राष्ट्रिय सोनाम ल्होछार–२८६२ भव्यताका साथ मनाउने तयारी, काठमाडौको टुँडिखेलमा विशेष महोत्सव

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस४ माघ २०८२, शनिवार
राष्ट्रिय सोनाम ल्होछार–२८६२ भव्यताका साथ मनाउने तयारी, काठमाडौको टुँडिखेलमा विशेष महोत्सव

नेपाल तामाङ घेदुङ र राष्ट्रिय तामाङ घेदुङको आयोजनामा सोनाम ल्होछार भव्यताका साथ मनाउने भएको छ । 

काठमाडौंको टुँडिखेलमा यही माघ ४ र ५ गते मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछार–२८६२ भव्य रूपमा मनाइने भएको छ । 

सोनाम ल्होछार मूल समारोह समिति, काठमाडौंले सनिबार नेपाल तामाङ घेदुङको सभाहल  चुच्चेपाटीमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिएको हो।
घेदुङका महासचिव जगतमान लामा दोङले प्रेस वक्तव्य वाचन गर्दै जानकारी दिनुभएको हो ।

तामाङ समुदायको मौलिक नयाँ वर्ष पर्व सोनाम ल्होछारलाई यस वर्ष अझ व्यवस्थित र सभ्य ढंगले मनाउने लक्ष्य लिइएको मूल समारोह समितिले जनाएको छ।

माघ ५ गते हुने मुख्य समारोहमा सम्माननीय प्रधानमन्त्री सुशिला कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुने जानकारी पनि दिइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै मूल समारोह समिति संयोजक मोहन गोले तामाङले सोनाम ल्होछार तामाङ जातिको सामाजिक, सांस्कृतिक तथा धार्मिक जीवनसँग अभिन्न रूपमा जोडिएको पर्व भएको बताउनुभयो । उहाँले ल्होछार परम्परा बाह्र वर्षे ल्हो प्रणालीमा आधारित रहेको र यसले तामाङ समुदायको इतिहास, सभ्यता र पहिचानलाई प्रतिबिम्बित गर्ने उल्लेख गर्नुभयो ।

सोनाम ल्होछार चन्द्र पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि सुरु हुने गर्दछ। करिब ४७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाइने गरिन्छ। नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्दछन्।

महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ। 

कार्यक्रममा तामाङ समुदायका परम्परागत खानाका परिकार, भेषभूषा, पुस्तक तथा सांस्कृतिक पहिचान झल्किने सामग्रीहरूको प्रदर्शनी तथा बिक्रीका लागि स्टलहरू समेत राखिनेछन्।

विगत ३५ वर्षदेखि निरन्तर रूपमा टुँडिखेलमा मनाइँदै आएको सोनाम ल्होछार महोत्सवमा यस वर्ष पनि तामाङ तथा गैर–तामाङ गरी लाखौँ दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रम विभिन्न टेलिभिजन, रेडियो तथा अनलाइन माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ।

महोत्सवलाई सफल बनाउन नेपाल तामाङ घेदुङको संयोजनमा १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। समितिअन्तर्गत सांस्कृतिक कार्यक्रम, स्वयंसेवक, प्रचार–प्रसार, स्वागत तथा मञ्च व्यवस्थापनलगायत उपसमितिहरू सक्रिय रूपमा तयारीमा जुटेका छन्।

मूल समारोह समितिले सञ्चारमाध्यमलाई कार्यक्रमको समाचारलाई प्राथमिकताका साथ प्रकाशन–प्रसारण गर्न आग्रह गर्दै सोनाम ल्होछार–२८६२ ता ल्हो (घोडा वर्ष) को अवसरमा सबैलाई शुभकामना व्यक्त गरेको छ।

 

प्रतिक्रिया

अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस