खिजिदेम्बाको थोलेदेम्बा गल्फ खेल सहितको पर्यटन गन्तव्य

Admin
Admin२३ जेठ २०८०, मङ्गलवार
खिजिदेम्बाको थेलेदेम्बा गल्फ खेल सहितको पर्यटन गन्तव्य

ओखलढुंगा खिजीदेम्बा गाउँपालिका स्थित थोलेदेम्बा डाँडामा  गल्फ खेलको उचित गन्तव्य हुन सक्ने र पर्यटन गन्तव्य बन्ने सरोकारवालाहरुले बताएका छन् । खिजीदेम्बा गाउँपालिका, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल समेतको संयुक्त आयोजनामा वृत्तचित्र प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रमका क्रममा सरोकारवालाहरुले यस्तो दावी गरेका हुन् ।

कार्यक्रममा  यस सम्बन्धि निर्माण गरिएको वृत्तचित्र प्रदर्शनी गरिएको थियो । खिजिदेम्बामा गत मंसिर ७ गतेदेखि भएको खेल पर्यटन प्रबद्र्धन गर्ने हेतुले ओखलढुंगा जिल्लाकै ३३५० मिटर उचाईमा रहेको थोलेदेम्बा डाँडा हुँदै भएको गल्फ खेल सर्भेक्षण गरिएको थियो । 

सोही अवसरमा खिजीदेम्बा हुँदै तल्लो सगरमाथा क्षेत्रको नयाँ पर्यटन पथमार्ग समेत संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीले घोषणा गर्नुभएको थियो । नेपाल पर्यटन बोर्डको सभाहलमा भएको कार्यक्रममा मन्त्री किरातीले ‘पोकली झरना (१३० मि.) हुँदै चिलिमडाँडा, लाम्जेबौद्ध, चुलीथान, गौरीवन, दोबाटेभन्ज्याङ, खिजीचण्डेश्वरी, खिजीफलाटे, चुप्लुभन्ज्याङ थोलेदेम्बा ३ हजार ३ सय ५० मिटरसम्म ३ दिनको पथमार्ग र थोलेदेम्बा हुँदै पिके, दुधकुण्ड हिमालबाट सगरमाथाको आधार शिविरसम्मको नयाँ पथमार्ग’ घोषणा गर्नुभएको छ । 

मन्त्री किरातीले थोलेदेम्बा जस्ता ठाउँलाई पर्यटकीय क्षेत्र घोषणा गर्दै देशको आर्थिक हैसियत उठाउनका लागि र समृद्ध मुलुक निर्माणका लागि नीतिगत र बजेट व्यवस्थापन गरेर अघि बढ्ने र खिजीचण्डेश्वरी विमानस्थल तत्काल सञ्चालनका लागि पहल कदमी लिने बचनबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, पर्यटनमार्फत गाउँपालिकाको आयवृद्धि गर्ने सन्दर्भमा पर्यटन प्रबद्र्धनमा गल्फ जस्ता खेल सञ्चालनले विशेष महत्व राख्ने बताउनुभयो । 

नेपालको १ सय गन्तव्य मध्येमा पर्ने देम्बा डाँडाको पर्यटन प्रबद्र्धन गर्ने हेतुले आयोजित कार्यक्रममा ओखलढुंगाका संघीय सांसद रामहरि खतिवडाले खिजीदेम्बा ३ मा पर्ने चण्डेश्वरी विमानस्थलको तत्काल स्तरोन्नती गरी सञ्चालन गर्नुपर्ने, खिजीफलाटेलाई पर्यटकीय हबको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, संविधान सभा सदस्य यज्ञराज सुनुवारले ओखलढुंगाको खिजीदेम्बा क्षेत्रको पर्यटन प्रबद्र्धन, विकास र विस्तारका लागि सबै पक्षको सकारात्मक भूमिका रहने र खेल पर्यटनको नयाँ अवधारणले पर्यटकको चहलपहल बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले खिजीदेम्बालाई पर्यटन, कृषि लगायतका क्षेत्रबाट अघि बढाउन गाउँपालिकाले नीतिगत रुपमै अघि बढेको र गाउँपालिकाले पहिचान गरेको नयाँ गन्तव्यको प्रबद्र्धनमा प्रदेश र संघले बजेट विनियोजन गरेर तदारुपता देखाउनुपर्नेमा जोड दिनुभयो । 

गल्फका अन्तर्राष्ट्रिय खेलाडी, पर्यटन व्यवसायी, उद्योगी, राजनैतिक दलका प्रतिनिधी, पत्रकार, पथ प्रदर्शक, आरोही, किदुगका अध्यक्ष तथा प्रतिनिधीहरु सहभागि कार्यक्रममा करीव ४ सय ५० जना सहभागि रहेको कार्यक्रम सञ्चालितका ल्हमु शेर्पाले जानकारी दिनुभयो । 

पर्यटन प्रबद्र्धन गरी समग्र मुलुकलाई आत्मनिर्भर बनाउन नयाँ अभ्यास र गन्तव्यको पहिचान गरिएको र यसको प्रचारप्रसार, पृष्ठपोषण प्रदान गर्दै अघि बढ्न सबैको सकारात्मक भूमिकाको अपेक्षा गाउँपालिकाले जारी प्रेस नोटमा उल्लेख छ ।


 

प्रतिक्रिया