पूर्वी पहाड, हड्सनले केलाएको नेपाल र बदलिएको जनजीवन

कुब्जोङ किरात
कुब्जोङ किरात१८ फागुन २०८०, शुक्रवार
पूर्वी पहाड, हड्सनले केलाएको नेपाल र बदलिएको जनजीवन

यहाँ चारजना ढाक्रेको फोटो प्रस्तुत गरिएको छ । अनुमानमात्र गर्ने हो भने पनि यो फोटोले दुई पुस्ता प्रतिनिधित्व गरेको छ । यथार्थमा ओखलढुंगातिरका किरात राई रस्तीबस्तीमा मान्छेहरू नुन, भुटुन, मट्टितेल, फलाम, खिच्रिङमिच्रिङ लिन ढाकर बोकेर मधेस अम्टाइ हाट (हालको कटारी बजार) झर्थे । नाम्लो, बरियो, खकनले खिपेको डोको (ढाकर) पिठ्युँमा बोकेर, हातमा सतिबयर, पैनेटीजस्ता काठको टोक्मा टेक्दै मधेस झर्थे । हिउँदमासमा पहाड र हिमाली भेगबाट सुन्तला, आलु आदि खाद्यवस्तु बोकेर हाट भर्न झर्थे । तात्कालिक समाजको प्रतिनिधित्व गर्ने यी पात्रहरू दुइदाजुभाइ, आमा र छोरा पहाडी पखेराबाटो कुइनेटो नाघ्नै लागेको देखिन्छ । आङ ढाक्न भोटो, गुप्ताङ्ग छोप्नेगरी एक पुरुषले कछाड (धोती) बेरेका छन् भने दुई पुरुषले कट्टु लगाएका छन् । महिलाले गुन्युचोली पहिरिएकी छिन् । यो पहिरहने २०औं शताब्दीको प्रतिनिधित्व गर्छ । 

पूर्वी पहाड उदयपुर, सिन्धुली, ओखलढुंगा, खोटाङ, सोलुखुम्बुको जनजीविकाको कथा यो तस्बिरले उजागर गरेको छ । आदिवासी जनजीवन उतिबेला आफ्नो खोरियाबारीमा उब्जेका मकै, कोदो बालीले नपुगेर वनजंगलमा कन्दमूल खनी–खोस्री गरेर जीविकोपार्जन गर्नुपथ्र्यो । त्यतिले नधानेपछि पैदल यात्रा गरेर मधेसबाट अन्नपात, खाद्यान्न लिन जानुपथ्र्यो । दुधकोसी र सुनकोसीको उद्गमदेखि संगमसम्मको भूगोलका बस्तीहरूका मान्छेहरू अक्सर हिउँदमासमा मधेसतिर ओर्लिन्थे । साँझ नपरिन्जेलसम्म सुनकोसी घाट तारिन्थे । घटुवारेले डुंगा तारेवापत प्रतिव्यक्ति चार आना खेवा लिन्थे । 
राई, मगर, तामाङ समुदायका भने महिला पनि नुन लिन कटारी पुग्थे । नुनसँगै मट्टीतेल, सक्खर, चिउरा, चामल, लुगाफाटा किन्थे । कटारी अम्टाइ हाट नबनेसम्म पहाडे ढाक्रेहरू गोदार चिसापानी पुग्थे (नवीन विभाष, कटारी क्याराभानको ट्रयाजेडी ः २०७८) । चामल लिन धनुषाको मिर्चैयासम्म झर्नुपथ्र्यो । 

उहिले खुम्बुमा भोटे नुन याकले बोक्थ्यो । याकले नाङपाला पास गरेर नाम्चे ल्याउँथ्यो । त्यहाँबाट उँधो जोक्पेले बोक्थ्यो । शेर्पा तल ओर्लेर भोटे नुनसित मकै, आलु र सेतो सिमी साट्थे । तर हिउँको उच्चाट बाटो छिचोलेर आउने भोटे नुनको भर नपरेपछि मधेस झर्ने क्रम सुरु भएको हो । कात्तिक–मंसिरतिर पहाडबाट आलु बोकेर कटारी हाट भर्न ढाक्रेहरू हजारौं हुन्थे । मधेसतिरबाट सयौंको संख्यामा घोडा, ऊँट र बयलगाडाहरू लिएर मधेसी व्यापारीहरू भित्री मधेसको हटिया आउँथे (ऐजनः विभाष)।

वास्तवमा यी खनीखोस्री गर्ने समुदायको पहिचान उजागर गर्ने पहिलो व्यक्तिका रूपमा ब्रायन हफ्टन हड्सन थिए । उनले नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेले ।

वास्तवमा यी खनीखोस्री गर्ने समुदायको पहिचान उजागर गर्ने पहिलो व्यक्तिका रूपमा ब्रायन हफ्टन हड्सन थिए । उनले नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेले । बेलायती नागरिक हड्सनको जन्म सन् फेब्रुअरी १, १८०० मा भएको थियो ।  उनी सन् १८१८ मा बेलायतबाट भारत आए । इस्ट इण्डिया कम्पनीमा संलग्न रहे । पछि सन् १८२० मा सहायक रेजिडेन्टको रूपमा नेपाल आए । केही वर्ष कार्यबाहक रेजिडेन्ट र करिब एघार वर्षसम्म नेपालका लागि ब्रिटिस रेजिडेन्टको रूपमा काम गरे । उनले २३ वर्ष लामो समय नेपालमा बिताए । सन् १८४३ मा उनलाई रेजिडेन्टको पदबाट हटाइयो । त्यसपछि उनले इस्ट इन्डिया कम्पनीको सेवाबाट नै राजीनामा दिए । 

इतिहासविद् त्रिरत्न मानन्धरको अनुसार हड्सनका कार्यकलापलाई दुई भिन्नाभिन्नै दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । एउटा कूटनीतिज्ञको रूपमा तथा अर्को विद्वान् अनुसन्धानकर्ताको रूपमा । कूटनीतिज्ञका रूपमा हड्सनलाई नेपाल र नेपालीप्रति कुनै माया मोह थिएन । तर उनको रूचि, खोजअनुसन्धान कार्यले गर्दा सधैंसधैंका निम्ति नेपाल र नेपालीका निम्ति उनी अविष्मरणीय पात्रका रूपमा रहने गरेका छन् । रहिरहने छन् । 
नेपालको बौद्ध धर्म, चराचुरुंगी, जनावर तथा जातजातिबारे उनले त्यति बेला गरेका खोजी र परिश्रमकै फलस्वरूप नेपालका ती धरोहर आजसम्म पनि जीवित भई विश्वसामु नमुनाका रूपमा रहेको मानन्धर उल्लेख गर्छन् । हड्सनले नेपालमा पाइने विभिन्न चराचुरुंगी, जनावर, मन्दिर, दरबार, सडक आदिका चित्रहरू पनि ठूलो मेहनत गरी खोजेर प्रस्तुत गरेका छन् । उनको प्राज्ञिक योगदानका निम्ति हड्सनलाई ‘हिमाली अध्ययनको पितामह’ तथा ‘हिमालयका ऋषि’ पनि भन्ने गरिन्छ (त्रिरत्न मानन्धर, ब्रायन हड्सनको जीवनी कृतिः २०७३)।

सन् १८२० देखि १८४३ सम्म नेपालमा बसेका ब्रिटिस कूटनीतिज्ञ हड्सनलेनेपालका जातजाति, भाषाहरूको अध्ययन अनुसन्धान गरेरे प्रकाशनमा ल्याएकैले वर्तमान नेपालका जातजाति, भाषाहरूको तुलनात्मक अध्ययन, अनुसन्धान कार्य भइरहेको छ । हड्सनले नेपालको न्याय व्यवस्थाबारे पनि गहिरो अध्ययन गरेका थिए । राणाकालपूर्वको नेपालको न्याय प्रणाली अध्ययन गर्ने प्रमुख स्रोत नै हड्सनको कृतिलाई मान्नुपर्ने इतिहासविद मानन्धरको कथन छ । 

हड्सन नेपालबाट बिदा भएर करिब दुई वर्षसम्म बेलायतमा रहे । त्यसपछि उनी फेरि भारत फर्के करिब तेह्र वर्षसम्म दार्जिलिङमा बसोबास गरे । दार्जिलिङको तेह्र वर्ष बसाइमा हड्सनको प्राज्ञिक जीवन अत्यन्तै महत्वपूर्ण समय साबित भएको विज्ञको ठम्याइ छ । यसबीच उनले नेपालमा रहँदा संकलन गरेका सामग्रीहरू प्रकाशनमा आए र हड्सन एकजना कूटनीतिज्ञको रूपमा नभई विद्वान् अनुसन्धानदाताको रूपमा विश्वसामु चिनिए । तर पनि पश्चिमी प्राज्ञिक जगतले हड्सनका कृतिलाई त्यतिको मान्यता दिएन । पुस्तकमा उल्लेख भएअनुसार उनका सबैजसो कृति भारतबाट निस्कने जर्नलहरूले प्रकाशनमा ल्याएका थिए (मानन्धर) ।

कुनै पनि खोज अनुसन्धान गर्ने मानिसले कि जानेर उपद्रो गर्दछन् कि त नजानेर भुल गर्छन् । यसै क्रममा हड्सनले नेपालमा भएको विभिन्न मौलिक नामलाई, समुदायलाई र भूगोलहरूको असली पहिचानलाई तोडमोड वा अप्रभंस गरी एक प्रतिष्ठित, ऐतिहासिक र परिचित नामलाई अर्को आयातित र प्रतिकुल नामाकरण गरी अभिलेखिकरण गरेको पाइन्छ ।

हड्सनले गरेका प्राज्ञिक कार्य सबै तथ्यपरक थिएनन् भन्ने छ । यसबारे नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला भन्छन्– हज्सन १३ वर्ष दार्जिलिङमा बसे, १८४५–१८५८ सम्म । त्यसभित्र यहाँ नेपालमा बसेको सूत्रहरू काम लाग्यो । काठमान्डु बस्दा जंगबहादुरसँग राम्रो सम्बन्ध कायम गरेका रहेछ । जगबहादुर भरखर दरबारमा पसेकोमात्र ३ सरकार भएको थिएन । यो गएको अर्को साल जंगबहादुर श्री ३ सरकार भए क्यारे । हज्सनलाई तिनको भाइसरायले फिर्ता बोलायो । नेपालको राजनीतिमा बढ्ता हस्तक्षेप ग¥यो भनेर । तर फाइदाचाहिं के भयो भने पछि गोर्खाली फौज खडा गर्नुमा उसको ठूलो हात छ । ब्रिटिस गोर्खा बनाउनुमा । यसले धेरै काम गरेको छ । कतिवटा गाउँमा हेरें । एक ठाउँ, दुई ठाउँ फलनाको मुख जमानी, फलनाको मुख जमानी, गाउँको नाउँ एउटा एउटा दिएको रहेछ । अझै छ, त्यहाँ गएर खोज्नु पर्छ ।

यसले गरेको सबै थोक हो । भाषा, साहित्य, संस्कृति सबै गरे । एन्थ्रपोलोजी भन्छ नि अहिले । त्यसको सुरुवात उनले गरेको हो । अनि यसले जीवजन्तु, बनस्पति, रुखपात अध्ययन गरे । रुखपातमा मात्र चाहिं फोकरले ग¥यो क्यारे । यसरी गरेको छ यसले । यसरी एकथोकमात्र गरेको छैन । अचम्म अचम्मका कुराहरू भेटिन्छ उनको कलेक्सनमा । कति ठिक भेट्यो । कति बेठिक भेट्यो । अहिले हेर्दा मान्छेलाई बेठिक जस्तो लाग्छ । त्यतिबेलाका मान्छेले त्यही सूचना दिए । त्यही टिप्यो उसले (काइँला, २०७३ चैत १८ )। 

उनले आफ्नो जीवनकालमा खोज अनुसन्धान गरेका दस्तावेजहरू ब्रिटिश लाइब्रेरीमा औपचारिक हिसाबले बुझाएको पाइन्छ । कुनै पनि खोज अनुसन्धान गर्ने मानिसले कि जानेर उपद्रो गर्दछन् कि त नजानेर भुल गर्छन् । यसै क्रममा हड्सनले नेपालमा भएको विभिन्न मौलिक नामलाई, समुदायलाई र भूगोलहरूको असली पहिचानलाई तोडमोड वा अप्रभंस गरी एक प्रतिष्ठित, ऐतिहासिक र परिचित नामलाई अर्को आयातित र प्रतिकुल नामाकरण गरी अभिलेखिकरण गरेको पाइन्छ (ज्ञान बायुङ राई, ब्रायन हप्टन हड्सनको खोजी र अपभ्रंस तथ्य ः २०७७)। 

नेपालको समुदाय, जातजाति, भाषा, धर्म, वनस्पतिलगायत विषयमा अत्यन्तै मिहिनढंगले अध्ययन अुनसन्धान गरेका उनै हड्सन कूटनीतिज्ञ, आदिवासीविद्, मावनशास्त्री, प्रकृतिविद् भनेर चिनिन्छन् । उनी सन १८५८ तिर आफ्नो मातृभूमि बेलायत फर्किएका हड्सन मे २३, १८९४ लन्डनमा ९४ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको सुकीर्तिप्रति हामी नेपाली सदैव नतमस्तक छौं, जसले ढाक्रे जीवन व्यतित गरेकाहरूको पहिचान उजागर गरिदिएका छन् । 

प्रतिक्रिया

अन्य सामाग्रीहरु कुब्जोङ किरात