भित्ते चित्र कोर्दै थारु समुदायले अष्टिम्की पर्व मनाए 

Admin
Admin२४ भदौ २०८०, आइतवार
भित्ते चित्र कोर्दै थारु समुदायले अष्टिम्की पर्व मनाए 

सरला चौधरी/दशीराम थारु 

भित्तेचित्र बनाएर मनाइने थारु समुदायको पहिचान र परिचय दिने मौलिक पर्व अष्टिम्की राजधानीमा पनि मनाइएको छ ।“आपन संस्कृति आपन पहिचान यीही बचैना हामार अभियान” भन्ने मुल नाराका साथ थारुजन्य संघ संस्थाको आयोजनामा काठमाडौमा पनि यो पर्व मनाइएको हो । 

थारु बहुल क्षेत्र र खास गरेर पश्चिम तराइमा धुमधामका साथ मनाइने अष्टिम्की पर्व यस बर्ष अग्रासन थारु महिला समुह, न्यौछार थारु महिला समूह, बर्दियाली थारु विकास मञ्च, निस्राउ समूह लगायका  संघ संस्थाको पहलमा काठमाडौमा  पनि मनाइएको हो ।

यस पर्बको प्रमूख विशेषता भनेको थारु पहिचान दिने भित्ते चित्र कलाको प्रस्तुति हो । काठमाडौमा पनि यो पर्ब मनाउने क्रममा थारु अगुवाहरुले विभिन्न आकृतिका भित्ते चित्र कोरेका थिए । 

प्रकृति र थारु समुदाय बीच आत्मियता जनाउने परम्परागत चित्रहरु बनाउँदा परिवारमा खुशी र निरोगि हुने उनीहरुमा विश्वास रहेको पाइन्छ ।  थारु घरमा यस प्रकारको अष्टिम्की चित्र पीडिको उत्तरतिरको भित्तामा बनाइन्छ । 

तत्कालीन समयमा अष्टिम्की चित्र गाउँको महटाँवा वा बरघरको घरमा मात्र बनाइन्थ्यो । हिजो आज थारुहरुको घर घरमा विस्तार भएको छ । थारु चित्रकला थारु जातिको परिचय र पहिचान भएको भन्द्यै डा. कृष्णराज सर्वहारीले यो चित्रकलाले थारु जातिर प्रकृति बीचको सम्बन्धलाई जीवन्त बनाएको बिचार राख्नु भयो । 

अष्टिम्की पर्बमा काह्नाको बिशेष पुजा हुने गर्दछ । काठमाडौमा भेला भएका थारुहरुले पनि विभिन्न प्रकारका परिकार र फफूल सहित अष्टिम्की पुजा गरेका थिए । यो पर्वका अवसरमा अघिल्लो दिन बर्त बस्ने र साँझ कान्हालाई पुजा गरिन्छ । राती जाग्राम बसेर अष्टिम्की गीत गाउने प्रचलन छ । 

पुजाको भोलिपल्ट पुजा सामानलाई नजिकको नदी वा खोलामा बिसर्जन गर्ने गरिन्छ । यसरी पुजा विसर्जन पछि प्रसादका रुपमा हरियो सागपात र परिकार सेवन गर्ने र चेलीबेटीलाई अग्रासनमा राखेर अष्टिम्की पर्बको समापन गरिन्छ । 

काठमाडौमा भने थारु महिला समूहकी उपाध्यक्ष किरण चौधरीलाई अग्रासनमा राखेर औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रमका प्रमूख अतिथि पूर्व मन्त्री डा. गोपाल दहित हुनु हुन्थ्यो । सो अवसरमा उहाँले थारु समुदायले आफनो संस्कृति बचाउनु पहल गर्नू पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य तेजुलाल चौधरी, अरुण कुमार चौधरी, थारु कल्याणकारणी सभाका महामन्त्री प्रेमीलाल चौधरी, सहमहामन्त्री मिनराज चौधरी, उपत्याका समितिका अध्यक्ष सुमन चौधरी, थारु महिला समाज अध्यक्ष गिता चौधरी, निसराउ समुहका अध्यक्ष  शिव बहादुर चौधरी लगायतले सम्बोधन गर्नू भएको थियो । 


 

प्रतिक्रिया