नेवा–ताम्सालिङ आन्दोलनका लागि पनौतीमा साझा घोषणापत्र सार्वजनिक, संघर्ष समिति बन्दै

Admin
Admin८ माघ २०८०, सोमवार
नेवा–ताम्सालिङ आन्दोलनका लागि पनौतीमा साझा घोषणापत्र सार्वजनिक, संघर्ष समिति बन्दै

बागमती प्रदेशलाई पुनःनामाकरण गरी नेवा–ताम्सालिङ कायम गर्न नेवा आदिवासीहरुले आन्दोलन थाल्ने भएका छन् । काभ्रेको पनौतीमा आयोजित १४ औं नेवाः राष्ट्रिय एकता दिवसमा पनौती घोषणापत्र जारी गर्दै आन्दोलन थाल्ने  घोषणा गरिएको हो ।

सो घोषणापत्रमा नेवा समुदायका प्रतिनिधिहरुले साझा सहमति व्यक्त गर्दै प्रतिबद्धतासमेत व्यक्त गर्नू भएको थियो ।नौ बुँद पनौती घोषणापत्रमा बागमती प्रदेश पुननामाकरण आन्दोलनका लागि तामाङ जातिसंग सहकार्य गरेर संयुक्त संघर्ष समिति निर्माण गर्ने उल्ल्ेख छ । यस अघि तामाङहरुको जातीय संस्था नेपाल तामाङ घेदुङको पहलमा पूर्व राजदूत डा. गणेश योञ्जनको अध्यक्षतामा ताम्सालिङ संयुक्त संघर्ष समिति गठन भएको छ । सो समितिको सदस्य सचिवमा घेदुङका अध्यक्ष मोहन गोले तामाङ हुनुहुन्छ ।

नेवाहरुले जारी गरेको घोषणापत्र सोही संघर्ष समितिलाई बल पु¥याउने गरी जारी भएको नेवा अगुवाहरुको अभिमत रहेको छ । घोषणा पत्रमा संविधानप्रदत्त अधिकार धर्मनिरपेक्ष, गणतन्त्र र पहिचानसहितको संघीय प्रणालीको रक्षा र सुद्दिढिकरण गर्न पहल गर्ने पनि उल्ल्ेख गरिएको छ ।  

यसै गरी हाल बागमती प्रदेशले जारी गरेको भाषा ऐन व्यबहारमा लागु गराउन पहल गर्ने र अन्य प्रदेशमा पनि नेवा भाषालाई सरकारी कामकाजकोस्तरमा विकास गर्न भूमिका निर्वाह गर्ने उल्लेख छ ।

घोषणापत्रमा आदिवासीलाई साँस्कृतिक थाकथलोबाट विस्थापित गराउने षडयन्त्र विरुद्ध प्रतिरोध गर्ने लगायतका बुँदा समेटिएका छन् ।घोषणापत्रमा बागमती प्रदेश भित्रका थोरै जनसंख्या भएका आदिवासी जनजातिको सन्दर्भमा पनि बोलिएको छ । ‘अल्पसंख्यकको सामाजिक, साँस्कृतिक र अधिकार सुनिश्चित गर्न संरक्षित, स्वायत्त र विशेष क्षेत्र घोषणा गराउन पहल गरिनेछ ।’ सो घोषणापत्रमा भनिएको छ ।

पहिलोपटक उपत्यका बाहिर मनाएको नेवा एकता राष्ट्रिय दिवसको  अवसरमा जारी भएको घोषणा पत्र समारोहमा सामुहिक बाचन गरेर  प्रतिबद्धता व्यक्त गरिएको थियो । सो घोषणपत्र जारी गर्दा नेवाः देय् दबूका केन्द्रीय पदाधिकारीसहित नेवाः देय् दबूमा संयोजित विभिन्न राजनीतिक दल निकट नेवारहरूको जातिय संगठनहरु, नेवासम्बद्ध संस्थाहरु, गुठी लगायतका प्रथाजनित संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

१४ बर्ष अगाडि काठमाडौमा नेवाः स्वायत्त राज्य घोषणा गरेको स्मरणमा नेवाः एकता दिवश मनाइने गरिएको छ । यस पटक उपत्यका बाहिर पनौीतमा सो  नेवाः राष्ट्रिय एकता दिवस मनाइएको हो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कन्चनचन्द्र वादे श्रेष्ठ प्रमूख अतिथि हुनु हुन्थ्यो । उहाँले सम्बोधका क्रममा नेवाताम्सालिङ आन्द्योलनका बारे केही नवोले पनि नेवाः एकता हुनुपर्नेमा जोड दिनु भयो । उहाँले  नेवाःहरू एकजुट भइ नेवाः सभ्यता बचाउनु पर्ने भनाई राख्नु भएको थियो ।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पनौतीमा नेवाः राष्ट्रिय एकता दिवस मनाइएकोमा आयोजकलाई धन्यबाद दिनुभयो ।नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्रमान वज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा देय् दबूका केन्द्रीय सदस्य तथा पनौतीका सामाजिक अभियन्ता सुरेश सैंजुले स्वागत मन्तव्य राख्नुभएको थियो ।

यसैगरि  नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले नेवाः एकता दिवसका विभिन्न पक्षको बारेमा जानकारी दिनुभयो । यस अघि नेवा समुदायको झाँकी र बाजागाजा सहितको र्याली पनौतीको ध्वाखा फःबाट नगरपरिक्रमा पश्चात् लायकु डबलीमा सभामा परिणत भएको थियो ।
कार्यक्रम नेवाः देय् दबू काभ्रेलगायतका विभिन्न संघसंस्थाहरुको संयुक्त व्यवस्थापनमा भएको हो ।

 

प्रतिक्रिया