पुस्तक समीक्षाः
लिम्बू मुन्धुममा बच्चा जन्मेपछि कोक्रो उठाउनी र नामकरण गर्ने मुन्धुम संस्कार संक्षिप्तमा हुन्छ । तर गर्बिलो ढंगले मुन्धुम कहन्छ । यसो त आमाको गर्भ रहेपछि नै कोखपूजा गरेर त्यो गर्भे शिशुको माङ्गेन्ना गरिएको हुन्छ । जन्मेपछि नवजात शिशु छोरी भए तीन दिन र छोरा भए चार दिनको बिहान सखारै याङ्दाङ् फोःङ्मा (कोक्रो उठाउनी) अनुष्ठान गरिन्छ । यही अनुष्ठान गर्दा बच्चाको पहिलो नाम राखिन्छ । शिशुको आमा–बाबु, परिवारका सदस्य र भद्र महिला तथा पुरुष गणले नाम जुराउने गर्दछन् । कुलदेवतालाई पुकारेर सुनपानी, ढुंगाको खोपिल्टाको पानी र विभिन्न मूलको पानी एकत्रित पारी शिशु, आमा, परिवारलाई सिन्चन गरेर शुद्धीकर्म गरिन्छ । याङ्दाङ् फोःङ्मा मुन्धुम फेदाङ्मा अथवा परिवार वा गाउँको अग्रज भद्र महिलाले वाचन गर्दै भनिन्छ, ‘लु आज त यो मिति, बार र समयमा यो बासस्थानमा फलना जाति वंश, पुर्खा, बाबुआमाबाट सन्तान शिशु जन्मिएको छ । उहिले मानव जातिमा जेठी मुजिङ्ना खेयङ्नामाका छोरा सुसुवेङ लालावेङ र उनका नाति–नातिना सुच्छुरु सुहाम्भेबा र तेत्लारा लाहादङ्नालाई नाम सुवास राखिदिएको मुन्धुमशास्त्रअनुसार उनको नाम फलना÷फलनी राखियो है...!’ यसरी याक्थुङ् साम्जिक मुन्धुमअनुसार सार्थक र मौलिक नाम राख्दा बच्चाको स्वास्थ्य, वृद्धि–विकास हुन्छ । बोलाउँदा, फकाउँदा वा लोल्लोरी गाउँदा नरुनेमात्र होइन, जीवनको प्रत्येक अध्यायमा सुकर्मको बाटो पहिल्याउने विश्वास गरिन्छ ।
हरेक व्यक्तिको नाम अर्थपूर्ण हुनुपर्छ । अर्थ दिने हुनुपर्छ । लिम्बुवानका हरेक लिम्बूजनहरूको नाम ठेट र मौलिक हुनुपर्छ भन्ने आधार निर्माण गर्ने क्रममा पछिल्लो पटक ‘याक्थुङ् मिङ्सुम्’ (लिम्बू नामकोश) किताब सार्वजनिक भएको छ । डीबी आङ्बुङ र विष्णुदत्त आङबुहाङले यो किताब लेखेका हुन् । मुन्धुम एकाडेमी ललितपुरले प्रकाशन गरेको उक्त किताबको संयोजन मदनपुरस्कार प्राप्त ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ कृतिका लेखक तथा इतिहासविद् भगिराज इङ्नामले गरेका हुन् । लिम्बुवान पहिचान आन्दोलनको एउटा कडीका रूपमा लिइएको यो किताब २४० पृष्ठ रहेको छ । जसमा याक्थुङ नामलाई लिएर १ देखि १६२ पानाभित्र लिम्बू–नेपाली–अंग्रेजी गरी तीन भाषामा शब्द विन्यास गरिएको छ । सिरिजङ्गा लिपि, देवनागरी र रोमन प्रयोग गरिएको छ । मूल शब्द सिरिजङ्गामा छ । शब्दशः उच्चारण देवनागरी र आईपीए (इन्टरनेसनल फोनेटिक अल्फाबेट) तथा रोमनमा दिइएको छ । अर्थ नेपाली र अंग्रेजीमा दिइएको छ । मुन्धुमी शब्दको अर्थ दिइएका छन् । वनस्पतिको वैज्ञानिक नामसमेत अंग्रेजीमा राखिएका छन् । यसले आदिवासी याक्थुङ्को जल, जंगली, भूमि पर्यावरणसँग कस्तो सम्बन्ध छ भन्नेसमेत पुष्टि गरेको छ ।
लिम्बू जातिको सामाजिक तथा राजनीतिक इतिहाससमेत केलाएर लिम्बू नामकोशको महत्वबारे उल्लेख गरिएको छ ।
लिम्बू जातिको सामाजिक तथा राजनीतिक इतिहाससमेत केलाएर लिम्बू नामकोशको महत्वबारे उल्लेख गरिएको छ । याक्थुङ् लिम्बू नाम र नामकरणअन्तर्गत ‘याक्थुङ्’ जातिलाई जनाउने ‘लिम्बू’ नाम अस्तित्वमा आएको कारण पक्ष केलाइएको छ । मुन्धुम र इतिहासमा माङ्–हाङ्को मौलिक नाम, विकृत नाम त्याग्दै मौलिक नाम राख्ने अभियान, लिम्बू नाम राख्ने शैली र परम्परा, मौलिक नाम र पहिचान पक्ष केलाएका छन् । यसैगरी मुन्धुमी माङ् र ऐतिहासिक हाङ्का नाम, मुन्धुमी पेगि फाङ्हाङ्÷पेलि फाङ्सामका नाम, मुन्धुमी सावा यÞेत्हाङ्का नाम दिइएका छन् । यसैगरी तत्कालीन फेदाप राज्यका आठ आपुङ्गी राजाका नाम, ऐतिहासिक थिबोःङ् याक्थुङ्÷दशलिम्बू (सर्दार)का नाम, ऐतिहासिक थिबोःङ् याक्थुङ् लाजे (दश लिम्बुवान)का हाङ्का नाम दिइएका छन् । यस्तै, मुन्धुमी पात्रका पछि परिवर्तित नामहरू, बार, महिना, ऋतु, गन्ती प्रस्तुत गरिएका छन् । साथै, कोक्रो उठाउनी र नामकरण संस्कार, याङ्दाङ्पछि पनि मौलिक नाम राख्ने वा फेर्ने मुन्धुम दिइएको छ ।
नामपद शब्द र अर्थमात्रै हो । तर यो नामकोशका दिइएका शब्द विन्यास केलाउँदा लिम्बू समुदायको परम्परागत मूल्यमान्यता, इतिहास, सामाजिक व्यवस्थाबारे जानकारी मिल्छ । त्यसलाई गहिरिएर अध्ययन गर्नुपर्ने जिज्ञासा पैदा गराउँछ । यो नामकोश लिम्बू भाषा र सिरिजङ्गा लिपि लेखपढ गर्न जान्नेलाई मात्र होइन, इतर लिम्बूभाषीले समेत ती शब्द उच्चारण तथा अर्थ बुझ्न सकिन्छ ।
समाजमा नाम राख्ने कामलाई न्वारन भन्छौं । न्वारन गर्दा राखिने नामलाई हिन्दु पुरोहितलाई चिना हेराएर राख्ने पनि गरिन्छ । कतिपय व्यक्तिको चिनाको नाम, घरमा बोलाउने नाम र प्रमाणपत्रमा राखिने औपचारिक नामसमेत हुनेगर्छ । किताबको भूमिकामा मुन्धुमविद् बैरागी काइँलाले लेखेका छन्– ‘मेरो नाम चिनामा ओझाहाङ छ । तर स्कुलमा भर्ना हुँदा तिलविक्रम सुब्बा पो भएछ । अनि नागरिकता बनाउँदा भने तिलविक्रम नेम्बाङ भएछ । चिनाको लिम्बू भाषाको नाम ओझाहाङ त औसीमा जून अस्ताएझैं हराएछ । यसरी हिन्दुकृत नामको प्रभावले जातीयता नै लोप हुने दिशातिर उन्मुख भएको पनि गोरखाली विजयपछि नै हो भनेर भन्न पनि सक्दछौं ।.. आफ्नो मातृभाषामा नाम राख्ने अभियान सुरु भएको पनि अब चार–पाँच दशक भइसकेको छ । लिम्बू जातिमा मातृभाषामा नाम राख्ने अभियान आन्दोलनका रूपमा बढेपछि नाम कस्तो कस्तो राख्ने भनेर नामसम्बन्धी कितापहरू पनि निकैवटा प्रकाशित भएका छन्, विगत ३० वर्षमा । प्रस्तुत पुस्तक लिम्बू नामकोश पनि त्यसैको पछिल्लो कडी हो । तर आफ्नै महत्व र विशेषता बोकेको छ ।’
नामको अर्थ र महत्व पहिल्याउँदा, गत वैशाख १५ गते (२०८१ साल) इलाम–२ मा सम्पन्न उपनिर्वाचनबाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएर संसद प्रवेश गरेका छन् । ‘सुहाङ’को अर्थ ‘आदरणीय, श्रद्धेय, भलाद्मी, भद्र व्यक्ति’ भन्ने हुँदोरहेछ । संविधान र नीति निर्माण गर्ने थलोमा एक भद्र व्यक्तिको प्रवेश भएको अर्थमा बुझ्नु पर्ने हुन्छ । नाम, अर्थ र कर्मथलो मिल्न गएको छ ।
यो नामकोशको केही कमजोरी पक्ष छन् । लेखकद्वयले बढी हतारमा किताब प्रकाशन ल्याएको भनेर बुझ्न सकिन्छ ।
यो नामकोशको केही कमजोरी पक्ष छन् । लेखकद्वयले बढी हतारमा किताब प्रकाशन ल्याएको भनेर बुझ्न सकिन्छ । यसभित्र समेटिएका शब्दार्थ मुद्राराक्षसले घर गरेको भेटिन्छ । यो केलाउने काम प्राविधिक पक्ष भएपनि लेखक स्वयंको ध्यान त्यता पुग्न जरुरी थियो । यसैगरी संयोजक स्वयं पनि चुकेका छन् । किनभने ‘इङ्नाम’ शब्दको रोमन उच्चारणमा ‘इङधन’ भएको छ । सिरिजङ्गा लिपि प्रयोगमा लिम्बू मानक लेखन केही जटिलता देखिन्छ । स्वर वर्णअन्तर्गत ‘अ’ एउटै अक्षरलाई मात्रा दिए पुग्छ । व्यञ्जन वर्णअन्तर्गत क, ङ, त, न, प, म, य, र, ल, व आधा अक्षर छुट्टै प्रकारका छन् भने ख, ग, घ, च, छ, ज, थ, फ, ब, भ, स, ह हलन्त दिएरजस्तै ‘सइ’ दिएर आधार अक्षर बनाइन्छ । हरेक शब्दको अन्तिम अक्षर हलन्तमा टुँगिने गर्छ । सिरिजङ्गा लिपिमा ‘ङ’ वर्ण अगाडि प्रयोग भएबाहेक बिचमा या अन्तिममा सधैं ‘ङ्’ आधामात्र लेखिनाले यो अक्षर अन्यायमा परेको छ भन्ने लाग्छ । मात्रा दिंदामात्र सग्लो लेखिन्छ ।
यसैगरी लिम्बू नामकोश किताबको दोस्रो पानामा लेखकद्वयको नाम कोष्ठकभित्र सिरिजङ्गा लिपिमा पनि उल्लेख छ– डीबी आङबुङ (सुभाहाङ याक्थुङ) र विष्णुदत्त आङ्बुहाङ (साक्थिमहाङ याक्थुङ) लेखिएको छ । यसरी लेखकद्वयको मौलिक नामबारे अन्यत्र खुलाइएको पाइन्न । आगामी संस्करणमा यावत कमजोरी सुधार गर्न आवश्यक देखिन्छ । जसले गर्दा लिम्बुवानको पहिचानलाई भरभराउँदो राख्न टेवा पुग्नेछ ।
यद्यपि सार्वजनिक भइसकेको लिम्बू नामकोश सबैको साझा सम्पत्ति हो । अब हरेक समुदायले लिम्बू नाम अपनाउन सक्छन् । जस्तो कि बीपी कोइरालाकृत ‘सुम्निमा’ उपन्यास सार्वजनिक भएपछि त्यो नाम राई जातिमा सीमित रहेन । ख्याल राख्नैपर्ने कुरो सन्तानको नाम राख्दा अर्थपूर्ण हुनैपर्छ । त्यो नाम कुन भाषाबाट लिइएको हो भन्नेबारे नाम राखिदिने र नाम धारण गरेको व्यक्तिले थाहा पाउन जरुरी छ ।