वृत्तचित्र निर्देशकहरुको सम्मान 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस९ असार २०७९, बिहिवार
वृत्तचित्र निर्देशकहरुको सम्मान 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी जनजातिको संस्कार र संस्कृति सम्बन्धि वृत्तचित्र प्रदर्शनी गर्दै यसमा योगदान दिने निर्देशक तथा प्राविधिक सहयोग गर्नेहरुलाई सम्मान गरेको छ ।  
प्रतिष्ठानका सह अध्यक्ष संघीय मामला तथा सामन्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले प्रतिष्ठानद्वारा आयोजित एक समारोहमा वृत्तचित्रमा काम गर्ने निर्देशक तथा प्राविधिकहरुलाई प्रमाणपत्र तथा टोकन प्रदान गरेर सम्मान गर्नू भएको हो । 
सम्मानित हुनेहरुमा इन्डिजिनियस टेलिभिजनका प्रमूख कार्यकारी कार्यक्रम निर्माता कुमार यात्रु, बजार प्रमूख शैलेस कुमार डंगोल लगायत १४ जना हुनुहुन्छ । त्यसरी नै कार्यक्रममा वृत्तचित्र निर्देशक सञ्जोग लाफा मगर, खिम घले, चित्र बहादुर गुरुङ, कृष्णजीत राई, दाडिमा शेर्पा, भीम मास्की मगर, विश्व मगर, अमृत सुनुवार, रजिला श्रैष्ठ, सिकुमा राई र एकराज चौधरी समेतलाई कार्यक्रममा सम्मान गरिएको थियो । सम्मानित हुनेमा वृत्तचित्र निर्माता संस्था आदिवासी महलिा कानूनी सहायता समूह इनोलोगका अध्यक्ष इदिरा श्रीस मगरलाई पनि सम्मान गरिएको थियो । 

सो अवसरमा प्रतिष्ठानले निर्माण गरेको अमुर्त संस्कृति सम्बन्धि १४ वटा बृत्तचित्र प्रदर्शनी गरिएको थियो । प्रदर्शित बृत्तचित्रहरुमा दोलखाका सुरेल जातिहरुको कुल पुजा सम्बन्धि चन पुजा, सर्लाही जिल्लाका दनुवार जातिहरुको नेमान पुजा, सुनसरीका झाँगड (उराँव) जातिको सामाजिक अनुष्ठान जतरा र करम, मोरङका गन्गाइ समुदायको पौराणिक नाच देउराली तनहुँका भूजेलहरुको वायु पुजा, ताप्लेजुङ ओलाङचुङगोलाका वालुङ जातिको फुटुक पर्ब, संखुवासभाका याक्खा जातिको दोक्केनी नाच र सिन्धुलीका माझीहरुको लदी पुजा थिए । 

कार्यक्रममा प्रतिष्ठान बाहिर निर्माण भएका पाँचवटा बृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । प्रदर्शन गरिएका बृत्तचित्रहरुमा सञ्जोग लाफा मगर निर्देशित ‘सरकार भन्दा जेठो भूमि’ खिम घले निर्देशित ‘खासुर एक जिवित संग्रहालय’, सिकुमा राई निर्देशित ‘अरक चाना, वानाओ सिमा’ र रजिला श्रेष्ठ निर्देशित ‘चित्रापुरी नगर’ थिए । 

वृत्तचित्र प्रदर्शनी कार्यक्रममा बोल्दै संघीय मामला तथा सामन्य प्रशासन मन्त्री श्रेष्ठले आदिवासीको सभ्यता तथा संस्कृति उन्नत रहेको र यो सम्पदाको संरक्षण गर्नू सबैको दायित्व भएको बताउनु भयो । उहाँले आदिवासी जनजाति समाजमा सूचिकरणको सवाल उठिरहेको पृष्ठभूमिमा भाषिक र जातीय  सूचि जारी गरेमा यो समस्या समाधान हुने बताउनु भयो । 

प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तिमगरले आदिवासीका सवालमा सवैले आफनो स्थानबाट योगदान दिइरहेको बताउँदै आगामी यात्रा सुखद हुने विश्वास गर्नू भयो । 
कार्यक्रममा आदिवासी आयोग, नेपाल आदिवासी जनजाति महासंघ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

 

प्रतिक्रिया