको अहोभाग्य हो, जो २५औं वाम्बुले राई भाषाको कविता प्रतियोगिताको प्रमुख अतिथिको भूमिका थिए । एक विदेशी विद्वानले वाम्बुले भाषामा विद्यावारिधि हासिल गरेका छन् । वाम्बुले भाषा, साहित्य, संस्कृतिमा दर्जन जति विश्वविद्यालयको स्नातकोत्तर शोधकार्य पूरा भएको छ । त्रिवि भाषाविज्ञान केन्द्रीय विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग, आदिवासी जनजाति आयोगलगायत निकायले वाम्बुले राई जाति, भाषा, संस्कृतिका विषयमा चासो राख्दैआएका छन् ।
वाम्बुले भाषाको कविता प्रतियोगिता आयोजना गर्नुको मकसद समाजलाई जगाउनु हो । समाजले साथ लिन सकेकाले परिकल्पना साकार हुँदैगएको छ । यस पंक्तिकार २०५० सालदेखि ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) साहित्यिक त्रैमासिक पत्रिकाको सम्पादन तथा प्रकाशन गर्दैआएको छ । अनि वाम्रास संस्थाको संस्थापक सदस्य तथा वाम्रास केन्द्रीय कार्यसमितिअन्तर्गत भाषा, साहित्य तथा संस्कृति विभाग प्रमुखको भूमिका निर्वाह गर्दैआएको छ ।
२०५५ सालमा जुन उत्साहका साथ मातृभाषामा पहिलो कविता प्रतियोगिता आयोजना गर्न जुटेका थिए, २५औं शृंखलामा पनि उत्तिकै उत्साहका साथ जुट्नु पर्दा त्यो युवाकाल र यो ढल्किदो बुढेकालको तादाम्यता हेर्दा अब नयाँ पुस्तामा कसरी पुस्तान्तरण गर्ने भन्नेचाहिं गम्भीर प्रश्न आफैंलाई तेस्र्याइरहनु परेको अवस्था छ ।
तस्बिरः लिब्जु–भुम्जु डिजिटल अर्काइभबाट