आदिवासी जनजाति महासंघले पनि पहिचानका लागि चरणबद्ध आन्दोलन गर्ने, दाङ र काठमाडौमा बृहत् सभाको आयोजना गर्ने

डोल्मा शेर्पा
डोल्मा शेर्पा५ मंसिर २०८०, मङ्गलवार
आदिवासी जनजाति महासंघले पनि पहिचानका लागि चरणबद्ध आन्दोलन गर्ने, दाङ र काठमाडौमा बृहत् सभाको आयोजना गर्ने

नेपाल आदिवासी जनजाति महासंघलगायत महासंघमा आवद्ध जातीय संस्थाहरुले पहिचानका लागि चरणबद्ध आन्दोलन सञ्चालन गर्ने घोषणा गरेका छन् । महासंघ लगायतका जातीय संस्था र संगठनका तर्फबाट मंगलबार राजधानीमा एक संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै सो घोषणा गरिएको हो ।

संविधान संशोधन र पहिचानको आन्दोलनलाई अघि बढाउन चरणबद्ध रुपमा प्रदेश स्तरीय पहिचान सभाको आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । जस अन्तर्गत पहिलो चरणमा मगरात–थरुहटको संयक्त आयोजनामा आगामी मसीर २३ गते दाङमा र नेपाल तामाङ घेदुङ र नेवा देय् दबूको संयुक्त आयोजनामा काठमाडौमा मंसीर  ३० गते बृहद् सभाको आयोजना गरिने छ ।

पत्रकार सम्मेलनमा बोल्दै किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेनले १ नम्बर प्रदेशको जस्तै पहिचानको आन्दोलन सबै प्रदेशमा विस्तार गर्ने बताउनु भयो ।
प्रमूख प्रतीपक्षीदल नेकपा एमालेसम्बद्ध युवा संघ र दुर्गा प्रसाई समर्थित राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियानले मंसीर ७ गते एकै दिन  राजधानीमा विरोध प्रदर्शन गर्न लागेको पूर्बसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा महासंघका पदाधिकारीहरुले लोकतान्त्रिक व्यबस्था विरुद्ध हुने कार्यक्रममा महासंघमा आवद्ध संघ, संगठनहरुको सहभागिता नहुने स्पष्ट पारिएको थियो ।

‘देशका एक करोड बढी आदिवासी जनजातिको पहिचानको मुद्दा लगायत तमाम उत्पीडित, उपेक्षित जाति, वर्ग, क्षेत्र र लिङ्गको समस्यालाई उचित सम्बोधन हुन नसकिरहेको वर्तमान परिस्थितिमा प्राप्त उपलव्धिलाई अझ संस्थागत गर्दै मुलुकलाई उन्नत र इन्द्रेणी समाज निर्माणतर्फ अघि बढाउनु पर्नेमा सामन्तवादी व्यवस्थाको प्रतीक राजा र वर्ण व्यवस्थालाई प्रवद्र्धन गर्ने हिन्दू राज्य स्थापना गर्ने नाममा देशको विभिन्न स्थानमा भइरहेको हर्कत र गतिविधिले सामाजिक सद्भाव भड्किन गई कुनैपनि बेला मुलुक जातीय द्वन्द्वतर्फ जानसक्ने खतरा उन्मुख भएको हाम्रो ठहर छ ।’ महासंघद्धारा जारी संयुक्त वक्तव्यमा उल्लेख छ ।

बोझेनी घटनाको बिरोध
यसै गरी पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला शंकरापुर नपा वडा नं. ३ स्थिति बोझेनी, लप्सीफेदीमा प्रहरी प्रशासनबाट श्रृंखलाबद्ध रुपमा गरिरहेको अनावश्यक बल प्रयोग, दमन, धरपकडको पनि विरोध गरिएको छ । प्रेस बक्तव्यमा त्यहाँ सवस्टेशन निर्माण गर्ने नाममा भइरहेको  गिरफ्तारी जस्ता अमानवीय कार्य तत्काल रोकी वार्ता र सम्वादको माध्यमबाट उचित निकास खोज्न आग्रह गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै ताम्सालिङ संयुक्त  संघर्ष समितिका संयोजक डा. गणेश योञ्जनले अन्तराष्ट्रिय कानुनमा उल्लेख भएको स्वतन्त्र, पूर्व सुसूचित सहमति (एफपीक) लिने प्रक्रिया सुरु गरे आन्दोलन सकिने जानकारी दिनु भयो । ‘यसका लागि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसंग पनि कुरा भएको छ । नगरपालिकाका प्रमूखले सहजीकरण गरिरहनु भएको छ ।’ डा योञ्जनले थप्नु भयो –‘आज वा भोलि नै एक संझौता भए त्यहाँ निकाश निस्कन्छ ।’

उहाँका अनुसार समस्या समाधान गर्नको बदला त्यहाँका आदिवासीलाई उत्तेजित बनाउने, भाडाका मान्छे ल्याएर अवस्थालाई अतिरिन्जित बनाउने काम त्यहाँ भएको हुँदा समस्या आएको हो । आदिवासीको अधिकार स्थापित गर्न नदिने रबैयाबाट नै यस प्रकारको समस्या आएको उहाँले बताउनु भयो ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल मगरसंघका अध्यक्ष ज्ञानेन्द्र पुनःमगरले प्रेस बक्तव्य पाठ गरेर सुनाउनु भएको थियो । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ भने नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ र नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवश राईले दिनु भएको थियो ।

 

प्रतिक्रिया