सोवारिग्पाको उपचार पद्धतिमा महिला आम्ची, चर्चामा भने पुरुष मात्र

Admin
Admin२१ असोज २०८३, बुधवार
सोवारिग्पाको उपचार पद्धतिमा महिला आम्ची, चर्चामा भने पुरुष मात्र


हिमाली आदिवासी समुदायको परम्परागत उपचार पद्धति सोवारिग्पामा महिला आम्चीको योगदान महत्वपूर्ण भए पनि सार्वजनिक चर्चा र दस्तावेजीकरणमा पुरुष आम्चीलाई मात्र प्राथमिकता दिइएको अनुसन्धानले देखाएको छ।

आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड)ले गरेको अध्ययनअनुसार जडीबुटी पहिचान, संकलन तथा प्रशोधनदेखि औषधि व्यवस्थापन र उपचारसम्म महिला आम्चीको महत्वपूर्ण भूमिका रहँदै आएको छ। सिप्रेडका अध्यक्ष प्राडा. पासाङ शेर्पाले यसअघिका अध्ययनमा महिला आम्चीको ज्ञान, सीप र योगदान पर्याप्त रूपमा दस्तावेजीकरण नभएको बताउनुभयो।

महिला आम्चीले रोग पहिचान तथा रोगअनुसार औषधि उपचार गर्न सक्ने उल्लेख गर्दै उहाँले विशेषगरी प्रजनन स्वास्थ्य र यौनजन्य रोगको उपचारमा महिला आम्चीको भूमिका अग्रस्थानमा रहेको बताउनुभयो।

“यसअघिका अध्ययनमा सोवारिग्पा पद्धतिमा पुरुष आम्चीको मात्र चर्चा हुने गरेको थियो। तर अनुसन्धानबाट महिला आम्चीको भूमिका पनि अत्यन्त महत्वपूर्ण रहेको पाइएको छ,” प्राडा. शेर्पाले भन्नुभयो। उहाँका अनुसार महिला आम्ची दुई प्रकारका छन्—आफैँ आम्चीको अभ्यास गर्ने महिला र पुरुष आम्चीका श्रीमती, जसले औषधि प्रशोधन तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

अनुसन्धानकर्ता नरेन्द्र लामाका अनुसार महिलाहरू परम्परागत रूपमा पहिलो स्वास्थ्यकर्मीका रूपमा समेत रहँदै आएका छन्। महिला आम्चीले रोग पहिचान तथा रोगअनुसार औषधि उपचार गर्न सक्ने उल्लेख गर्दै उहाँले विशेषगरी प्रजनन स्वास्थ्य र यौनजन्य रोगको उपचारमा महिला आम्चीको भूमिका अग्रस्थानमा रहेको बताउनुभयो। उहाँका अनुसार पहिले परम्परागत रूपमा ज्ञान र सीप सिकेका महिलाहरू अहिले औपचारिक शिक्षा लिएर पनि आम्चीका रूपमा अभ्यास गरिरहेका छन्।

सिप्रेडकी कार्यकारी निर्देशक डा. पासाङ डोल्मा शेर्पाले हिमाली आदिवासी महिलासँग रहेको आम्चीसम्बन्धी ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नु अनुसन्धानको प्रमुख उद्देश्य रहेको बताउनुभयो। “आदिवासी महिलासँग रहेको ज्ञान र सीप पुस्तान्तरण गर्न सके यसबाट आदिवासी समुदाय मात्र होइन, अन्य समुदाय पनि लाभान्वित हुन सक्छन्,” उहाँले भन्नुभयो।

प्राडा. पासाङ शेर्पाको नेतृत्वमा गरिएको अनुसन्धान गोरखा, मुस्ताङ र काठमाडौंमा केन्द्रित थियो। अनुसन्धानमा डा. तेन्जिङ धार्के गुरुङ, आङनिमा ह्योल्मो, डा. आम्ची रिछो लामा, नरेन्द्र लामा, नुर्बु स्याङवोलगायत सहभागी थिए। सोवारिग्पा हिमाली आदिवासी समुदायको परम्परागत ज्ञानमा आधारित उपचार पद्धति हो भने यसबाट उपचार गर्ने चिकित्सकलाई आम्ची भनिन्छ।

सिप्रेडले आयोजना गरेको अनुसन्धान प्रमाणीकरण कार्यशालामा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, प्राडा. गणेशमान गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा ह्योल्मोलगायतले सम्बोधन गर्नुभएको थियो।

प्रतिक्रिया