रामेछाप कांग्रेसको गुनासोः कान्छारामले पदको दुरुपयोग गर्यो

Admin
Admin३० जेठ २०८०, मङ्गलवार
रामेछाप कांग्रेसको गुनासोः कान्छारामले पदको दुरुपयोग गर्यो

नेपाली कांग्रेस रामेछाप भित्रको विवाद सतहमा आएको छ । जिल्ला सभापति एवम् सांसद पूर्णबहादुर तामाङको कार्यशैलीको विषयलाई लिएर रामेछाप कांग्रेसका नेता÷कार्यकर्ताले प्रश्न उठाउँदै सभापति शेरबहादुर देउवालाई ११ बुँदे ध्यानाकर्षण गराएका छन्। असन्तुष्ट पक्षले जिल्ला सम्मेलन बहिस्कार गर्ने जानकारीसहित दिएको उजुरी सभापति देउवा, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छुट्टाछुट्टै बुझाएका हुन् । 
जिल्ला सभापति तामाङले पार्टीलाई विधि र पद्धतिमा सञ्चालन नगरेको भन्दै विवाद चर्किएपछि रामेछाप कांग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, महाधिवेशन प्रतिनिधि भरत चौलागाई, झपडराज भण्डारी, युवराज भट्टराई, बिनिता खड्कालगायत महाधिवेशन प्रतिनिधि, क्षेत्रिय प्रतिनिधि, प्रदेश कमिटीलगायतका ४६ जनाभन्दा बढी नेता कार्यकर्ताले  देउवासमक्ष निवेदन दिँदै कारबाहीको माग गरेका हुन्।
पार्टी सञ्चालनका क्रममा गरिएका गलत कार्यका विरुद्ध फरक मत राख्ने साथिहरुमाथि स्पष्टिकरण सोध्ने र स्पष्टीकरण दिने वैधानिक मार्ग हुँदाहुँदै सभापतिसँग असहमत राख्नेलाई व्यक्तिगत गालिगलौज गर्दै बाटोबाटोमा पदमुक्त गर्ने र नियुक्ति दिने कार्य भएको, पार्टीलाई गतिशिल र उर्जावान बनाउन कार्यक्रम प्रशिक्षण नगरेको भन्दै विरोध गरेका छन्।

उनीहरुले जिल्लाको विकास निर्माणका लागि बजेट बिनियोजन गर्ने  गराउने कार्यमा पार्टीका कुनै निकाय र नेताहरु सँग छलफल नगरेको बताएका छन्। प्रतिनिधि सभाका सांसद कान्छारामले आफ्ना कम्पनीमार्फत ठेक्का लिएका आयोजना वर्षौ बितिसक्दा पनि योजना अलपत्र पारेको पत्रमा उल्लेख छ।

पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसको वर्तमान पार्टी सभापति कान्छाराम तामाङ्ग (पुर्ण बहादुर) ठेकेदार पनि भएको र निजले आफ्नो कम्पनीमार्फत पुल, सडक लगायत जिल्लाका विकास निर्माणको ठेक्का लिइ वर्षौ बितिसक्दा पनि योजना अलपत्र पारिएको अवस्थामा छन् । उक्त अलपत्र योजनाहरुलाई अघि सारेर अन्य पार्टीका मान्छेहरुले प्रश्न गर्दा नेपाली काङ्ग्रेस निरुत्तर भइ पार्टीको शाख बचाउन कठिन भएको छ।’

उनीहरुले नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा जेठ ३१ गते जिल्ला सम्मेलन हुने भन्ने जानकारी सामाजिक सञ्जालबाट आएपनि पार्टीभित्र कुनै छलफल नभएको भन्दै आपत्ति जनाएका छन्। ‘सम्मेलन कुनै वैधानिक धरातलमा नटेकि, जिल्लाका क्रियाशील नेताहरुसँग कुनै सुझाब सल्लाह नलिई आफू र आफ्ना आसेपासेको सल्लाहमा नेता कार्यकर्तालाइ मानमर्दन गर्ने र कागजी रुपमा मात्र गरेको देखाउन खोजिएको छ। कांग्रेस रामेछाप जिल्ला नेतृत्वका विविध कार्य शैली, गतिविधि र रवैया निरन्तर भएकाले अहिलेको जिल्ला सम्मेलन सहभागी हुन सक्दैनौं’देउवालाई लेखिएको पत्रमा भनिएको छ। 

देउवालाई सम्बोधन गरिएको पत्रमा गत स्थानिय निर्वाचनमा विधान बमोजिम काम नगरी आफुखुशी टिकट वितरण गरेको, आर्थिक चलखेलका आधारमा टिकट वितरण गरेको, पार्टी केन्द्रले निर्णय गरेर निर्देशन गरेको “अन्तर पार्टी गठबन्धन“ लाई अटेर गरी गठबन्धन नगर्दा स्थानीय निर्वाचनमा धेरै वडा र पालिकामा सिट गुमाउनु परेको उल्लेख छ।

पत्रमा नेपाली काङ्ग्रेसको चौधौ जिल्ला अधिवेशन वैधानिक हिसाबले टुंगिन नसकेको बताउँदै  निर्वाचनमा भएको धाँदलीबारे जिल्ला निर्वाचन समिति र केन्द्रीय समितिमा समेत मुद्दा दायर गरेपनि उक्त मुद्दालाई किनारा लगाउन सहयोग र पहल नगरिएको हुँदा महासमितिको निर्वाचन समेत हुन नसकेको उल्लेख छ। पार्टी नेतृत्वले स्वच्छाचारी रुपमा पार्टी सञ्चालन गर्ने नेतृत्वलाई कडा निर्देशन दिँदै पार्टीलाई सही बाटोमा हिँडाउनसमेत पार्टी सभापति देउवा समक्ष माग गरेका छन्।

यस अगाडि पनि कांग्रेसभित्र विवाद हुँदा सचिव दिपक खड्काको नेतृत्वमा बैठकमा सहभागी १९ जना कार्यसमितिका सदस्यहरु बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

प्रतिक्रिया