मातृभाषा उद्याउने थलो नेपाल प्रज्ञा–प्रतिष्ठान र मातृभाषा साहित्य शृंखला

कुब्जोङ किरात
कुब्जोङ किरात६ जेठ २०८१, आइतवार
मातृभाषा उद्याउने थलो नेपाल प्रज्ञा–प्रतिष्ठान र मातृभाषा साहित्य शृंखला

प्राज्ञ राजन मुकारुङ भन्नुहुन्छ– ‘हरेक भाषाको आफ्नै विज्ञान, दर्शन, सौन्दर्य हुँदोरहेछ र त्यसबाट हामीलाई सकारात्मक ऊर्जा मिलेको छ’
 

‘जुन हतियार जति चलायो उति लाग्ने हुन्छ । साँचेर राखे खिया पर्दै मक्किएर जान्छ । त्यसरी नै हाम्रो मातृभाषा पनि जति बोल्यो, लेख्यो, छाप्यो त्यो उत्तिकै बलियो हुन्छ । प्रयोग गर्न छाड्यो भने मासिएर जान्छ ।’
–मुन्धुमविद् बैरागी काइँला (संयोजक– राष्ट्रिय भाषा नीति तथा सुझाव आयोग २०५०)

बैरागी काइँला नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिसमेत हुनुहुन्छ । उहाँको अगुवाइमा २०४८ सालमा बहुभाषिक कविता गोष्ठी भएको थियो । त्यसपछि नेपाल सरकारमातहत राष्ट्रिय जनजाति विकास समिति र सोही संस्थालाई पछि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ जारी गरी अहिलेसम्म प्रतिष्ठान अस्तित्वमा छ । प्रज्ञा–प्रतिष्ठान र जनजाति विकास समितिले संयुक्त रूपमा बहुभाषिक कविता गोष्ठी आयोजना गर्न थालेका थिए । संयुक्त राष्ट्रसंघले २१ फेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस घोषणा गरेपछि यी दुवै संस्थाले उक्त दिवसका दिन छुट्टाछुट्टै रूपमा मातृभाषामा कविता तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएका छन् । 

नेपाल प्रज्ञा—प्रतिष्ठानको वर्तमान नेतृत्वले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ नारा तय गरेको छ । उसले वर्षमा एक दिन–दुई हुने मातृभाषा साहित्य उत्सवलाई अहिले हरेक महिना मनाउन थालेको छ । नेपाल प्रज्ञा—प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले सुरु गरेको मासिक कार्यक्रमको नाम रहेको छ– ‘मातृभाषा साहित्य शृङ्खला (सिर्जना, संवाद र विमर्श)। यो कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रबार संचालन हुने गरेको छ । यही २०८१ वैशाख २८ गते शुक्रबारसम्ममा दसौं शृंखला सम्पन्न भएको छ । एक कार्यक्रममा एउटा मातृभाषा र साहित्यको अवस्थाबारे कार्यपत्र प्रस्तुतिसहित विमर्श हुने गरेको छ भने तीन कवि, तीन भाषाका कविता वाचन गर्ने गर्दछन् । यस हिसाबले यो शृंखलामा १० वटा भाषाको अवस्थाबारे विमर्श भइसकेको छ भने ३० वटा भाषाका कविता वाचन गरिएका छन् । ती भाषासँगै विभिन्न लिपिको समेत चर्चा हुने गरेका छन् । मुलुकमा करिब १५ वटा लिपि प्रयोगमा रहेका छन् । 

मातृभाषा साहित्य शृंखलामा अहिलेसम्म कार्यपत्र प्रस्तुति र कविता वाचनमा गरिएका भाषाहरू यस प्रकार छन्ः
१) धिमाल (२०८० साउन २६)। कविता– थारु, राजवंशी र ताजपुरिया । 
२) सुनुवार (२०८० भदौ २९)। कविता– जेरुङ, थाङ्मी र सुनुवार ।
३) लिम्बू (२०८० असोज २६)। कविता– .........।
४) थारु (२०८० कात्तिक २४)। कविता– याम्फू, दँगौरा थारु र अवधी ।
५) गुरुङ (२०८० मंसिर २९)। कविता– मगर, तामाङ र खालिङ ।
६) मगर खाम (२०८० पुस २६)। कविता– वाम्बुले, गुरुङ र रानाथारु ।
७) तामाङ (२०८० माघ २८)। कविता– उराँव, लिम्बू र चाम्लिङ ।
८) चाम्लिङ (२०८० फागुन २९)। कविता– थारु, बायुङ र दुमी ।
९) वाम्बुले (२०८० चैत ३०)। कविता– थुलुङ, सुनुवार र भोजपुरी । 
१०) बान्तावा (२०८१ वैशाख २८)। कविता– नाछिरिङ, केवरत, ताजपुरिया । 
(स्रोतः नेपालएकेडेमीको फेसबुक पेज)

हरेक वर्ष अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजना हुने कविता गोष्ठीमा कतिपय मातृभाषाको उही कवि दोहोरिएर सहभागी हुने गरेको भेटिन्छन् । प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको गोष्ठीमा उपस्थित मातृभाषी कवि र कविता उता जनजाति प्रतिष्ठानको गोष्ठीमा पनि उनै कवि र कविता लिएर उपस्थिति जनाउँछ । त्यसरी मातृभाषा साहित्य लेख्य रूपमा संवद्र्धन तथा प्रवद्र्धन कार्यले फड्को मार्न सक्दैन । जानेका बुझेका भन्दैमा बुढापाकाले नै ठाउँ ओगटिरहनुले पुस्तान्तरणमा बाधा पुगिरहेको भान हुन्छ । प्रज्ञा–प्रतिष्ठानले सुचारु राखेको मातृभाषा साहित्य शृंखलामा पनि कतिपय भाषामा तिनै अनुहार दोहोरिएको भेटिएका छन् । 

संयुक्त राष्ट्रसंघले सन् २०२२ देखि २०३२ लाई ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक’ घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को)ले त्यसको प्रवद्र्धन गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०२२ देखि २०३२ लाई ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक’ घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को)ले त्यसको प्रवद्र्धन गर्दै आएको छ । सन् २०२४ आधाउधी भइरहँदा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाषा दशक मनाउने सन्दर्भमा देखाउनकै निम्ति कमिटी गठन गरेको सुन्नमा आएको छ । आदिवासी जनजाति आयोगसँग केही सहकार्य गर्दैछ भन्नेछ । भाषा आयोगको भूमिका त्यसमा कस्तो हुने भन्नेबारे आयोगले सम्बन्धित मातृभाषी समुदायलाई जानकारी गराएको छैन । नाराकै निम्तिमात्र आदिवासी भाषा दशक हो भने त्यसको औचित्य छैन । साँच्चै आदिवासी भाषाकै चिन्तन हो भने व्यवहारमा देखिन जरुरी छ । 

मुन्धुमविद् बैरागी काइँलाले भन्नुभएजसरी हामी आदिवासीले आफ्नो मातृभाषालाई लेख्ने, पढ्ने, पढ्न सिकाउने, हरपल व्यवहारमा उतार्न सहज तुल्याउने वातावरण निर्माण्क हुन जरुरी छ । त्यसनिम्ति नेपाल प्रज्ञा–प्रतिष्ठानले चालेको मातृभाषा साहित्य शृंखलाले केही उत्साह जनाएको छ । मातृभाषालाई साहित्यका माध्यमबाट उद्याउन दिने सिंगो निकाय प्रज्ञा–प्रतिष्ठान हो । यो शृंखलाले वर्षमा एक–दुई दिनमात्र भेटघाट भलाकुसारी गर्ने मातृभाषी लेखक, स्रष्टाहरू हरेक महिना मातृभाषा साहित्यकै विषयमा भेटघाट, चिन्तनमन्थन गर्न पाउनु ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ नाराले सार्थकता पाउनु हो भनेर बुझ्न सकिन्छ । तर अझै तथ्यांकले देखाएको १२४ भाषामध्ये वक्ता संख्या न्यून रहेका र लोपोन्मुख मातृभाषाहरू प्रज्ञा–प्रतिष्ठानको मातृभाषा साहित्य शृंखलामा आइपुग्न सक्ने स्थिति छैन । ती लोपोन्मुख शंकटापन्न भाषाहरूको संरक्षण कार्यमा राज्यको सबै निकायहरू तथा संघ, प्रदेश र स्थानीय सरकारको प्राथमिकतामा पर्न जरुरी छ । 

अन्तरवार्ताः
‘हरेक भाषाको आफ्नै विज्ञान, दर्शन, सौन्दर्य हुँदोरहेछ र त्यसबाट हामीलाई सकारात्मक ऊर्जा मिलेको छ’
प्राज्ञ राजन मुकारुङ
प्रमुख, नेपाल प्रज्ञा—प्रतिष्ठान, साहित्य (मातृभाषा) विभाग

नेपाल प्रज्ञा—प्रतिष्ठानको वर्तमान नेतृत्वले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ नारा निर्माण गर्नुको कारण के हो ?

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६० वर्ष लामो इतिहास छ । भाषा, साहित्य, संस्कृतिको लागि प्रज्ञा–प्रतिष्ठान राज्यको आधिकारिक निकाय हो । प्रतिष्ठानले पछिल्लो समयमा भाषाको क्षेत्रमा केही भाषीहरूको काम गरे भएपनि बहुभाषालाई समेटेर काम नभएको पक्कै हो । संविधान, ऐन, नियम, कानुनले स्पष्ट गर्दागर्दै पनि नेपाल प्रज्ञा–प्रतिष्ठानप्रति सबै भाषा समुदायका मानिसहरूको आकर्षण देखिदैन । विकर्षण नै छ । त्यसका अनेकौं पाटाहरूमध्ये आफ्नो भाषा, साहित्य, संस्कृति, सामाजिक जीवनमाथि यहाँबाट काम कम भएकै कारणले हो भन्ने हाम्रो बुझाइ हो । र अब कम्तिमा मूल लक्ष्य ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ नारा नै दिएर काम गर्दै गएपछि समुदायसँग जोडिन सहज हुन्छ । समुदायले त्यो नारा हेरेर पनि अपनत्व अनुभूत गरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो । त्यसो भयो भने संवाद हुन्छ । बाक्लो विमर्श रहन्छ । काम गर्ने बाटाहरू खुल्छन् । 

मातृभाषा साहित्य शृङ्खला (सिर्जना, संवाद र विमर्श) मासिक कार्यक्रमको मुख्य उद्देश्य के हो ?

मूल नारालाई अझ टेवा दिनको लागि मातृभाषा विमर्श अघि सारिएको हो । नियमित कार्यक्रम ग¥यौं भने त्यसले हामीलाई कहीं न कहीं जोडिराख्छ । जोड्नलाई बल पुग्छ भन्नै हो । 

दसौं शृंखलासम्म आइपुग्दा कस्तो अनुभूति भइरहेको छ ?

एउटा भाषाको मात्रै कार्यक्रम हुँदाखेरी हामीलाई मनोटनस हुन्छ । कम्तिमा एउटा भाषाको साहित्यमाथि विस्तृत विमर्श हुँदैगर्दा अरु तीनवटा भाषाको कविताहरू सुन्न पाइन्छ । उपस्थिति सबैलाई गराउने र एउटा शृंखलामा कम्तिमा चार भाषाका मानिसहरूलाई संवाद गराउँदा राम्रो हुन्छ भन्ने हो । तीन समूहले कम्तिमा एउटा भाषाको साहित्य यो गतिमा पुगिसकेको रहेछ । यस्तो भइरहेको रहेछ भनेर जानकारी पाउने भए । कम्तिमा कविताका माध्यमबाट अरु भाषीहरूलाई जोड्न काम भएको छ । 

प्राज्ञिक हिसाबले मातृभाषा साहित्य शृंखलाले मातृभाषाप्रति डिस्कोर्स जन्माएको ठान्नुहुन्छ ?

एउटा कुरो के भयो भन्दाखेरी हिजोदेखि कवितामा अलिकति नयाँ पुस्ता आउनु हुँदोरहेछ । लामो समय मातृभाषाको क्षेत्रमा काम गरेका मान्छेले कार्यपत्र प्रस्तुत गर्दछ । ती सबै शृंखलामा उपस्थिति राम्रो छ । आफ्नो भाषामा कम लेख्ने तर नेपाली भाषामा राम्रो लेख्ने कविहरूको उपस्थिति राम्रो छ । त्यसले हामीले हाम्रो मातृभाषामा लेख्नुपर्ने रहेछ, काम गर्नुपर्ने रहेछ भनेर उहाँहरूलाई ऊर्जा मिलेको छ । त्यसले एउटा सकारात्मक सन्देश के दिएको छ भने भाषा सानो–ठूलो भन्ने हुँदोरहेनछ । भाषाको आफ्नै महानता हुँदोरहेछ । हरेक भाषाको आफ्नै विज्ञान हुँदोरहेछ । आफ्नै दर्शन, सौन्दर्य हुँदोरहेछ भन्ने पक्षमा काम गराएर लगेको छ । त्यसले सकारात्मक ऊर्जा हामीलाई पनि मिलेको छ । 

म आफैंलाई पनि त्यत्रो लामो समयसम्म साँस्कृतिक, भाषिक आन्दोलन अभियानमा, सीमान्तमा परेका भाषाहरू, संस्कृति, दर्शनहरूलाई कम्तिमा मूलधारमा ल्याउनु पर्छ । मूलधारमा त्यसलाई बहस गराइनु पर्छ ।

म आफैंलाई पनि त्यत्रो लामो समयसम्म साँस्कृतिक, भाषिक आन्दोलन अभियानमा, सीमान्तमा परेका भाषाहरू, संस्कृति, दर्शनहरूलाई कम्तिमा मूलधारमा ल्याउनु पर्छ । मूलधारमा त्यसलाई बहस गराइनु पर्छ । त्यसका के कस्ता अवस्थाहरू छन् । त्यसलाई अझ कसरी संरक्षण गर्छौं । संवद्र्धन गर्न सक्छौं । प्रवद्र्धन गर्नका लागि हामीले के कस्ता योजनाहरू तर्जुमा गर्नुपर्छ भन्ने विषयमा यो भाषाको प्रस्तुतिहरू सुनिरहँदाखेरी, त्यसको सौन्दर्यहरू हेरिरहँदाखेरी, बुझिरहँदाखेरी हामीलाई पनि नयाँ किसिमले काम गर्नुपर्ने रहेछ भन्ने खालको ज्ञान भएको छ । अनुभव भएको छ । सबै ऊर्जाहरू मिलेको छ । 

शृंखलामा लेख्य रूपमा विकसित र विकासोन्मुख भाषाहरू समेटिएका छन् । लोपोन्मुख अल्पसंख्यक भाषाहरूलाई कसरी समेट्ने योजना छ ?

अल्पसंख्यक भाषाहरूका वक्ताले लेखेरै प्रस्तुत गर्न सक्नुहुन्न कतिले । हामीले कार्यपत्रका रूपमा प्रस्तुत गर्दैछौं । कार्यक्रमको उद्देश्य भनेको पहिलो चरणमा लेख्य रूपमा धेरै विकास भइसकेको, काम निक्कै भइसकेका भाषाहरूको कार्यपत्रका रूपमा प्रस्तुति सुन्छौं भने लोपोन्मुख भएका भाषाहरूको चाहिं जेजति वक्ताहरू छन्, उनीहरूबाट जेजस्ता अनुभवहरू छन्, ती अनुभवै सुनेर त्यसमाथि हामी काम गर्छौं । उहाँहरूलाई प्रस्तुति त्यसरी नै गराउँछौं । त्यसकारण हामीले मातृभाषा साहित्य शृंखलामा कार्यपत्र प्रस्तुत भनेका छैनौं कार्यक्रममा । यसपटकको प्रस्तुति भनेका छौं । त्यो फोरमका रूपमा पनि हुनसक्छ । लेख्य रूपमा पनि हुनसक्छ । जेहोस् त्यो भाषाको साहित्यको अवस्था, उनीहरूको अनुभव, ज्ञानलाई कम्तिमा संरक्षण गर्नेवाला छौं ।

यो शृंखलामा प्रस्तुत गरिएका कार्यपत्र र रचनाहरूको छुट्टै संग्रह प्रकाशित गरिन्छ कि ? 

वार्षिक रूपमा १२ वटा प्रस्तुति भइसकेपछि त्यसलाई पुस्तक जर्नलका रूपमा प्रकाशन गर्छौं । कविताहरूलाई पनि त्यही रूपमा प्रकाशित गर्ने हाम्रो योजना छ । 

प्रज्ञा–प्रतिष्ठानका नियमित प्रकाशनहरूलाई कसरी मातृभाषा लक्षित गर्दैछ ? 

अगाडिदेखि निस्किरहेका प्रज्ञा, समकालीन साहित्य, कविता, प्रज्ञा गतिविधि, रूपान्तरण बालप्रज्ञा छँदैछन् । सयपत्री पनि निस्किदैछ । मातृभाषा लक्षित प्रकाशनहरू फक्ताङ्लुङ, थायभू, आङन, महुआ निस्किरहेकै छ । यसपालि हामीले थारुको ‘लवाङ्गी’, मगरको ‘मिक’ निकाल्यौं । राईहरूको सबै भाषाहरू समेट्दै ‘खुवालुङ’ प्रकाशनको काम अन्तिम चरणमा पुगेको छ भने गुरुङ र तामाङको तयारी अवस्थामा छ । यसरी सबै भाषालाई नै सक्दो काम गर्दैछौं । कति भाषाहरूको चाहिं काम गरौं है भन्दा पनि एक–दुई अंकसम्म निकाल्न सकिने र तर त्यसलाई निरन्तरता दिने सम्भावना निकै कम देखिंदोरहेछ । छलफलचाहिं भइरहेको छ, कसरी गर्नसकिन्छ गरौं है भन्ने ढंगले । हामी त्यो ढंगले अगाडि बढिरहेका छौं ।

मातृभाषा साहित्य शृंखला निरन्तर रहन्छ ?

निरन्तर रहन्छ । मलाईचाहिं लाग्छ, हाम्रो कार्यकालभरि जसरी पनि यसलाई अझ कसरी मजबुत बनाउने भनेर गरिहाल्छौं । भोलि हाम्रो कार्यकालपछि आउने टिमले त्यो कामलाई निरन्तरता दिनैपर्छ । नत्र उहाँहरूलाई अप्ठारो पर्छ भन्ने लाग्छ । 

एकेडेमीले मातृभाषाका स्रष्टालाई प्रोत्साहन गरेको बुझिन्छ । पारिश्रमिक र पुरस्कारको पनि व्यवस्था छ कि ?

हामीले मातृभाषामा पत्रकारिता गर्ने एकजनालाई अस्ति भरखरै पुरस्कृत ग¥यौं । मातृभाषा साहित्यमा पत्रकारिता गर्नेलाई पचास–पचास हजार रुपैयाँको दरले एकजना मातृभाषीलाई र एकजना खसभाषा साहित्यमा गर्नेलाई पुरस्कृत ग¥यौं । निरन्तर चलिरहन्छ । सँगसँगै हामीले वार्षिक रूपमा एक लाख रुपैयाँको पुरस्कार मातृभाषामा काम गर्नेहरूलाई दिने गरिएको छँदैछ । वार्षिक रूपमा साहित्यिक पत्रिकालाई सहयोग दिइदै आएको छ । मातृभाषामा लेखिएका र छापिएका लेख, रचनालाई प्रज्ञा–प्रतिष्ठानको नियमानुसार जेजसरी खस नेपालीमा दिइएको छ पारिश्रमिक, त्यही पारिश्रमिक मातृभाषाका लेखक, कविहरूलाई दिइदै आएको छ । 

कार्यक्रम तथा कार्यनीतिका हिसाबले प्रज्ञा प्रतिष्ठान कसरी अगाडि बढ्दैछ ?

प्रज्ञा–प्रतिष्ठानका सीमितताहरू छन् । बजेटकै कुरो हो । सीमितताका बिच पनि हामीले धेरैभन्दा धेरै काम गरिरहेका छौं । यसपालि मातृभाषा साहित्य विभाग, मेरै विभागको जोडबलमा हामीले अन्तर्राष्ट्रिय मातृभाषा दिवसलाई काठमाडौं केन्द्रित नगरेर धरानमा लग्यौं । यसलाई हामी निरन्तरता दिनेछौं । आउँदो वर्ष सुदूपश्चिममा हुनेछ । यसरी हामीले मातृभाषाका कार्यक्रम अझ बढीभन्दा बढी अहिले यहाँ जुन शृंखला गरिरहेका छौं । यस्तै शृंखला मासिक या त्रैमासिक रूपमा खास मातृभाषीहरूको निश्चित सघन बसोबास क्षेत्रहरू गर्ने योजना पनि छ । कसरी हुन्छ, स्थानीय तहसँग जोडिएर खास मातृभाषी समुदायहरूको आफ्नो निश्चित भूगोलमा उनीहरूले मातृभाषा विकसित गरिरहेका हुन्छन्, त्यहाँ गएर कार्यक्र गर्न सकिन्छ र त्यहाँबाट हामीले कति कुरा लिन सकिन्छ भन्ने हो । त्यो कार्यक्रमका तयारी निरन्तर छ । 

 

प्रतिक्रिया